विश्वकप फुटबल प्रतियोगिता : रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न सकेनन् । मध्यान्तरपछि खेलको ६५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई सुरुआति अग्रता दिलाएका थिए । घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेर लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको हो । रोनाल्डो सहभागी भएको यो पाँचौँ विश्वकप हो । उनी लगातार पाँचवटा विश्वकप खेल्दै गोल गर्ने कीर्तिमानी खेलाडी बनेका छन् । रोनाल्डोले यसअघि सन् २००६, २०१९, २०१४ र २०१८ मा भएको विश्वकप फुटबल प्रतियोगिता पनि खेलेका थिए । यस्तै खेलको ७३औँ मिनेटमा घानाका आन्द्रे एयुले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याए । लगत्तै खेलको ७७औँ मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए । खेलको ७९औंँ मिनेटमा राफायल लियोले गोल गर्दै पोर्चुगललाई ३–१ को अवस्थामा पुर्याए । यसैगरी खेलको ८९औँ मिनेटमा घानाका ओस्मान बुकारीले गोल गर्दै पोर्चुगलमाथि दबाब सिर्जना गरे । घानाले अन्तिम समयसम्म बराबरीको प्रयास गरे पनि पोर्चुगललाई हराउन भने असफल भयो । पोर्चुगलले ३–२ गोलका साथ खेल आफ्नो पक्षमा पा¥यो । जीतसँगै समूह ‘एच’ मा रहेको पोर्चुगलले तीन अङ्क जोडेको छ । पोर्चुगल आफ्नो समूहको शीर्ष स्थानमा रहेको छ ।

फिफा विश्वकप फुटबल : ब्राजिलले सर्बियालाइ हरायो

काठमाडौं । पाँचपटकको विश्वकप च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा सर्बियालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान भएको खेलमा सर्बियालाई २–० गोलअन्तरले हराउँदै ब्राजिलले विजयी सुरुआत गरेको हो । ब्राजिलको जितमा दुवै गोल रिचार्लिसनले गरे । उनले खेलको ६२औँ मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७३औँ मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २–० को जित दिलाए । जितसँगै समूह ‘जी’ को ब्राजिलले पहिलो खेलमै तीन अङ्क जोडेको छ । कतार विश्वकपमा आज चार खेल हुँदै कतार विश्वकपमा आज चार खेल हुँदैछ । समूह चरणअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । त्यस्तै दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । कतार र सेनेगलबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । त्यस्तै चौथो खेलमा समूह ‘बी’ मा रहेको इङ्ग्ल्याण्डले अमेरिकाको सामना गर्नेछ । उक्त खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

विश्वकप : अमेरिका र वेल्सको खेल बराबरीमा सकियो

काठमाडौं । कतारमाजारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने अमेरिकाले लियो । खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । उनले पुलिसिकको पासमागोल गरेको थिए तर, खेलको ८२ औँ मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अमेरिकाका वाल्कर जिमर म्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो । यस खेलसँगै समूह ‘बी’मा रहेको वेल्स र अमेरिकाले समान एक एक अङ्क बाडेका छन् । आज चार खेल हुँदै कतारमा जारी फिफा विश्वकप फुटबल –२०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । कतार विश्वकपमा समूह ‘सी’ र समूह ‘डी’ को समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६ः४५ बजेदेखि सुरुआत हुनेछ । यसैगरी तेस्रो खेलमा समूह ‘सि’मा रहेको पोल्याण्ड र मेक्सिको भिडनेछ्न । उक्त खेल राति ९ः४५ बजेदेखि सुरु हुनेछ । त्यस्तै आजै हुने चौथो तथा अन्तिम खेलमा समूह ‘डी’ मा रहेको साविक विजेता फ्रान्सले अष्ट्रेलियाको सामाना गर्नेछ । उक्त खेल राति १२ः४५ बजे सुरु हुनेछ । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । रासस