एनसेलले बाँड्न थाल्यो ई–सिम, कुन कुन मोबाइलमा प्रयोग गर्न मिल्छ ?
काठमाडौं । एनसेल आजियाटाले शुक्रबारदेखि आफ्ना ग्राहकहरुलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको छ । यससँगै एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्नेछन् । ई–सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भईरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइल वा उपकरण भित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ । यो भौतिक रुपमा प्रयोग हुने सिम भन्दा सुरक्षित मानिन्छ र केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई–सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन । एनसेलका ग्राहकहरूले एसएमएसमार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भईरहेको सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्दछ । ई–सिम सुचारु गर्नु भन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन् । यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्ने छैन । ग्राहकले आफुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । नयाँ ग्राहकहरुले पनि कुनै पनि एनसेल सेन्टरबाट आफुले चाहेको स्टार्टर प्याकका साथ आवश्यक प्रक्रिया पुरा गरि ई–सिम लिन सक्छन् । ई–सिम सुविधा लिनका लागि, ग्राहकहरूका साथमा ई–सिम सपोर्ट गर्ने मोबाइल हुन आवश्यक हुन्छ । ग्राहकहरूले आफ्नो मोबाइल ई–सिम चल्ने/नचल्ने थाहा पाउन *०६# डालय गर्न सक्छन् । यदि इम्बेडेड आईडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई–सिम चल्छ । ग्राहकलाई सेवा प्रदान गर्न नयाँ प्रविधि र सेवाहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धताअनुरूप चल्ने सुविधा सञ्चालनमा ल्याउन पाउँदा कम्पनी खुसी रहेको एनसेलले बताएको छ । उपभोक्ता र व्यवसाय दुवै माझ कनेक्टेड डिभाइसहरुको प्रयोग बढ्ने क्रममा रहेकाले ई–सिमले सूचना तथा सञ्चार प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ । आइफोनका पछिल्ला मोडलहरु जस्तै आइफोन एक्सएस सिरिज, आइफोन ११ सिरिज, आइफोन १२ सिरिज, आइफोन १३ सिरिज र आइफोन १४ सिरिजमा ई–सिमको सुविधा रहेको छ । त्यसै गरि सामसङको ग्यालेक्सी ए२१ सिरिज, ग्यालेक्सी ए२२ सिरिज, ग्यालेक्सी जेड फ्लिप सिरिज र गुगलको पिक्सल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमा पनि ई–सिमको चल्ने सुविधा रहेको हुन्छ । ब्रान्ड र मोबाइलका मोडलहरुका आधारमा विभिन्न मोबाइलहरुमा एक भन्दा बढि ई–सिम नम्बर दर्ता गर्न सकिने सुविधा पनि रहेको हुन्छ । यद्यपि एक पटकमा एक मात्र नम्बर सक्रिय रहन्छ । ई–सिमले सूचना तथा सञ्चार प्रविधि तथा इन्टरनेट अफ थिङ्गस्मा पनि ठूलो महत्व राख्दछ । विकसित देशहरुमा यो कार, घरायसी सामानहरु र औद्योगिक क्षेत्रका मसिनहरुमा पनि प्रयोग हुने गरेको छ ।
टेलिकमको इन्टरनेट जोड्नेले मोबाइलमा १०६ जिबी डाटा निःशुल्क पाउने
काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा फाइबर टु द होम (एफटिटिएच) सेवा पुर्याउने भएको छ । राजधानीका मुख्य सहरी भागमा अहिले पनि एफटिटिएच सेवा पुगेकामा चालु आवको अन्त्यसम्म भने काँठ र ग्रामीण भेगमा लैजाने गरी तयारी गरिएको हो । टेलिकमले सन् २०१५ जनवरीदेखि पाइलट प्रोजेक्टका रुपमा एफटिटिएच सेवा सुरु गरेको थियो । सन् २०१७ देखि भने व्यावसायिक रुपमा यो सेवा आरम्भ भएको नेपाल टेलिकमका सहायक प्रवक्ता रञ्जित लोहियाले जानकारी दिए । घरघरमा फाइबर पुर्याउने उद्देश्यले यो सेवा सुरु गरिएको हो । हालसम्म ६८ जिल्लाका मुख्य मुख्य सहरमा फाइबर सेवा पुगेको छ । गत वर्षमात्र एफटिटिएचको दुई लाख २६ हजार पोइन्ट जोडिएको उनले बताए । चालु आवमा एफटिटिएचका तीन लाख पोइन्ट जोड्ने कार्यक्रम छ । हालसम्म एफटिटिएच सेवाका लागि देशभर नौ लाख ५५ हजार छ सय ६६ पोइन्ट जोडिएको छ । हाल यो सेवाका ग्राहक भने दुई लाख ८६ हजार छन् । एफटिटिएच सेवाका लागि पोइन्ट जोड्न भौतिक रुपमा काम गर्नुपर्ने भएकाले व्यावसायिक सेवा सुरु गरेको पाँच वर्षमा पनि देशभर सेवा बिस्तार गर्न नसकिएको सहायक प्रवक्ता लोहिया स्वीकार गरे । कोरोना महामारीका कारण दुई वर्ष विदेशबाट सामग्री ल्याउन नसकिएकाले पनि एफटिटिएच सेवा विस्तारको काममा ढिलाइ भएको हो । यो काम काठमाडौं उपत्यकाकामा भने २०८० साल असारसम्ममा सक्ने लक्ष्य राखिएको छ । हालसम्म डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, रुकुम पूर्व, रुकुम पश्चिम, बझाङ र बाजुरामा एफटिटिएच सेवा पुग्न सकेको छैन । यस बाहेकका ६८ जिल्लामा यो सेवा पुगेको छ । जसमध्ये जुम्लामा भने काम भइरहेको टेलिकमले जनाएको छ । एफटिटिएच सेवा लैजान घरअघि बक्स राखिन्छ । तार भूमिगत रुपमा लगिन्छ । बक्सबाट भने पोलबाट पनि तार लगिने जनाइएको छ । तामाको तारमा आधारित प्रणालीमा रहेको एडिएसएल सेवाको इन्टरनेटलाई अप्टिकल फाइबर प्रणालीमा आधारित प्रविधिमा रुपान्तरण गर्न एफटिटिएच सेवा विस्तारलाई प्राथमिकतामा राखिएको हो । सबैतिर अप्टिकल फाइबर पुगेपछि तामाको तारमा आधारित प्रविधि बन्द गर्ने टेलिकमको तयारी छ । एफटिटिएच प्रविधिबाट इन्टरनेटका साथै ग्राहकले टेलिभिजन र टेलिफोन सेवा पनि पाउने छन् । यी तीनै सेवा प्रदान गर्ने अरु इन्टरनेट प्रदायक संस्था नेपालमा छैनन् । यो प्रविधि जोड्नेले एक महिनामा मोबाइलमा १०६ जिबी डाटा पनि निःशुल्क पाउने व्यवस्था गरिएको छ ।
एनसेलले शुरु गर्यो नयाँ प्रिपेड प्लानहरु, यस्ता छन् विशेषता
काठमाडौं । एनसेल आजियाटाले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ । ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्छन् । नयाँ प्रिपेड प्लान अन्तर्गत एनसेलले तीन वटा स्टार्टर प्याकहरु सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरेकाे छ । कम्पनीकाे अनुसार यी प्याकहरु आइतबार (मसिर ४) देखि संचालनमा आएका छन् । ग्राहकले सजिलोको कर सहित ९७ रुपैयाँ, सहयात्री प्लानको ९८ रुपैयाँ र सही यो प्लान ९९ रुपैयाँमा लिन सक्नेछन् । स्टार्टर प्याक अन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वतः रुपमा सजिलो प्लान प्राप्त गर्नेछन् । यसमा १० रुपैयाँमा मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र ७ दिनको समयसिमा रहेको २० वटा अन नेट एसएमएस रहेको छ । त्यस्तै, यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कल अन्तर्गत कर सहित १.६२ रुपैयाँ प्रति मिनेटमा कल, १ रुपैयाँमा पे एज यू गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस कर बाहेक १ रुपैयाँमा पठाउन सक्नेछन् । वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यहरुका लागि सहयात्री प्लान रहेको छ । यो प्लान अन्तर्गत ग्राहकले १० मेन ब्यालेन्स, १०० एमबी डेटा, ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्नेछन् । यसका साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो ३ मिनेटको कल पछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा प्राप्त गर्नेछन् । सहयात्री प्लान अन्तर्गत ग्राहकले बीप सेवाको पनि फाइदा लिन सक्छन् । यस सेवा अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स शून्य भए पनि आफुले सम्पर्क गर्न खोजेको नम्बरमा मिस्ड कल गर्न सक्नेछन् । यसका साथै यो सिम लिने ग्राहकले विभिन्न ८ राष्ट्रमा अन्तर्राष्ट्रिय कलमा पहिलो १ मिनेट पछि छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तैगरी अर्को स्टार्टर प्याक हो युवा वर्गलाई लक्षित सही यो प्लान । यो प्लान अन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसिमा रहेको १ जीबी डेटा, १० मिनेट मेन ब्यालेन्स, १०० एमबी डेटा, १० मिनेट अन नेट कल र ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्नेछन् । यसका साथै, यी सबै स्टार्टर प्याकहरुमा पहिलो रिचार्ज अफर पनि रहेको छ । यो योजना अन्तर्गत सिम कार्ड सुचारु भएको अर्को दिनको मध्य राति सम्म २०० र सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकले रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन् । प्राप्त बोनस पे एज यू गो अन्तर्गत भ्वाइस, डेटा र एसएमएस सेवाको लागि प्रयोग गर्न सकिन्छ । बोनस रकम ३ दिनको लागि मान्य रहनेछन् । नेपाल घुम्न आउने पर्यटकहरुका लागि पनि एनसेलले १००, ५०० र १००० का तीन प्लानहरु प्रदान गर्दै आएको छ । १०० रुपैयाँको प्लानमा ग्राहकले २०० एमबी डेटा, १० मिनेट (लोकल कल) प्राप्त गर्नेछन् । ५०० को प्लानमा पर्यटकले ५० मेन ब्यालेन्स, ५० मिनेट लोकल कल र ७ दिनको समयसिमा रहेको १० जीबी डेटा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, १००० को प्लान अन्तर्गत नेपाल भ्रमणमा रहेका पर्यटकले ५० मेन ब्यालेन्स, १०० मिनेट लोकल कल र २८ दिनको समयसिमा रहेको २५ जीबी डेटाबाट फाइदा लिन सक्नेछन् ।