जीवन विकास लघुवित्तले ७७ ठाउँमा दियो वित्तीय साक्षरता, ४३४ जना विद्यार्थीलाई छात्रवृत्ति पनि
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २५ दिने गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले चैत १ गतेदेखि चैत २५ गतेसम्म विभिन्न जिल्लामा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा संस्थाले सदस्यहरुसँग अन्तरक्रिया गर्नुका साथै कूल ७७ स्थानमा वित्तीय साक्षरता दिएको थियो । संस्थाका डिजिटल प्रमुख विजय कुमार मण्डलका अनुसार मोरङमा १९, झापामा १२, सुनसरीमा ८, सप्तरीमा ८, सिराहामा ८, धनुषामा ८, महोत्तरीमा ८, बारामा ६ स्थानमा वित्तीय साक्षरता दिइएको हो । सो क्रममा वित्तीय सेवा, सामाजिक सेवा र डिजिटल सेवाबारे जानकारी गराइएको उनले बताए । त्यस्तै, संस्थाले कुल ४३४ जना अति विपन्न परिवारका बालबालिकाहरुलाई पठनपाठनका लागि १ वर्षसम्म सहयोग गर्ने जानकारी सहित छात्रवृत्ति प्रदान गरिएको मण्डलले डिजिटल प्रमुख बताए । छात्रवृत्ति पाउनेमा मोरङका ७१, झापाका ७६, सुनसरीका ४०, सप्तरीका ८१, सिराहाका ६९, धनुषाका २३ र महोत्तरीका ७४ विद्यार्थी रहेका छन् । जीवन विकास लघुवित्त संस्थाले समुदायमा आर्थिक कारोबार मात्र नभई सामाजिक कार्यहरु पनि गर्दै आएको छ । सो सम्बन्धमा समुदायका स्थानीय निकायका सरोकारवालाहरुलाई समेत जानकारी गराइएको थियो । त्यस्तै, संस्थाले प्रत्येक गोष्ठि कार्यक्रमको अन्तिम सत्रमा शाखा अन्तर्गतका विभिन्न उत्कृष्ट अधिकृत टेलर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उद्यमी र उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत गरेको छ । त्यसैगरि संस्थाले शाखा अन्तर्गतका अधिकांश दुःखी बिरामी घर परिवारहरुलाई आर्थिक सहयोग समेत गरेको थियो ।
नेपाल टेलिकमका ग्राहकले हिमालयन बैंकको एप निःशुल्क चलाउन पाउने
काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन् । नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको हो । यस सम्बन्धी गत चैत २० गते भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र हिमालयन बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारीले हस्ताक्षर गरेका छन् । सो अवसरमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत पहाडीले बैंकका मोबाइल एप प्रयोगकर्ताहरुको सहजताका लागि नेपाल टेलिकमले सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको बताए ।
एसईईका विद्यार्थीलाई टेलिकमको नि:शुल्क सिम, डाटा र टकटाइम पनि उपलब्ध
काठमाडाैं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । चैत २४ देखि उपलब्ध हुने यो अफर ३ महिना (९० दिन) सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइने टेलिकमले जानकारी दिएकाे छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । टेलिकमकाे अनुसार सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएकाे छ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने १० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउनका साथै एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सकिनेछन् । यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३००० एमबी डाटा, ६०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा ६ महिनासम्म बोनस सुविधा प्राप्त हुनेछ र बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्ने कम्पनीले बताएकाे छ ।