नेपाल टेलिकमले १४ करोडका पुराना कवाडी ब्याट्री लिलाम गर्दै
काठमाडौं । नेपाल टेलिकमले पुराना काम नलाग्ने कवाडी सामान लिलाममा बिक्री गर्ने भएको छ । टेलिकमको उपत्यकाभित्रका विभिन्न निर्देशनालय तथा कार्यालयहरुमा मौज्जात रहेका झण्डै १४ करोड रुपैयाँ बराबरका ब्याट्रीहरु लिलाम बिक्री गर्ने भएको हो । टेलिकमले डिसमेन्टलेड ब्याट्री कवाडी सामानहरूको न्यूनतम मूल्य १३ करोड ७६ लाख १५ हजार रुपैयाँ तोकेको छ । नेपाल टेलिकमको वयरलेस निर्देशनालय बबरमहल काठमाडौंमा बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र शुल्क १५ हजार रुपैयाँ तोकिएको छ । इच्छुक फर्म वा संस्था तथा कम्पनीले चैत १५ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ ।
१७ सय किलोमिटर अप्टिकल फाइबर जडान, दुई वर्षको काम ५ वर्षमा पनि सकिएन
फाइल फाेटाे काठमाडौं । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार छ सयभन्दा बढी किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले २ वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै सुरु गरेको योजनाअन्तर्गत माघ मसान्तसम्म एक हजार छ सय ७१ किलोमिटर क्षेत्रमा फाइबर विस्तार भएको हो । नेपाल टेलिकमले जिम्मा पाएको कोशी, मधेश र बागमती प्रदेश तथा कर्णाली र सुदूपश्चिम खण्डमा कछुवाको गतिमा फाइबर विस्तारको काम भएको छ । कोशी, मधेश र बागमती गरी टेलिकमले तीन प्रदेशमा दुई हजार ८३ किलोमिटर फाइबर बिछ्याउनुपर्नेमा माघ मसान्तसम्म एक हजार तीन सय ४१ किलोमिटर फाइबर बिछ्याएको छ । दुई वर्षमा सक्नेगरी सम्झौता भएकोमा टेलिकमले पाँच वर्षको अवधिमा ६१ दशमलव ५४ प्रतिशत मात्र जडान गरेको हो । प्राधिकरणले पहिलो खण्डअन्तर्गत नेपाल टेलिकमसँग पूर्वी नेपालदेखि गोरखासम्म फाइबर बिछ्याउन २०७३ साल असोज १२ गते २ वर्षको सम्झौता गरेको थियो । तर टेलिकमले २०७६ जेठ पहिलो सातादेखि अप्टिकल फाइबर बिछ्याउने काम सुरु गरेको हो । यस्तै, टेलिकमले प्याकेज–३ अन्तर्गतको कर्णाली र सुदूपश्चिम खण्डमा एक हजार नौ सय ९२ किलोमिटर क्षेत्रमा फाइबर जडान गर्नुपर्नेमा हालसम्म तीन सय ३० किलोमिटर क्षेत्रमा मात्र जडान कार्य सम्पन्न भएको छ । कर्णाली र सुदूपश्चिममा फाइबर बिछ्याउन प्राधिकरणले स्मार्ट टेलिकमलाई जिम्मेवारी दिए पनि काम सुरु गर्न नसकेको भन्दै प्राधिकरणले पुनः नेपाल टेलिकमलाई जिम्मा दिएको थियो । विसं २०७४ भदौ ३ गते दुई वर्षका लागि स्मार्टलाई जिम्मा दिए पनि प्राधिकरणले २०७६ कात्तिक ३ गते ठेक्का सम्झौता रद्द गरी २०७६ साल पुस १९ गते नेपाल टेलिकमसँग सम्झौता गरेको थियो । एक खण्डको काम सुरु भएन तीन खण्डका विभाजन गरिएको विस्तारअन्तर्गत दुई वटा खण्डमा काम सुरु हुनै सकेको छैन । खण्ड दुईअन्तर्गत रहेको गण्डकी र लुम्बिनीअन्तर्गतका २१ जिल्लामा दुई हजार एक सय ६० किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कामको सुरु नै हुन सकेको छैन । प्राधिकरणले युनाइटेट टेलिकम (युटिएल) लाई विस्तारको जिम्मा दिए पनि सर्वाेच्च अदालतमा मुद्दा हुँदा उक्त क्षेत्रमा विस्तारको काम रोकिएको हो । दुई वर्षभित्र सक्नुपर्ने गरी प्राधिकरणले युटिएलसँग २०७४ वैशाख २५ गते दुई अर्ब एक करोडमा सम्झौता गरेको थियो । तोकिएको अवधिमा काम सुरु नगरेको भन्दै प्राधिकरणले २०७६ बैशाख २६ गते सम्झौता रद्द गरेपछि युटिएलले सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरेको थियो । अदातलते वैशाख २९ गते युटीएलको पक्षमा फाइबर बिछ्याउने ठेक्का रद्द नगर्न अन्तरिम आदेश जारी गरेको थियो । प्राधिकरण उक्त आदेशविरुद्ध भ्याकेटमा गए पनि यसको अन्तिम निर्णय हुन नसक्दा फाइबर बिछ्याउने कार्यको सुरुआत नै हुन सकेको छैन । अप्टिकल फाइबर बिछ्याउन दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषको रु नौ अर्ब ८९ करोड १७ लाखमा बजेट छुट्टाइएको थियो । जसमध्ये माघ मसान्तसम्म रु दुई अर्ब नौ करोड ३८ लाख ६७ हजार खर्च भएको छ । प्राधिकरणले सुरु गरेको उक्त परियोजनाअन्तर्गत मध्यपहाडी लोकमार्गलाई आधार मानेर त्यसको समानान्तर रूपमा जिल्ला सदरमुकाम र हरेक नगरपालिकासम्म फाइबर नेटवर्क विस्तार गर्नुपर्ने हुन्छ । परियोजनाअन्तर्गत मध्यपहाडी लोकमार्गमा ९८ कोर, जिल्ला सदरमुकाम र मध्यपहाडी लोकमार्गलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने सडकमा ४८ कोर र नगरपालिकाहरूसम्म २४ कोरको अप्टिकल फाइबर प्रयोग हुन्छ । रासस
एसिया प्यासिफिक एडभान्स नेटवकर्क (एपान)को ५५औं सम्मेलन काठमाडौंमा हुने
काठमाडौं । एसिया प्यासिफिक एडभान्स नेटवकर्क(एपान)को ५५औं सम्मेलन काठमाडौंमा हुने भएको छ । आगामी सोमबार (फागुन २९गते) उक्त सम्मेलनको उद्घाटन हुने नेपाल रिसर्च एण्ड एजुकेशनले जानकारी दिएको हो । सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्ने जानकारी दिइएको छ । पाँच दिनसम्म सञ्चालन हुने उक्त सम्मेलन नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको आयोजकले जनाएको छ । सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका १७ देशका प्रतिनिधिहरु सहभागी हुनेछन् । उक्त सम्मेलनको आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्वन्धि संस्थाहरुको सहयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसंगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन)ले गर्ने जनाईएको छ ।