एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा

काठमाडौं । एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वल्र्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् । विश्वमा प्रविधिको क्षेत्रमा काम गर्ने नवीन खोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने पश्चिमा देशबाहेकका सय जनालाई यो सूचीमा समावेश गरिन्छ । ढकालले सामूहिक रूपमा कसरी उत्पादन बनाइन्छ र वितरण गरिन्छ, कसरी उद्यमीहरूलाई लगानी गरिन्छ र कसरी प्राविधिक प्रयोगकर्तालाई उनीहरूको स्थानीय बजारभन्दा टाढा सुरक्षित गरिन्छ भन्ने कुरामा ठूलो प्रभाव पारेको रेष्ट अफ वर्ल्डको सम्पादकीय टिमले जनाएको छ । ‘रेष्ट अफ वर्ल्ड’ को सूचीमा विश्वव्यापी रूपमा आधारित रिपोर्टहरू र सम्पादकहरूको नेटवर्कद्वारा छनोट गरी समावेश गराइन्छ । टेक्नोलोजी इकोसिस्टमबाट आफ्नो क्षेत्र तथा समुदायमा पारेको प्रभावका आधारमा यस सूचीमा समावेश गरिन्छ । ‘रेष्ट अफ वल्र्ड’ सूचीमा विश्वव्यापी पहुँच भएका कार्यकारीहरू, नवप्रवर्तन सक्षम गर्ने लगानीकर्ताहरू, उदीयमान उद्यमीहरू र खुला एवं समतामुलक भविष्यका लागि काम गर्ने व्यक्तिहरूलाई समावेश गरिन्छ । यसअघि ढकाल २०१७ मा ‘म्यानेजर अफ द इयर’बाट सम्मानित भइसकेका छन् भने अमेरिकी राज्य विभागले इन्टरनेशनल भिजिटर लिडरसिप प्रोग्राम र ग्लोबल उद्यमी समिट २०१६ मा नेपालबाट चयन पनि भइसकेका छन् । रेष्ट अफ वर्ल्ड एक अन्तर्राष्ट्रिय पत्रकारिता गर्ने संस्था हो, जुन पश्चिमी क्षेत्रभन्दा बाहिर अर्थात् अमेरिका र पश्चिमी युरोपबाहिर प्रविधि क्षेत्रमा भएका नवीन समाचार तथा समाचारमुलक कथाहरू समेटेर प्रकाशन गर्न समर्पित छ । यसमा कम्पनी, संस्थापकहरु, राजनीतिज्ञलगायतका स्टोरी, प्रोफाइल तथा समाचारमुलक लेखहरू प्रकाशित हुन्छन् ।

डिजिटल भुक्तानीको कारोबार बढ्यो

काठमाडौं । पछिल्लो समय डिजिटल भुक्तानी प्रणालीमार्फत् हुने कारोबार रकममा बृद्धि हुन थालेको छ । केही समयअघिसम्म न्यून मात्रामा हुने डिजिटल कारोबार पछिल्लो समय आक्रामक रुपमा बढ्न थालेको हो । केही समय अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘क्यास लेस इकोनोमी’ को अवधारणमा अनुसार डिजिटल कारोबारलाई प्रश्रय दिएका थिए । अधिकारीको पहलमा विभिन्न तरकारी बजारदेखि सार्वजनिक स्थानमा क्यूआर कोडबाट भुक्तानीको व्यवस्था लागुभएसँगै डिजिटल कारोबारमा बृृद्धि हुन थालेको हो । प्रविधिको प्रयोग अन्तर्गत पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा सञ्चालन भएका तरकारी बजार, मन्दिर तथा अटोरिक्सा लगायत धेरै स्थानमा क्विक रेपोन्स (क्यूआर) कोड जडान भइसकेका छन् । तरकारी बजारबाट सुरु भएको डिजिलट भुक्तानी अवधारण अनुसार अधिकाशं सार्वजनिक स्थानमा विभिन्न सेवा प्रदायक कम्पनीले क्यूआर कोड जडानलाई तिव्रता दिदैँ आएका छन् । चैतमा कति भयो कारोबार ? नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको (गत साउनदेखि चैतसम्म) वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७८ अनुसार डिजिटल भुक्तानी प्रणाली मार्फत हुने कारोबार रकममा बृद्धि भएको छ । गत फागुन महिनाको तुलनामा चैत महिनामा आईपिएस, कनेट आईपिएस, मोबाइल बैंकिङ तथा वालेट तथा क्युआरमा आधारित भुक्तानी कारोबारमा रकममा बृद्धि भएको हो । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चैतमा क्युआरमा आधारित भुक्तानी मार्फत ८ अर्ब ९४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत फागुन महिनामा यस्तो भुक्तानी ७ अर्ब ७६ करोड २० लाख रुपैयाँ बराबरको भएको थियो । आईपिएम मार्फत गत फागुन महिनामा १ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा चैत महिनामा १ खर्ब ८५ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । गत महिनाको तुलनामा चैत महिनामा मात्रै १९ अर्ब ७३ करोड रुपैयाा बढीको कारोबार भएको हो । यस्तै, गत फागुन महिनामा कनेक्ट आईपिएस मार्फत २ खर्ब ७३ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा चैत महिनामा २ खर्ब ९१ अर्ब २९ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । गत फागुन महिनामा मोबाइल बैंकिङ मार्फत १० खर्ब ७१ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा चैत महिनामा ११ खर्ब ५३ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत फागुन महिनाको तुलनामा इन्टरनेट बैंकिङ, वालेट र अनलाइन (इ–कमर्श) हुने कारोबार रकममा कमी आएको छ ।

४५ करोडले घट्यो टेलिकमको नाफा

काठमाडौं । नेपाल टेलिकमको नाफा घटेको छ । गत वर्षको तुलनामा टेलिकमको खुद नाफा करिब ४५ करोड रुपैयाँले घटेको हो । नेपाल टेलिकमले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत चैत मसान्तसम्म ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्ष (आव) को सोही अवधिमा टेलिकमले ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा टेलिकमले गरेको खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४४ करोड ९१ लाख २५ हजार रुपैयाँले कम हो । नाफा घट्नको मूख्य कारण कोभिड–१९ को महामारी तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तरआवद्धता सेवाको प्रयोगमा भएको कमि तथा कोभिड लक्षित संचालन भएको धेरै कम दरका डाटा प्याकेजहरु भएको टेलिकमले जनाएको छ । यसका साथै मर्मत सम्भार खर्चमा भएको वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकममा भएको वृद्धि, चिपसेटको अभाव, अन्तर्राष्ट्रिय ढुवानीमा कठिनाई र बढ्दो शुल्कका कारण उपकरण तथा सामान आयातमा ढिलाई जस्ता कारण रहेको टेलिकमले स्पष्टिकरण दिएको छ । गत आवको तेस्राे त्रैमाससम्ममा कम्पनीको कुल सञ्चालन आय २७ अर्ब ४५ करोड १३ लाख ५३ हजार रुपैयाँ रहेकोमा चालु आव.को सोही अवधिसम्ममा ७६ करोड ८२ लाख ५९ हजार रुपैयाँ (अर्थात २.८ प्रतिशत) ले वृद्धि भई २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपैयाँ पुगेकाे छ । गत आवको तेस्राे त्रैमाससम्मको कुल आय ३१ अर्ब ६७ करोड ३७ लाख ७४ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिसम्ममा कुल आय ८६ करोड २९ लाख ५६ हजार रुपैयाँ (अर्थात २.७२ प्रतिशत) ले वृद्धि भई ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रहेको टेलिकमले जानकारी दिएकाे छ ।