नेपाल टेलिकमले ३६ प्रतिशतले घटायो इन्टरनेट शुल्क
काठमाडौं । नेपाल टेलिकमले ३६ प्रतिशतले इन्टरनेट शुल्क घटाएको छ । टेलिकमले इन्टरनेट र इन्ट्रानेट लिज लाइन अन्तर्गतको शुल्क ३६ प्रतिशतले घटाएको हो । योसँगै इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले र २५ सय रुपैयाँ रहेकोमा अब १६ सय मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २३ सयबाट घटाएर १६ सय रुपैयाँ कायम गरिएको छ । ५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः २१ सय रुपैयाँ र १९ सय रुपैयाँ रहेकोमा अब दुवैको महशुल दर १५ सय रुपैयाँ कायम गरिएको छ । यस्तै इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल २७ सय रुपैयाँ रहेकोमा अब २४ सय रुपैयाँ, ११ देखि १०० एमबीपीएसको २४ सय रहेकोमा अब २१ सय र १०० एमबीपीएस भन्दा बढीको २१ सय रहेकोमा अब १८ सय कायम गरिएको छ । नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैँ बराबर रहन्छ ।
भायानेटले समस्यामा परेका १५ परिवारलाई जाेडिदियाे नि:शुल्क इन्टरनेट
काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गतको १५ परिवारलाई सहयोग गरेको छ । कम्पनीले पहिलो वर्ष जस्तै गुड विथ इन्टरनेट अभियान अन्तर्गत इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरहरूबाट वञ्चित भएका विद्यार्थीलाई सहयोग गरेको हो । ह्युमन्स अफ काठमाडौंले आफ्नो सामाजिक संजाल मार्फत महामारीका कारण शिक्षा अनलाइन गएको समयमा आफ्नो छोरालाई पढाउन नसकेको कुरा थाहा पाएपछि भायानेटले पहिलो वर्ष प्रतिभाको परिवारलाई इन्टरनेट दिएर सहयोग गरेको थियो। त्यसपछि दोस्रो वर्ष कम्पनीले चक्रपथको सडकमा फिटकिरी बोझो लगायतका जडिबुटी बेचेर आफ्ना चार छोराछोरी पढाउन खोजिरहेकी डल्ली दिदी, कपनमा पानीपुरी बेची आफ्नो छोरा र छोरी पढाइरहेकी अमला दिदी लगायतका १५ विभिन्न परिवारलाई कम्पनीले सहयोग गरेको छ । कम्पनीले आगामी वर्षहरूमा यस्ता धेरै परिवारहरूलाई मद्दत गर्ने योजना बनाएको जनाएको छ । र यस्तै भायनेटले पैसाको अभावको कारण इन्टरनेट जोड्न नसकेर पढाइमा समस्या भएकालाई कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
काठमाडौंमा वाईफाई ‘फ्री’, महानगरका भवनमा क्यूआर कोड अनिवार्य
काठमाडौं । अब काठमाडौं महानगरपालिकाका सबै भवनमा क्यूआर कोड अनिवार्य गर्ने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं महानगरका सबै भवनमा क्यूआर कोड अनिवार्य गरिने बताएका हुन् । उनले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न सो नीति अगाडि सारेका बताएका हुन् । उनले काठमाडाैंका विभिन्न क्षेत्रमा वाईफाई पनि निःशुल्क प्रदान गरिने बताएका हुन् ।