थपिदै फोरजीका ग्राहक, साढे २ करोडको पहुँचमा इन्टरनेट सेवा

काठमाडौं । नेपालमा फोरजीका ग्राहक ७८ लाख बढी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको (गत साउनदेखि चैत मसान्तसम्म) तथ्यांक अनुसार फारजीका प्रयोगकर्ता ७८ लाख ७१ हजार ५५५ पुगेको हो । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनी मध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको रहेको छ । नौ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ५० लाख १७ हजार १७० पुगेको छ । गत फागुन महिनामा ४८ लाख ५६ हजार ७४२ रहेका थिए । गत फागुन महिनाको तुलनामा चैत महिनामा एनसेलका फोरजीका ग्राहक एक लाख ६० हजार ४२८ थपिएका छन् । प्राधिकरणको तथ्यांक अनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को फोरजीका ग्राहक २६ लाख ३६ हजार ६४७ जना पुगेका छन् । गत फागुन महिनाको तुलनामा चैत महिनामा ४७ हजार ३५३ जनाले बृद्धि भएको छ । गत फागुन महिनामा फोरजीका ग्राहक २५ लाख ८९ हजार २९४ रहेका थिए । यसैगरी, स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता २ लाख २३ हजार १४५ जना पुगेको छ । गत फागुन महिनाको तुलनामा चैत महिनामा ग्राहक संख्यामा ५ हजार बढीले कमी आएको छ । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् । फोरजीका प्रयोगकर्ता सगैँ गत फागुन महिनाको तुलनामा चैत महिनामा २ लाख बढी थ्रिजीका प्रयोेगकर्ता थपिएका छन् । गत फागुन महिनामा एक करोड १५ लाख ६५ हजार बढी थ्रीजीका प्रयोगकर्ता रहेकोमा चैत महिनामा एक करोड १७ लाख ६० हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९३ लाख ३५ हजार र एनसेलको २४ लाख २५ हजार रहेको जनाइएको छ । नेपालमा ८९ प्रतिशत जनसंख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/०७८ को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्यांक अनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । प्राधिकरणको तथ्यांक अनुसार चैत महिनासम्म दुई करोड ६८ लाख ८२ हजार बढीकोे पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत फागुन महिनाको तुलनामा चैत महिनामा पाँच लाख २६ हजार बढी प्रयोगकर्ता थपिएका छन् । गत फागुन महिनामा दुई करोड ६३ लाख ५६ हजार बढी रहेका थिए ।

किन समस्या आइरहेको छ नेपालको इन्टरनेटमा ?

काठमाडौं । बुधबार बिहान देशभर नेपाल टेलिकमको मोबाइल र दिउँसो वल्डलिंक कम्युनिकेशनको इन्टरनेट सेवामा अवरुद्ध आएको थियो । त्यस्तै बिहीबार बिहान भायानेटको इन्टरनेटमा समेत समस्या आएको थियो । तीनै कम्पनीले आन्तरिक समस्या रहेको भन्दै समाधान भइसकेको जनाएका छन् । एकैपटिक तीनै कम्पनीको सेवामा उस्तै समस्या देखिनु सामान्य नभएको जो कोहिले पनि अनुमान गर्न सकिन्छ । टेलिकमको मोबाइल सेवामा समस्या आयो, प्राविधिकले समस्याको समाधान समेत गरिसकेका छन् । तर वल्डलिंक र भायानेटको इन्टरनेटमा उस्तै समस्या एक दिनको फरकमा किन आयो भन्ने खालका प्रश्नहरु इन्टरनेट प्रयोगकर्ताले गर्न थालेका छन् । उनीहरुले एकैपटिक तीन कम्पनीका सेवामा समस्या आउँदा कतै नेपालको इन्टरनेट तथा मोबाइल सेवामा ठूलो समस्या आएको त हैन भन्ने सम्मका अनुमान गर्न थालेका छन् । इन्टरनेटमा देखिएको समस्याको विषयमा दूरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले भने खासै चासो देखाएको पाईएको छैन । नियामक निकायले तीन कम्पनीको एउटै प्रकृतिको समस्या देखिनुको विषयमा न ती कम्पनीमा सम्पर्क गरेर किन समस्या देखिएको भन्दै चासो देखाएको छ, न त कुनै अध्ययन गरेको छ । टेलिकमको सेवा अवरुद्धको विषयमा प्राधिकरले केही चासो देखाएपनि वल्डलिंक र भायानेटको विषयमा कुनै चासो नदेखाएको प्राधिकरण स्रोतले जनाएको छ । ‘एकैपटक तीन कम्पनीको सेवा देशभर अवरुद्ध भएको छ, एक मिनेट सेवा अवरुद्ध हुँदा उपभोक्तालाई कति समस्या भयो होला, अहिले इन्टरनेट बिना केही काम गर्न सकिदैन, ३ घण्टासम्म सेवा अवरुद्धको विषयमा नियामक निकायको ध्यान नजाँदा सेवाप्रदायक कम्पनीसगैँ सेवाग्राही प्राधिकरण प्रति असन्तुष्ट भएका छन’, ती कर्मचारीले भने । तीन कम्पनीको इन्टरनेटमा देखिएको समस्याको विषयमा आफू जानकार नभएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल बताउँछन् । तीन कम्पनीको सेवा अवरुद्धको विषयमा इन्टरनेट सेवा प्रदायकको छाता संगठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले समेत सामान्य रुपमा लिएको छ । आइस्पानका अध्यक्ष सुधिर पराजुली इन्टरनेटमा कुनै ठूलो समस्या नभई आन्तरिक रुपमा समस्या देखिदा केही समय इन्टरनेट गएको बताउँछन् । बिहीबार दिउँसो विकासन्युज प्रतिनिधिले इन्टरनेट सेवा अवरुद्धको विषयमा जानकारी लिन खोज्दा भायानेटको इन्टरनेटमा समस्याको विषयमा जानकारी नै नपाएको बताएका थिए । ‘तपाइले भनेपछि बल्ल मैले थाहा पाए, वल्डलिंकको इन्टरनेटको कोर राउटर डाउनहुँदा बुधबार दिउँसो देशभरको इन्रनेट सेवा अवरुद्ध भएको हो, सेवा प्रदायक कम्पनीले कोर राउटर (मेन राउटर) दुई वटा राख्नुपर्छ, एउटामा समस्या देखिदा तत्काल अर्काे वैकल्पिक राउटरले काम गर्ने हो’, उनले भने, ‘वल्डलिंकको पनि २ वटा राउटर थिए । एउटाले काम नगर्दा अर्काेले काम गर्नुपर्ने हो, तत्काल अर्काे राउटरले काम नगर्न १५ मिनेट मात्र सेवा अवरुद्ध भएको हो ।’ कतै १५ मिनेटसम्म मात्र सेवा अवरुद्ध भयो, कतै ३ घण्टासम्म अवरुद्ध भएको भन्ने जानकारी आएको छ । राउटर अन गरेर इन्स्टल गर्दा केही समय लाग्नु स्वभाविक नै भएको उनी बताउँछन् । यता टेलिकमका कर्मचारीले सुनियोजित रुपमा मोबाइल सेवा अवरुद्ध भएको भन्दै विरोध गरेपछि ६ सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरिएको छ ।

नर्डिक देशहरुमा फैलिँदै जेनिस सोलुसन, आठ स्थानबाट सेवा प्रवाह

काठमाडौं । बेलायतमा मुख्यालय रहेको ‘क्लाउड कन्सल्टिङ प्रोभाइडर’ कम्पनी जेनिस सोलुसनले नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । बुधबार औपचारिक घोषणा गर्दै कम्पनीले फिनल्याण्डको राजधानी हेलसिन्कीमा कार्यालय रहने गरी नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने जनाएको छ । यो कम्पनी अमेजन वेब सर्भिस, गुगल र माइक्रोसफ्टको आधिकारिक साझेदार हो । संसारका विभिन्न आठ स्थानबाट सेवा प्रवाह गरिरहेको उक्त कम्पनीले बेलायत, भारत, पाकिस्तान, बंगलादेश र नेपालको सफल अनुभवपछि फिनल्याण्डबाट नर्डिक क्षेत्रमा पनि सेवा विस्तार गर्न लागेको हो । डिजिटल दुनियाँप्रति फिनल्याण्डको आकर्षण जेनिसको उद्धेश्यसँग मिल्ने भएकाले हेलसिन्कीबाट सेवा विस्तार गर्दा ग्राहक बढ्ने र बजारसँग पहुँच पुग्ने आशा कम्पनीले राखेको छ । संसारैभरी व्यवसाय सञ्चालन र सेवा विस्तारको सञ्जाल बढाउने उद्धेश्य अन्तर्गत नै नर्डिक क्षेत्रमा सेवा बिस्तार गरिएको हो । ‘नर्डिक क्षेत्रमा सेवा विस्तार गर्न पाउँदा र त्यहाँका संस्थाहरुलाई डिजिटल रुपान्तरण तर्फको हाम्रो विशिष्ट सुविधा उपलब्ध गराउन पाउँदा हामी उत्साहित छौं’, जेनिस सोलुसनकी संस्थापक एवं ग्लोलब सीटीओ अञ्जनी फुयाँलले भने । उक्त सेवा विस्तारबाट नर्डिक क्षेत्रका उपभोक्ताले उच्च गुणस्तर र न्युन लागतको सफ्टवेयर डिभलपमेन्ट, क्लाउड माइग्रेसन्स, एसइओ, इमेल सेवा र इन्टरनेट सुरक्षा लगायतका सेवा पाउने अपेक्षा गरिएको छ । विश्वव्यापी रहेको क्षमतावान नेतृत्व र निपुण टिममार्फत् जेनिस नोर्डिकले नोर्डिक क्षेत्रमा डिजिटल क्षेत्रको व्यापक वृद्धिका लागि ठूलो योगदान गर्ने जनाईएको छ ।