एनटीएका कार्यक्रम: सेवा प्रदायकलाई मर्जर/एक्विजिसन गर्नेदेखि कार्यालय अटोमेसनमा लिनेसम्म

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरण (एनटीए)ले चालु आर्थिक वर्ष २०७७/७८ का लागि १४ अर्ब १४ करोड रुपैयाँ बराबरको वार्षिक कार्यक्रम ल्याएको छ । प्राधिकरणले गत आर्थिक वर्षको तुलनामा यस वर्ष २ अब रुपैयाँ कमले वार्षिक कार्यक्रम ल्याएको हो । प्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्ब ६९ करोड रुपैयाँको वार्षिक कार्यक्रम ल्याएको थियो । प्राधिकरणले चालु आर्थिक वर्षमा ग्रामीण दूर संचार कोषतर्फ ६ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ भने प्राधिकरण तर्फ ७ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएको छ । गत आर्थिक वर्षमा ग्रामिण दूर संचार कोष तर्फ ६ अर्ब ५० करोड रुपैयाँ रहेको थियो भने प्राधिकरण तर्फ १० अर्ब १९ करोड रुपैयाँ छुट्याएको थियो । प्राधिकरणले वार्षिक कार्यक्रममा ३० नयाँ कार्यक्रमहरु ल्याएको छ । प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार अहिले कोरोना महामारी (कोभिड–१९) का कारण विषम परिस्थीति सिर्जना भएकाले पनि गत वर्षको भन्दा कम बजेटको वार्षिक कार्यक्रम ल्याएको हो । के छन् नयाँ कार्यक्रम ? प्राधिकरणले धेरै नयाँ कार्यक्रमहरु पनि ल्याएको छ । गत वर्षका कार्यक्रमहरुलाई निरन्तरता दिनेसँगै ३० नयाँ कार्यक्रम पनि प्राधिकरणले थप गरेको छ । प्राधिकरणको वार्षिक कार्यक्रममा दूरसञ्चार, ब्रोड ब्याण्ड र सूचना तथा सञ्चार प्रविधि नीति परिमार्जन गर्ने नयाँ कार्यक्रम रहेको छ । सो कार्यक्रममका लागि १० लाख रुपैयाँ छुट्याइएको छ । यस्तै, नयाँ कार्यक्रममा प्राधिकरणका सम्पूर्ण शाखाका कार्यालयहरु अटोमेसन सिस्टमसँग एकिकृत हुने गरी आवश्यकता अनुसार सफ्टवेर निर्माण गरी लागु गर्ने जनाएको छ । त्यस मार्फ कम जनशक्तिमा धेरै काम गर्न सकिने बताएको छ । सो कार्यक्रमका लगि प्राधिकरणले २ करोड रुपैयाँ बजेट छुट्याइको छ । यस्तै, नेपाल दूर सञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन नयाँ सेवा प्रदायक छनोट तथा मर्जर एण्ड एक्विजिसन कार्यान्वयन सम्बन्धमा अन्र्तक्रिया तथा छलफल गर्ने वार्षिक कार्यक्रममा उल्लेख गरिएको छ । त्यसका लागि पनि १५ लाख रुपैयाँ बजेट छुट्याइको छ । प्राधिकरणको नयाँ कार्यक्रममा भ्वाइस सेवा प्रदायकको बिलिङ सिस्टमको इन्टीग्रीटी जाँच गरी राजश्व निर्क्याैल गर्ने पनि उल्लेख गरिएको छ । उक्त कार्यक्रमका लागि २ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै, साइबर सेक्युरिटी सिमुलेसन ल्याब सीइआरटी तयार गर्ने कार्यक्रम पनि नयाँ रहेको छ । त्यसका लागि पनि प्राधिकरणले २० करोड रुपैयाँ बजेट छुट्याइएको छ । समग्रमा प्राधिकरणले दूर संञ्चार सेवा तथा सुविधा सर्वसुलभ र भरपर्दो बनाउने कार्यक्रम तय गरी रकम छुट्याएको छ । उक्त कार्यक्रममालागि १५ करोड २२ लाख रुपैयाँ छुट्याइएको छ । आधारभूत दूर सञ्चार सेवा र सुविधा नेपाल राज्यभर शहरी तथा ग्रामीण सबै क्षेत्रमा पुर्याउन आवश्यक व्यवस्थापन गर्नका लागि ६ करोड ४५ लाख रुपैयाँ छुट्याइएको छ । आगामी दिनमा दूर सञ्चार सेवा र सुविधा सर्वाधारण सबैलाई उपलब्ध गराउन त्यस्तो सेवा र सुविधा प्रदान गर्ने व्यक्तीहरु बिच समन्वय र स्वस्थ्य प्रतिस्पर्धा हुने व्यवस्था गर्ने जनाएको छ । उक्त शिर्षकमा बजेट ६५ लाख रुपैयाँ छुट्याइएको छ । । प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति द्धारा निर्धारित नीति अनुरुप फ्रिक्वेन्सी सम्बन्धी काम गर्ने शिर्षकमा ६ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै, दूर संचार क्षेत्रमा नयाँ प्रविधिको विकास तथा उपयोगबारे अनुसन्धान गर्ने, गराउने शिर्षकमा ५० लाख बजेट छुट्याइएको छ । उपभोक्ताहरुको हकहितको संरक्षण हुने गरी दूर संचार सेवाको विकास र विस्तार गर्ने गराउने शिर्षकमा २० लाख रुपैयाँ छुट्याइएको वार्षिक कार्यक्रममा उल्लेख गरिएको छ ।

एनसेलले सुरु गर्‍यो वाइफाइ, टक टाइम र डेटा बन्डल सहितको वायरफ्री प्लस सेवा

काठमाडौं। नेपालका उपभोक्ताले अब आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवाबाट फाइदा लिन सक्छन् । एनसेल आजीयाटा लिमिटेडले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको छ । कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’ अन्तर्गत मंगलवार (साउन २०) देखि सुरु गरेको हो । वायरफ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा हो । यो प्रविधि अन्तर्गत उपभोत्ताले बिना तारको प्रयोग डेटा सेवा लिन सक्छन् । प्लान अनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबी देखि १० जीबी डेटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यस वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विषेशता रहेको छन् । गत महिना देखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रि–बुकिङ् लिन सुरु गरेको थियो । वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको अवसरमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिने यो एक नयाँ सुरुवात हो र यसमा ग्राहकले बन्डल सेवा सहित नयाँ अनुभव लिन सक्छन् । प्रि–बुकिङ्गमा ग्राहकहरुबाट प्राप्त अर्डरले हामी उत्साहीत भएका छौं । यसले वायरलेस डेटा कनेक्टिभिटीको महत्वलाई दर्र्शाएको छ र हामीलाई विश्वास छ यो सेवाले उपभोत्तालाई इन्टरनेटमा पहँुच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल बन्न योगदान गर्नेछ ।” वार्षिक प्लानमा मासिक रु ६९० को शुल्क रहेको यो सेवा अन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा कुनै पनि समुह अन्तर्गतको प्लान लिन सक्छन् । गोल्ड समुह अन्तर्गत ग्राहकले वार्षिक प्लानमा मासिक मात्र रु ६९० (कर बाहेक) शुल्कमा ६० जीबी वायरफ्री प्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक ५ जीबी डेटा प्राप्त गर्दछन् । त्यस्तै प्लाटिनम समुह अन्तर्गत ग्राहकले मासिक मात्र रु ८६० (कर बाहेक) शुल्कमा ८५ जीबी वायरफ्री प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् । डायमण्ड समुह अन्तर्गत ग्राहकले मासिक मात्र रु ९५० (कर बाहेक) शुल्कमा १०० जीबी वायरफ्री प्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् । वायरफ्री प्लस सेवा सुचारु गरी यस सेवाको फाइदा लिन इच्छुक ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टरमा सम्पर्क गर्न सक्छन् । ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्छन् । प्याकेजको समयसिमा अनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क रु ५००, रु २,५०० वा रु ३,५०० तिर्नु पर्दछ । ४२० दिनको समयसिमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ । ग्राहक लिने प्याकेज अनुसार यी प्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन । सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरा देखि पुर्वको मोरङ, सुनसरी र धनकुटा सम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध छ । कम्पनीले प्राप्त बुकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन गर्न सुरु गरेको छ । आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’ अफर, एण्डलेस कुराकानी प्लस, सजिलो सिम प्लस सेवा ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ । यो सेवाको बारेमा थप जानकारीको लागि एनसेल आजीयाटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् ।

एनसेल अब सार्वजनिक कम्पनी, आईपीओ जारी गर्नसक्ने

काठमाडाैं‌ । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल सार्वजनिक कम्पनीमा रुपान्तरण भएको छ। हालसम्म प्राइभेट कम्पनीका रुपमा रहेकाे एनसेल अब सार्वनजिक कम्पनीकाे रुपमा रहनेछ । एनसेलले कम्पनी रजिष्टारको कार्यालयमा आफु अजियाटा लिमिटेड कम्पनीका रुपमा औपचारिक रुपमा दर्ता भएको जनाएकाे छ । याेसँगै कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने बाटो अब खुला भएको छ। एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ।