रिचार्ज र नयाँ प्रिपेड सिम एक्टिभेट गर्न टेलिकमको नयाँ व्यवस्था, अब कसरी गर्ने ?

काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवाहरुको टपअप (रिचार्ज) गर्नका लागि यूएसएसडी कोड *४१२# प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जिएसएम मोबाइलबाट *४१२# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिने टेलिकमले जनाएकाे छ । टेलिकमका अनुसार यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ । कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप सेवाहरुको टपअप(रिचार्ज) यूएसएसडी कोड प्रयोग गरी सजिलै गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी, नयाँ सिम एक्टिभेट गर्न हाल १४१५ मा कल गरी फष्र्ट कल एक्टिभेसन(एफसीए) गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले *१४१४# डायल गरी एफसीए गर्न सकिने व्यवस्था मिलाएको छ । नेपाल टेलिकम एप र कम्पनीको वेबसाइट मार्फत टपअप(रिचार्ज) गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाको (रिचार्ज) समेत थप सहज रुपले गर्न सकिने कम्पनीको अपेक्षा रहेको छ । सम्बन्धित समाचारः मोबाइलमा रिचार्ज गर्ने बित्तिकै सरकारले लिन थाल्यो २ प्रतिशत रकम

मोबाइलमा रिचार्ज गर्ने बित्तिकै सरकारले लिन थाल्यो २ प्रतिशत रकम

काठमाडौं । अब सीम कार्डमा रिचार्ज गर्ने बित्तिकै २ प्रतिशत शुल्क काटिने भएको छ । नेपाल टेलिकमको पोस्ट पेड र प्रिपेड सिमकार्ड खरिद गर्दा तथा मोवाइल र टेलिफोनको रिचार्ज गर्दा लाग्ने स्वामित्व शुल्कमा हेरफेर गर्दै सो व्यवस्था गरेको हो । नेपाल टेलिकमले दिएको जानकारी अनुसार अब पोस्ट पेड र प्रिपेड सिमकार्डमा रिचार्ज गर्दा (ओनरसिप चार्ज) काटिने भएको हो । यो भन्दा अगाडि प्रिपेड सिमकार्डमा मात्र शुल्क लिने गरेको थियो । अब भने दुवै सिमकार्डमा शुल्क काटिनेछ । नेपाल टेलिकमा प्रवक्ता राजेश जोशीका अनुसार टेलिकमले ग्राहकको माग अनुुसार शुल्कमा हेरफेर गर्दै आएको र अहिलेको आवश्यकता अनुसार टेलिकमले पोस्ट पेड सिम कार्डमा यस्तो व्यवस्था ल्याएको हो । ‘हामीले ग्राहकहरुको माग अनुसार विभिन्न सेवा सुविधा ल्याउदै आएका छाैं, अहिले पोस्ट पेडको खरिद तथा रिचार्ज शुल्कमा हेरफेर गरिएको छ, प्रि–पेड मोवाइलको हकमा भने पहिलेको व्यवस्था नै कायम रहनेछ’, उनले भने । टेलिकमले पोस्ट पेडको नयाँ सिम कार्ड खरिद गर्दा लाग्ने २ प्रतिशत शुल्क भने अब बुझाउनु नपर्ने जनाएको छ ।

अटोमेटिक ‘कन्टेन्ट फिल्टरीङ’को तयारीमा एनटीए, अब अश्लिल सामग्री अनलाइनमा राख्ने बित्तिकै हट्ने

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष भित्रै अनाधिकृत कन्टेन्ट इन्टरनेटबाट चल्न नमिल्ने बनाउने भएको छ । प्राधिकरणका अनुसार अनलाइनमा तथा सामाजिक सञ्जालमा राखिने अनावश्यक तथा सामाजमा हानी पुर्याउने खालका विषयवस्तुहरु अटोमेटिक (आफै) रुपमा हट्ने गरी काम गरिरहेको हो । यसको लागि प्राधिकरण तीव्र तयारीमा जुटेको छ । मानिसहरुले विभिन्न अनलाइन माध्यम तथा सामाजिक सञ्जालमा राखिने अश्लिल विषयवस्तुहरुलाई अटोमेटिक रुपमा हट्ने गरी प्राधिकरणले काम गरिरहेको हो । नेपाल दुर संचार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा पोष्ट गरिने अश्लिल तस्वीर तथा विषयवस्तुहरु आफै हट्ने गरी त्यही किसिमले काम भइरहेको बताए । ‘हामीले चालु आर्थिक वर्ष भित्रै अनाधिकृत कन्टेन्टहरु रोक्ने तयारी गरेका छौँ, सोही सुविधाका लागि कन्टेन्ट फिल्टरिङ सेवा हामीले सुचारु गर्दैछौँ,’ उनले भने । अहिले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमहरुमा धेरै अश्लिल तथा गलत सामग्रीहरु पोष्ट भइरेहका छन्, यसले समाजमा थप हानी नोक्सान पनि गरिरहेको छ, त्यसको प्रवृतिमा परिवर्तन ल्याउन हामीले कन्टेन्ट फिल्टरीङको योजना अगाडि बढाएका हौं, उनले भने । यसले आम सर्वसाधरणहरुमा थप सुरक्षा मिल्ने उनको भनाई छ । उनका अनुसार सेवा प्रदायक तथा सर्वसाधारणहरुसँग समन्वय गरेर अगाडि बढ्ने उनले बताए । प्राधिकरणले सर्वसाधारणले खोजेका कन्टेन्टहरु कानुनी आधारमा सहि भए मात्र चल्ने बनाउने उनको भनाई छ । प्रायेगकर्ताले अनलाइनमा खोजेपनि त्यस्त खालका अश्लिल सामग्री अनलाइनमा भेटिने छैन भने त्यस्ता सामग्री अनलाइन तथा सामाजिक सञ्जालमा पोष्ट भएपनि एनटीएले त्यसले समाज तथा व्यक्तिलाई पार्ने असरलाई यकिन गरेर साइटबाट हटाउन सक्ने वा साइट नै बन्द हुन बनाउन सक्नेछ । अब संवैधानिक तथा कानुनी रुपमा प्रवाह गर्न नपाउने भनि वञ्चित गरेका कन्टेन्टहरु कसैले चलाउन पाउने छैन भने अनलाइनमा पोष्ट गर्न पनि पाउने छैन । यदि पोष्ट गरिहाले भनेपनि तत्कालै त्यो सामग्री त्यहाँबाट हट्नेछ ।