आहाराको प्रायोजन गर्नेबारे नेपाल टेलिकम र चिडियाखानाबीच सम्झौता

काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका एउटा बाघ र अन्य जनावरहरूको लागि १ वर्षसम्म आहाराको प्रायोजन गर्ने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा आज नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना, जावलाखेलको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका छन् । सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने र यो एउटा सुरुवात भएको बताइन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले धेरै पर्यटकहरूको उपस्थिति हुने सदर चिडियाखानामा नेपाल टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट प्राप्त यो सहयोगलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सदुपयोग गर्ने विश्वास दिलाएका छन् । सम्झौता अनुसार चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि १ वर्षसम्म आहाराको व्यवस्थाका लागि नेपाल टेलिकमले रकम उपलब्ध गराउनेछ ।

युवा-पुस्तामा इन्फोटेकको आकर्षण

काठमाडौं । आइएमइ पे क्यान इन्फोटेक २०२२ मा अन्य दिनको तुलनमा शनिबार अवलोकनकर्ता बढेको छ । बुधबारदेखि सुरु भएको क्यान इन्फोटेकको २७औं संस्करणमा शनिबार सार्वजनिक बिदा रहेका कारण र मौसम सफा रहेका कारण पनि अन्य दिनको तुलनमा सरकारी तथा गैर-सरकारी क्षेत्रमा कार्यरत कर्मचारी तथा विद्यार्थीहरूको भिड रहेको थियो । कोरोना महामारीका कारण प्रदर्शनी यस अघि २ पटक स्थगित भएको थियो । कोरोना महामारी पछि सुरु भएको प्रदर्शनीमा आफूलाई उपयोगी हुने धेरै स्टलहरू रहेको र सुचना प्रविधिको बारेमा नेपालमा उपलब्ध पछिल्लो प्रविधिहरूमा जानकारी लिएको अवलोकनकर्ताहरूको भनाइ छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)का अध्यक्ष नवराज कुँवरका अनुसार यो वर्षको इन्फोटेक विगतको भन्दा धेरै फरक रहेको छ । आयोजकको उद्देश्यअनुसार इन्फोटेकमा प्रदर्शनीकर्ताको सहभागिता र अवलोकनकर्ताको चाहना अनुसारका प्रविधि प्रदर्शनमा राखिएको छ । कोभिड–१९ महामारीका कारण बढेको सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यवस्थित र थप प्रभावकारी बनाउने ज्ञान र दक्षताको खोजीमा मानिसहरू रहेको र आईसीटी एक्सेसेरिजमा भन्दा ब्राण्डिङ, फिन्टेक र स्टार्टअपमा दर्शकको भीड लागेको अध्यक्ष कुँवरको भनाइ छ । उनका अनुसार रोबोटिक, इमर्जिङ टेक्नोलोजी, वाईफाई तथा इन्टरनेटलगायत प्रडक्टहरूमा पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिता छ । त्यसैगरी सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुशन, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, सेक्युरेटी सोलुशन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, एन्टिभाइरस र बैंकिङ लोलुशनसम्बन्धी सफ्टवयरलगायतका स्टलमा पनि अवलोककर्ताहरूको उल्लेख्य भीड लागेको छ । प्रविधिको प्रयोगबाटै टिकट काटेर अवलोककर्तालाई इन्फोटेक भ्रमण गराउने क्यानको योजनाअनुसार नै दर्शकहरूले इन्फोटेक भ्रमण गरिरहेको इन्फोटेकका सह–संयोजक समेत रहेका महासंघका उपाध्यक्ष रञ्जित कुमार पोद्दारले जानकारी दिए । उनका अनुसार आईएमई–पेमार्फत दैनिक हजारौँ मानिसले टिकट खरीद गरेर इन्फोटेक भ्रमणमा आएका छन् । त्यस्तै प्रविधिको प्रयोग गर्न नचाहनेहरूले सय रुपैयाँ तिरेर इन्फोटेक भ्रमण गरिरहेको उपाध्यक्ष पोद्दारको भनाइ छ । शनिबार इन्फोटेकमा लोकप्रिय गायक सुशान्त केसी, र्यापर गिरीस खतिवडा, गायक स्वप्न सुमन, पब्जी खेलाडी इन्दु मल्ल लगायत समाजमा चर्चित ब्यक्तित्वहरूको सहभागिता रहेको थियो । इन्फोटेकमा आएका अवलोकनकर्ताहरू आफुसंगै चर्चित ब्यक्तित्वहरू पाउदा झनै उत्साहित देखिन्थे । शनिबार नै डिस होमले नयाँ प्रडक्ट ‘क्याम्पस वाईफाई’ सार्वजनिक गरेको छ साथै शनिबार नै रमाइलो गेमले ‘ब्रान्ड च्यालेन्ज’ प्रतियोगिता आयोजना गरेका कारण यी स्टलहरूमा अवलोकनकर्ताको अत्यधिक आकर्षण देखिन्थ्यो । नास्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालका अनुसार सूचना प्रविधिमा पहुँच नभएका क्षेत्र र समूहलाई लक्षित गर्दै यो सूचना प्रविधिमैत्री बस तयार गरिएको हो र प्रदर्शनीमा सर्वसाधारणको जानकारीका निम्ति यसको प्रदर्शनी गरिएको हो । सूचना तथा सञ्चार प्रविधि सम्बन्धि व्यवसायी र सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने उद्देश्यसहित गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको प्रदर्शनी आगामी सोमबारसम्म जारी रहने छ ।

नोकिया बार फोन किन्दा एक वर्षको रिप्लेसमेन्ट वारेन्टी

काठमाडौं । अब नेपाली उपभोक्ताहरूले नोकिया बार फोन किनेको एक वर्षसम्म रिप्लेसमेन्ट वारेन्टी पाउने भएका छन् । नोकिया फोनहरूको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी दिएको हो । टिकाउपन र भरपर्दो ब्याट्री लाइफले गर्दा उपभोक्ताको यो विश्वासलाई कायम राख्न र आफ्नो ब्रान्ड लोयल्टि अझै बढाउन नोकियाले आफ्नो बार फोनहरुमा रिप्लेसमेन्टको सुविधा ल्याएको जनाएको छ । यो योजना नोकियाको १०५, ११०, ५३१०, ६३१०, १५०, २१०, र १२५ मोडलमा लागू हुनेछ ।