भारतमा आफ्नो फाइभ–जी नेटवर्क विस्तार गर्ने चीनकाे प्रस्ताव, औषधी र सूचना उद्योग माेदीका प्राथमिकतामा

महाबलीपुरम । चीनले भारतमा आफ्नो फाइभ–जी नेटवर्क विस्तार गर्ने प्रस्ताव गरेकाे छ । भारत भ्रमणकाे क्रममा चीनका राष्ट्रपति सी चिनपिङले  भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीसँग यस्ताे प्रस्ताव गरेका हुन् । चिनियाँ नेताको दुई दिने भारत भ्रमणको दोस्रो दिन चेन्नईको दक्षिणमा रहेको ऐतिहासिक ताज फिशरम्यान कोव रिसोर्टमा दुइ नेताबीच लामाे गाेप्य वार्ता भएकाे छ । जनसङ्ख्याका हिसाबले विश्वका दुई ठूला मुलुकबीच देखिँदै आएका समस्यालाई कम गर्दै जाने बिषयमा उक्त वार्ता केन्द्रीत भएकाे छ । वार्तामा अमेरिकासँग संरक्षणवादी नीति लिएका दुवै मुलुकले आपसी बजारका लागि समेत व्यापक पहुँच विस्तार गर्ने सहमति भएको बताइएको छ । दुई नेताबीच विगत १८ महिनामा भएको यो दोस्रो भेटवार्ता हो । उनीहरूबीच करिब डेढ बर्ष पहिले चीनको उहानमा भएको शिखर सम्मेलनका प्रतिवद्धतालाई कार्यान्वयन गर्न इमान्दार प्रयास जारी राख्ने सहमति भएको छ । “भेटवार्तामा दुवै पक्षले विवेकसम्मतरूपमा कुनै पनि बिषयमा रहेका मतभिन्नतालाई व्यवस्थापन गर्ने सहमति बनेको छ,” भारत सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भारतीय प्रधानमन्त्री मोदीले भने, “उहान सम्मेलनले हाम्रो सम्बन्धमा नयाँ स्वरूप र बढ्दो स्थायित्व प्रदान गरेको छ । हाम्रो चेन्नई दृष्टिले चीन र भारतबीच सहकार्यको नयाँ युगको थालनी गरेको छ ।” राष्ट्रपति सीले सम्मेलनका प्रतिनिधिमण्डलसँग आफ्नो मन्तव्य राख्दै आफू र भारतीय प्रधानमन्त्री मोदीबीच मित्रका हिसाबले खुला दिलले छलफल गरेको बताए । चीन–भारत उच्चस्तरीय आर्थिक व्यापारिक वार्ता प्रणालीको स्थापनाका आधारमा आर्थिक विकासको रणनीतिक सम्पर्कलाई अझ प्रबर्द्धन गर्नुपर्ने र उद्योग व्यवसायको साझेदारी सम्बन्धको स्थापनाबारे छलफल गर्नुपर्ने धारणा राष्ट्रपति सीले राखेका छन् । भारतीय औषधी र सूचना उद्योग व्यवसायहरूमा चीनलाई लगानी लगाउन प्रधानमन्त्री मोदीले स्वागत व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले चीनसँगको वास्तविक सहकार्यलाई अझ बढी गहन पार्न भारत इच्छुक रहेको बताउनुका साथै चिनियाँ उद्योग व्यवसायहरूलाई भारतीय उद्योगमा लगानीका लागि अह्वान गरे । एएफपी/रासस

एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ आजदेखि १० देशमा

काठमाडौँ । एनसेलका ग्राहकले अबविभिन्न १० देशहरुको भ्रमणमा रहदाबिनाकुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदालिन सक्ने भएका छन् । एनसेल प्रालिले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहिबारबाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिकापनि समावेश गर्ने भएको हो । यो सँगै अब भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकहरुका लागि अनलिमिटेड रोमिङ्ग डेटा प्याक उपलब्ध हुनेछ । यस अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्पेड ग्राहकले यी देशहरुको भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र रु १०० (रु १२७.६९ कर सहित) मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदा लिन सक्ने छन् । यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफु यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशन अनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् । रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्ने कम्पनीले जनाएको छ । यो योजनाले ग्राहकलाई भ्रमणमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरी आफ्ना परिवारका सदस्य, साथीभाईसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ । एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतःनविकरण हुनेछ र शुल्कभने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात ग्राहकले प्याकखरिद गरी डेटा सेवाप्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याकमाथिउल्लेखित १० देशहरुको भ्रमणमा जानु अघि वातीगन्तव्यहरुमापुगे पछि पनि लिन सक्नेछन् । सम्बन्धित देशमा पुगेर मात्र यो डेटा प्याक लिनका लागि ग्राहकले रोमिङ्ग सेवा नेपालमा नै सुचारु गरेको हुनु पर्ने कम्पनीले जनाएको छ ।

अब सातै प्रदेशमा टेलिकमको फोरजी सेवा, के हाे र कसरी गर्ने ‘एक्टिभेट’ ?

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ गरेका हुन् । टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गरेको हो । त्यसका लागि करीब १५० भन्दा बढी स्थानमा बिटिएस टावर जडान गरिएको छ । सातै प्रदेशका मुख्यमुख्य शहरमा फोरजी सेवा विस्तार गरिएको छ । प्रदेश नं १ को चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान र धनकुटामा फोरजी सेवा सञ्चालनमा आएको छ । यस्तै प्रदेश नं २ को जनकपुर, जलेश्वर, मलङ्गवा, बारा, पर्सा, सिमरा, कलैया र गौरमा पनि सेवा शुरु भएको छ । प्रदेश नं ३ को धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भीमेश्वर, सिन्धुलीमाडी, चितवन, सौराहा तथा गण्डकी प्रदेशको पर्वत, कुश्मा र बाग्लुङमा पनि सेवा सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको प्रादेशिक राजधानी पोखरामा यसअघि नै फोर जी सेवा सञ्चालनमा आइसकेको छ । प्रदेश ५ को तौलिहवा, बुटवल, देवदह, तुल्सीपुर, घोराही, नेपालगञ्ज र कोहलपुर, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको भीमदत्तनगर, झलारी पिपलाडी, चौमाला र अत्तरियामा सेवा सञ्चालनमा आएको छ । फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ । गत माघमा सम्झौता भएबमोजिम नै एक वर्षभित्र देशभर नै उक्त सेवा पुर्याउने लक्ष्य साथ युद्धस्तरका काम भइरहेको छ । उक्त सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारले अगाडि सारेको ‘डिजिटल नेपाल’को अवधारणालाई सार्थक बनाउन फोरजी सेवालाई महत्वपूर्ण साधनका रुपमा हेरिएको छ । सरकारले डिजिटल नेपाल निर्माण गरी देशको सर्वाङ्गीण विकास गर्न फोरजी सेवाले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । सूचना तथा प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्यका साथ गत माघमा फोरजी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटिई कर्पोरेशन र हङकङको सिसिएसआई कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार तोकिएको अवधि पूरा हुन चार महीना बाँकी रहेको भए पनि निर्धारित समयमै काम सकिने देखिएको छ । दैनिक १६ देखि १८ घण्टासम्म निरन्तर खटिई काम सम्पन्न गरिएको थियो । टेलिकमले फोरजीका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ काठमाडौँ र बुटवलमा राखेको छ । टावरको फाउन्डेशन, विद्युत् जडान, घरवालासँगको सम्झौता, जग्गा भाडाको सबै काम सम्पन्न गरिसकेको छ । देशभर सेवा विस्तार गरेर थप ६५ लाख ग्राहक थप्ने योजनासाथ काम भइरहेको टेलिकमको दाबी छ । गत असार मसान्तको विवरणअनुसार हाल टेलिकमका ग्राहक दुई करोड २६ लाख ९६ हजार छन् । त्यसमा मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या मात्रै दुई करोडको हाराहारीमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । टेलिकमले गत शुक्रबार मात्रै फोरजी विस्तार गर्ने स्थानमा आवश्यक परीक्षण गरेको थियो । के हो फोरजी सेवा ? फोरजी सेवा प्रयोग गरी कुराकानी गर्न तथा भिडियो, अडियो र सामान्य इन्टरनेट प्रयोगसहितका बहुआयामिक उपयोगिता हासिल गर्न सहज हुने बताइएको छ । सन् १९८० को दशकमा व्यावसायिक रुपमा शुरु भएको ताररहित वा बेतार मोबाइल फोन सेवाले आजको दिनमा आइपुग्दा प्रविधिगत र व्यावसायिक रुपमा ठूलो फड्को मारेको छ । यो उच्च गुणस्तरको भ्वाइस कल सेवा दिने प्रविधि हो । फोरजी सेवाबाट ताररहित उच्च गतिको इन्टरनेट प्रयोग गर्न सकिनेछ । यसले द्रुतगतिमा डाटा ‘अपलोड’ र ‘डाउनलोड’ गर्ने क्षमता राख्दछ । फोरजीबाट थ्रिजीभन्दा पाँच गुणा बढी गतिको इन्टरनेट चल्दछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संस्थाले बनाएको मापदण्डले १०० एमबिपिएस गतिको इन्टरनेट सेवालाई फोरजीका रुपमा मानिएको छ । फोरजी प्रविधिअन्तर्गत टेलिकमको नेटवर्कमा ८०० मेगाहर्ज, १८०० मेगाहर्ज र भविष्यमा २३०० मेगाहर्जसमेत गरी तीन अलगअलग फ्रिक्वेन्सी ब्यान्डमा सेवा सञ्चालन गरिने टेलिकमले जनाएको छ । फरकफरक ब्यान्डले सेवाको ‘कभरेज’ र डाटा क्षमतामा प्रभाव पार्ने भएकाले पनि नयाँ विस्तारित सेवा क्षमताको हिसाबले पहिलो विद्यमान फोरजी सेवाभन्दा राम्रो रहेको टेलिकमको दाबी छ । कसरी गर्ने ‘एक्टिभेट’ ? टुजी र थ्रिजी सिमलाई फोरजीमा रुपान्तरण गर्दा कुनै शुल्क नलाग्ने टेलिकमले जनाएको छ । अन्य सिमकार्डको प्रयोग गरेका ग्राहकले मोबाइलमा स्टार ४४४ ह्यास डायल गरी फोरजी सेवा निःशुल्क ‘एक्टिभेट’ गर्न सक्नेछन् । पुरानो सिमले फोरजी सेवा सपोर्ट नगरेमा टेलिकमको जुनसुकै ग्राहक सेवा केन्द्रमार्फत सिम परिवर्तन गर्न सकिनेछ । थ्रिजी तथा टुजीको दरमा नै फोरजी सेवा लिन सकिने र थप शुल्क नलाग्ने टेलिकमले जनाएको छ । टेलिकमले दशैँका अवसरमा आइतबारदेखि नै फोरजी र अन्य सेवामा विशेष छुट दिएको छ । कम्पनीका अनुसार पहिलो पटक फोरजी ‘एक्टिभ’ गर्ने ग्राहकले दुई दिनको समयसहितको दुईसय एमबी डाटा बोनस पाउनेछन् ।