एनसेलका ग्राहकले फेसबुक निःशुल्क चलाउन पाउने, ८० लाख नेपालीले फेसबुक चलाउने अाधिकारीक जानकारी
काठमाडौं । एनसेलका ग्राहकहरुले अब मोबाईल डेटा सपोर्ट गर्ने मोबाईल फोनबाट लोकप्रिय सामाजिक सञ्जाल फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् । ‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत देशको अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले फेसबुकसँगको सहकार्यमा आकर्षक योजना ‘फेसबुक फ्रि’ सार्वजनिक गरेको छ । फेसबुक फ्रि योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन् । एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’ बटन स्वतः देखिने छ । यो बटन क्लिक गर्ने बितिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन । ‘‘फेसबुकसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि यो लोकप्रिय सामाजिक सञ्जाल निःशुल्क चलाउन पाउने योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौं । यसले ग्राहकलाई सामाजिक सञ्जाल मार्फत देश विदेशमा रहनु भएका आफन्त, साथीभाई र परिवारजनसँग सजिलै सम्पर्कमा रहन र ईन्टरनेट सेवाको जनघनत्व बढाउन मद्दत पुर्याउनेछ,’’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले मंगलबार अायाेजित पत्रकार सम्मेलनमा भने । विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले ईन्टरनेटको पहुँच र आर्थिक वृद्धिबिच स्पष्ट सम्बन्ध देखाएको परिप्रेक्षमा एनसेल सरकारसँग सहकार्य गर्दै सन् २०२० भित्र सबै गाउँ विकास समितिमा ईन्टरनेट पुर्याउने जस्ता राष्ट्रिय लक्ष्य प्राप्त गर्नमा योगदान पुर्याउन कटिबद्ध रहेको पर्किन्सले बताए । ‘‘ईन्टरनेट कभरेजमा वृद्धि गर्दै, सुलभ दर तथा नविनतम सेवा मार्फत हामी यस्ता राष्ट्रिय लक्ष्यमा योगदान पुर्याउन काम गरिरहेका छौं । प्रविधि तटस्थताले कभरेज विस्तारलाई थप गति प्रदान गर्नेछ,” फेसबुक फ्रि योजना सार्वजनिक गर्दै पर्किन्स्ले भने । पर्किन्स् र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्ना नाइग्रेनले संयुक्तरुपमा फेसबुक फ्रि सार्वजनिक गरेका थिए । “एनसेलसँगको सहकार्यमा नेपालमा फेसबुकको यो सामाजिक अफर ल्याउन पाएकोमा हामी हर्षित छौं । यस्तो अफरले नेपालमा थप कनेक्टिभिटी सुनिश्चित गर्दै थप व्यक्तिहरुलाई ईन्टरनेटमा जोड्न योगदान पु¥याउने विश्वास छ,” नाइग्रेनले कार्यक्रममा भनिन् । फेसबुक फ्रि अफर यहि बुधबार (फागुन ४) बाट लागु भई ९० दिनको लागि रहनेछ । यो अफर फेसबुकसँग विश्वब्यापी रुपमा उसको आन्तरिक प्रणालीसँग मिलाईएको हुनाले निःशुल्क संस्करणको मजा लिन ग्राहकले कुनै छुट्टै सेवा सुचारु गर्नपर्ने छैन । अफरमा फेसबुकको अधिकांश फिचरहरु निःशुल्क उपलब्ध छन् । फेसबुकमा अरुले अपलोड गरेका फोटो तथा भिडियो हेर्नको लागि भने विद्यमान डेटा शुल्क लाग्ने छ । ग्राहकले आफुले ब्राउज गरिरहेको फेसबुक पेजको माथि दायाँतिर रहेने ‘सि फोटोज’ बटन क्लिक गरी पेड संस्करणमा फोटो तथा भिडिया हेर्न सक्नेछन् । फेसबुकको फ्रि संस्करणबाट पेड संस्करणमा जानु भन्दा अगावै ग्राहकलाई सुचित पनि गराइने एनसेलले जनाएकाे छ । फेसबुकको पेड संस्करणमा फोटो तथा भिडियोहरु अझ सुलभ दरमा हेर्नका लागि ग्राहकहरुले फेसबुक पेजबाटै आफ्नो आवश्यकता अनुसारको डेटा प्याकहरु खरिद गर्न पनि सक्नेछन् । त्यसैगरी एस्ट्रिक्स १२३ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार पनि ग्राहकहरुले आफुलाई चाहिएको डेटा प्याक खरिद गर्न सक्नेछन् । फेसबुकका अनुसार, हाल नेपालबाट ८० लाख भन्दा बढि मानिसहरु फेसबुकका माध्यमबाट सामाजिक रुपमा आवद्घ रहेका छन् । यसअघि कति नेपालीले फेसबुक चलाउँछन् भन्ने अाधिकारिक तथ्याङ्क सार्वजनिक भएकाे थिएन । फेसबुक फ्रि ब्राउजिङको सुविधा प्रोक्सी ब्राउजरमा उपलब्ध हुने छैन । उदाहरणका लागि ओपेरा मिनि जस्ता प्रोक्सी ब्राउजरहरुबाट फेसबुक प्रयोग गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । त्यस्तै ग्राहकले फेसबुकका अन्य बाह्य लिङकहरु क्लिक गर्दा फेसबुक फ्रि संस्करणबाट बाहिर गएको सुचित गराइने छ र ग्राहकले यदि फेसबुक फ्रिबाट बाहिर जान चाहेमा विद्यमान डेटा शुल्क लाग्ने कम्पनीले जनाएकाे छ ।
टेलिकमको नाफा ७ अर्ब ९१ करोड, प्रतिशेयर आम्दानी १०५ रुपैयाँ
काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को चालू आर्थिक वर्षको ६ महिनाको खुँद नाफा ७ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । टेलिकमले यो अवधिमा २२ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो आम्दानी गत वर्ष २१ अर्ब २९ करोड रुपैयाँ थियो । यो वर्षको आम्दानीमा सेवा क्षेत्रबाट भएको आम्दानी २० अर्ब ६४ करोड रुपैयाँ हो भने अन्य आम्दानी १ अर्ब ८३ करोड रहेको छ । टेलिकमको अघिल्लो वर्षको सोही अवधिको आम्दानी भने ७ अर्ब २५ करोड रुपैयाँ रहेको थियो । यसको प्रति सेयर आम्दनी १०५ रुपैयाँ रहेको छ । प्रति सेयर अम्दानी गत वर्षको तुलनामा ८ रुपैयाँ ८३ पैसाले बढेको देखिएको छ । टेलिकमको प्रति सेयर नेटवर्थ ६२५ रुपैयाँ ४५ पैसा रहेको छ । यो नेटवर्थ अघिल्लो वर्ष ५७४ दशमलव ६५ पैसा रहेको थियो । यसको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७८ अर्ब ८१ करोड रहेको छ । टेलिकमको बजारमा प्रतिसेयर ६६० रुपैयाँमा कारोबार भइरहेको छ ।
निशुल्कका नाममा ग्राहकलाई क्वालिटीयुक्त सेवा र व्यवस्थापन गर्न नसकेपछि यसरी डुव्दैछ ‘सिम टिभी’
काठमाडौं। टेलिभिजनका लागि एचडी तथा एसडी सेट टप बक्स निःशुल्क उपलब्ध गराउने र अप्टिकल फाइबरमार्फत टेलिभिजन हेर्न सुविधा दिने भनेर गत वर्षदेखि सेवा सुचारु गरेको सिम टिभीले प्रतिवद्धता गरेअनुसारकाे सेवा दिन नसक्दा सेवाग्राहीबाट चर्काे आलोचना खेपिरहेकाे छ । सुरुमा भनेजस्तो चुस्त व्यवस्थापन र इन्टरनेट चलाउन नसक्दा ग्राहकले सेवा परिवर्तन गर्न थालेका छन्। नेपालभर लोकल केवल सेवा प्रदायकसँग सहकार्य गरेर अगाडि बढ्ने कम्पनीको योजनाले फ्लप खाएपछि व्यवस्थापन अहिले सेवा बन्द गर्ने कि अरु कम्पनीसँग मर्ज हुने भनेर छलफलमा जुटिरहेको छ। कम्पनीले गत फागुन १ गतेदेखि ‘अब हर घरमा डिजिटल’ भन्ने नाराका साथ सेवा शुरू गरेकाे थियाे । तर गुणस्तर कम भएको सेटअप बक्स र स्वाेलाे इन्टरनेट सेवाले ग्राहककाे विश्वास जित्न सकेन । देशैभरी अप्टिकल फाइवर आफैलै विच्छ्याउने महत्वकांक्षी याेजना कम्पनीकाे थियाे, जुन काम सरकारले गर्न सकेकाे थिएन । अप्टिकल फाइवर विच्छ्याउने काममा कम्पनी सफल हुन नसकेपछि कम्पनीले लोकल केवल अपरेटरहरुलाई विश्वास लिन खोजेको थियो । तर भनिएअनुसार अाम्दानी नभएको र गुणस्तरीय सेवा दिन नसकेपछि केवल अपरेटहरु विकल्प खोज्न थालेको स्काइनेट केवल टिभी डिस्ट्रिव्युसनका सञ्चालक कमल अधिकारीले बताए। सेवा लिन चाहने उपभोक्ताले आवश्यक सेट टप बक्स र अप्टिकल फाइबर निःशुल्क पाउने तथा अप्टिकल फाइबर मार्फत सेवा दिने यो प्रविधि उपभोक्ताले हाई डेफिनेसन (एचडी) वा स्टेन्डर्ड डेफिनेसन (एसडी) च्यानलहरू चलाउन सकिने जाइएको थियो तर भयो अर्कै। अधिकारी भन्छन ‘अहिले बजारमा ग्राहकसँग सिम टिभीको नाम लियोकी कुटौला जस्तो प्रतिक्रिया आउँछ, गुणस्तर नभएपछि यो स्वभाविक पनि हो।’ यसवारेमा विकासन्युजले कम्पनीका प्रवन्ध निर्देशक एमके पौडेललाई सम्पर्क गर्न खोज्दा मिडियामा खुल्न चाहेनन्। कम्पनीका एक उच्च अधिकारीका अनुसार वास्तवामा कम्पनी अहिले केहि समस्यामा परेका कारण धेरै कुरा बाहिर निकाल्न नसकिने बताए। अदालती झन्झट नेपालमा कुनैपनि नयाँ किसिमको व्यावसाय गर्न कसैले सुरु गर्यो भने सकेसम्म त्यसलाई सिन्डिकेटमार्फत आफ्नो कव्जामा ल्याइन्छ कि त्यसलाई टिक्न नदिन हरेक हत्कन्डा अपनाइन्छ। हो सिमटिभिलाई पनि यस्तो भएको छ। सिम टिभी विदेशी लगानीमा केवुल टेलिभिजन चलाउनु कानुन बिपरित रहेको भन्दै प्रसारण बन्द गराउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। कम्पनीले डिजिटल प्रविधिमा केवल सेवा विस्तार गरेको छ । कम्पनीलाई विदेशी लगानीमा संचार माध्यम संचालन गरेको आरोप केवल ब्यबसायीको छ। यो आदेशपछि कम्पनीलाई केहि राहत भएपनि सेवामा गुणस्तरियता हुन नसक्दा कम्पनिको भविष्य भने अन्धकारमा हराइरहेको छ। सरकारले राष्ट्रिय प्रसारण नियमावलीको छैटौ शंशोधन बमोजिम २०७० बैसाख १६ देखि गणना हुने गरी महानगरपालिका तथा उपमहानगर क्षेत्रमा ३ वर्ष भित्र, नगरपालिका क्षेत्रमा ४ वर्षभित्र र अन्य क्षेत्रमा ५ वर्षभित्र डिजिटल प्रविधिमा परिवर्तन गरिसक्नुपर्ने निर्देशन गरेको छ। अन्तर्राष्टिय दूरसञ्चार संगठन (आइटीयु) को व्यवस्था अनुसार नेपाल बाध्यतमक रुपमा डिजिटल प्रविधिमा रुपान्तरण हुनुपर्छ । सरकारले आइटीयुको व्यवस्थालाई अंगिकार गरी निर्धारित समयमा डिजिटल सेवा पुर्याउन एनालग प्रविधिको लाइसेन्स वितरण ०७२ वैशाख १ देखि नै बन्द गरिसकेको छ।