गोरखाको दुई स्थानमा टेलिकमको मोबाइल सेवा, ८५० वटा सिम निःशुल्क वितरण
काठमाडौं । नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा विस्तार गरेको छ । कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका वडा नम्बर ३ गमलाडाँडा र सोही गाउँपालिकाको वडा नम्बर २ ल्होमा यही चैत ७ गते टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो । गमलाडाडाँमा राखिएको बीटीएस टावरवाट उक्त गाउँपालिकाका लाक्पाल, यारुफाँट, जगत, सल्लेरी, भालुवन, पाती, फिदिम लगायत आसपासका अति दुर्गम गाउँका वासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित भएका छन् । यसैगरी, ल्होमा जडान भएको टावरबाट ल्हो, ख्याला, स्यो, लि लगायतका गोर्खाका अति विकट उत्तरी क्षेत्रका वासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित भएका छन् । यसका साथै मनास्लु क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु समेत मोबाइल सेवाको उपभोग गरी लाभान्वित हुन सक्ने भएका छन् । गोर्खा जिल्लाको विकट यी उत्तरी गाउँमा सोलार ब्याट्री राखेर टावर सञ्चालन गरिएको छ । दुवै स्थानमा स्याटेलाइट लिंकबाट सञ्चालन हुने गरी जीएसएम मोवाइल सेवा पुर्याइएको छ । ल्होमा समुद्री सतहबाट करिब ३५ सय ६५ मिटर उचाइमा र गमलाडाँडामा १५ सय मिटरको उचाइमा टावर राखेर सेवा प्रदान गरिएको छ । ल्हो गाउँ हालसम्म एक प्रकारले दूरसञ्चार सेवाको पहुँचबाट बञ्चित जस्तै थियो । अति दुर्गम क्षेत्र हुनुको साथै वस्तिहरु टाढा–टाढा भएकोले टेलिफोन गर्न अर्काे गाउँसम्म पुग्नुपर्दा स्थानीय वासिन्दालाई निकै कठिनाइ भइरहेको थियो । टेलिकमले दुर्गम क्षेत्रको उक्त ल्हो गाउँका ग्राहकका लागि ५ सय वटा सिम र गमलाडाँडाका ग्राहकका लागि ३ सय ५० वटा सिम गाउँमै लगेर निःशुल्क वितरण गर्ने कार्य पनि सम्पन्न गरेको छ । गमलाडाँडा सदरमुकाम गोरखा बजारबाट करिब ३० कोष र ल्हो ५५ कोषको दुरीमा पर्छ । गोरखाको आरुघाट हुँदै सोतीसम्म गाडीमा गएर त्यसपछि करिब तीन दिन पैदल हिडेपछि गमलाडाँडा र त्यसपछि अर्को दुई दिनको पदयात्रा पछि ल्हो गाउँमा पुग्न सकिन्छ ।
प्रविधिमैत्री बन्दै खानेपानी समिति, अब इटहरीबासीले पनि इसेवाबाट महशुल भुक्तानी गर्न सक्ने
काठमाडौं । विभिन्न क्षेत्रमा बढिरहेको प्रविधिको प्रयोग खानेपानी उपभोक्ता संस्थामा पनि तीब्र रूपमा प्रयोग हुन थालेको छ । खानेपानीका उपभोक्ताहरुले महशुल भुक्तानीमा प्रविधिको प्रयोग गर्न थालेका हुन् । पछिल्लोपटक सुनसरीको इटहरीका उपभोक्ताले इसेवामार्फत् महशुल भुक्तानी गर्न सक्ने भएका छन् । इटहरीस्थित इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महशुल अनलाइनबाटै तिर्न सकिने सेवा सुरू गरेको हो । नेपाल राष्ट्रबैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स् प्राप्त कम्पनी इसेवामार्फत् खानेपानीको महशुल अनलाईनमार्फत् भुक्तानी गर्न सकिने छ । अनलाइनबाटै महुशल तिर्न सकिने सेवा दिएपछि इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईले भने, ‘हाम्रो संस्थामा निकै टाढा टाढाबाट महशुल तिर्न आउनुपर्ने बाध्यता थियो, उपभोक्ताहरू ४० रूपैयाँ महशुल तिर्न ५० रूपैयाँ खर्च गरेर आउनुपर्ने बाध्यता थियो, अब इसेवामार्फत् भुक्तानी गर्न सकिने भएपछि उपभोक्तालाई निकै सहज भएको छ ।’अहिलेको युग प्रविधिको भएकाले आफुहरूले पनि प्रविधिको प्रयोग गरेर उपभोक्ता समितिलाई प्रविधिमैत्री बनाएको उनले बताए । यसैगरी संस्थाका आइटी अफिसर राजु दंगालले पनि इसेवामार्फत् रकम भुक्तानी गर्न सकिने भएपछि कयौँ किलोमिटर टाढाबाट रकम भुक्तानीकै लागि संस्थाको कार्यालयसम्म धाउनुपर्ने बाध्यताअन्त्य भएको बताए । उनले भने, ‘हामीले अनलाइनबाट महशुल भुक्तानीसँगै मिटर रिडिङदेखि कार्यालय व्यवस्थापनलाई पनि डिजिटलाइज गरेका छौं ।’ यसअघि भक्तपुरको बालकोट खानेपानी र दधिकोट खानेपानी,कास्कीकोे लेखनाथ खानेपानी, नवलपरासीको प्रगतीनगर खानेपानी, गोरखाको पृथ्वीनारायण खानेपानी संस्था, तनहुँको दमौली खानेपानी र बेलचौतारा खानेपानी, मानगढ खानेपानी विराटनगर, इन्द्रपुर खानेपानी मोरङ, बुधवारे खानेपानी, पर्वतको कुश्मा खानेपानीलगायत करिब दुई दर्जन खानेपानी संस्थाले अनलाइनबाट महशुल तिर्न सकिने सुविधा उपभोक्तालाई दिइसकेका छन् । समितिहरूले अनलाइनबाट महशुल भुक्तानी गर्न सकिने सुविधा दिनुका साथै कार्यालय प्रयोजनमा पनि वाटरमार्क नामक सफ्टवेयर प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउदै लगेका छन् । खानेपानीको मिटर रिडिङ ‘मिटरमार्क’ नामक मोबाईल एप्लिकेशनबाट गर्न सकिन्छ,भने उपभोक्ताले आफ्नो मोबाईल तथा इन्टरनेटबाट महशुल भुक्तानी गर्न सक्नेछन् । अनलाइनबाट महशुल भुक्तानी गर्न सकिनेभएपछि महशुल बुझाउन जाने समय र खर्चमा कटौती हुँदा उपभोक्तालाई ठूलो राहत भएको छ । समितिहरू पनि प्रविधिमैत्री बन्दा कार्यालय व्यवस्थापन सहज हुनुका सथै पारदर्शी सेवा दिन सफल हुँदै गएका छन् । सन् २००९ देखि सञ्चालनमा रहेको इसेवाले नेपालका ७५ वटै जिल्लामा सेवा दिँदै आएको छ । मोबाईल तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिने इसेवाका मुलुकभर ३० हजार बढी जोन प्वाइन्ट छन् । इसेवामार्फत् मोवाइल रिचार्ज, टपअप, बिजुली, खानेपानीको बिल भुक्तानी, एयरलाइन्स र बस टिकट, फिल्मका टिकट खरिदजस्ता सयभन्दा बढी सुविधा लिन सकिन्छ ।
टेलिकमको जीएसएम मोवाइल सेवा सिन्धुपाल्चोकको विभिन्न स्थानमा, ४ हजार सेवाग्राही लाभान्वित हुने
काठमाडौं । नेपाल टेलिकमले कम्पनीको मोबाइल सेवा नपुगेका सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ गरेको छ । कम्पनीले सिन्धुपाल्चोकका विकट ग्रामीण क्षेत्रहरुः मनिसौरा, गुमथाङ, थागम, तातोपानी र लिस्तीका अधिकांश स्थानमा जीएसएम मोबाइल सेवा उपलब्ध गराएको छ । कम्पनीले मंगलबारदेखि ती विभिन्न क्षेत्रमा सेवा उपलब्ध गराउन थालेको हो । अब ती क्षेत्रहरुमा जीएसएम टुजी र थ्रिजी मोबाइल सेवा उपभोग गर्न सकिने भएको छ । उक्त जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ६ को विकट मानिने गति मान्द्रामा टावर स्थापना गरी ती क्षेत्रमा सेवा उपलब्ध गराइएको हो । गति मान्द्रा भोटेकोशीको बन्जी जम्पिङ रहेको स्थानबाट करिब १५ किलोमिटरको दुरीमा अवस्थित छ । अब यी स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटा चलाउन समेत सकिने छ । ती क्षेत्रका करिब ४ हजार सेवाग्राही दूरसञ्चार सुविधाबाट लाभान्वित हुने भएका छन् ।