टेलिकमले ल्यायो भ्यालेन्टाइन डे विशेष अफर

काठमाडौं । फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस भ्यालेन्टाइन डे– को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर ल्याएको छ । यो अफर आज र भोलि अर्थात फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । सो अफर अन्तर्गत मात्र ४९ रुपैयाामा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बाे अफर’ ग्राहकले पाउनेछन् ।*१४१४*११* डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी ग्राहकले सो सुविधा खरिद गर्न सक्नेछन् । यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ । साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २०० देखि ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बाेनसको रुपमा निःशुल्क उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ ।

सतुङ्गलमा डिशहोम फाइबरनेटको सह-वितरक शोरुम उद्घाटन

काठमाडौं । डिशहोम फाइबरनेटले काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा सह–वितरक शोरुमको उद्घाटन गरेको छ । माघ २७ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो शोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवर्कले गर्नेछ । विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ । २ सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ शोरुमले मदत गर्ने ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कका सञ्चालक सरोज लामिछानेले बताए ।

एनटीसीको वित्तीय सूचकमा चमकः नाफा १८ प्रतिशतले बढ्दा ५२ रुपैयाँ पुग्यो ईपीएस

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल टेलिकमल ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो वर्ष नाफा १८.५० प्रतिशतले बढेको हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १७ अर्ब ७२ करोड रुपैयाँ बिक्री आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १९ अर्ब २० करोड रुपैयाँ यस्तो आम्दानी गरेको छ। कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ६.८७ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको जगेडा कोष ५.२२ प्रतिशत बढेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४३ रुपैयाँ ८६ पैसाबाट ८ रुपैयाँ ११ पैसा बढेर ५१ रुपैयाँ ९७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २६.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ६२३ रुपैयाँ ८९ पैसा रहेको छ । यस्तै, कम्पनीको गत आवको द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्मको कुल आय रु. २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रहेकोमा चालु आ. व. को सोही अवधि (२०७८ पुस मसान्त) सम्ममा कुल आय रु. १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार (अर्थात, ६.८७ प्रतिशत) ले वृद्धि भई रु. २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार रहेको । कम्पनीले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँज विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएकोले सूचकहरु सकरात्मक देखिएको बताएको छ । यस्तै, मुलुक तथा विश्वव्यापी रुपमा कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम पश्चात महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको संकट चालु आ. व.को शुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको कम्पनीको भनाई छ । कोरोना भाइरसको महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलब्ध गराइएको हुँदा सोबाट प्रत्यक्ष रुपमा राजश्व वृद्धि हुने अवस्था नरहेतापनि कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाहरुप्रति ग्राहकवर्ग आकर्षित हुन सकेको तथा सोही कारणले गर्दा सेवाको उपयोगमा वृद्धि भएको कम्पनीकोे दावी छ । कोरोना महामारी, अन्तर्राष्ट्रिय यात्रा सहज नभई सकेको वास्तविकता तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहेतापनि अनलाइन व्यवसाय, अनलाइन क्लास लगायतमा भएको वृद्धिको कारणले कम्पनीका सूचकहरु सकरात्मक भएको उल्लेख छ ।