सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन महालेखाको निर्देशन

काठमाडौं । सूचना प्रविधिको विकासले संसारलाई एउटा सानो गाउँमा सीमित गरिदिएको छ । इन्टरनेट सेवाको विकास र विस्तारले मानिसको दैनिक जीवनलाई सहज बनाएको भए पनि त्यसबाट प्राप्त हुने सरकारी राजश्व गुम्दै गएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सामाजिक सञ्जाल एवं एपमार्फत हुने विज्ञापन तथा अन्य व्यावसायिक कामको जानकारी सरकारी निकायमा नभएको स्पष्ट पारेको छ । इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने भाइबर, मेसेन्जर, स्काइप, ह्वाट्स एप, वीच्याट र इमोको प्रयोग पनि उत्तिकै वृद्धि भएको छ । त्यस्ता सञ्जालको प्रयोगकर्ता पनि दिनप्रति दिन बढिरहेका छन् । यस्तै, बैठक, गोष्ठी, सेमिनार सञ्चालन गर्ने जुम, वेभेक्स, सिस्को जस्ता एपहरु नेपालमा निर्वाध रुपमा सञ्चालनमा छन् । कतिपय सेवाका लागि अमेरिकी डलर खाताबाट भुक्तानी भइरहेको छ । त्यस्तो भुक्तानी गरिदा नेपालको कुनै पनि प्रणालीमा दर्ता नभएको तथा करको दायरामा आएका छैनन् । आयकर ऐनको दफा ६७ अनुसार नेपालको कराधार क्षेत्रभित्र पार्नुपर्ने भए पनि सरकारले त्यसतर्फ पहल गरेको छैन । महालेखापरीक्षकको ५८औँ प्रतिवेदनले सामाजिक सञ्जालमार्फत हुने अमेरिकी डलरको भुक्तानीको विवरण समेत सरकारलाई थाहा नभएको तथा राजश्वको दायरामा नआएको भन्दै आपत्ति प्रकट गरेको छ । त्यस्तो सेवा प्रदान गर्ने सेवा प्रदायकलाई नेपालमा दर्ता गराई राजश्व असुल गर्ने व्यवस्था गर्नुपर्ने महालेखाले ठहर गरेको छ । सबै किसिमका आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याई राजश्वको आधार फराकिलो बनाउन जोड दिँदै महालेखाले इ–कमर्स तथा भाइबर, म्यासेन्जर, स्काइप, विच्याट, फेसबुकलगायत सामाजिक सञ्जालमा हुने अनलाइन विज्ञापनलाई व्यवस्थित गर्न भनेको छ । ती क्षेत्रलाई करको दायरामा ल्याउन महालेखाले सरकारलाई निर्देशन दिएको छ । कुनै पनि विज्ञापन तथा सूचना प्रकशन तथा प्रसारण गरे वापत दैनिक नै ठूलो मात्रामा भुक्तानी हुने गरेको छ । सामाजिक सञ्जालमा स्पष्ट रुपमा विज्ञापन तथा सूचना देखिएपनि त्यसको भुक्तानी कार्डमार्फत हुने गरेको छ तर देशको राजश्व प्रशासनलाई त्यसबारेमा जानकारी नहुँदा सरकारको आम्दानी गुमिरहेकाले कानून बनाएर नियमन गर्न महालेखाले निर्देशन दिएको छ ।

ओपोले सार्वजनिक गर्यो नवप्रबर्तनात्मक ईमेजिङ प्रविधि

काठमाडौं । वैश्विक स्तरम अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले २०२१ ओपो फ्यूचर ईमेजिंग टेक्नोलोजी लञ्च ईभेन्टको आयोजना गरेको छ । अनलाइन ईभेन्ट मार्फत ओपोले सेन्सर्सका लागि अपग्रेड, मोड्यूल्स र अल्गोरिदम लगायत स्मार्टफोन ईमेजिंग टेक्नोलोजीसंग सम्बन्धित विभिन्न नवप्रबर्तनहरु सार्वजनिक गरेको थियो । प्रयोगकर्तालाई जीवनका सौन्दर्य सहजरुपमा कैद गर्न सघाउने उद्देश्यका साथ कम्पनीले आफ्नो ध्यान स्व—विकास र अन्तर्निहित इमेजिंग प्रविधिको विकासमा केन्द्रित गरिरहेको छ । कम्पनीेले सार्वजनिक गरेको नवप्रबर्तनहरुमा ओपोको नेक्स्ट जेनरेशन आरजीडब्ल्यूबी सेन्सर, ८५—२००एमएम कन्टिनुओस अप्टिकल जुम, फाइभ—एक्सिस ओआईएस टेक्नोलोजी र आफ्नो स्वामित्वमा रहेका एआई अल्गोरिदमका श्रृंखला सहितको नेक्स्ट जेनरेशन अन्डर स्क्रिन क्यामेरा रहेका छन् । यी नयाँ प्रविधिहरुको उपयोग मार्फत ओपोले लाइट सेन्सिटिभिटी, जुम क्यापेबिलिटी, स्टेबलाइजेशन, फ्यूचर प्रडक्ट फोर्म फ्याक्टर प्रि—रिसर्च लगायत स्मार्टफोन इमेजिंग टेक्नोलोजीका क्षेत्रमा ठूलो सफलता हात पारेको छ । नयाँ सेन्सरः ओपोको नयाँ—पुस्ताको आरजीबीडब्ल्यू सेन्सरले सुदृढ कलर परफरमेन्स मार्फत उल्लेख्यरुपमा प्रकाश सम्बेदनशीलता बढाउँछ । यसका लागि कम्पनीले अतिरिक्त ह्वाइट सब—पिक्सेल्स (डब्ल्यू), अभूतपूर्व डीटीआई प्रविधि र ओपोद्वारा स्व—बिकसित फोर ईन वान पिक्सेल अल्गोरिदमको प्रयोग गरेको छ । यी नवप्रबर्तनका नतिजा स्वरुप नयाँ सेन्सरले पछिल्ला सेन्सरका तुलनामा ६० प्रतिशत बढी प्रकाश ग्रहण गर्ने क्षमता बोक्छ । साथै, सफा—स्पष्ट र न्यून प्रकाश भएका स्थानमा पनि ३५ प्रतिशतसम्म न्वाइज रिडक्शन गरी चहकिला तस्विर लिन सघाउँछ । न्यून प्रकाश भएका स्थानमा उच्च गुणस्तरिय तस्विर कैद गर्न सघाउनुका साथै नयाँ पुस्ताको आरजीबीडब्ल्यू सेन्सरले तस्विर तथा भिडियो दूबैमा पोट्रेटलाई छाला, बनोट र टेक्स्चरमा सुधार मार्फत थप अर्थपूर्ण बनाउन सघाउँछ । नयाँ सेन्सरहरु ओपोका उत्पादनहरुमा सन् २०२१को चौथो क्वार्टरदेखि ब्यवसायिकरुपमा उपलब्ध गराइने जानकारी दिइएको छ । नयाँ मोड्यूल: – नयाँ सार्वजनिक मोड्यूल ८५—२००एमएमको कन्टिन्यूओस अप्टिकल जुम हो । यसले तल लिखित स्ट्रक्चरल मोड्युलमा हार्डवेयर लेभलमा रिडिजाइन गर्छ । -यसमा पहिलो पटक जी+पी (ग्लास+प्लास्टिक) लेन्स प्रविधि अपनाइएको छ । अप्टिकल प्रभावमा बढावा दिनुका साथै उल्लेखनियरुपमा अनावश्यक प्रकाशमा न्यूनिकरण ल्याउने लगायत काममा सघाउन यसमा दूई निकै पातला, उच्च परिशुद्धता सहितका एस्फेरिक ग्लास लेन्सको प्रयोग गरिएका छन् । -टनल म्यागनेटोरेजिस्टेन्स सेन्सर (टीएमआर सेन्सर)को नवप्रबर्तनात्मक प्रयोगले क्यामेरा मोड्यूल मातहतका लेन्सलाई थप स्थिर र सटिकताका साथ चल्न सघाउँछ । -नयाँ परिस्कृत गाइडिंग शाफ्ट मोटरले लेन्स प्रणालि अन्तर्गत चलाउन सकिने गतिशील झुकावमा थप लचिकता उपलब्ध गराउँछ । यसले गर्दा उच्च म्याग्निफिकेशनमा निरन्तर अप्टिकल जूमका लागि तेवा पुग्छ । यी नवप्रबर्तनले ८५एमएम देखि २०० एमएमको समानान्तर फोकल लेन्थ सम्म निरन्तर अप्टिकल जूम गर्ने कार्यमा सघाउँदै नजिकका ब्यक्तिगत पोट्रेटदेखि लिएर टाढा टाढा ल्यान्डस्केपहरु समेत क्रप गर्नै नपर्ने गरी हरेक म्याग्निफिकेशन लेभलमा सटिक तस्विर कैद गर्न सघाउँछ । त्यसैगरी, ओपोको नयाँ फाइभ—एक्सिस् ओआईएसले सिष्टम प्रोशेसरलाई गायरोस्कोपको माध्यमबाट गति सम्बन्धि डाटा संकलन, विश्लेषण र अल्गोरिदम मार्फत आवश्यकता अनुसार उपयोग गर्ने क्षमता प्रदान गर्छ । यसरी संकलित डाटा लेन्स र सेन्सरलाई उपलब्ध गराइन्छ । न्यून प्रकृतिका चाल (मूभमेन्ट)को अवस्थामा लेन्स सिफ्ट ओआईएस, एक्स र वाई एक्सिस सिफ्टिंग मार्फत तस्विरमा स्थितरता प्रदान गरिन्छ । त्यसैगरी, अत्यधिक चाल वा कम्पन भएको अवस्थामा फाइभ एक्सिस अफ स्पेसमा स्थिरताका लागि हराइजन्टर सिफ्टिंग (एक्स), भर्टिकल सिफ्टिंग (वाई) र रोलिंगका साथै अल्गोरिदम कम्पेन्सेशन सहित सेन्सर सिफ्ट ओआईएस प्रयोगमा ल्याइन्छ । यसले मोबाइल उपकरणमा उपलब्ध परम्परागत ओआईएस प्रविधिका तुलनामा ३ गुणा बढी स्थिरता प्रदान गर्ने क्षमता राख्छ । रातको समयमा तथा मोशन शट्सका लागि ओपोको स्वामित्वमा रहेको अल्गोरिदम प्रविधिले स्थिरता, स्पष्टता र रंग सम्प्रेषणमा भाइब्रेशन कम्पेन्सेशन परफरमेन्समा ६५ प्रतिशत अधिकताका साथ ब्यापक सुधार उपलब्ध गराउँछ । ओपोको फाइभ—एक्सिस् ओआईएसलाई सन् २०२२ को क्यूवानदेखि ब्यवसायिकरुपमा उपलब्ध गराइने जानकारी दिइएको छ । नयाँ अल्गोरिदमः ओपोले भविष्यका स्मार्टफोन्सका लागि आफ्नो नेक्स्ट जेनरेशन अन्डर स्क्रिन क्यामेरापनि प्रदर्शित गरेको छ । यसमा प्रयोग गरिएको नवप्रबर्तनात्मक पिक्सेल जियोमेट्रीले अन्डर—स्क्रिन क्यामेराको क्षेत्रमा ४००—पीपीआईको उच्च गुणस्तरिय डिस्प्लेको सुनिश्चिितता प्रदान गर्छ । पारदर्शी वायरिंग र नयाँ डिजाइनको प्रयोगले प्रयोगकर्तालाई उच्च डिस्प्ले गुणस्तर र आनन्ददायी दृष्यानुभूति प्रदान गर्छ । स्क्रिनमाएक पिक्सेल सर्किटले एक पिक्सेल नै ड्राइभ गर्ने आफ्नो स्वामित्व अन्तर्गतको नयाँ समाधान र ओपोको सटिक अल्गोरिदम कम्पेन्सेशन प्रविधिसंगको संयुक्त प्रयोगले समग्र स्क्रिनको क्रोम्याटिसिटी र प्रकाश माथिको नियन्त्रणको सटिकतालाई मात्र २%को डेभिएशनमा सिमित गर्छ । साथै, स्क्रिनको आयू ५० प्रतिशतसम्म लम्ब्याउने क्षमता राख्छ । साथै, ओपोको यूएस रिसर्च ईन्ष्टिच्यूटले ईमेजिंग एआई अल्गोरिदमको एक नयाँ श्रेणीकै विकास गरिसकेको छ । तिनमा विवर्तन घटाउने, अन्डर स्क्रिन क्यामेरामा साधारणतया देखिने धमिलो आकृति तथा अति चहकिलो हुने लगायत एचडीआर र एडब्ल्यूबी जस्ता समस्याको समाधान सम्मिलित रहेका छन् । उपभोक्ताले स्पष्ट, प्राकृतिक देखिने तस्विर तथा दृष्य कैद गर्न सकुन् भन्ने सोचका साथ ओपोले आफ्नो एआई डिफ्राक्शन रिडक्शन मोडललाई दसौँ हजार तस्विरहरका सहायताले तालिम प्रदान गरिसकेको छ । विश्वभरका उपभोक्ताको परिवर्तनशिल मागलाई सम्बोधन गर्न ओपोले आफ्नो विश्वब्यापी आरएण्डी क्षमतालाई थप सबल पार्दै लगेको छ । हाल ओपोसंग ६ रिचर्स ईन्ष्टिच्यूट, ५ आरएण्डडी केन्द्र र विश्वभर दस ईमेजिंग ल्याब्स रहेका छन् । भविष्यमा पनि ओपोले स्व—विकासित ईमेजिंग प्रविधिको कार्यान्वोयनमा आफ्नो ध्यान केन्द्रित गर्दै औद्योगिक पार्टनरहरु संगको सहकार्यलाई थप मजबुत तुल्याउँदै प्रयोगकर्तालाई अझ सुदृढ ईमेजिंग अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

एनसेललाई कारवाही, ग्राहकबाट उठाएको १ अर्ब ११ करोड रकम फिर्ता गर्न निर्देशन

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकको नियामक निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटालाई कारवाही गरेको छ । ग्राहकको स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याक स्वतः नवीकरण गरी आम्दानी गरेको एक अर्ब ११ करोड २९ लाख ७६ हजार बढी रुपैयाँ तीन महिना भित्र प्रयोगकर्तालाई उनीहरूको मोबाइल नम्बरमा फिर्ता गर्न निर्देशन दिएको हो । एनसेलले गेमलफ्ट, ह्वावे एप ग्यालरी जस्ता भ्यालु एडेड सेवा तथा प्याकहरु उपभोक्ताहरुको मन्जुरी नलिई अटो रिन्यु हुने गरी सञ्चालन गरेको र यसबाट आफूहरु समेत ठगिन पुगेको भनी विभिन्न माध्यमबाट प्राधिकरणमा उपभोक्ताहरुले गुनासो गरेका थिए । उक्त गुनासोका आधारमा प्राधिकरणले एक निरीक्षण समिति समेत गठन गरेको थियो । उक्त समितिले गरेको अध्ययनबाट गेमलफ्ट नामको भ्यालु सेवा अन्तरगत तीन दिन रिन्यु र साप्ताहिक रिन्यु का प्याकहरु २०७५ असोज १५ गतेदेखि २०७७ को जेठ १८ गतेसम्म सो सेवा सञ्चालन गरी ११ करोड ३७ लाख ४८ हजार ९८६ बराबर आर्जन गरेको थियो । यस्तै, ह्वावे एप ग्यालरी नामबाट २०७५ असोज १५ गतेदेखि २०७७ जेठ १८ गतेसम्म अटो रिन्यु हुने गरी ९९ करोड ९२ लाख १८ हजार ८६३ रुपैयाँ आर्जन गरेको छ । २०७५ असोज १५ गतेको पत्र मार्फत सो कम्पनीबाट सञ्चालित भ्यास अन्तरगतका सेवाहरु अटो रिन्यू हुने गरेको पाइएको भन्दै प्राधिकरणले सो सेवा बन्द गर्न निदेशन किन पालना नगरेको ? यसरी प्राधिकरणको निर्देशन पालना नगरेकोले दूरसञ्चार ऐन अनुसार किन कारवाही नगर्ने ? भनी मिति असार १७ गते स्पष्टिकरण सोधिएको थियो । त्यसका साथै २०७७ जेठ १८ पश्चात अटो रिन्युको विवरण १५ दिनभित्र प्रस्तुत गर्न प्राधिकरणले निर्देशन दिएको छ । अटो रिन्यु उक्त कार्य दूरसञ्चार ऐन २०५३ विपरित रहेको भन्दै कानुन बमोजिम ५० हजार जरिवाना गर्ने निर्णय समेत भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको गत सोमबारको बोर्ड बैठकले नियामक निकायको निर्देशन अवज्ञा गर्दै अटो रिन्यु गरिरहेको भन्दै यस्तो निर्णय लिएको हो ।