वायरलेस इअर बड्स् तथा स्मार्टवाच लिएर रिभरसबको नेपाली बजारमा प्रवेश

काठमाडौं । वेरेवल तथा मोबाईल एक्सेसोरीज् उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक रिभरसब नेपाली बजारमा प्रवेश गरेको छ । मोबाईल एक्सेसोरीजको आयात तथा विक्री वितरणमा नेपाली बजारको स्थापित नाउँ बन्न सफल केमियो इन्टरनेशनलले रिभरसबलाई नेपाली बजारमा भित्र्याएको हो । अमेरिकाको क्यालिफोर्नियामा सोध तथा अनुसन्धानशाला स्थापना गरी आफ्ना उत्पादनहरुको डिजाइन गर्दै आएको रिभरसब मोबाईल एक्सेसोरिज बजारको एक विश्वासिलो ब्राण्ड हो । विश्वका ६० भन्दा बढी मुलुकमा विक्री वितरण भईरहेको रिभरसब सन् २००० मा चीनको सेन्जेनमा स्थापना भएको थियो । २०१७ मा अमेरिकामा शोध तथा अनुसन्धान केन्द्रको स्थापना गरेपछी एग्रेसिभ ब्राण्डिबमा अग्रसर भएको रिभरसब सन् २०१६ मै भारतीय बजारमा लन्च गरिएको थियो । आईएमजी टेक्नोलोजी ग्रुपको लाईफस्टायल ब्राण्डको रुपमा रहेको रिभरसबका वायरलेस इअर बड्स् तथा स्मार्टवाच लिएर नेपाली बजारमा प्रवेश गरेको हो । काठमाडौंको हायात प्लेसमा एक विशेष कार्यक्रम आयोजना गर्दै रिभरसबले नेपाली बजारमा औपचारीक रुपमा प्रवेश गरेको घोषणा गरेको हो । नेपालको लागि अधिकृत विक्रेता तोकिएको केमियो इन्टरनेशनका सह संस्थापक उपेन्द्र शाहले एक गुणस्तरीय ब्राण्डलाई नेपाली बजारमा भित्र्याउन पाएकोमा खुशि ब्यक्त गर्नुभयो । अर्का सह–संस्थापक राज गुप्ताले रिभरसबले नेपाली मोबाईल एक्सेसोरीज बजारमा नयाँ छाप छोड्ने विश्वास ब्यक्त गरे । रिभरसब इण्यिाका प्रमुख कार्यकारी अधिकृत माभेन्द्र कुमार चण्डोलाले विश्वभर नै स्मार्टवाचको बजार बढ्दो क्रममा रहेकाले नेपाली बजारमा समेत राम्रो बजार हाँसिल गर्ने अपेक्षा ब्यक्त गरे भने नेपाली बजारमा रिभरसबको ब्राण्ड सचेतना र विकासका लागि कुनै पनि किसिमको सम्झौता नगरिने बताए । रिभरसबले हाल नेपाली बजारमा छ स्मार्टवाच र चार इअरवड्स् सार्बजनिक गरेको हो । अफलाईन डिस्ट्रिब्युसन च्यानल प्रयोग गरि नेपाली उपभोक्तामाझा सहज उपस्थिती जनाउने योजना बनाएको केमियोले केहि विशेष उत्पादनहरुलाई दराज, सस्तो डिल, ग्यापु लगायतका अनलाईन प्लेटफर्म बाट समेत लन्च गर्ने बनाएको केमियोले रिभरसबका सबै उत्पादनहरुमा एक बर्षको वारेन्टी प्रदान गरेको छ भने विक्री पश्चातको सेवामा कुनैपनि सम्झौता नगरिने प्रतिबद्धता ब्यक्त गरेको छ । केमियो इन्टरनेशनलले रिभरसबका ग्याजेट तथा एक्सेसोरिज्हरुको विक्री पश्चातको सेवा प्रदान गर्नका लागि काठमाडौंको बालाजुमा एक विशेष सेवा केन्द्र संचालनमा ल्याएको छ भने चाईनाटाउन, बाघदरबारमा समेत ग्राहकहरुले विक्री पश्चातको सेवा प्राप्तिका लागि सम्पर्क गर्न सक्नेछन् ।

टेलिकमद्वारा वालिङमा ‘फाइबर टु द होम’ सेवा थालनी

काठमाडाैं । नेपाल टेलिकमले तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई ‘एफटिटिएच’ (फाइबर टु द होम) सेवा सुरु गरेको छ । नेपाल टेलिकम वालिङ शाखाले गत साउन २० गतेदेखि ‘एफटिटिएच’ सेवा सुरु गरेको हो । नगरपालिकाभित्र ग्राहकलाई वितरण भएका पहिलाका तामाका तारहरुलाई विस्थापित गरी एउटै फाइबरबाट फोन, नेट र टिभी चलाउन सकिने सुविधासहितको सेवा सुरु गरिएको शाखाका प्रमुख नारायण कपालीले बताए । ‘तामाका तारमार्फत पहिलै वितरण गरिएका टेलिफोनलाई पहिलो चरणमा ‘एफटिटिएच’ प्रविधिमा परिवर्तन गरेका छौँ’, उनले भने, ‘जडानमा रहेका पुराना टेलिफोनलाई उक्त प्रविधिमा रुपान्तरण सकेपछिमात्रै दोस्रो चरणमा नयाँ लाईनहरु जडान गर्नेछौँ ।’ भदौको दोस्रो साताभित्रमा पुराना लाइनलाई नयाँ सेवामा परिवर्तन गरेर सकिने र दसैँअगावै नयाँ लाइन पनि जडान गर्ने गरी तीव्ररुपमा काम अगाडि बढेको उनले जानकारी दिए । तामाको तारमार्फत वितरण गरिएको टेलिफोनबाट सञ्चालन भएको ‘एडिएसएल’ सेवा तीव्र गतिको नभएकै कारण सेवाग्राहीले सेवा लिन छाडेसँगै टेलिकमले नयाँ प्रविधिसहितको ‘एफटिटिएच’ सेवा भित्र्याएको हो । ‘एफटिटिएच’ सेवा भित्र्याएसँगै सेवाग्राहीले टेलिफोन लाइन जडानका लागि निवेदन दिने बढ्दै गएको उनले बताए । ‘भ्वाइस, डाटा तथा टिभी सस्तो मूल्यमा एउटै फाइबरमार्फत उपलब्ध हुने भएपछि सेवा प्रयोग गर्नका लागि माग गर्ने सेवाग्राही बढ्दै जानुभएको छ,’ उनले भने, ‘सरकारी कम्पनी, सस्तो भरपर्दो सेवा सुविधाकै कारण ‘एफटिटिएच’ सेवाप्रति आकर्षण बढ्दै गएको हो ।’ तामाको तारमार्फत वितरण गरिएका टेलिफोन लाईन करीब एकहजार छन् । तामाको तारमार्फत टेलिकमले उपलब्ध गराएको ‘एडिएसएल’ सेवाको गति कम भएकैकारण यसअघि केही ग्राहकहरुले सेवा लिन छोडे पनि अहिले फेरि आकर्षण बढेको उनले बताए । ‘एफटिटिएच’ सेवा जडानका लागि कार्यालयले सामान्यदेखि तीव्र गतिको इन्टरनेट सेवा, तीन सय मिनेट निःशुल्क टेलिफोन सेवा, जडानमा एकसय मिटर ड्रप फाइबर निःशुल्क, सिपिई (राउटर) निःशुल्कजस्ता विभिन्न प्याकेज अगाडि सारेको छ । कम्पनीले ग्राहकका लागि तीव्र गतिको इन्टरनेट सेवा, टेलिफोन सेवा र टेलिभिजन सेवा ‘ट्रिपल प्ले’ सुविधा दिएसँगै थप आकर्षित भएका हुन् । शाखाले वालिङ नगरपालिकाका विभिन्न बजारसहित दक्षिण स्याङ्जाको चापाकोट नगरपालिका र दक्षिण पर्वतको हातेमालो चोकमा सो सेवा दिँदै आएको शाखाले जनाएको छ । रासस

फेसबुक ह्याक गर्दै रकम माग्दै

कास्की । पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे । यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेपछि व्यवसायी आचार्यले चिनजानको साथीले भनेपछि तुरुन्तै पठाइदिनुभयो । कुराकानीकै क्रममा मोबाइल बैंकिङ एप्स छ वा छैन ? इसेवा चलाउनुहुन्छ कि हुँदैन भनेपछि उनले आफ्नो इसेवामा हाल पैसा नभएको जवाफ फर्काए । सोको एक घण्टापछि आचार्यलाई काठमाडौंका एक साथीले मैले पठाइदिएको २५ हजार रुपैयाँ पाउनुभयो भनेर भन्नासाथ उनी झसङ्ग भए । यसबीचमा आचार्यले कसैसँग पनि पैसा मागेका थिएनन् । साथीले आफ्नो म्यासेन्जरबाट अनुरोध गरेपछि पैसा पठाइएको बताएपछि उनी आफूलाई प्रयोग गरेर कसैले साथीलाई ठगेको निचोडमा पुगे । मोबाइलमा आएको कोड पठाएलगत्तै आफ्नो फेसबुक नियन्त्रणमा लिएर म्यासेन्जरबाट विभिन्न व्यक्तिसँग पैसा माग गरिएको आचार्यले बताए । उनले भने, ‘मोबाइलमा आएको लिङ्कको कोड दिएलगत्तै मेरो फेसबुक अकाउण्ट ह्याक गरी धेरै जनासँग पैसा मागिएको रहेछ । पछि साथीहरूले फोन गरेर पैसा पठाइदिएको छु भनेपछि मात्र ठगी गरिएको थाहा पाएँ ।’ आफन्त तथा चिनजानका व्यक्ति तीन जनाबाट ६५ हजार ठगी भएको उजुरी लिएर आचार्य आइतबार जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । उनी मात्र होइन, शनिबार मात्र पोखरामा एकैदिन छ जना बढी व्यक्ति फेसबुक आइडी ह्याक गरेर ठगिएको निवेदन लिएर प्रहरीकहाँ पुगेका थिए । पोखरा–१८ सराङकोटका सुजन भण्डारीको अवस्था पनि उस्तै थियो । आफ्नो काका नाता पर्ने चेतनाथ भण्डारीको फेसबुक आइडीबाट शनिबार राति ११ बजेतिर इसेवाको पासवर्ड पठाउन भनेपछि उनले आफ्नै काकाले भनेपछि विश्वास गरेर दिए तर काकाको फेसबुक आइडी ह्याक गरिएको उनले भोलिपल्ट बिहान मात्र थाहा पाए । भण्डारीले इसेवाको पासवर्ड दिएपछि उनको नम्बरमा विभिन्न व्यक्तिबाट एक लाख जम्मा भएको र लगत्तै सो रकम अन्यत्र पठाइएको पाइएको छ । आफन्त, चिनेजानेका व्यक्तिबाट फेसबुक म्यासेन्जरमा अनुरोध भएका आधारमा विश्वासमा परेर रकम पठाउने ठगिने क्रम पोखरामा बढेको हो । यसरी ठगिनेमा सर्वसाधारणमात्र होइन, जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मीलगायत समाजका शिक्षित भनिएका व्यक्तिसमेत परेका छन् । विश्वासका आधारमा बुझ्दै नबुझी पैसा दिँदा ठगिने क्रम बढ्दो छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले साइबर अपराधका घटना सचेतनाको अभावमा बढ्दै गएको बताए । प्रविधि र सुविधाको विकाससँगै आर्थिक प्रलोभन र सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने क्रम बढेकाले उपहारको प्रलोभनमा खाता नम्बर, नागरिकता नम्बर, जन्ममिति, राहदानी नम्बर वा सवारी चालक अनुमतिपत्रको नम्बरजस्ता विवरण अरूलाई उपलब्ध गराउन नहुने उनको भनाइ छ । उनले भने, ‘फेसबुक ह्याक गरेर साथीभाइलाई पैसा पठाउन भन्ने र सो पैसा अन्यत्र डाइर्भट गरेर छिमेकी मुलुकलगायतबाट निकाल्ने गरेको पाइएको छ । कसैलाई पैसा पठाउनुभन्दा अघि एकपटक फोन गरेर निश्चित हुनुपर्दछ । फेसबुक, भाइबर, म्यासेन्जरमा आग्रह गरेका आधारमा पैसा दिएका ठगिनुभएको छ ।’ साइबर अपराधका घटनाबाट जोगिन व्यक्ति आफैँ सचेत बन्नुपर्ने उनले बताए । प्रनाउ तिवारीले भने, ‘आफ्ना व्यक्तिगत विवरण, बैंक वित्तीय संस्था र डिजिटल माध्यमका अकाउण्ट र पिन, कोडलगायत विवरण सुरक्षित राख्नुपर्छ ।’ ठगी गर्नेले निरक्षर र ज्यालामजदुरी गर्ने व्यक्तिका विवरणका आधारमा नक्कली बैंक खाता र इसेवालगायतका आइडी खोल्ने र जो त्यस्ता घटनामा संलग्न हुन सक्दैनन् उनीहरूका खातामा पैसा गएको देखिने गरेकाले अनुसन्धान जटिल बन्ने गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्षमा साइबर अपराधका दुई सय ९७ उजुरी परेका थिए । यसमा पुरुष एक सय २७ र महिला एक सय ७० ठगिएको उजुरी छ । त्यसैगरी गत साउन महिनामा मात्र २९ उजुरी परेका छन् । अनलाइनबाट ठगीका ३३, गाली बेइज्जत र अश्लिल कुराका ३८, फेक आइडी ९६ र सामाजिक सञ्जाल ह्याक गरेर ठगी गरिएका एक सय २६ उजुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस