१० करोड लगानीमा १८ अर्ब नाफा, कर नतिरे पनि लाभांश लैजान छुट
काठमाडौं । नविल बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । उसले गत आर्थिक वर्ष ४ अर्ब ६ करोड रुपैयाँ नाफा गर्यो । यस बैंकले सेयर पुँजीको ५० प्रतिशत नाफा गर्यो । नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १० अर्ब ४७ करोड छ । यस बैंकले गत आर्थिक वर्ष ३ अर्ब ६२ करोड नाफा गर्यो । बैंकले लगानीमा ३४ प्रतिशत नाफा गरेको छ । ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ छ । गत वर्ष उसले २ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेको छ । यस बैंकले लगानीको २४ प्रतिशत नाफा गरेको छ । यी उदाहरण बढी नाफा गर्ने बैंकहरुको हो । बैंकहरुले अरब भन्दा बढी नाफा गरे भन्दै सञ्चार माध्यम र लगानीकर्ताको मञ्चहरुमा बारम्बार आलोचनात्मक वहस हुन्छ । बैंकहरुको चुक्ता पुँजी कम्तिमा आठ अर्ब हुन्छ । पुराना बैंकहरुको संचित मुनाफा (लगानीकर्तालाई वितरण नगरी राखेको पैसा) चुक्ता पुँजी भन्दा बढी हुन्छ । जस्तो नविलमा ८ अर्ब पुँजीसँगै १० अर्ब संचित मुनाफा पनि छ । सबैभन्दा कम पुँजी भएको सिभिल बैंकको कोर क्यापिटल करिव १० अर्ब रुपैयाँ छ । १० अर्ब पुँजी भएको बैंकले १ अर्ब नाफा गर्न सकेको छैनन् तर बैंकहरुले बढी नाफा गरे भनेर आलोजना हुन्छ जवकी लगानीकर्ताले जम्मा जम्मी १० प्रतिशत लाभांश लिन पाएका छैनन् । नेपाल टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । गत वर्ष उसको नाफा १५ अर्ब ६६ करोड रुपैयाँ छ । यो १०४ प्रतिशत नाफा हो । टेलिकमको नाफा आलोचनाको विषय बनेको छैन । यसको संचित नाफा ८० अर्बभन्दा बढी छ । झट्ट हेर्दा ठूला अंक भए पनि यी सबै नाफा झिनामसिना कुरा हुन् । औषत बैंकहरुले गर्ने १०/१५ प्रतिशत नाफाको नगरौ । बैंकहरु मध्ये सबैभन्दा बढी नाफा दिने नविल बैंकको ५० प्रतिशत नाफाको पनि कुरै छोडौ । नेपाल टेलिकमले गरेको १०४ प्रतिशतको नाफा पनि केही होइन । यहाँ १८०३० प्रतिशत नाफाको कुरा छ । विदेशी भूमिमा होइन, नेपाल कै भूमिका हो । यो नेपाली कम्पनीले गरेको नाफा हो । कम्पनीको नाम हो एनसेल प्राइभेट लिमिटेड । यस कम्पनीको चुक्ता पुँजी हो १० करोड रुपैयाँ छ । यस कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ मा गरेको खुद नाफा हो १८ अर्ब ३० करोड रुपैयाँ अर्थात लगानीको १८ हजार ३० प्रतिशत नाफा । अघिल्लाे वर्ष १७ अर्ब ८ कराेड खुद नाफा गरेकाे थियाे । अर्को नयाँ कुरा पनि छ । नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्न बाँकी रहेको विवादस्पद कम्पनी पनि हो एनसेल । यो कम्पनीले सरकारलाई कम्तिमा ६० अर्ब रुपैयाँ भन्दा बढी कर तिर्न बाँकी छ । कर नतिरे पनि यो कम्पनीलाई नेपालमा व्यवसाय विस्तार गर्न, लगानीकर्तालाई लाभांश खान, विदेश लैजान कुनै रोकतोक छैन । अरु कम्पनीका लागि हो भने नेपाल सरकारले कर दाहित्व पूरा नगरी लाभांश खान दिदैन थियो । एनसेल प्रालिको मुख्य लगानीकर्ता एक्जिएटाले विगत ८ महिना लाभांश बाफत मात्र करिव ३५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश लगेछ । जसले नेपालको अर्थतन्त्रमा गम्भीर झड्का समेत दिएको छ । एनसेलको प्रवद्र्धकले तीन पटक गरी करिव ३५ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सटही गरि विदेश लगेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले १ पटक १२ अर्ब रुपैयाँ, १ पटक १५ अर्ब रुपैयाँ र १ पटक ८ अर्ब रुपैयाँ गरि करिव ३५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सटही गरिदिएको छ । १० करोड रुपैयाँ सेयर पुँजी भएको एनसेलमा एक्जिएटाको ८ करोड रुपैयाँ (८० प्रतिशत) सेयर पुँजी छ । एनसेलमा एक्जिएटा प्रवेश गरेपछि ४४ अर्ब रुपैयाँ लाभांश लगेको छ । दुई वर्षअघि ९ अर्ब रुपैयाँ लाभांश लगेको थियो । करिब ६० अर्ब कर बक्यौता भएको कम्पनीलाई लाभांश दिन उद्योग विभाग र राष्ट्र बैंकले सहमति दिएपछि चौतर्फी विरोध भएको थियो । त्यसपछि राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले लाभांश लैजान रोकेको थियो । राष्ट्र बैंकले २०७४ असार २६ गते कर दाहित्व पूरा नगर्ने कम्पनीलाई लाभांश वाफतको सटही सुविधा नदिने निर्णय लिएको थियो । तर एनसेलले लाभांश लैजाना पाउनुपर्ने माग सहित सर्वोच्च अदालतमा मुद्दा हाल्यो । २०७४ पुसमा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एक्जियटालाई लाभांश विदेश लैजान अन्तरिम आदेश जारी गरेका थिए । सोही आधारमा राष्ट्र बैंकले लाभांश भुक्तानीको लागि विदेशी मुद्रा सटही सुविधा दिएको राष्ट्र बैंकमा अधिकारीहरुले बताए । ‘कानुन अनुसार राष्ट्र बैंकले विदेशी लगानीकर्तालाई प्रक्रिया पुरा गरी लाभांश लैजान मुद्रा सटही दिनैपर्छ । सर्वोच्च अदालतले पनि लाभांश नरोक्नु भएको छ । अर्थमन्त्रालयले पनि कर बक्यौता बाँकी रहेको कम्पनीलाई लाभांश रोक्न निर्देशन दिएको छैन, हामीले रोक्ने आधार छैन’ राष्ट्र बैंकका अधिकारीहरुले भनाई छ । एक्जियटालाई लाभांश सटही सुविधा दिँदा राष्ट्र बैंकको विदेशी मुद्रा संचितिमा गम्भिर समस्या आएको छ । ‘हामीले गाडी खरिदकर्तालाई ५० प्रतिशतभन्दा बढी कर्जा नदिन निर्देशन दिनुपर्यो । विदेशी जाने नेपालीले पाउने डलर सुविधा कटौति गर्नु पर्यो । आयातलाई नियन्त्रण गर्ने विकल्पमा जानुपर्यो’, उच्च अधिकारीले भने । एक्जिएटाले लाभांश विदेश लैजाना थालेपछि नेपाली बैंकहरुमा तरलताको संकट नै आएको छ । गत असार मसान्तसम्ममा एनसेलसँग संचित काेषमा ७८ अर्ब ८ कराेड रूपैयाँ छ । याे रकम पनि उसले क्रमश लैजाने प्रकृया अगाडि बढाएकाे छ । एक्जियटाले थप पैसा लगेमा विदेशी मुद्रा संचिति र वित्तिय क्षेत्रकाे तरलतामा थप समस्या अाउने अधिकारीहरूले बताएका छन् ।
सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाको मोबाइल एप सार्वजनिक
काठमाडौं । थुलुङदूधकोशी गाउँपालिकाले सूचनामूलक मोबाइल एप सार्वजनिक गरेको छ । गाउँपालिकाको सम्पूर्ण विवरणसहित सो एप सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताएका छन् । सो एपमा सुझाव तथा गुनासो, समस्या दर्ता, हाम्रो बारेमा, सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, वडा विवरण, महत्वपूर्ण स्थान र आपत्कालीन सम्पर्क नम्बरको पूर्ण विवरण राखिएको छ । गाउँपालिका अध्यक्ष राईले जो कोहीले भोगेको समस्या, गुनासो, गाउँपालिका वा जनप्रतिनिधिका बारेका सुझाव मोबाइल एपबाट नै दर्ता गर्न सकिने बताएका छन् । विश्वको जुनसुकै कुनाबाट पनि गाउँपालिकाका बारेमा आफ्नो धारणा राख्न सकिने भएको छ । सात गाउँपालिकामध्ये मोबाइल एप सार्वजानिक गर्नेमा थुलुङदूधकोशी पहिलो बनेको छ । सोलुदूधकुण्ड नगरपालिकाले भने केही महीनाअघि नै मोबाइल एप सार्वजनिक गरेको थियो । रासस
नेपाल टेलिकमले ल्यायो नयाँ एप, गुगल प्ले र एप्पल स्टोरबाट सेवा लिन सकिने
काठमाडौँ । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताए । पछिल्लो समयमा विभिन्न प्रकारका प्याकेज खरीद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरीद गर्नका लागि यो एपबाट सहज हुने टेलिकमले जानकारी दिएको छ । यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरीद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिने भएको छ । विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जिएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुने भएको छ । पिनकोड राखेर वा रिचार्ज कार्ड स्क्यान गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ ।यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेज गिफ्ट (उपहार) दिन पनि सक्ने साथै रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिनेछ । कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीबाट प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ । प्रवक्ता वैद्यका अनुसार यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बर डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पाइने छ । उक्त एपमा कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाको महशुलदरबारे जानकारी लिन पनि सकिने व्यवस्था गरिएको छ । गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि यो एप चलाउन जानकारी दिएको छ ।