अब भाइबरबाटै आकस्मिक एम्बुलेन्स सेवा पाइने, एनएएसले ल्यायो यस्ताे सुविधा
काठमाडौं । सेवा प्रदायक संस्था नेपाल एम्बुलेन्स सर्भिस(एनएएस)ले आकस्मिक सेवाका लागि भाइबर हट लाइन सुविधा ल्याएको छ । उक्त सुविधाको लागि यस संस्था चौबिसै घण्टा सातै दिन भाइबर हट लाइन ९८०१११५१०२मा जोडिएको छ । अब एम्बुलेन्स सेवा आवश्यक पर्ने हस्पिटलहरु वा बिरामी जो कोहीले भाइबर नम्बर ९८०१११५१०२ मा सिधै सम्पर्क गरेर यो सेवा लिन सक्नेछन् । भाइबरको दक्षिणपूर्वी एशिया क्षेत्रमा व्यापार विस्तार एवं विकास प्रमुख अनुभव नइएरले भने-‘नेपालमा भाइबर हट लाइन जस्तो महत्वपूर्ण सेवा प्रस्तुत गर्न पाएकोमा हामी अत्यन्त हर्षित भएका छौं । हामी सदैव नयाँ र नवीनतम् उपायहरुको माध्यमबाट स्थानीय समुदायहरुलाई साथ दिने प्रयासमा रहँदै आएका छौं ।’ सोही अवसरमा एनएएसको तर्फबाट अमितले भाइबरसँगको साझेदारीबाट भविष्यमा नेपालका नागरिकहरुको सेवामा सहयोग पुग्ने अन्य महत्वपूर्ण सेवाहरु उपलब्ध गराउने बताएका छन् ।
अब टेलिकमको आईएसडी सुविधा ग्राहक आफैले लिन सक्ने, यस्ता छन् प्रक्रिया
काठमाडौं । नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कलका लागि आईएसडी सुविधा सेवाग्राही आफैले लिन सक्ने भएका छन् । यो सेवा आज (असार ०१ गते) देखि नै सञ्चालनमा आएकोे छ । आईएसडी सुविधा शुरुमा लिन जीएसएम मोबाइलका लागि“००००” र सीडीएमए मोबाइलका लागि “१२३४” डिफल्ट पिन नम्बर हुने छ । जीएसएम मोबाइलमा आफ्नो पिन नम्बर प्रयोग गरी आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले #331*PIN# डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि *331*PIN# डायल गर्नु पर्नेछ । साथै, आफ्नो आईएसडी सेवा खुला वा बन्द रहेको जानकारी लिनका लागि *#331# डायल गर्नु पर्नेछ ।सेवाग्राहीले सुरक्षाका लागि डिफल्ड पिन नम्बर परिवर्तन गरी आफ्नो इच्छा अनुसारको पिन नम्बर राख्न सक्ने छन् । यसरी सो पिन नम्बर परिवर्तन गर्नका लागि **03*331*old_PIN*newPIN*newPIN# डायल गर्नु पर्नेछ । साथै सीडीएमए पोष्टपेड मोबाइलमा पिन नम्बर परिवर्तन गर्न *81 डायल गर्नु पर्नेछ । आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले *82 डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि *820 डायल गर्नु पर्नेछ । जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा यो भन्दा पहिले पनि आईएसडी सुविधा लिन सकिने व्यवस्था थियो । तर त्यसका लागि कार्यालयमै सम्पर्क राख्नु पर्थ्यो । अब आफ्नै मोबाइलबाट नम्बर डायल गरी सो सुविधा लिन सक्ने भए पछि सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ ।
नेपालमा पहिलो पटक विश्वकप नेपाली मै प्रत्यक्ष प्रसारण हुने
काठमाडौं । रुसमा अर्को साताबाट शुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । यस च्यानलमा विश्वकप फुटबल प्रत्यक्ष प्रसारण नेपाली भाषामा कमेन्ट्री हुनेछ । प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टेटर संजिव शिल्पकारले खेलको नेपाली कमेन्ट्री गर्नेछन् । डिस होमले नेपाली दर्शकका लागि नेपाली भाषालाई प्राथमिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो । खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरु पनि आबद्ध हुँदैछन् । फुटबल जगत बाहिरका विशेष अतिथीहरु पत्रकार ऋषि धमला, कमेडियन विल्सन विक्रम राईका प्रतिक्रियाहरु पनि कार्यक्रममा प्रसारण गरिने छन् । चार बर्षमा एक चोटि आउने विश्वकपको प्रसारणको प्रचार गर्न डिश होमले एउटा प्रोमोसन भिडियो पनि बनाएको छ । उक्त भिडियोमा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएका छन् । ‘फुटबलको महाकुम्भ’ नामक भिडियो नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरेको पहिलो गीत पनि हो । प्रशारण अघि र पछि, खेलको विश्लेषण र समिक्षा पनि नेपाली भाषामा नै हुने हुदा विश्वकपलाई सामान्य नेपाली दर्शकहरुले पनि सजिलै बुझ्न सकिने कुरा डिशहोमले जनाएको छ । नेपालमा पहिलो पटक विश्वकप नेपाली भाषामा प्रशारण हुन लागेकोले दर्शकहरुमा कौतुहलता र गुणस्तरमा शंका उपशंका समेत रहेको छ । तर नेपालका प्रख्यात तथा फुटबल कमेण्टेटरिमा विज्ञता हाशिल गरेका सञ्जिब शिल्पकार भएकोले गुणस्तरमा कुनै कमी नहुने डिशहोमले बताएका छन् ।