अब नगदबिनै कारोबार, मोवाइल बैंकिङ प्रविधि प्रयोगमा आउँदै

काठमाडौं । सरकारले नगदरहित कारोबारमा आधारित मोबाइल मनी प्रविधि छिट्टै सार्वजनिक गर्ने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकको संयुक्त पहलमा मोवाइल मनी सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । मोवाइल मनी भनेको मोवाइलको प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था हो । जुन नगदरहित (क्यासलेस) हुन्छ । हामी साउनदेखि पूर्ण रुपमा प्रयोगमा आउने गरी तयारी गरिरहेको छौ, नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बार झाले भने । उनका अनुसार यसबाट नगदरहित कारोबार हुन्छ । मोवाइल मनी सुरु भएपछि प्रविधिको विकासँगै नगद बोक्नुपर्ने झन्झटबाट पनि मुक्ति पाइने उल्लेख छ । नागरिक दैनिकबाट ।

महाबिर पुनको आविष्कार केन्द्रलाई मुठ्ठीदानबाट जुट्यो चार करोड सहयोग

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले ‘मुट्ठीदान अभियान’अन्तर्गत अहिलेसम्म चार करोड सङ्कलन गरेको छ । केन्द्रलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले गत वर्ष साउनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अभियान सुरु गरिएको थियो । स्वदेशभित्र वैज्ञानिक क्षेत्रमा खोज, अनुसन्धान तथा आविष्कार गर्न चाहने विद्यार्थीलाई उनीहरुको प्रस्ताव तथा योजनाका आधारमा सक्दो सहयोग गर्ने उद्देश्य राखिएको केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए । केन्द्रले ५० करोड सङ्कलन गरेर जलविद्युतमा लगानी गरी त्यसबाट प्रत्येक वर्ष आउने आउने प्रतिफलबाट अनुसन्धानका क्षेत्रमा खर्च गर्ने योजना राखेको छ । सो अभियान सफल बनाउन केन्द्रका अध्यक्ष पुनले प्राप्त गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका पुरस्कारसमेत बिक्रीका लागि राखिएको छ । ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा सञ्चालन गरी सूचना तथा सञ्चारको पहुँच पु¥याउँदै आएको सो संस्थाले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ । केन्द्रका अध्यक्ष पुनले विज्ञान तथा प्रविधिका क्षेत्रमा आविष्कार गरी समग्र राष्ट्रको विकास गर्न सकिने हुँदा सो केन्द्र स्थापना गर्न लािगएको बताए । रासस

मोवाइल प्रयोगमा प्रविधिले फड्को मार्दै, अब एप्स’बाटै मोबाइल सेवाको गुनासो गर्न पाइने

काठमाडौं । टेलिकम कम्पनीलाई बारम्बार मोबाइल सेवासम्बन्धी गुनासो गरेर पनि सम्बोधन भएको छैन भने तपाईंका लागि खुसीको खबर छ। नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पटक प्रयोगकर्ताको दूरसञ्चारसम्बन्धी गुनासो समाधान गर्ने प्रयास अघि बढाएको छ। दूरसञ्चार कम्पनीले उपलब्ध गराइरहेको सेवा चित्त नबुझेको अवस्थामा प्रयोगकर्ताले अब सीधै नियामकलाई गुनासो गर्न पाउने भएका हुन्। यसका लागि प्राधिकरणले छुट्टै मोबाइल एप्स सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक गरिएको ‘एनटीए क्युओएस सर्भे’ एप्समार्फत प्राधिकरणले सर्वसाधारणको समस्या बुझ्ने प्रयास गरेको हो। प्रारम्भिक परीक्षणको उद्देश्यसहित सार्वजनिक गरिएको यो एप्समा सेवाग्राहीले सम्बन्धित टेलिकम कम्पनीका विषयमा आफ्ना गुनासा राख्न सक्ने सुविधा उपलब्ध छ। गुनासोका लागि सेवाग्राहीले एप्समा आफ्नो नाम, इमेल ठेगाना, फोन नम्बर र ठेगाना उपलब्ध गराउनुपर्नेछ। यसपछि टेलिकम कम्पनीसँग सम्बन्धित गुनासो एप्सबाटै राख्न सक्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए। सेवाग्राहीलाई गुनासो व्यक्त गर्न सहज होस् भन्ने उद्देश्यसहित एप्समा प्रश्न उत्तरको व्यवस्था गरिएको पनि उनले जानकारी दिए। एप्समा प्राप्त गुनासो अध्ययन गरेर प्राधिकरणले सम्बन्धित कम्पनीलाई सेवा सुधारका लागि निर्देशन दिने अर्यालले बताए। निर्देशन पालना नभए सेवा प्रदायकलाई कारबाही हुन्छ, उनले भने। नेटवर्क नटिप्ने, कुराकानी गर्दैगर्दा काटिने, बिलिङमा समस्या हुने, आवाज नबुझिनेजस्ता सेवाग्राहीको गुनासोका आधारमा प्राधिकरणले हालै मात्र दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी मापदण्ड पनि सार्वजनिक गरिसकेको छ। मापदण्डविपरीत सेवा प्रदायकले सेवा उपलब्ध गराएमा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने व्यवस्था पनि यसमा गरिएको छ। साउन एक गतेदेखि लागू हुने उक्त मापदण्डको पूर्ण कार्यान्वयनको तयारी स्वरूप प्राधिकरणले एप्सबाट गुनासो बुझ्ने प्रयास गरेको हो। एप्समार्फत प्राप्त गुनासोको पालना भए नभएको विषयमा पनि प्राधिकरणले अनुगमन गर्ने उनले बताए। गुनासोका आधारमा तत्काल त्यसको समाधान गर्न सेवा प्रदायकलाई निर्देशन हुन्छ, उनले भने, यसको कार्यान्वयनको अवस्था बुझ्न अनुगमन पनि हुन्छ। यसअघि दूरसञ्चारको गुणस्तरको विषयमा नियामक प्राधिकरणसमक्ष गुनासो गर्ने औपचारिक प्रक्रियाका विषयमा प्रयोगकर्ता आफै अलमलमा थिए। प्राधिकरणकै अनुसार सेवासम्बन्धी गुनासोको विषयमा सेवाग्राहीबाट निकै कम मात्र प्रत्यक्ष सोधपुछ हुन्थ्यो। सिम्पली सफ्ट टेक्नोलोजीले निर्माण गरेको यो एप्स हाल एण्ड्रोइड अपरेटिङ सिस्टममा मात्र उपलब्ध छ। प्राधिकरणले आवश्यक ठानेमा यसलाई आइफोन प्रयोगकर्तालाई पनि उपलब्ध गराइने निर्माण कम्पनीले जनाएको छ। गाेरखापत्र दैनिकबाट ।