कञ्चनपुर प्रहरीद्वारा सवारीसाधन जाँच गर्न ‘गोप्रो क्यामेरा’ काे प्रयोग

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले पहिलो पटक जिल्लामा सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ । प्रहरी र सेवाग्राहीलाई जवाफदेही र पारदर्शीताका लागि यहाँ शुरुआती चरणमा छ वटा क्यामेरा प्रयोगमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । “सवारीसाधन जाँचका क्रममा कुनै खाले विवाद सिर्जना भइहाले पनि यसले प्रमाण राख्न पनि सहज हुन्छ”, उनले भने, “प्रहरीको प्रविधिमाथि पनि पहुँच बढिरहेको छ ।” उनले शुरुआतमा महेन्द्रनगर र आसपासका क्षेत्रमा थालिएको उक्त गोप्रो क्यामेराको प्रयोग जिल्लाभरका युनिटसम्म पु¥याउने योजना रहेको बताए । क्यामेरा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीको पहलमा खरिद गरी कार्यक्षेत्रमा खटिने प्रहरीलाई प्रयोगका लागि दिइएको हो । “हरेक दिनको भिडियोसहितको रेकर्ड जिल्लामा राख्ने काम पनि हुन्छ”, प्रवक्ता थापाले भने, “ट्राफिक नियम पालना गरी दुर्घटना न्यूनीकरणका लागि सबैले सचेत हुन जरुरी छ ।” उनले क्यामेराको प्रयोगले खटिने प्रहरी कर्मचारीकोसमेत गतिविधिमाथि निगरानी हुने बताए । सवारी जाँच खटिने प्रहरीले छातीमा क्यामेरा लगाउने भएकाले चालक र प्रहरी दुवैका गतिविधि अटो रेकर्ड हुन्छ । “सवारी जाँचका क्रममा प्रहरीबाटै दुव्र्यहार भएका गुनासा पनि आउँछन्”, उनले भने, “अब यथार्थ थाहा पाउन पनि सहज हुन्छ ।” प्रहरी र ट्राफिक प्रहरीले दुई दिनदेखि उक्त क्यामेराको प्रयोगसहित बजार र आसपासका क्षेत्रमा सवारी जाँच सक्रिय बनाएको छ । दुई दिनमा ५८ सवारी साधनमाथि कारवाही गरिएको प्रहरीले जनाएको छ । “पहिलो दिन बिहीबार ३२ र शुक्रबार २६ वटा सवारी साधनमाथि कारवाही गर्दा गरियो”, थापाले भने, “ग्रामीण बस्तीसम्म प्रहरी सहभागिता बढाउन विभिन्न योजनासहित अघि बढ्दै छौँ ।” रासस

अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह

काठमाडाैं । संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१ नोभेम्बरका दिन टेलिभिजन दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो । आजभन्दा ९५ वर्ष अगाडि आविष्कार भएको टेलिभिजन आमसञ्चार माध्यम अहिले विकास हुँदै अनलाइन टेलिभिजनसम्म आइपुगेको छ । टेलिभिजन प्रविधिको सबैभन्दा कान्छो पुस्ताको रुपमा रहेको अनलाइन टेलिभिजनको विस्तार र आकर्षण दिनप्रतिदिन बढिरहे पनि यसको व्यवस्थापन तथा संस्थागत विकासको आवश्यकता पनि उत्तिकै रहेको अनलाइन टिभी पत्रकार सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष जीवन भण्डारी र महासचिव राजु सुवेदीले दिवसको अवसरमा वक्तव्य जारी गर्दै अनलाइन टेलिभिजनको पहुँचलाई विस्तार गर्दै यसको विषयवस्तु तथा प्रस्तुतिको गुणस्तर वृद्धि गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान पु¥याउनुपर्ने बेला भएको उल्लेख गरेका छन् । सबै अनलाइन टिभीकर्मीलाई सङ्गठित हुन र एक अर्कालाई सहयोग, सीप र ज्ञान आदानप्रदान गर्न पनि उहाँहरुले सबैलाई आह्वान गरेका छन् । अनलाइन टेलिभिजनलाई व्यवस्थित, विश्वसनीय र उपयोगी बनाउन सबै टेलिभिजनकर्मी, विज्ञ र सरोकारवाला निकायका बीचमा सहकार्य गर्दै केही प्रयास भइरहेको सङ्घले जानकारी दिएको छ । नेपालमा पहिलो टेलिभिजनको रुपमा विसं २०४१ माघ १७ गते नेपाल टेलिभिजनको स्थापना भएको हो भने हाल सय बढी टेलिभिजन सञ्चालनमा रहेका छन् । त्यसैगरी अनलाइन टेलिभिजनको सङ्ख्या पनि बढीरहेपनि यसको कुनै आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन । रासस

‘सिड स्टार्स वर्ल्ड’ प्रतिस्पर्धामा नेपालबाट दियालो टेक्नोलोजि विजयी

काठमाडौं । नेपालमा खानेपानी समितिहरूलाई डिजिटवलाईज गर्न महत्वपूर्ण भूमिका खेलेको दियालो टेक्नोलोजिज प्रा.लि. ‘सिड स्टार्स वर्ल्ड प्रतिस्पर्धामा २०२०/२०२१’ का लागि नेपालबाट विजयी बनेको छ । नेपाल लगायत विश्वका विभिन्न स्टार्टअप कम्पनीहरुको सहभागिता रहने यस प्रैतिश्पर्धामा यो वर्ष नेपालबाट दियालो टेक्नोलोजिज छानिएको हो । मंगलबार ‘सिड स्टार्स’ले भर्चुअल माध्यमबाट एशिया र अफ्रिकाका विजेता कम्पनीहरुको नाम घोषणा गरेको थियो । यो अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई अब अटोमेशनमा लैजान थप कामहरू गर्ने अवशर प्राप्त गर्नेछ । अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले यो वर्षको सिडस्टार्समा नेपालबाट आफुहरु  विजेता बन्न पाउँदा धेरै हर्षित भएकाे र विगत आठ वर्षदेखि खानेपानी क्षेत्रका संस्थालाई डिजिटलाइज गर्दै आएकाे आफुहरु याे क्षेत्रलाई पुर्ण अटोमेशनमा लैजाने गरी काम गर्ने बताए । नेपालमा दियालो टेक्नोलोजिले खानेपानी क्षेत्रमा वाटरमार्क नामक सफ्टवेयर निर्माण गरी खानेपानी समितिलाई डिजिटलाइज गर्नुका साथै मिटर रिडिङ देखि अनलाइनबाट भुक्तानी गर्न सकिने किसिमको प्रविधि निर्माण गरी प्रयोगमा ल्याएको छ । यस्तै दियालोले सार्वजनिक यातायातको टिकट अनलाइनबाट काट्न सकिने सेवा ‘बससेवा डटकम’ मार्फत दिँदै आएको छ । यसैगरी कम्पनीले नेपालमै पहिलो पटक क्लाउड बेस एकाउन्टिङ सफ्टवेयर ‘इलेखा’ लगायतका थुप्रै सफ्टवेयर निर्माण गर्दै आएको छ ।