स्मार्ट टेलिकमको स्मार्ट सेन्टर ललितपुरमा, काठमाडौं र भक्तपुरमा पनि विस्तार गरिने

काठमाडौं । स्मार्ट टेलिकमले ललितपुरको कुमारीपाटीस्थित लब बिल्डिङमा स्मार्ट सेन्टर सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रवाह गर्न प्रदान गर्न यो सेन्टर स्थापना गरेको कम्पनीले जनाएको छ । स्मार्ट टेलिकमसँग सम्बन्धित सबै सेवा र सुविधा उपलब्ध गराउने संरचनामा यो केन्द्र स्थापना गरिएको कम्पनीले जनाएको छ । स्मार्ट सेन्टरको उद्घाटन गर्दै कम्पनीका अध्यक्ष सर्वेश जोशीले ग्राहकले आफ्ना सबै जिज्ञासा र समस्याको समाधान यस सेन्टरबाट पाउन सक्ने बताए । यस्तो सेन्टर काठमाडौं र भक्तपुरमा पनि विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

सिटी एक्स्प्रेस र अल् फर्दान एक्स्चेन्जबीचकाे सहकार्यमा दुबईबाट रेमिटेन्स सेवा शुरू

काठमाडाैं । दुबईको एक प्रतिष्ठित रेमिटेन्स कम्पनी अल् फर्दान एक्स्चेन्ज र सिटी एक्स्प्रेस मनी ट्रान्स्फरबीच सम्झौता भएको छ । यो सम्झौतामा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले र अल् फर्दान  एक्स्चेन्जका सी.ई.ओ ओसामा अल् रह्माले  हस्ताक्षर गरेका छन्। उक्त सम्झौता अन्तर्गत दुबईमा रहेका नेपालीहरुले कुनै पनि अल् फर्दान एक्स्चेन्जको ६४ भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्स्प्रेस मनी ट्रान्स्फरमा रकम पठाउन सक्नेछन् । त्यसरी पठाएको रकम सिटी एक्स्प्रेसको ५००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सक्नेछन् । यो सम्झौता पत्रमा दस्तखत गर्दै  ओसामा अल् रह्माले सिटी एक्स्प्रेससँग सम्झौता भएकोमा ज्यादै खुशी लागेको ब्यक्त गर्दै आगामी दिनमा नेपालमा रेमिटेन्स  पठाउन झन् सहज हुने र आउने दिनमा यो सम्बन्ध अझ मज्बुद हुँदै जाने बताएका छन्। साथै, सिटी एक्स्प्रेस र अल् फर्दान एक्स्चेन्जले नेपाल बाहेक अन्य देशहरुमा पनि नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने बताएका छन् । सिटी एक्स्प्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत ११ वर्ष देखि रेमिटान्स सेवा दिँदै आइरहेको छ ।  

नेपाल इन्भेष्टमेण्ट बैंकको थप दुई शाखा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले थप दुई शाखा कालिकोट र दैलेखमा विस्तार गरेको छ । बैंकले आफ्नो ६२औं शाखा कालिकोटको नाग्ममा र ६३औं शाखा दैलेखको डाबमा विस्तार गरेको हो । यी दुई शाखासहित सुर्खेत र जुम्ला गरी अब प्रदेश नम्बर ६ मा यस बैंकको चार वटा शाखा पुगेको छ । बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको हो । बैंकिङ सुविधाबाट टाढा रहेका ग्रामिण क्षेत्रका स्थानीयलाई आर्थिक कारोबारमा सहज हुने र सहुलियत रुपमा ऋण उपलब्ध गराई साना तथा मझौला उद्योग तथा कृषि व्यवसायमा सहयोग गर्ने बैंकको उदेश्य रहेको छ । बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९७ वटा एटिएम पुगेको छ ।