अब एनसेलका डेटा र भ्वाइस प्याकहरू खल्ती, प्रभु–पे र युनी–पेबाट सिधै लिन सकिने
काठमाडौं । एनसेलका ग्राहकहरूले अब अझै सजह रूपमा डिजिटल वालेटहरू र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट सिधै डेटा र भ्वाइस प्याकहरू लिन सक्ने भएका छन् । यसका लागि एनसेल प्रा.लि.ले विभिन्न तीन मोबाइल वालेटहरूसँग साझेदारी गरेको छ र आफ्ना खुद्रा विक्रेताहरूलाई पनि प्याकहरू बिक्री गर्न सक्ने सुविधा प्रदान गरेको छ । विविध सेवा तथा सुविधाहरूको प्रयोगका लागि अनलाइन भुक्तानी गर्न डिजिटल वालेटहरूको प्रयोग बढिरहेको अवस्थामा एनसेलले खल्ती, प्रभु–पे र युनी–पेसँग सहकार्य गरेको छ । अब यी वालेटका प्रयोगकर्ताले आवश्यकताअनुसार सजिलै एनसेलका विभिन्न डेटा र भ्वाइस प्याकहरू किन्न सक्छन् । एनसेलले ग्राहकहरूलाई विश्वस्तरीय सेवा प्रदान गर्ने र देशको डिजिटल इकोसिस्टमको विकासमा योगदानमा पु¥याउने आफ्नो प्रतिबद्धताबमोजिम सेवाहरू किन्ने प्रक्रियालाई अझै सहज बनाएको हो । शुरुवाती चरणमा ग्राहकले यी वालेटमार्फत वा वालेटसँग जोडिएको बैंक खाताबाट विभिन्न ६ वटा डेटा प्याक र ६ वटा भ्वाइस प्याक सुचारु गर्न सक्छन् । “एनसेल डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका ग्राहकहरूका आवश्यक्ता सम्बोधनका लागि उपयुक्त समाधान ल्याउन सधैं प्रयासरत छ । डिजिटल वालेटहरूसँगको सहकार्यमा हाम्रा डेटा र भ्वाइस सेवाअन्तर्गत ग्राहकहरूले मन पराएका एक दर्जन प्याकहरू सिधै लिन सकिने गरी उपलब्ध गराइएका छन्,” एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तले भने, “डिजिटाइजेसन प्रक्रियाअन्तर्गत हाम्रा खुद्रा विक्रेताहरूलाई ग्राहकमाझ सिधै सेवा प्रदान गर्न सक्षम बनाउन पाएकोमा हामी खुशी छौं । यो हाम्रा ग्राहकहरुका लागि एउटा ठूलो सुविधा हो ।” ग्राहकहरुले पहिला मोवाइलमा मेन ब्यालेन्स रिचार्ज गरी आफै प्याकहरु सुचारु गर्ने प्रक्रियामा नगई अब आफ्नो आवश्यकताअनुसार प्याकहरु सिधैं खुद्रा विक्रेता मार्फत किन्न सक्नेछन् । ग्राहकले नजिकैको खुद्रा विक्रेताबाट आवश्यकताअनुसार आफ्नो मोबाइलमा प्याक लिन सक्छन् । यो प्रक्रियामा खुद्रा विक्रेताले ग्राहकको आग्रहबमोजिम एसएमएस वा यूएसएसडीमार्फत प्याकको कोड र ग्राहकको मोबाइल नम्बर एनसेललाई पठाउँछन् र छानिएको प्याक सिधैं सम्बन्धित ग्राहकको नम्बरमा सुचारु हुन्छ । ग्राहकले एनसेलका आधिकारिक खुद्रा विक्रेता, खल्ती, प्रभु–पे र युनी–पे मार्फत करसहित मात्र रु. ९८.९९ मा २,१०० एमबी डेटा किन्न सक्छन् । यो डेटा ग्राहकले प्रत्येक दिन ३०० एमबीका हिसाबले ७ दिनसम्म चलाउन सक्छन् । त्यस्तै करसहित मात्र रु. ४९८.८३ मा १५,००० एमबी लिन सकिन्छ । यो प्याकमा ग्राहकले दैनिक ५०० एमबी डेटा ३० दिनसम्म पाउँछन् । डेटा सेवाको आवश्यकता अलि बढी रहेका ग्राहकले यी माध्यमबाट करसहित रु ९९८.९७ मा ३६,००० एमबी लिन सक्छन् । यस प्याकअन्तर्गत ग्राहकहरूले दैनिक रूपमा १२०० एमबी ३० दिन पाउँछन् । प्याकअन्तर्गत उपलब्ध हुने डेटा भोलुम सकिए पनि प्याकको समयावधि बाँकी रहेसम्म मेन ब्यालेन्सबाट रकम काटिनेछैन ।
डिजिटल प्रविधिमा अगाडी बढ्दै छिमेक लघुवित्त, लघुवित्त क्षेत्रमै पहिलो अनुभव
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था डिजिटल प्रविधिमा अगाडी बढ्न ईसेवा फोनपेसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी र ईसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका हुन् । संस्थाका ग्राहक सदस्यहरुलाई डिजिटल भुक्तानी सेवा उपलब्ध गराउन लघुवित्तले उक्त सम्झौता गरेको हो । यसबाट वित्तीय संस्थाका ग्राहकहरु र कर्मचारीहरुलाई प्रविधिमा अभ्यस्त गराउँदै वित्तीय कारोबारमा निकै नै सहजता र लागत कम हुनेमा विश्वास गरिएको छ । यो कार्यक्रम नेपालको लघुवित्त क्षेत्रमा पहिलो अनुभव हो । लघुवित्तका ग्राहकहरुलाई लक्षित गरि संचालन गर्न लागिएको यस प्रविधि मार्फत ग्राहकहरुले आफ्नो घर घरबाटै भुक्तानी गर्न सकिने छ । जसले ग्राहककाे समयको बचत हुनुको साथै आर्थिक व्ययभार समेत कम हुनेछ र समय अनुसार प्रविधिको सदुपयोग हुनेछ । हाल विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ जस्ता विषम परिस्थितीको कारण बैकिङ क्षेत्रमा पारेको वा पार्न सक्ने भुक्तानी प्रणालीलाई यस प्रविधिले ठुलो टेवा पुर्याउनेमा विश्वास राखिएको छ ।
डोटीका १० वडा स्वास्थ्य संस्थाविहीन
डोटी । यहाँका गाउँपालिका तथा नगरपालिकाका वडामा स्वास्थ्य संस्थाविहीन हुँदा स्थानीयवासीले उपचार पाउन सकिरहेका छैनन् । बडिकेदारको वडा नं २, आदर्शको वडा नं ३,सायल गाउँपालिकाको वडा नं २, दिपायल सिलगढीको वडा नं ३, ४ र ७, ५ र ६ र शिखर नगरपालिकाको वडा नं ३ र ८ रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कोरोना भाइरसको जोखिम भइरहेका बेला यहाँका कतिपय वडा कार्यालय वर्षौंदेखि स्वास्थ्य संस्थाविहीन हुँदासमेत जनप्रतिनिधि र कर्मचारीले स्थानपनाका लागि कुनै पहल नचालेको स्थानीयवासीको आरोप छ । सरकारले स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको स्तरोन्नति गरी १५ श्ययाका अस्पताल बनाउने प्रावधान अघि सारे पनि यहाँका कतिपय वडा कार्यालयमा सामान्य औषधि उपचार गर्ने स्वास्थ्य संस्था पनि स्थापना हुन सकेका छैनन् । स्थानीय नागरिकले सामान्य उपचारका लागि जिल्ला सदरमुकाम सिलगढी, गाउँपालिकामा रहेका स्वास्थ्य संस्था तथा जिल्ला बाहिर जानुपर्ने वर्षौंदेखिको बाध्यता कायमै रहेको छ । सरकारले तोकेका मापदण्ड ती वडा कार्यालयले पूरा गर्न नसक्दा स्थानीयवासीले दुःख पाउँदै आएको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका स्थानीयवासी डम्बरबहादुर विष्टले बता्ए । उनले भने, “वडा प्रतिनिधि र कर्मचारीले मापदण्ड नपु¥याउँदा स्वास्थ्य संस्था स्थापना भएनन्, दुःखजति जनतालाई भयो ।” यहाँका विभिन्न गाउँपालिकाअन्तर्गतका दशवटा वडा कार्यालय वर्षौंदेखि स्वास्थ्य संस्थाविहीन रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले दिनुभएको जानकारीअनुसार सरकारबाट स्वीकृत मापदण्डअनुसार जिल्लाका नौवटा स्थानीय तहका कूल ६५ वडामध्ये ५५ वडामा मात्रै मापदण्ड पुगेका स्वास्थ्य संस्था रहेको र पाँच स्थानीय तहका १० वटा वडा कार्यालय स्वास्थ्य संस्थाविहीन रहेका छन् । उनका अनुसार ती १० वडामा सामुदायिक स्वास्थ्य इकाइ, शहरी स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र भए तापनि मापदण्ड पूरा भएका आधारभूत स्वास्थ्य केन्द्र नरहेकाले स्वास्थ्य कार्यालयको रेकर्डमा १० वटै वडा स्वास्थ्य संस्थाविहीन भएका हुन् । वडा कार्यालयका पदाधिकारीको गैरजिम्मेवारीका कारण यहाँका १० वटा वडा कार्यालय स्वास्थ्य संस्थाविहीन भएको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, “जब वडा कार्यालयले नै गैरजिम्मेवार हुने र नागरिकको स्वाथ्यमा ध्यान दिने काम गर्दैनन् भने कसरी वडामा स्वास्थ्य संस्था स्थापित हुन्छन् त ?” वडा स्वास्थ्य संस्थाविहीन भएका कारण संविधानतः मौलिक हकका रुपमा रहेको आधारभूत स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ रहेको उनको भनाइ छ । ती वडामा तत्काल स्वास्थ्य संस्था स्थापना गर्नका लागि स्वास्थ्य कार्यालयले सम्बन्धित स्थानीय तहसँग सिफारिस माग गरेको भए पनि हालसम्म कुनै ठाउँबाट पनि सिफारिस आइनसकेको र सिफारिस आएमा मन्त्रालयमा विवरण पेश यो वर्षभित्रै स्वास्थ्य संस्था स्थापनाका लागि पहल चालिने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । यसैबीच डोटीका विभिन्न स्थानीय तहले ३१ वटा स्वास्थ्य संस्थाको स्थापना गरेका छन् । स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार सात वटा स्थानीय तहले सामुदायिक स्वास्थ्य इकाइ, नगर स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्रका रुपमा ३१ वटा स्वास्थ्य संस्था स्थापना गरेका छन् । तीमध्ये बडीकेदार गाउँपालिकाले पाँच, दिपायल सिलगढी नगरपालिकाले चार, आदर्श गाउँपालिकाले ६, सायल गाउँपालिकाले दुई, शिखर नगरपालिकाले तीन, जोरायल गाउँपालिकाले ६ र बोगटान फुड्सिल गाउँपालिकाले पाँचवटा स्वास्थ्य संस्था स्थापना गरेका छन् । ती स्थानीय तहले आफ्नै लगानीमा व्यवस्थापन तथा खर्च व्यहोर्ने गरी स्वास्थ्य संस्था स्थापना गरी सेवा दिन शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयले जानाएको छ । रासस