सिटिजन्स बैंक र दोहा बैंकबीच विप्रेषण सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कतारको दोहा बैंकबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । कतारको दोहामा सम्पन्न उक्त सम्झौता पत्रमा सिटिजन्स बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र दोहा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले हस्ताक्षर गरेका हुन् । यस सम्झौता बमोजिम विभिन्न देशबाट दोहा बैंकको विप्रेषण प्रणाली ( डी फास्ट) मार्फत नेपालमा पठाएको पैसा सरल र सहज रूपमा सिटिजन्स बैंकको जुनसुकै शाखाबाट लिन सकिने बैंकले जनाएको छ । कार्यक्रममा कतारका लागी नेपालका राजदूत रमेश कोइरालाले यो सम्झौताले हुण्डी कारोबारलाई निरुत्शाहित गर्न कोशेढुंगाको रूपमा साबित हुने कुरा व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले आगामी दिनहरुमा पनि परस्पर हितका लागी सिटिजन्स बैंकसँग मिलेर थप काम गर्न इक्छुक रहेको बताए । उक्त सम्झौता समारोहमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले यो सम्झौता कार्यान्वयनपछि नेपालको विप्रेषण व्यवसायलाई अझ व्यवस्थित बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । हाल सिटिजन्स बैंकले ६६ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ ।
अति दुर्गम १० स्थानमा टेलिकमकाे एनटीस्याट सेवा सञ्चालनमा
काठमाडौं । नेपाल टेलिकमले दार्चुला, जुम्ला, कालिकोट र हुम्ला जिल्लाका अति दुर्गम १० स्थानमा एनटीस्याटमार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा कुनै पनि दूरसञ्चार सेवा नपुगेका ती स्थानहरुमा अविलम्ब सेवा सञ्चालन गर्न नेपाल सरकारबाट समेत निर्देशन भएकाले कम्पनीले ती स्थानहरुमा केही हप्ता अघि देखि सेवा सञ्चालनमा ल्याउन शुरु गरेको थियो । ती मध्ये हुम्ला जिल्लाको चङखेली गाउँपालिकामा कात्तिक २६ गते देखि सेवा सञ्चालनमा ल्याए पश्चात् १० वटै स्थानमा सेवा उपलब्ध भएको छ । यसरी हालै सेवा सञ्चालनमा ल्याइएका स्थानहरुमा दार्चुला जिल्लाको ब्यास गाउँपालिका, नौगढ गाउँपालिका र अपि हिमाल गाउँपालिका, जुम्ला जिल्लाको कङ्कासुन्दरी गाउँपालिका, कालिकोट जिल्लाको महावै गाउँपालिका र हुम्ला जिल्लाको कडाकोट, चङखेली र खार्पुनाथ गाउँपालिका रहेका छन् । उल्लिखित गाउँपालिका अन्तर्गत दार्चुलाको हुति, धुलिगढा र खण्डेश्वरी, जुम्लाको बुम्रमादीचौर, कालिकोटको पातामघाट र ओदङखु तथा हुम्लाको मैला, मेघ्पा, खार्पुनाथ र श्रीमस्तामा उपकरण जडान गरिएको छ । ती स्थानहरु अति दुर्गम भएकाले यथाशिघ्र सेवा सञ्चालनका लागि कम्पनीले हेलिकोप्टरको समेत प्रयोग गरी उपकरणहरु ढुवानी गरेको थियो । टेलिकमले दुर्गम हिमाली जिल्लाहरुमा सेवा उपलब्ध गराउनका लागि एनटीस्याट प्रविधिको प्रयोग गरिरहेको छ । अब ती स्थानका जनताले दूरसञ्चार सेवा उपभोग गर्न पाउने छन् भने नेपाल सरकारको कार्य सम्पादनमा समेत सहजता आउने कम्पनीले जनाएको छ ।
टेलिकमको जिएसएम सेवा सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका विभिन्न दुर्गम स्थानमा
काठमाडौं । नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा कात्तिक १९ गते देखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । पहिले कुनै पनि मोबाइल सेवाको पहुँच नभएका यी स्थानका सेवाग्राहीले अब जिएसएम मोबाइलमार्फत सञ्चार सम्पर्क गर्न सक्ने भएका छन् । टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका अन्तर्गत वाफलमा जिएसएम मोबाइलको बिटिएस टावर स्थापना गरी सेवा सञ्चालन गरेको हो । यसबाट सो क्षेत्रका करिब ३ हजार सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका अन्तर्गतका दानसे, लिसंखु, वाफल र अत्तरपुर, सुनकोशी गाउँपालिका अन्तर्गत ठोकर्पा र कामेखोला तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका अन्तर्गत सिम्थली, बेकसिम्ले, मुलाबारी र भिमसेनस्थानका सेवाग्राही यसवाट लाभान्वित हुनेछन् । दूरसञ्चार सेवाबाट बन्चित दुर्गम स्थानहरुमा समेत नेपाल टेलिकमले जिएसएम मोबाइल सेवा सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । नेपाल सरकारको नीति अनुरुप कम्पनीले प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ ।