अब इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा राख्न नपाइने
काठमाडाैं । अब इन्टरनेट सेवा प्रदायकले इन्टरनेट प्याकेजमा अन्य सेवाहरु जाेडेर सेवा दिन नपाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै इन्टरनेट प्याकेजमा टिभी लगायतकाे सेवा जाेड्नु कानुन विपरित भएकाे बताउँदै यस्ताे नगर्न आदेश दिएकाे छ । प्राधिकरणले अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले दूरसञ्चार सेवा प्रदान गर्दा प्रतिस्पर्धात्मक वातावरणमा बाधा पुग्ने गरी कुनै पनि कार्य गर्न नपाइने व्यवस्था रहेकाे सूचनामार्फत बताएकाे छ । प्राधिकरणले धेरै इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटसँगै आईपीटिभी. सेवा र ओएनयु (अप्टिकल नेटवर्क युनिट) तथा राउटरहरुको प्याकेज बनाई केही सेवा नि:शुल्क समेत प्रदान गर्ने गरी बन्डलिङ गरी प्रचार प्रचार गरेको पाईएकाे बताउँदै यस्ताे नगर्न आग्रह गरेकाे छ । ‘यसले गर्दा स्वच्छ बजार प्रतिस्पर्धामा गम्भीर असर पुग्न गएको र जसको कारणबाट क्रस सब्सिडी समेत हुने भएकोले विद्यमान कानूनी व्यवस्था विपरीत बन्डलिङ जस्ता गैरकानूनी कार्य नगर्नु/नगराउनुहुन सरोकारवाला तथा सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ,’ विज्ञप्तिमा भनिएकाे छ ।
टेलिकमको अफर : १९९ रुपैयाँमा ४२ सय एमबि डाटा, ४२० मिनेटको टकटाइम र एसएमएस
काठमाडाै । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि उपलब्ध गराइरहेको प्रिपेड कम्बो अफरमा नयाँ प्याक ल्याएकाे छ । टेलिकमले यस अफरमा असोज २ गतेदेखि १९९ रुपैयाँदेखि ६९९ रुपैयाँसम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो । एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत १९९ मा ४ हजा २०० एमबी (दैनिक १५० एमबी) डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यस्तै, जम्मा ३४९ रुपैयाँमा १४ हजार एमबी (दैनिक ५०० एमबी) डाटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यसैगरी ४९९ रुपैयाँमा १९ हजार ६०० एमबी (दैनिक ७०० एमबी) डाटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १९६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ । यस अफर अन्तर्गत ६९९ रुपैयाँमा २८ जिबी (दैनिक १ जिबी) डाटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८०० (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ । यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी जम्मा ९८ रुपैयाँमा २८ दिन भित्रमा जम्मा ६०० वटा र ६० रुपैयाँमा जम्मा ३०० वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ । आफ्नो मोबाइलबाट *१४१५# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।
अब स्याटलाइटमार्फत ग्रामिण क्षेत्रमा इन्टरनेट सेवा प्रवाह
काभ्रेपलाञ्चोक । स्याटलाईटमार्फत नेपालका ग्रामीण भेगमा इन्टरनेट सेवा प्रदान गर्नेबारे काभ्रेपलाञ्चोकको धुलिखेलमा बृहत छलफलको आयोजना गरिएको छ । एशिया प्यासिफिक टेलिकम्युनिटी र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा ‘वर्तमान प्रविधिको प्रयोग र यसको उपादेयता’ विषयक तीन दिने दक्षिण एशियाली कार्यशालामा इन्टरनेट सेवामा नयाँ प्रविधिको विकासबारे छलफल हुनेछ । कार्यशालामा नेपालको ग्रामीण भेगमा स्याटलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न तथा दक्षिण एशियामा टेलिकम्यूनिकेशनको क्षेत्रमा गर्न सकिने नयाँ प्रविधिको विषयमा वृहत छलफल हुनेछ । कार्यशालामा नेपाल, भारत, बङ्गलादेश, अफ्गानिस्तान, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भूटानका टेलिकम्यूनिकेशनको उत्पादक, सेवाप्रदायक र नियामक निकाय तथा स्याटलाइट स्पेसमा कार्यरत हङ्कङ र मलेसियाका सेवाप्रदायक संस्थाका प्रतिनिधिसमेतको सहभागिता रहेको छ । कार्यशालाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आज उद्घाटन कार्यक्रममा कोभिड–१९ को महामारी र त्यसपछिको समयमा प्रविधिको महत्व अझ बढेको बताए । उनले नेपालका गाउँगाउँमा स्याटलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न गरिने छलफलले सार्थकता पाउनेमा आफू विश्वस्त रहेको बताए । यस्तै दक्षिण एशियाली टेलिकम्यूनिकेशनका महासचिव मेनोसोरी कोण्डोले नेपालस्थित नेपाल दूरसञ्चार प्राधिकरणले दक्षिण एशियामा टेलिकम्यूनिकेशनको क्षेत्रमा गर्न सकिने नयाँ प्रविधिको विषयमा वृहत छलफल गरेकोमा खुसी व्यक्त गरे । सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले टेलिकम्यूनिकेशनको प्रविधि ठूलो क्षेत्रमा प्रयोग भइरहेने हुँदा जुन प्रविधिको प्रयोग हुन्छ फ्रिक्वेन्सी प्रयोग, सामग्रीको उपलब्धतामा सहजताका कारण सोही प्रविधि अन्य राष्ट्रले पनि प्रयोग गर्नुपर्ने बताए । नेपालको पहाडी भू–भागमा कस्तो प्रविधिको प्रयोग गर्न सकिन्छ भन्नेबारे पनि छलफल हुने उनले जानकारी दिए । आचार्यका अनुसार एशियाली क्षेत्रअन्तर्गत नेपालको भौगोलिक र सांस्कृतिक सामिप्यताका कारण ‘फाइभ–जी’, स्याटलाइट प्रविधि, वाइफाइ एक्सेसका क्षेत्रका लागि उपयुक्त के हुनसक्छ र प्रत्येक नागरिकको हातमा इन्टरनेट पु¥याउन के प्रयोग गर्दा ठिक हुन्छ भन्ने विषयमा विविध छलफलको योजना बनाइएको छ । कार्यशालाको मूल उद्देश्यनै टावरले नधानेको नेपालका विभिन्न स्थानमा इन्टरनेट पु¥याउने उपायको खोजी नै रहेको जनाइएको छ । ‘स्याटलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न पहिला महँगो थियो, अहिले सस्तो आएको यसबारे उपायको खोजी गरिनेछ र वाइफाइ, अप्टिकल फाइवर, आर्टिफिसियल इन्टेलिजेन्समा पनि छलफल केन्द्रीत रहनेछ’, आचार्यले भने । नेपालको ‘फाइभ–जी’ इन्टरनेट सेवा मोबाइलमा मात्र हैन, अब सूचना–प्रविधिका सामग्रीमा पनि इन्टरनेटबाट नियन्त्रण गर्न सकिने भएकाले प्रविधिमा नयाँपनको आवश्यकता महसुस गरिएको हो । बिहीबारसम्म सञ्चालन हुने कार्यशालामा भौतिक रुपमा ८० र भर्चुअल माध्यमबाट एक सय जना सहभागी छन् । रासस