कोरोना भाइरस रोक्न जुट्यो फेसबुक !

काठमाडौं । आजभोलि संकटको समयमा सूचना लिन विश्वभरका करोडौं मानिस सामाजिक संजाल फेसबुकमा भर पर्छन् । अहिले विश्वका ७६ देश कोरोना भाइरससँग लडिरहेका छन् । नेपाल पनि विभिन्न कार्यक्रम स्थगन गरेर तथा कोरोना रोकथामको लागि विभिन्न उपाय अपनाएर सतर्क अवस्थामा छ । अहिलेसम्म विश्वभर कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या ९३ हजारभन्दा बढी भएको पुष्टी भइसकेको छ भने करिब ३ हजार जनाले ज्यान गुमाइसकेका छन् । यस्तो परिस्थितिमा विश्वको सबैभन्दा धेरै मासिन आवद्ध रहेको सामाजिक संजाल फेसबुकले कोरोना भाइरस सम्बन्धी सही सूचना तथा जानकारी प्रवाह गर्न तथा सर्वसाधारणलाई आतंकित पार्ने भ्रमपूर्ण सूचना तथा जानकारी रोक्न के कस्तो पहल गरिरहेको छ भन्ने प्रश्न उब्जिएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार उनको कम्पनी फेसबुक स्वास्थ्य अधिकारीहरुका साथ काम गरिरहेको छ । ‘कोरोना भाइरसका बारेमा सबैले सही सूचना तथा जानकारी प्राप्त गर्न सकून भनेर हामी प्रयास गरिरहेका छौं,’ जुकरबर्गले भनेका छन् । उनका अनुसार जब कुनै फेसबुक प्रयोगकर्ताले फेसबुकमा कोरोना भाइरस शब्द खोज्ने वित्तिकै सो व्यक्तिले एउटा सन्देश देख्नेछ र धेरै जानकारी प्राप्त गर्नको लागि विश्व स्वास्थ्य संगठन वा स्थानीय स्वास्थ्य विभागको फेसबुक पेजमा लैजान्छ । यसको साथै फेसबुकले आफ्नो पेजमा विश्व स्वास्थ्य संगठनको विज्ञापनका लागि स्थान निःशुल्क उपलब्ध गराएको छ । जुकरबर्गका अनुसार उनको कम्पनीले कोरोना भाइरस कोभिड १९ नियन्त्रणको लागि पहल गरिरहेका अन्य संस्थाहरुको फेसबुक पेजमा लाखौं रुपैयाँको विज्ञापन दिने भएको छ । सोसल मिडियामार्फत आउने अफवाह तथा गलत जानकारी रोक्नका लागि फेसबुकले काम गरिरहेको जुकरबर्गको भनाइ छ । जुकरबर्गका अनुसार फेसबुकमा आफ्नो अनुभव सेयर गर्ने अधिकार सबैलाई छ । तर, गतल जानकारी तथा विभिन्न खालका अड्कलबाजी भने फेसबुकबाट हटाइएको छ । संकटको बेलामा व्यक्तिगत लाभ लिन खोज्ने कम्पनीका विज्ञापन पनि फेसबुकले ब्लक गरिरहेको छ । ‘कोरोना भाइरसको पूर्ण उपचार’ भन्ने जस्ता विज्ञापन फेसबुकले पूर्ण रुपमा ब्लक गरिरहेको छ । फेसबुक ग्रुपमा जे जस्तो कुराकानी भइरहेको छ, त्यस्ता कुराकानीको विस्तृत रुपमा हेर्न र बुझ्न सक्नु नै कम्पनीको लागि सबैभन्दा महत्वपूर्ण काम हुने जुकरबर्गको ठम्याइ छ । जुकरबर्गले बेलायतको ५जी ग्रुपमा भएको पोस्ट र कुराकानीलाई उदाहरणको रुपमा उल्लेख गरेका छन् । सो ग्रुपमा रहेको एउटा पोस्टमा एक व्यक्तिले ‘बेलायत युरोपियन युनियनबाट हट्ने विषयलाई विषयान्तर गर्न कोरोना भाइरसको बारेमा अफवाह फैलाइदैछ’ भनेर पनि लेखेका छन् । जुकरबर्गका अनुसार एक व्यक्तिले ‘कोरोना भाइरस–अ ग्लोबललिस्ट टूल’ नामक एक युट्युव भिडियोको लिंक पोस्ट गरेका थिए । यो प्रकारको विषयमा फेसबुकले आफ्नो लडाई अघि बढाउन एउटा बेग्लै प्लेटफर्ममा भर पर्नुपरेको छ । युट्युव पनि यस्तो प्रकारको भिडियो रोक्नको लागि प्रयास गरिरहेको भन्दै उनले अफवाह रोक्ने प्रयास निकै कठिनपूर्ण भएको बताए । युट्युव र फेसबुकमा राखिएका कतिपय भिडियाले कोरोना भाइरसका बारेमा झुटो सन्देश दिइरहेको जुकरबर्गको भनाई छ । अझ रोचक कुरा त के छ भने जुकरबर्गले केही दिन अगाडि युट्युवमा यस्तो एउटा भिडियो सन्देश देखे, जसमा एक व्यक्ति आफूलाई बेलायतती ५जी विरोधी अभियान संचालन गर्ने व्यक्ति हूँ भन्थे र उनले कोरोना भाइरसका बारेमा झुटो दाबी गरिरहेका थिए । सो भिडियोमा ती व्यक्ति एउटा रसियन पेन ड्राइभ विक्री गर्ने प्रयास गरिरहेका थिए । सो पेन ड्राइभको प्रयोगबाट ५जी तथा कोरोना भाइरस फैलनबाट रोक्न सकिने दाबी गरिएको थियो । सामाजिक संजाल युट्युवले पनि यस्तो प्रकारको भिडियो राख्नु आफ्नो नियमको उल्लघन भएको बताएको छ भने त्यस्तो भिडियो राख्नेलाई युट्युवले ब्लक गरेको छ । फेसमास्क जुकरबर्ग आफैले फेसबुक जस्ता सामाजिक संजालमा यो त्रासदीको लाभ उठाउने गरी तयार पारिएका विभिन्न प्रकारका विज्ञापन राखिएका भेटेका छन् । त्यस्ता विज्ञापनको आशय नै धेरै मूल्यमा सामान विक्री गरेर लाभ उठाउने रहेको छ । जुकरबर्गका अनुसार उनले एउटा यस्तो विज्ञापन पनि देखे जसमा ‘२९.९५ अमेरिकी डलरमा एउटा यस्तो पेस मास्क खरिद गर्न सकिन्छ, जसले सबै प्रकारका फ्लूबाट प्रभावकारी ढंगले बचाउँछ । किनकि यस्तो मास्कमा आधुनिक कार्बन फिल्टर जडान गरिएको हुन्छ ।’ केही विज्ञापनमा त ६५ देखि १०० डलरमा चीनबाट सोझै आयात गरिएको कोभिड १९ मास्क विक्री गर्ने दाबी गरिएको छ । केही फेसबुक ग्रुपका मोडरेटरहरु कोरोना भाइरससँग सम्बन्धित अफवाहको विरुद्ध लेखिरहेका पनि पाइएको जुकरबर्गको दाबी छ । स्टप ५जी युके ग्रुपका एक सदस्यले आफ्नो एक स्थानीय समुदायसँग सम्बन्धित ग्रुपमा ‘५जी या अन्य कुनै पनि विषयमा संचारमाध्यममा आएका खबर बाहेक यदि कुनै प्रकारको भ्रामक जानकारी पोष्ट गर्यो भने उसलाई सो ग्रुपबाट हटाइनेछ’ भन्ने सन्देश लेखे । फेसबुकमा भएका कतिपय ग्रुपहरु त कोरोना भाइरसका बारेमा आउने भ्रामक जानकारी विरुद्ध अभियान संचालन गर्ने भनिएका छन् तर वास्तबमा उनीहरु नै भ्रामक जानकारीलाई बढावा दिइरहेका छन् । जुकरबर्गका अनुसार सामाजिक संजालमा हुने गलत जानकारी तत्काल रोक्न मुस्किल छ । किनभने फेसबुकले सबै प्रयोगकर्तालाई आफ्ना निजी विषय पोष्ट गर्ने स्वतन्त्रता दिएको छ । अर्काे सामाजिक संजाल ह्वाट्स एप ग्रुपमा कोरोना भाइरसका बारेमा धेरै चर्चा भएको हुन सक्ने जुकरबर्गको भनाइ छ । (बीबीसी हिन्दीमा रोरी सेलन–जोन्सले तयार पारेको रिपोर्टको भावानुवाद)

खल्ती र सिटी एक्सप्रेसबीच सम्झौता, अब अनलाइनबाटै पैसा पठाउन र निकाल्न सकिने

काठमाडौं । खल्ती डिजिटल वालेट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच खल्ती एप तथा वेबसाईटबाटै रेमिट्यान्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्तीका निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार अब खल्ती एप तथा वेबसाईटमा रहेको रेमिट्यान्स आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाई तथा परिवारलाई पठाउन चाहेको रकम सजिलै पठाउन सक्ने  र देशका जुनसुकै कुनाबाट पनि रकम निकाल्न सक्ने छन् । यसरी पैसा पठाईसकेपछि पाउनुपर्ने पाउने व्यक्तिले आफ्नो मोबाईलमा एसएमएस मार्फत एउटा पिन प्राप्त गर्न सक्नेछन् । प्राप्तकर्ताले सिटी एक्सप्रेसका देशैभरी रहेका ७५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट मध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त पिन देखाएर सहज तथा सरल रुपमा पैसा निकाल्न सक्नेछन् । यसका साथै खल्ती प्रयोगकर्ताले अब छिट्टै नै देशैभरी रहेका सिटी एक्सप्रेसका रेमिट्यान्स एजेन्ट मार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

मन्त्री खतिवडाको सिजी ग्रुपप्रति कटाक्षः सेवा राम्राे नदिने, लाइसेन्स लिएर होल्ड गर्ने अनि अदालत जाने ?

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चौधरी ग्रुप (सीजी)प्रति कटाक्ष गर्दै लाइसेन्स लिएर होल्ड गर्ने र फेरी अदालत जाने प्रवृति राम्रो नभएको बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको २२औं वार्षिकोत्सवको अवसरमा मंगलबार उनले लाइसेन्स होल्ड गरी सेवा नदिने कार्य मुलुकको हितमा नहुने बताएका हुन् । सीजी टेलिकमको लाइसेन्सको विषयलाई लिएर सञ्चारमन्त्री गोकुल बास्कोटा र व्यावसायिक घराना चौधरी ग्रुप सार्वजनिकरुपमै वाकयुद्धमा उत्रिएका थिए । सञ्चारमन्त्री बास्कोटाले प्रक्रिया पुर्याएर र २० अर्ब रुपैयाँ बुझाएर आएपछि मात्रै सिजी टेलिकमलाई लाइसेन्स दिन सकिने बताउँदै आएका थिए । उनले सेवा प्रदायक कम्पनीहरुले आफ्नो काम नगर्ने तर पछि न्यायको लागि भन्दै अदालत जाने प्रवृति राम्रो नभएको बताएका हुन् । सञ्चार क्षेत्रमा पनि सेवा दिन्छु भनेर अनुमति लिएर सेवा नदिनेहरू रहेको आफूले पाएको बताउँदै उनले यो राष्ट्रिय रोगको रुपमा रहेर बसेको बताए । ‘यता पनि लाइसेन्स लिने, सेवा नदिनेहरू हुँदा रहेछन्, किन दिएनौं भनेर कारवाही गर्दा अदालत धाउँदा रहेछन्, यो कुरा मन्त्री बनेपछि मात्र थाहा पाउँदै छु,’ उनले भने । ‘तिमीले गर्छु भनेका काम राम्रोसँग छिटो छरितो रुपमा सम्पन्न गर’ भन्दा अदालत गुहार्न जानेको अन्त्य हुनुपर्ने उनको भनाइ छ । सबैभन्दा छिटो काम गर्छु भनेर दुरसञ्चार सेवाको लाइसेन्स लिने, होल्ड गर्ने र काम नगर्ने सोचले मुलुको विकास र रुपान्तरण नहुने उनको दाबी छ । ‘यो प्रवृतिले देशको अर्थतन्त्र कसरी सुधार हुन्छ रु अर्थतन्त्र डिजिटल कसरी हुन्छ रु’ उनले भने । अन्तराष्ट्रिय बजारमा डिजिटल प्रविधिमा प्रतिस्पर्धा बढिरहेको भन्दै मन्त्री खतिवडाले नेपालले पनि त्यसको फ्लो गर्नुपर्ने उनले बताए । उनले भ्वाईसमा सञ्चार प्रक्रिया स्पष्ट भएपनि अव डाटामा गुणस्तर बढाउन आग्रह गरे ।