डिशहोम फाइबरनेटको दशैं अफर : एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा
काठमाडौं । डिशहोम फाइबरनेटले ‘एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा’ अफर ल्याएको छ । कम्पनीले घटस्थापनाको दिनदेखि लागू हुने गरी १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ वर्षसम्म ईन्टरनेटको सेवा दिने उक्त अफर सार्वजनिक गरेको हो । यस अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने छन् । जसमा ग्राहकले ५० एमबीपीएसदेखि २५० एमबीपीएससम्म फाईभ-जी राउटर पाउनेछन् भने ३०० एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई-६ राउटर पाउने छन् । कम्पनीका अनुसार यो अफर असोज २८ गते घटस्थापनादेखि कार्तिक ११ गते पूर्णिमासम्म मात्र लागू हुने छ । यसअघि एशियाकपमा नेपाल र भारतको खेलको खुशीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो ।
इन्टरनेटको पहुँचमा तिलिचो ताल क्षेत्र
मनाङ । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो । पर्यटक आगमनका क्रममा उच्च स्थानमा लेक लागेर बिरामी पर्नसक्ने भएकाले सहज बनाउन इन्टरनेट जडान गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए । उनका अनुसार तिलिचो ताल भ्रमणमा जाँदा आउँदा लेक लाग्नसक्ने सम्भाव्यतालाई सहज बनाउन वाइफाइ जोडिएको हो । ‘वाइफाइ जडान गरिएपछि पर्यटक बिरामी पर्ने हराउने समस्या न्यूनीकरण हुने अपेक्षा गरेका छौं, ‘उनले भने, ‘इन्टरनेटको पहुँच पुगेपछि पर्यटकले यस क्षेत्रबाटै आफ्ना परिवार, साथीभाइलाई सम्पर्क गर्न सक्नेछन् ।’ होटल व्यवसायी कर्म ढेण्डु गुरुङले पर्यटकलाई सहज बनाउन यहाँका पर्यटन व्यवसायी र होटल व्यवसायीको समन्वयमा इन्टरनेट सेवा सञ्चालन गरिएको बताए । ‘पर्यटकको आवश्यकता र चाहना पूरा गर्ने लक्ष्यअनुसार तिलिचो ताल क्षेत्रमा इन्टरनेट राखिएको छ, उच्च स्थानमा सकस हुन सक्ने भए पनि वाइफाइका माध्यमबाट पर्यटकले सहजरुपमा सम्पर्कमा आउन सक्नेछन्,’ उनले भने । उच्च स्थानमा अवस्थित तिलिचो तालमा पुगेर टिकटक, रिललगायतका सामाजिक सञ्जालमा फोटो तथा भिडियो राख्ने वातावरण तयार भएको पर्यटन व्यवसायी बताउँछन् । पर्यटक आगमनको समय सुरु हुनासाथ इन्टरनेटको पहुँच पुर्याएर सहज बनाइएको व्यवसायी बताउँछन् । तिलिचो लेकमा पुगेपछि पनि होटल तथा पर्यटन व्यवसायीसँग समन्वय हुने र पर्यटकको स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने व्यवसायी गुरुङले बताए । यसले गर्दा पर्यटक बिरामी परेको अवस्थामा समयमा नै उद्धार गर्न सकिने उनको भनाइ छ । मनाङमा पर्यटक आगमन बढ्दै गएको छ । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । मनाङका विभिन्न हिमाल एवं चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । पर्यटकीय समयमा दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटकको आगमन भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङ धारापानीका पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताए । उनका अनुसार दशैँ र तिहारको बीचमा अझै पर्यटक बढ्दै जानेछन् । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन् । सन् २०२३ सुरु भएयता हालसम्म १४ हजार दुई सय १४ पर्यटक यस पदमार्गमा आएका छन् । यस पदमार्गमा सबैभन्दा बढी इजरायल, फ्रान्स, जर्मनीलगायतका देशका नागरिक आएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यतिबेला दैनिक विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउने गरे पनि यकीन तथ्याङ्क भने छैन । यस पदमार्गमा विदेशी र आन्तरिकको भरिभराउले व्यवसायी उत्साहित बन्न थालेका छन् । पर्यटकलाई लेक लागेमा स्वास्थ्य उपचारका लागि मनाङ ङिस्याङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको समन्वयमा अस्थायी स्वास्थ्य चौकीबाट सेवा प्रवाह गरिरहेको छ । एक्यापले तिलिचो ताल र थोराङ्ला भञ्ज्याङ जाने पर्यटकलाई स्वास्थ्य तथा सूचना र यात्राका क्रममा हुनसक्ने जोखिमका बारेमा जानकारी गराएर पठाउने गरेको छ । रासस
टेलिकमको रिचार्ज अन बोनस योजना सार्वजनिक, ४९ रुपैयाँमा सय मिनेट कल र १ एमबीपीएस डेटा
काठमाडौं । नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गर्दै रिचार्ज अन बोनस योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै घोषणा गरेको उक्त अफर आइतबारदेखि कात्तिक १० गतेसम्म रहनेछ । उक्त योजना अनुसार अब ४९ रुपैयाँ रिचार्जमा १ एमबीपीएस डेटा तथा १ सय मिनेट भ्वाइस कल प्राप्त गर्न सकिनेछ । यस्तैगरी, ९८ रुपैयाँमा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक, २९४ रुपैयाँमामा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र ३९९ रुपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुनेछ । सोही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुने जनाईएको छ । कम्पनीका अनुुसार पोस्टपेड मोबाइल प्रयोगकर्ताले सो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै शुल्क काटिने सुविधा उपलब्ध छ । त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध हुनेछ । जस अनुसार २०० सयदेखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी ५०० रुपैयाँ र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ ।