फोन ट्यापिङ आरोपको टेलिकमद्वारा खण्डन, हरेक क्षेत्रमा ‘फ्रि’ वाईफाईको तयारी
काठमाडौं । पछिल्लो केही समय यता नेपालमा फोन ट्यापिङ हुने गरेको भन्दै नेतादेखि सर्वसाधारणहरु समेत सचेत बन्न थालेका छन् । नेपाल टेलिकमको मोबाइल नेटवर्कबाट कल गर्दा कल ट्यापिङ हुने गरेको भन्दै वीच्याट, भाइबर देखि ह्वासएपजस्ता उपकरणबाट फोन गर्न थालिएको छ । नेपालका केही उच्च तहका नेताहरुको समेत फोन ट्यापिङ हुने गरेको हल्ला फैलिएपछि नेपाल टेलिकमले फोन ट्यापिङ गर्ने प्रविधि आफुसँग नभएको दाबी गरेको छ । कम्पनीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमले आफ्ना सेवाग्राहीको कल ट्यापिङ गर्ने अभ्यास नगरेको स्पष्ट पारे । उनले कानूनमा उल्लेख भई नसकेको उपकरण खरिद तथा सञ्चालन कार्य नेपाल टेलिकमले गर्न नसक्ने भन्दै फोन ट्यापिङ गर्छ भन्ने कुरा अफवाह भएको बताए । ‘हामीसँग कल ट्यापिङ गर्ने उपकरण नै छैन, हामीले दूरसञ्चार कम्पनीसँग उपकरण खरिदको अनुमति माग्नुपर्छ, नेपालमा कानून नै नभएका कारण हामीले अनुमति पाउने कुरा भएन, माग गरेका छैनाैं, कल ट्यापिङ पनि हुँदैन’, उनले भने । कम्पनीका प्रवक्ता राजेश जोशीले टेलिकमले कुनै पनि सेवाग्राहीको फोन ट्यापिङ नगरेको भन्दै धेरै स्थानबाट आफूलाई समेत सो विषयको बारेमा सोध्ने गरेको जानकारी गराए । उनले विशेष अवस्थामा फोन ट्यापिङ गर्न मिल्ने प्रावधान रहेको नेपाल विषेश सेवासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधिन रहेको भन्दै कानूनमा उल्लेख नभएकोे उपकरण खरिद तथा सञ्चालन कार्य टेलिकमले गर्न नसक्ने प्रष्ट पारे । ‘कानुनमा उल्लेख भई आउने अवस्थामा सो काम सम्भवतः राज्यद्धारा अनुमतिप्राप्त सुरक्षा तथा अनुसन्धान निकायको जिम्मेवारीभित्र पर्छ,’ उनले भने । सरकारले संवेदनशिल विषयमा सुरक्षा निकायले अदालतको अनुमति बिनै कोही व्यक्तिको फोन ट्यापिङ गर्नसक्ने प्रावधानसहित विशेष सेवासम्बन्धी विधेयक गत वर्ष तयार गरेर राष्ट्रिय सभामा पेश गरेको थियो । यस्तै, नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले टेलिकमका ग्राहकका लागि ‘फ्री वाईफाई’ खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्ने दाबी गरेका छन् । उनले कम्पनीले सो सम्बन्धमा अध्ययन गरिरहेको भन्दै फ्रि वाईफाई खोज्दै हिडनुपर्ने बाध्यताको अन्त्य छिट्टै हुने बताए ।
एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु
काठमाडौं । एनसेल आजियाटाले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ । एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्याउँदै देशको दुई तिहाईभन्दा बढि जनसंख्यामा फोरजी सेवाको विस्तार गरिसकेको छ । एनसेलले फोरजी ब्रोडब्याण्ड सेवालाई देशको ५५० भन्दा बढि स्थानिय तहसम्म विस्तार गरिसकेको छ र बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य निरन्तर गरिरहेको छ । एनसेलकाे फोरजी सेवाको लिनका लागि ग्राहकले एनसेलको सिम सजिलै लिन सक्छन् र थ्रिजी सिम प्रगोग गरिरेहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न अर्थात आफुले चलाई रहेकै नम्बरमा नयाँ फोरजी सिम लिन सक्छन् । एनसेलका ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरु सुचारु गर्न सक्नेछन् र विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुचारु गर्न सकिन्छ । एनसेलले देशभरी ७२ लाखभन्दा बढि ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ ।
ग्राहकको स्वीकृतिबिनै उठाएको पैसा एनसेलले भुक्तानी नदिने, कानुनी उपचार खोज्ने तयारी
काठमाडौं । टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले विभिन्न सेवा तथा प्याकबाट ग्राहकबाट उठाएको रकम भुक्तानी नगर्ने जनाएको छ । एनसेलले बिनास्वीकृत ग्राहकबाट विभिन्न प्याक तथा सेवाबाट रकम उठाउने गरेको पाइपछि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई कारवाही गर्दै रकम भुक्तानी गर्न पत्राचार गरेको थियो । दूरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको प्राधिकरणले पठाएको पत्रको जवाफ दिदै एनसेलले कानूनी उपचार खोज्ने जनाएको छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एनसेलले भदौ १८ गते पठाएको पत्रमा कानूनी अधिकार खोज्ने अधिकार रहेको उल्लेख गरिएको जनाएका हुन । ‘कानूनी अधिकार भनेको अदालत जाने भन्ने हो । यस विषयमा एनसेलले आफ्नो धारण सार्वजनिक गरे तापनि प्राधिकरणबाट कारवाहीको विषयमा कुनै निर्णय भइसकेको छैन’, उनले भने । ग्राहकको स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याक स्वतः नवीकरण गरी आम्दानी गरेको पाइएपछि प्राधिकरणले एनसेललाई साउन ३२ गते एक अर्ब ११ करोड २९ लाख ७६ हजार बढी रुपैयाँ तीन महिनाभित्र प्रयोगकर्तालाई उनीहरूको मोबाइल नम्बरमा फिर्ता गर्न निर्देशन दिएको थियो । सो रकम भुक्तानी नगरी एनसेलले अदालत जाने धम्की दिएको हो । एनसेलले गेमलफ्ट, ह्वावे एप ग्यालरी जस्ता भ्यालु एडेड सेवा तथा प्याकहरु उपभोक्ताहरुको मन्जुरी नलिई अटो रिन्यु हुने गरी सञ्चालन गरेको र यसबाट आफूहरु समेत ठगिन पुगेको भनी विभिन्न माध्यमबाट प्राधिकरणमा उपभोक्ताहरुले गुनासो गरेका थिए । उक्त गुनासोका आधारमा प्राधिकरणले एक निरीक्षण समिति समेत गठन गरेको थियो । उक्त समितिले गरेको अध्ययनबाट गेमलफ्ट नामको भ्यालु सेवा अन्तरगत तीन दिन रिन्यु र साप्ताहिक रिन्यु का प्याकहरु २०७५ असोज १५ गतेदेखि २०७७ को जेठ १८ गतेसम्म सो सेवा सञ्चालन गरी ११ करोड ३७ लाख ४८ हजार ९८६ बराबर आर्जन गरेको थियो । यस्तै, ह्वावे एप ग्यालरी नामबाट २०७५ असोज १५ गतेदेखि २०७७ जेठ १८ गतेसम्म अटो रिन्यु हुने गरी ९९ करोड ९२ लाख १८ हजार ८६३ रुपैयाँ आर्जन गरेको छ । २०७५ असोज १५ गतेको पत्र मार्फत सो कम्पनीबाट सञ्चालित भ्यास अन्तरगतका सेवाहरु अटो रिन्यू हुने गरेको पाइएको भन्दै प्राधिकरणले सो सेवा बन्द गर्न निदेशन किन पालना नगरेको ? यसरी प्राधिकरणको निर्देशन पालना नगरेकोले दूरसञ्चार ऐन अनुसार किन कारवाही नगर्ने ? भनी मिति असार १७ गते स्पष्टिकरण सोधिएको थियो । त्यसका साथै २०७७ जेठ १८ पश्चात अटो रिन्युको विवरण १५ दिनभित्र प्रस्तुत गर्न प्राधिकरणले निर्देशन दिएको छ । अटो रिन्यु उक्त कार्य दूरसञ्चार ऐन २०५३ विपरित रहेको भन्दै कानुन बमोजिम ५० हजार जरिवाना गर्ने निर्णय समेत भएको छ । सम्बन्धित समाचार एनसेललाई कारवाही, ग्राहकबाट उठाएको १ अर्ब ११ करोड रकम फिर्ता गर्न निर्देशन