कर्मचारी सञ्चय कोषले सार्वजनिक गर्यो मोबाइल एप, ऋण पनि लिन मिल्ने
काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ । कोषले ६१औं वार्षिकोत्सवको अवसर पारेर उक्त एप सार्वजनिक गरेको हो । यो एप ग्राहकले आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सक्नेछन् । यो एफमार्फत ग्राहकले घरमै बसी बसी लोन अर्थात ऋण पनि लिनसक्ने कोषले जानकारी गराएको छ । यसका साथै, यो एपमा विभिन्न सुविधाहरु रहेको छ । भदौ ३१ गते सार्वजनिक भएको यो एप केही दिनमा सञ्चालन ल्याउने कोषको तयारी छ । कोषले यो एपलाई छिट्टै नै प्रयोगमा ल्याउने जानकारी गराएको छ ।
टेलिकमले शुक्रबारदेखि निःशुल्क ई-सिम बाड्ने
काठमाडौं । नेपाल टेलिकमले भदौ ३१ गतेदेखि ग्राहकलाई निःशुल्क ई-सिम वितरण गर्ने भएको छ । कम्पनीले सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क ई-सिम (इम्बेडेड् सिम कार्ड) वितरण गर्ने भएको हो । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन् । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी, नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ । ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई-सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस (वेयरएबल डिभाइस) हरुमा समेत प्रयोग गर्न सकिन्छ । हालका सबै प्रयोगकर्ताले समेत ई-सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई-सिम लिन सक्ने टेलिकमले जानकारी गराएको छ ।
नबिल बैंकले शुरु गर्यो भिसा डाइरेक्ट सेवा, झन्झट बिनै रेमिटेन्स पठाउन सकिने
काठमाडौं । नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा शुरु गरेको छ । बैंकले भिसा इन्टरनेशनलको सहकार्यमा उक्त सेवा सुरु गरेको हो । यस सेवामार्फत विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकलाई बिना झन्झट रेमिटेन्स पठाउन सक्नेछन् । यो सेवा लागु भएसँगै भिसा डायरेक्टमा सहभागी १८० भन्दा बढी देशहरूबाट नेट-बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अंकको भिसा कार्ड नम्बरमा रकमान्तर गर्न सकिने भएको हो । नबिल भिसा क्रेडिट, डेबिट (बैंक खाता) र प्रिपेड कार्डमा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो सेवा समावेश भएसँगै नबिल भिसाका कार्डधनीहरूले विश्वको जुनसुकै ठाउँबाट आफ्नो कार्ड/खातामा सहज र सुरक्षित रूपमा पैसा प्राप्त गर्न सक्नेछन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना ग्राहकहरूलाई भिसा डाइरेक्ट सेवा सेवा सुरु गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । ‘यो सेवाको शुरुवातसँगै स्वदेशी र विश्वभरबाट सहज र सुरक्षित तरिकाले रेमिट्यान्स प्राप्त गर्न अर्को एउटा च्यानल खोलेको छ,’ उनले जानकारी दिए ।