एनसेलको ६० जीबी डेटा मात्रै ५९९ रुपैयाँमा
काठमाडौं । चाडवाडको बेलामा घरमा रहँदा होस् या बाहिर जहाँ भएपनि डेटा सेवा लिन सक्ने गरी एनसेल आजियाटाले नौलो तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर सञ्चालनमा ल्याएको छ । एनसेलका ग्राहकले चाडपर्वको अवसरमा अब अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । दसैं, तिहार र छठ पर्वको अवसरमा ल्याइएको यो प्याक प्रयोग गरि ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमंग साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रहिरहन सक्ने बताइएको छ । एनसेलका ग्राहकहरुले यो प्याक करसहित ५९९ रुपैयाँमा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरी कुल ६० जीबी डेटा पाउने कम्पनीले जनाएको छ। डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा बसेर यो प्याक सुचारु हुन्छ त्यही स्थानलाई होम लोकेसन मानिने र अन्य स्थानलाई अवे लोकेसन मानिने एनसेलले स्पष्ट पारेको छ । यो प्याक एनसेलले बिहीबारबाट सञ्चालनमा ल्याइसकेको छ । एनसेलका ग्राहकले *१७१२३*३०# डायल गरेर यो प्याक सजिलै किन्न सक्ने बताइएको छ । यसैगरि एनसेल एप र एनसेलको वेबसाइट मार्फत पनि यो प्याक किन्न सकिने एनसेलले जनाएको छ । एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्ने सुविधा एनसेलले दिएको छ। यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य रहने छ । यो डेटा प्याकको विशेषता प्याकमा रहेको डेटा भोलुम खपत भइसकेपछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लागु नहुने एनसेलले जनाएको छ। होम एण्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याक खरिद गरि डेटा चलाउन सक्छन् । डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहकका लागि नेपालमा नै पहिलो पटक यस्तो नौलो तथा आकर्षक प्याक ल्याउन पाएकोमा हर्षित भएको एनसेलले जनाएको छ ।
सञ्चार माध्यमका दर्शक, स्रोता र पाठक घटे
काठमाडौं । कोभिड–१९ पछिको असर र वैकल्पिक मिडियाको बढ्दो प्रयोगसँगै रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता परम्परागत सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्न थालेका छन् । सञ्चारविज्ञसहितको टोलीले गरेको एक अध्ययनले टेलिभिजनका दर्शकमा १२ दशमलव दुई, रेडियोका स्रोता १४ र पत्रपत्रिकाका पाठक १७ प्रतिशतले घटेको देखाएको छ भने समाचार ग्रहणका लागि यी माध्यमको प्रयोग मानिसले अनिवार्य नभई आक्कलझुक्कलरूपमा गर्न थालेको पाइएको छ । यद्यपि समसामयिक सूचना र आएका सूचनाको विश्वसनीयताका दृष्टिले यी माध्यमको औचित्य कायमै रहेको देखिएको छ । सामाजिक सञ्जाल प्रयोग बढे पनि मानिसहरू त्यहाँ आउने सूचनालाई भरसक विश्वास गरिहाल्दैनन् । मुलुकभरका १८ वर्ष उमेरमाथिका पाँच हजार पाँच सय ८२ जना बीच स्थलगत अध्ययनका आधारमा ‘शेयरकाष्ट इनिसिएटिभ नेपाल’ले प्रकाशन गरेको ‘नेपाल मिडिया सर्भे, २०२२’ले केही त्यस्ता रोचक तथ्यहरू उजागर गरेको छ, जसले सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूको प्रयोग, विश्वसानीयता र सञ्चार उद्यमी तथा सञ्चारकर्मीहरूका लागि भावी लक्ष्य कोर्न बाटो देखाइदिएको छ । अध्ययन प्रतिवेदनअनुसार सर्भेक्षणमा सहभागीमध्ये रेडियोको प्रयोगको सङ्ख्या ४५ दशमलव दुई प्रतिशत, टेलिभिजनको प्रयोग ४८ दशमलव पाँच प्रतिशत, मोबाइल र इन्टरनेटको प्रयोगको सङ्ख्या ६३ प्रतिशत र अनलाइन न्यूज पोर्टल प्रयोगको ३० प्रतिशत र पत्रपत्रिका प्रयोग १५ प्रतिशतले गर्ने गरेका छन् । सोही संस्थाले सन् २०२० मा गरेको यस्तै प्रकारको अध्ययनको तुलनामा रेडियो, टेलिभिजन र पत्रपत्रिकाका प्रयोगकर्ता घटेका छन् भने मोबाइल र सामाजिक सञ्जालको प्रयोगकर्ता बढेका छन् । अध्ययनले रेडियो र टेलिभिजन सेटबाट नभई इन्टरनेटको प्रयोगबाट मोबाइलबाटै रेडियो सुन्ने र टेलिभिजन हेर्नेहरू पनि बढिरहेका छन् । सूचना तथा प्रसारण विभागको अभिलेखअनुसार देशभरबाट आव २०७७/७८ सम्ममा दर्ता भएका पत्रपत्रिकाको कुल सङ्ख्या सात हजार आठ सय ७४ रहेको छ । यीमध्ये काउन्सिलको वर्गीकरणमा करिब एक हजार पर्ने गरेका छन् । पछिल्लो समयमा पत्रपत्रिकाको उत्पादन सङ्ख्या घट्न थालेको छन् । पत्रपत्रिकाहरूले अनलाइन संस्करणबाट आफ्ना पाठकलाई जोड्न थालेका छन् । दूरदराजमा पत्रपत्रिकको उपलब्धता नहुने भएकाले तथा आफ्नो पेशा व्यवसायका कारण समय दिन नसकिने हुँदा पत्रपत्रिका पढ्ने प्रवृत्ति घटेको देखिएको छ । कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानका विचारमा उक्त अध्ययनको विश्लेषण उत्साहजनक नभए पनि विश्वनीयताका दृष्टिमा पत्रपत्रिका, रेडियो र टेलिभिजनलाई कायमै राखिएकाले निराशाजनक छैन । उनले अहिले नयाँ पुस्ता कस्ता सामग्री चाहन्छन् र उनीहरुको रुचि के छ भन्नेबारेमा सामग्री उत्पादन गर्न सक्ने हो भने परम्परागत सञ्चारमाध्यमको अझै औचित्य रहने बताए । प्रेस काउन्सिल नेपालमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरूको पछिल्लो आँकडा तीन हजार छ सय २४ पुगेको छ । काउन्सिलको ४८औँ वार्षिक प्रतिवेदनले पनि सञ्चारमाध्यमलाई सामाजिक सञ्जालका कारण चुनौती थपिएको स्पष्ट उल्लेख गरेको छ । ‘आमसर्वसाधारण नागरिक कुन मिडिया हो, कुन सामाजिक सञ्जाल हो, को पत्रकार हो र को होइन भनेर छुट्याउन सक्ने अवस्थामा छैनन् । आमसञ्चारका सबै क्षेत्रलाई समेट्नु र नागरिकको विश्वास बढाउनु आजको आवश्यकता हो । एउटै सञ्चारमाध्यमको समाचार पढेर, सुनेर, हेरेर नागरिकले धारणा बनाउन सकिरहेका छैनन् । किनभने तथ्यमै फरक पारिएको हुन्छ ।’ सो अध्ययन र विश्लेषणमा मधु आचार्यको नेतृत्वमा डा भूमिराज चापागाईँ, डा सुधाम्शु दाहाल, कुन्द दीक्षित र रमेशप्रसाद अधिकारी सम्लग्न रहेका थिए । रासस
एनटीसीले ल्यायो सस्तोमा डाटा र भ्वाइस प्याक सुविधा, कसरी लिने ?
काठमाडौं । नेपाल टेलिकमले विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर ल्याएको छ । दशैंका अवसरमा ल्याइएको उक्त अफर असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् । जसमा डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी, १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ । यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निशुल्क भ्वाइस ओभर एलटीई (भोल्टे) सेवा पनि उपलब्ध गराइएको छ । उक्त प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ । कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।