नेपाल टेलिकमको फोरजी सेवा पर्यटकीय स्थल स्याङ्बोचेमा
काठमाडौं । नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी सेवाको शुरुवात गरेको हो । विश्वकै सबभन्दा अग्लो शिखर सगरमाथा आरोहणका लागि जाने आरोहीहरु लगायत हिमालको दृश्यावलोकनका लागि विश्वभरबाट आउने पर्यटकहरुले यसबाट प्रत्यक्ष लाभ उठाउन सक्नेछन् । पर्यटकीय मौसममा स्याङ्बोचे हुँदै खुम्जुङ, खुण्डे तथा चर्चित गोक्यो ताल जाने पदयात्रीहरुको आवतजावत बाक्लो हुने गर्दछ । स्याङ्बोचे नजिकै रहेको एभरेष्ट भ्यु होटलबाट सगरमाथाको दृश्यावलोकन गर्ने विदेशीहरुको संख्या पर्यटकीय मौसममा दैनिक ५ सयभन्दा बढी पुग्ने गरेको छ । यसका साथै यहाँ नेपालकै सबैभन्दा अग्लो स्थानमा अवस्थित स्याङ्बोचे विमानस्थल समेत रहेको छ । पर्यटकीय दृष्टिबाट अत्यन्त महत्वपूर्ण सो स्थान आसपास पर्यटकीय मौसममा दैनिक ७ सयभन्दा बढी विदेशी पर्यटकहरु आउने गरेका इलाका प्रहरी कार्यालय नाम्चेका इन्सपेक्टर केशबकुमार कटुवालले बताए । स्याङ्बोचेमा स्थापित मोबाइल बीटीएसबाट त्यहाँ पुग्ने विदेशी तथा स्वदेशी यात्रुहरुले पनि उच्च गतिको डाटा र गुणस्तरीय भ्वाइस सुविधा सहितको फोरजी मोबाइल सेवा उपभोग गर्न सक्ने छन् । सगरमाथा आरोहणका लागि वेस क्याम्प जाने मार्ग समेत स्याङ्बोचे हुँदै अघि बढ्ने भएकाले आरोहीहरुले यो सेवाको प्रयोग गर्न सक्ने छन् । यही मार्ग हुँदै पर्यटकीय मौसममा दैनिक आउने र जाने गरी एक हजारभन्दा बढी पर्यटकले फोरजी सेवा प्रयोग गर्न सहज हुनेछ । फागुन १५ देखि जेठ १५ सम्म र असोज, कात्तिक र मंसिरलाई त्यस क्षेत्रको भ्रमणका लागि उपयुक्त समय मानिन्छ । ती दिनमा नाम्चे, स्याङ्बोचे, खुम्जुङ, खुण्डे, चर्चित गोक्यो ताल लगायत स्थानहरु भ्रमण गर्ने तथा सगरमाथा आरोहण गर्ने पर्यटकको आवतजावत अत्याधिक हुने गरेको छ ।
एनसेलकाे अफरः दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेटको बोनस पाइने
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रम अन्तर्गत ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेटको २ रूपैयाँ बोनस स्वरुप प्राप्त गर्दछन् । यो अफर बुधबार (फागुन २८) बाट लागु भएको छ र ३ महिनासम्म जारी रहनेछ । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाई र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट ११ मिनेटसम्म रु २ को दरले बोनस पाउँछन् । यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु २० सम्म बोनस प्राप्त गर्नेछन् । यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् । बोनसका साथै, अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन् । यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १/१ थान स्मार्टफोन पाउनेछन् । एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, कुल अन्तर्राष्ट्रिय आगमन कल र औसत कलको समय अनुसार विजेताको छनोट गरिनेछ । आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाई विदेशमा रहेका र उनीहरुसँग सम्पर्कमा रहिरहनु पर्ने ग्राहकका लागि थप लाभ सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो योजना अन्तर्गत प्राप्त हुने बोनसले ग्राहकलाई विदेशमा रहेका साथीभाई तथा परिवारका सदस्यसँग सम्पर्कमा रहँदै, एनसेलको नेटवर्कमा रहेका अन्य आफन्तजन तथा साथीभाईसँग थप सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।
एनआईसी एशिया र अष्ट्रेलियाको लिगल रेमिटबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । नेपालकाे एनआईसी एशिया रेमिट र अष्ट्रेलियाको लिगल रेमिटबीच रेमिट्यान्स सम्झौता भएकाे छ । उक्त सम्झौता पश्चात अष्ट्रेलियाका नेपालीहरूले लिगल रेमिटबाट रकम पठाएर एनआईसी एशिया बैंकको एनआईसी एशिया रेमिट मार्फत तुरुन्त रकम भुक्तानी लिन सक्नेछन् । साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ । लिगल रेमिट मार्फत अष्ट्रेलियामा रहेका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा रहेका उनीहरुका आफन्तहरू वा अन्य व्यक्तिहरूले सजिलै भुक्तानी गर्न सक्नेछन् । उनीहरुले यस बैंकको मुलुकभर छरिएर रहेका ३१९ वटा शाखा, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९ हजारभन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन् । एनआईसी एशिया बैंक र लुम्बिनी ग्रुप प्राइभेटबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ ।