अनुमतिपत्रबिना इन्टरनेट सेवा सचालन नगर्न आग्रह
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो । पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ । अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने जनाउँदै प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी गैरकानुनीरूपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्नसमेत अनुरोध गरेको छ ।
डिशहोममा २४ महिनाको रिचार्ज गर्दा इलामकी मन्दिरा राइले जितिन् एक लाख
काठमाडौं । एक वर्षको रिचार्ज गर्ने डिशहोमका ग्राहक मन्दिरा राइले १ लाख रुपैयाँ जितेकी छिन् । क्यासआइडी २५६४०३३७७५ भएका राइले १ लाख रुपैयाँ जितेकी हुन् । कम्पनीले ल्याएकाे याेजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले एक वर्षको रिचार्ज गर्दा हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् । डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ । यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा हुने गर्दछ ।
दार्चुलाको छाङ्गरुमा नेपाल टेलिकमको फोरजी, कालापानीसम्म नेपाली फोनको पहुँच पुग्ने
दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुको ज्याक्तीमा नेपाल टेलिकमको फोरजी सहितको टेलिफोन टावर जडान सुरु गरिएको छ । चीनको सीमा नजिकको गाउँ तिङ्करमा भिसेट एनटिसेट जडान गरिएको छ । नेपाल टेलिकमले तिङ्कर गाउँमा दुई लाइन एनटिसेट लाइन जडान गरेको हो । सञ्चार सम्बन्धबाट टाढा रहेको व्यासको तिङ्कर गाउँमा पहिलो पटक भिसेट एनटिसेट जडान गरिएको व्यास–१ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए । यसअघि छाङ्गरुमा सशस्त्र प्रहरी र स्थानीयवासीका लागि भन्दै एनटिसेट लाइन जडान गरिएको थियो । छाङ्गरुमा स्काई फोन पनि सञ्चालनमा छ । छाङ्गरुमा फोरजीसहितको नमस्तेको लाइन जडानको तयारी छ । सामरिक महत्व बोकेको छाङ्गरु र तिङ्करमा पछिल्लो समय टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङले आफैँ खटिएर टेलिफोन सेवा सञ्चालन गरेका छन् । ‘स्काई फोन पनि केही दिनदेखि अवरुद्ध रहेको थियो’, सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले भने, ‘अहिले कार्यालय प्रमुख आएर सञ्चालन गर्नुभएको छ, छांगरुको ज्याक्ती डाँडामा फोरजी जडान हुँदैछ, सोलार व्याट्री अपुग भएका कारण केही समय लाग्ने छ ।’ तिङ्कर गाउँमा भने ल्यान्डलाइन सञ्चालन गरिएको छ । अहिले तिङ्कर गाउँका लागि ९९४९३००५० र ९९४९३००५१ नम्बर सञ्चालन गरिएको वडा सचिव बुढाथोकीले जानकारी दिए । यसअघि यहाँका नागरिकले फोन सेवाबाट बञ्चित हुनुपरेको थियो । छाङ्गरुमा फोन लागे पनि तिङ्करमा फोन लाग्दैन थियो । टेलिकमको फोरजी सेवा सञ्चालन भए छाङ्गरु मात्र नभई कालापानी, कुटी गुञ्जी नाभी लगायतका क्षेत्रसम्म नेपाली फोनको पहुँच हुनेछ । ज्याक्ती डाँडाबाट कालापानी, गुञ्जी कुटी गाउँ सहजै देख्न सकिन्छ । सबैभन्दा अग्लो डाँडामा रिपिटर टावर राखिएका कारण भारतीय गाउँतिर कभरेज बढ्ने छ । रासस