करदाता सम्मानमा मनोमानी, स्वार्थ मिलेपछि विधा परिवर्तन

काठमाडौं । सरकारले २०६९ साल मंसिर १ गतेदेखि राष्ट्रिय कर दिवस मनाउन सुरु गर्यो । करदातालाई सम्मान गर्ने र कर सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने कर दिवसको मुल उद्देश्य थियो । यो बीचमा सरकारले १० वटा कर दिवस मनाइसकेको छ । फरक के देखिएको छ भने प्रायः कर दिवसमा अघिल्लो वर्षका विधामा सम्मान गरिदैन । केही वर्ष नयाँ विधा थपिएका छन् भने केही वर्ष अघिल्लो वर्षका विधा हटाइएका छन् । कर दिवस मनाउन सुरु गर्ने समयमा अर्थ सचिवको जिम्मेवारीमा अर्थसचिव डा. शान्तराज सुवेदी थिए ।  कर दिवस मनाउनुको खास लक्ष्य र कारण के थियो भनेर हामीले तत्कालिन सचिव अर्थसचिव डा. शान्तराज सुवेदीलाई सोधेका थियौं । तत्कालिन अर्थसचिव डा. सुवेदी कर दिवस मनाउन आवश्यक देखिएकोले आफूहरुले पहल गरेको स्मरण गर्छन् । ‘म लगायतका साथीहरूले कर दिवसको सान्दर्भिकता र आवश्यकता पहिलेदेखि उठाइरहेका थियौं, म २०६९ कार्तिक २ गते अर्थ सचिव भएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक (डीजी) टङ्कमणि शर्मा र अन्य केही साथीहरूसँग छलफल गरी मैले मन्त्रिपरिषदमा प्रस्ताव लगेर कर दिवस मनाउने निर्णय भएको हो, भन्सार दिवस मनाउने चलन पहिलेदेखि रहेको र त्यसक्षेत्रका कर्मचारी, व्यवसायी साथीहरूको सम्मान हुँदा करतर्फ पनि यो खड्केर मूल्य अभिवृद्धि कर लागू भएको दिन मंसिर १ गतेलाई कर दिवसको रुपमा मनाउन थालिएको हो,’ तत्कालिन अर्थसचिव डा. सुवेदीले भने ।   कर दिवस मनाउन सुरु गरेको समय २०६९ मंसिर १ गते आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्मा थिए । उनी अहिले सरकारको आम्दानी र खर्चको लेखापरीक्षण गर्ने सबैधानिक निकाय महालेखा परीक्षकको कार्यालयमा महालेखा नियन्त्रकको जिम्मेवारीमा छन् । हामीले तत्कालिन महानिर्देशक शर्मालाई पनि कर दिवस मनाउने सोच कसरी आएको थियो भनेर सोधेका थियौं । ‘म आन्तरिक राजस्व विभागको महानिर्देशक हुनुअघि सहकारी विभागको रजिष्टार भएको थिएँ, भन्सार विभागको महानिर्देशक पनि भएको थिएँ, सहकारी दिवस मनाउने गरिन्थ्यो, भन्सार दिवस पनि हुन्थ्यो तर, कर दिवस थिएन, त्यसैले कर दिवस पनि मनाएर करदातालाई सम्मान गर्ने, करका विषयमा छलफल गर्ने, जनचेतना अभिबृद्धि गर्ने जस्ता कार्य गर्न पाए राम्रो हुन्थ्यो भन्ने मलाई लागिरहेको थियो, मैले कर दिवस मनाउनु राम्रो हुन्छ भनेर तत्कालिन अर्थमन्त्री (वर्षमान पुन) सँग प्रस्ताव गरें, उहाँले प्रधानमन्त्री (डा. बाबुराम भट्टराई) सँग कुरा गर्नु भएछ, प्रधानमन्त्री र अर्थमन्त्री सहमत हुनुभयो, अनि मूल्य अभिबृद्धि कर (भ्याट) कार्यान्वयनमा आएको दिन मंसिर १ गते पारेर कर दिवस मनाउन थालिएको थियो,’ तत्कालिन महानिर्देशक शर्माले भने । कर दिवस मनाउन थालिएको पहिलो वर्ष कर सम्बन्धी देशव्यापी कार्यक्रमहरु संचालन भएका थिए । तत्कालिन महानिर्देशक शर्माका अनुसार सो वर्ष देशभर कर सम्बन्धी ११ सयभन्दा बढी कार्यक्रमहरु भएका थिए । करदातालाई सम्मान गरिएको थियो । कर सम्बन्धी र्यालीहरु आयोजना गरिएको थियो । कर प्रशासनसँग सम्बन्धित सरकारी कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । गोष्ठी, सेमिना र छलफल कार्यक्रमरु आयोजना भएका थिए । राष्ट्रिय कर दिवसको उपलक्ष्यमा करदातालाई सम्मान गर्न कर दिवस मुल समारोह काठमाडौंको प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा आयोजना भएको थियो । प्रज्ञा भवनको कार्यक्रममा १ हजारभन्दा बढी सहभागी भएका थिए । पहिलो कर दिवस पहिलो कर दिसवमा खासै धेरै विधा राखिएको थिएन । तर, आन्तरिक राजस्व विभागमा पहिलो कर दिवसमा कसकसलाई कुन कुन विधामा सम्मान गरिएको थियो भन्ने यकिन विवरण सुरक्षित रहेनछ । विभागका सुचना अधिकारी राजुप्रसाद प्याकुरेल दोस्रो कर दिवसदेखिको विवरण प्राप्त भएपनि पहिलो कर दिवसमा कुन कुन विधामा कसकसलाई सम्मान गरिएको थियो भन्ने जानकारी प्राप्त हुन नसकेको बताए । तर, हामीले २०६९ साल मंसिर २ गते प्रकाशित गोरखापत्र र कान्तिपुर दैनिकमा पहिलो कर दिवस सम्बन्धी केही जानकारी प्राप्त गर्यौं । ती दुई दैनिक पत्रिकामा प्रकाशित समाचार अनुसार विभागले पहिलो कर दिवसमा ३ वटा विधामा मात्रै करदातालाई सम्मान गरेको थियो । पहिलो कर दिवसमा सबैभन्दा बढी कर दाखिला संस्थागत करदाता (जुन विधामा ७ वटा करदाता थिए), व्यक्तिगत रुपमा सबैभन्दा बढी कर दाखिला गर्ने करदाता (नेपाल इन्भेष्टमेन्ट बैंकका कार्यकारी अध्यक्ष पृथ्बीबहादुर पाँडे) र राजस्व बृद्धि र कर प्रणालीको सुधारमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउने संघ संस्थाहरुलाई सम्मान गरिएको मंसिर २, २०६९ सालको गोरखापत्र र कान्तिपुर दैनिकको समाचारमा उल्लेख गरिएको छ ।(सूचिमा हेर्नुहाेस) दोस्रो कर दिवस पहिलो कर दिवसले करदाता र कर प्रशासनदेखि आम सर्वसाधारणसम्ममा व्यापाक चर्चा र चासो बढाएको थियो । प्रत्येक वर्षको मंसिर १ गते कर दिवस मनाउन थालिसकिएको थियो । दोस्रो कर दिवससम्म आउँदा नै करदातालाई सम्मान गर्ने विधा केही थप भएका थिए । दोस्रो कर दिसवमा १० विधामा सम्मान र पुरस्कार दिइएको थियो । कर प्रशासनका कर्मचारीहरुलाई भने पहिलो कर दिवसदेखि नै पुरस्कार र सम्मान प्रदान गर्न थालिएको थियो । पहिलो कर दिवसको विधा नै स्पष्ट रुपमा प्राप्त हुन नसकेकोले पहिलोको तुलनामा के कति विधा थपघट भए भनेर यकिन गर्न सकिने अवस्था देखिएन । तर, सम्मान र पुरस्कार पाउनेको संख्या भने बढेको देखिन्छ । दोस्रो कर दिवसमा सम्माननित हुने आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशकहरुमा दीप बस्न्यात पनि परेका थिए । बस्न्यात सरकारी सेवाबाट अवकाश पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त भएका व्यक्ति हुन् । उनलाई पछि भ्रष्टाचारको आरोप पनि लाग्यो । यद्यपि, विभागले बस्न्यातलाई विभागका पूर्व महानिर्देशकको हैसियतमा मात्रै सम्मान गरेको थियो । दोस्रो कर दिवसमा बढी आयकर बुझाउने, बढी अन्तःशुल्क बुझाउने, सार्वजनिक संस्थानबाट बढी आयकर बुझाउने, उद्योग क्षेत्रबाट बढी आयकर बुझाउने, बैंक तथा वित्तीय क्षेत्रबाट बढी आयकर बुझाउने, व्यक्तिगत आयबाट बढी आयकर बुझाउने, मु.अ.करमा अविछिन्न सहभागिता जनाउने, आयकरमा अविछिन्न सहभागिता जनाउने र कर जागरण अभियानमा सहयोग गर्ने संघ संस्था विधामा सम्मान प्रदान गरिएको थियो । तेस्रो कर दिवस तेस्रो कर दिवससम्म आईपुग्दा सरकारले सम्मान गर्ने विधा व्यापक रुपमा बढाइयो । सो समय विभागको महानिर्देशक चुडामणि शर्मा थिए । शर्मामाथि कर फछ्र्योट आयोग बनाएर कर छुट दिदा राज्यलाई हानी नोक्सानी पुर्याएको अभियोग लागेको छ । तेस्रो कर दिवसमा विभिन्न २२ विधामा करदातालाई सम्मान गरिएकोमा २० विधा थप गरिएको थियो । दोस्रो कर दिवसमा सम्मान गर्न तयार पारिएका केही विधाहरु तेस्रो कर दिवसमा हटाइएको थियो । तत्कालिन महानिर्देशक दीप बस्न्यात झै चुणामणि शर्मा पनि भ्रष्टाचार र अकूत सम्पत्तिकाे मुद्दा झेलिरहेका छन् । चौथो कर दिवस सरकारले चौथो कर दिवस मनाउने समयमा पनि आन्तरिक राजस्व विभागको महानिर्देशक चुडामणि शर्मा नै थिए । तेस्रो कर दिवसमा २२ विधामा सम्मान प्रदान गरिएकोमा चौथोमा केही घटाएर १९ विधा कायम गरियो । र, अर्काे रमाइलो पक्ष के देखिन्छ भने चौथो कर दिसवमा सम्मान गर्नको लागि पनि ७ वटा विधा थप गरियो । दोस्रो कर दिवसको लागि रहेको ‘उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने’ विधा तेस्रो कर दिवसमा हटेपनि चौथो पुनः प्रवेश पायो । विधा थपघट गर्दा त्यसको मापदण्ड र आधार बनाएको सार्वजनिक गरिएको छैन । पाँचौं कर दिवस पाँचौ कर दिवसमा पनि सम्मान गर्ने विधा घटाउने कार्यले निरन्तरता पाएको देखिन्छ । चौथो कर दिवसको लागि १९ विधा रहेकोमा पाँचौंमा यो संख्या घटेर १५ वटा विधामा सीमित भए । तर, ३ वटा विधा भने थपिए । पाँचौं कर दिवसमा नेपाल दूरसंचार कम्पनी (नेपाल टेकिलम) लाई नै सम्मान प्रदान गर्ने उदेश्यले एउटा विधा थप गरिए जस्तो पनि देखिएको छ । छैठौं कर दिवस छैठौं कर दिवसमा करदातालाई सम्मान गर्न १५ विधा नै राखिएको थियो । तर, पाँचौं कर दिवसमा राखिएको ‘लघुवित्त वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने’ विधालाई छैठौंमा बैंक वित्तीय संस्था विधामै गाभियो र नयाँ विधा सिर्जना गरियो । छैठौं कर दिवसमा करदातालाई सम्मान गर्न तयार पारिएको नयाँ विधा थियो– सूचना प्रविधि सेवामध्ये सबैभन्दा बढी आयकर तिर्ने’ यो विधामा सम्मान पाउने पहिलो भाग्यमानी करदाता वल्र्डलिंक कम्युनिकेसन थियो । सातौं कर दिवस सातौं कर दिवसमा पनि १५ विधा नै थिए । तर, सो दिवसमा पनि अघिल्लो दिवसहरुमा समावेश नभएका ३ वटा विधा थप गरियो भने सहकारी र लघुवित्त वित्तीय संस्थालाई एउटै विधामा राखियो र रेमिटान्स कारोबार गर्ने करदातालाई पनि बैंक वित्तीय संस्था विधामा गाभियो । आठौं, नवौं र १०औं कर दिवस आठौं कर दिवसमा भने करदातालाई सम्मान गर्ने विधा कटौति भएको देखिन्छ । सातौं कर दिवसमा १५ विधा रहेकोमा आठौं कर दिवसमा ११ विधामा मात्रै सम्मान गरिएको थियो । नवौं कर दिवसमा भने १५ विधामा नै करदातालाई सम्मान गरिएको थियो भने १०औं कर दिवसमा पनि १५ विधा नै थिए । किन परिवर्तन हुन्छन् विधाहरु ? कर प्रशासनका अधिकारीहरु करदाताको दायरा फराकिलो र समयसापेक्ष बनाउन विधाहरु थपघट हुने दाबी गरिरहेका छन् । तर, कुनै विधा एउटा कर दिवसमा समावेश हुन्छ र लगत्तैको दिवसमा सो विधा पर्दैन । र, त्यसपछिको अर्काे दिवसमा समावेश हुन्छ । यस्तो किन ? यो प्रश्नको जवाफका लागि केही सम्मानित करदातासँग हामीले प्रश्न गरेका थियौं । खासगरी अघिल्लो वर्ष परेका, त्यसलगत्तैको कर दिवसमा नपरेका र अर्काे कर दिवसमा फेरि परेका करदातालाई ‘परारको कर दिवसमा यो विधा थियो, पोहोर परेन, यसपाली फेरि परेछ, किन यस्तो हुन्छ’ भनेर सोधेका थियौं । ‘पोहोर हामीले पनि ध्यान दिन भुलेछौं, सरकारले यो विधा नै हटाएछ, यसपाली ध्यान दिन विर्सिएनौं, त्यसैले पर्यो,’ एक करदाताले हाम्रो प्रश्नमा भने । के हो त ध्यान दिने भनेको ? ध्यान दिन भुलेको भनेको के भुलेको हो ? कर दिवसमा सम्मानको लागि तय हुने विधामा यो विधा पनि समावेश गर्नुपर्छ भनेर अर्थमन्त्रीदेखि कर प्रशासनका व्यक्तिहरुलाई सम्झाउने हो ? कि ‘अन्य’ कार्यहरु पनि गर्नुपर्छ ? ‘एउटा कुरा त नयाँ विधा राख्नुपर्ने भयो भने यो विधा पनि थपौं, यसको योगदान यस्तो र यति छ भनेर हामीले कर प्रशासनलाई ‘कन्भिन्स’ गर्ने हो, विगत केही वर्षयताको विधा हेर्नुभयो भने १५ को हाराहारीमा छ, त्यसैले केही गरी सम्मान लिनै पर्ने भयो जस्तो महसुस भयो भने भएकै एउटा विधा हटाएर आफू पर्न सक्ने विधा थप्ने हो, यस्तो बेलामा विधा थप्ने वा हटाउने अधिकार भएको व्यक्तिलाई खुसी पार्ने हो, सरकारी अधिकारीलाई कसरी खुसी पार्न सकिन्छ भन्ने कुरा त प्रष्टै छ नि,’ अर्का एक करदाताले भने । कसले तय गर्छ विधा ? आन्तरिक राजस्व विभागका अधिकारीहरु यो प्रश्नको औपचारिक रुपमा जवाफ दिन तयार देखिदैनन् । ‘राष्ट्रिय कर दिवस भनेको सरकारले नै मनाउने दिवस हो, त्यसैकारण यसको निर्णय अधिकारी अर्थमन्त्रालय नै हो, हामी अर्थमन्त्रालय अन्तरगतकै विभाग भएकोले केही सिफारिस गर्ने गरेका हुन्छौं तर, मन्त्री र सचिवज्यूहरुले नै अन्तिम टुंगो लगाउनु हुन्छ,’ आन्तरिक राजस्व विभागका एक अधिकारीले भने । तर, कर दिवस मनाउन सुरु भएको समयमा विभागको महानिर्देशक रहेका टंकमणि शर्मा भने आन्तरिक राजस्व विभाग नै अन्तिम निर्णय अधिकारी भएको बताउँछन् । ‘पहिलो र दोस्रो कर दिवस मनाउने बेलामा म विभागको महानिर्देशक थिएँ, त्यो बेलामा हामीले नै विधा तय गर्यौं, यो विधामा यो करदातालाई सम्मान गर्नुपर्छ भन्ने तय उसको ट्रयाक रेकर्डका आधारमा गरियो, मन्त्रिपरिषदले नै निर्णय गरेर कर दिवस मनाउन थालिएकोले अर्थमन्त्री, सचिवहरु मात्रै होइन, प्रधानमन्त्री पनि प्रक्रियागत हिसावले संलग्न हुनुहुन्छ,’ तत्कालिन महानिर्देशक शर्माले भने । कर सम्मानका लागि छनोट भएका र परिवर्तन भएका विधाहरु [pdf id=304124]

सिभिल, कुमारी र सिन्धु विकास बैंक प्रकरणः बैंकरकै नियत खराब कि राष्ट्र बैंकको कमजोरी ?

काठमाडौं । अहिले नेपाली बैंकिङ क्षेत्रमा तीन वटा ठूला ‘बैंकिङ फ्रड’ का घटनाहरु बाहिरिएका छन् । पहिलो, सिभिल बैंक तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले सिभिल सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सीआईबीले तामाङलाई गत असोज १८ गते पक्राउ गर्यो । बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका तामाङको विषयमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । तामाङले सहकारीको ५ अर्ब ६३ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । तामाङ सहित पक्राउ परेका १२ जनालाई सरकारी वकिलको कार्यालयमा पेश गर्ने तयारी भइरहेको सीईआईबीको भनाई छ । अहिले सार्वजनिक भएको बैंकिङ क्षेत्रकै अर्काे घटना हो नक्कली कागजातको आधारमा प्रवाह भएको कुमारी बैंकको १९ करोड रुपैयाँको कर्जा प्रकरण । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजपत्र बनाएर १९ करोड रुपैयाँ कर्जा प्रवाह प्रकरण अहिले बैंकिङ क्षेत्रमा वहसको विषय बनेको छ । अहिले कुमारी बैंकका एक्टिङ प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमिल्सिना सो प्रकरणमा बैंकिङ कसुरको अभियोगमा सीआईबीको बयान दिन गइरहेका छन् । तिमिल्सिना पनि सो प्रकरणको अनुसन्धानमा तानिएका छन् । यस्तै, बैंकिङ क्षेत्रमै देखिएको अर्को डरलाग्दो घटना हो बैंकको भल्टको रकम निकालेर मिटर व्याजमा लगानी गर्ने । सिन्धु विकास बैंकको काभ्रेको दोलालघाट शाखाका म्यानेजर सुमन खरेलले बैंकको भल्टमा रहेको रकमबाट निजी प्रयोजनका लागि मिटर व्याजमा लगानी गर्ने गरेको विषयले पनि बैंक र बैंकरमाथि प्रश्न उठाएको छ । प्रहरीले अनुसन्धान गर्दा खरेलसहित ५ जना मिलेर बैंकको भल्टमा राखिएको पैसा मिटर व्याजमा लगाउने गरेको पाइएको छ । यी तीन घटना मात्रै होइनन्, केही महिना अगाडि महालक्ष्मी विकास बैंकले बैंकमा धितोको रुपमा राखेको ऋणीको सुनलाई नक्कली बनाएको विषयले पनि बैंकहरुको छविमाथि प्रश्न उठाएको छ । यद्यपि, यी फरक प्रकृतिका घटनामाथि सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन् । एकपछि अर्को डरलाग्दो ‘बैंकिङ फ्रड’का रुपमा बाहिर आएका यी विषयहरुले केही प्रश्नहरु भने उब्जाएको छ । नेपाली बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीको मनोविज्ञान तथा नियत, बैंकिङ क्षेत्रको ‘इन्टरनल कन्ट्रोल सिस्टम’ र नियमनकारी निकायको नियमन, कार्यशैली, कौशलता र भूमिकाको विषयमा भने प्रश्न अवश्य नै उठेको छ । पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री बैंकरको नाफा कमाउने होडबाजी र गलत अभ्यासले नै यस्ता घटनाहरु बढ्न थालेको बताउँछन् । ‘राम्रो–नराम्रो जुनसुकै उपाय अपनाएर पनि नाफा गर्नुपर्छ भन्ने मानसिकताले बैंकहरुलाई थिचेको छ, नाफा गर्ने क्रममा आश्चर्यनक हर्कतहरु भएका हामीले देखेका छौं, यसमा सही सुपरभिजन गर्न आवश्यक छ, राष्ट्र बैंकले गर्न खोजे पनि प्रभावकारी हुन सकेन भन्ने त यस्ता घटनाले देखाएकै छ,’ पूर्व गभर्नर क्षेत्रीले भने । उनका अनुसार जब संख्यात्मक रुपले बैंक तथा वित्तीय संस्थाहरु बढ्छन्, त्यसपछि यस्ता अपराधिक घटनाहरु बढ्छन् । हिजो पनि बैंक तथा वित्तीय संस्थाहरु धेरै भएको कारण तिनलार्ई खारेजीमै लैजानु पर्ने अवस्था आएको भन्दै उनले राष्ट्र बैंकले अझै प्रभावकारी रुपमा नियमन गर्नुपर्ने बताए । ‘नियमन र सुपरीवेक्षण अनसाइड र अफ साइडबाट हुन्छ, अनसाइड भनेको फिल्डमै गएर अध्ययन अनुसन्धान गरेर गर्न सकिन्छ, अफसाइड भनेको कागजातहरु माग गरेर अध्ययन गर्न सकिन्छ, जब कागजातहरु मगाएर मात्रै नियमन गर्न खोजिन्छ, त्यहाँ अवश्य पनि ढाँट छलहरु हुन्छन्, अहिले राष्ट्र बैंकमा पनि कर्मचारीको संख्या घट्दै गएको छ, पुराना गएर नयाँ कर्मचराीको प्रवेश भइरहेको छ, त्यसले पनि नियमनमा केही कमजोरी हुन सक्छ तर, आफ्नो कर्तव्यप्रति राष्ट्र बैंक सचेत नै देखिन्छ,’ क्षेत्रीले थपे । बैंक तथा वित्तीय संस्थाहरुले ल्याएको प्रडक्ट सुन्दा राम्रो भएपनि भित्री रुपमा केही तिता घटनाहरु हुने गरेको उनी अनुभव सुनाउँछन् । ‘बैंक तथा वित्तीय संस्थाहरुले पहिले उक्साएर कर्जा दिने, पछि एउटा किस्ता पनि बन्द भयो भने धितो लिलाम गर्ने प्रक्रिया अगाडि बढाइहाल्छन्, राम्रो धितोलाई जानीबुझी हडप्ने घटनाहरु पनि हामीले देखेका छौं, पहिलेका बैंकका पदाधिकारीहरु अहिले खर्बपति भएका छन्, यस्तो प्रवृतिले नै उनीहरुका अहिले मुख्यमुख्य ठाउँमा ५/६ रोपनी जग्गा जोडेको देखिन्छ,’ क्षेत्रीले भने । ऋणीकै दोष बढीः राष्ट्र बैंक नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल ‘बैंकिङ फ्रड’का घटनाहरुमा ऋणीहरुकै बढी दोष हुने गरेको बताउँछन् । उनले पछिल्लो समय ‘बैंकिङ फ्रड’ बढी नभएको बताउँदै बढी बाहिर आएको दाबी गरे । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल ‘घटनाहरु पहिले पनि हुन्थे तर, गुपचुप नै हुन्थे, अहिले बाहिर आएकोले बढी घटना भएका हुन् कि भन्ने जस्तो भएको हो, यस्ता घटनाहरुमा कर्मचारीको मनोविज्ञान पनि गलत हुन सक्छ तर, मुख्य दोष गलत नियत ऋणीको नै भएको हामीले पाएका छौं,’ उनले भने । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख समेत रहेका प्रवक्ता ढकालले सबै ग्राहकको नियत एउटै नहुने भन्दै ग्राहकको लापरवाही र नियतले नै पनि यस्ता घटनाहरु बढ्ने गरेको बताए । ‘कुनै ऋणीको नियम सही त कुनैको गलत पनि होला, यस्ता घटना संसारभर नै हुन्छन् तर, ती घटनालाई समयमै उजागर गरेर समाधान गर्नुपर्छ, बैंक तथा वित्तीय संस्थाहरुले पनि धितो रोक्कादेखि कर्जा दिनेसम्मका प्रक्रियामा जुनस्तरको ‘डेडिकेशन’ हुनुपर्ने हो, त्यो पुगेको देखिँदैन,’ ढकालले थपे । राष्ट्र बैंकले नियमनका व्यवस्था अनुसार नै नियमन गर्नुपर्ने बताउँदै उनले बैंकका कर्मचारीले पनि कर्जा दिँदा अवलम्बन गर्नु पर्ने उपाय र सजकतालाई बढी ध्यान दिनु पर्ने ढकालको भनाई छ । बैंकिङ क्षेत्रमा देखिने जोखिमहरु कम गर्न वा यस्ता खालका घटना हुन नदिनका लागि बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीलाई त्यस्तो खालको तालिम तथा दक्षताको पनि आवश्यकता रहेको उनको भनाई छ । क्रस चेकिङ युनिट खोलौंः विज्ञ बैंकर पर्शुराम कुवँर क्षेत्री बैंकिङ व्यवसाय जोखिम व्यवस्थापन गरेर गरिने भएकोले अभिमुखिकरणको कल्चर बढाउन आवश्यक रहेको बताउँछन् । बैंकर पर्शुराम कुवँर क्षेत्री उनका अनुसार यस्ता घटनाहरु कतिपय कर्मचारीको कम दक्षता र केही गलत मनोविज्ञानका ऋणीहरुको कारण पनि हुने भएकोले बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीको क्षमता विकास र प्रविधिमैत्री बनाउनका लागि अभिमूखिकरण तालिमहरु दिन आवश्यक छ । ‘अहिले प्रविधिको समय छ, मालपोतले सम्पूर्ण जग्गाहरु इन्टरनेटमै राख्यो, बैंकरले पनि मालपोतको वेसाइडमै गएर त्यो जग्गाको कित्ता नम्बर, क्षेत्रफलदेखि जग्गा भएको ठाउँ पनि हेर्न सक्छ, भ्यालुएटरले पनि त्यसकै आधारमा मूल्यांकन गर्न सक्छ, त्यो बीचमा फसाउने वा फसिने सम्भावना कम हुन्छ, यसले पनि यस्ता खालका फ्रड कम गर्न सकिन्छ,’ बैंकर क्षेत्रीले भने । धेरे घटनामा कर्मचारीलाई पनि फसाउने काम भइरहेको भन्दै उनले केही घटना बाहेक धेरैमा ऋणीको नै गलत मनोविज्ञान हुने गरेको बताए । ‘हामीले धेरै विषयहरुमा सुधार गर्न आवश्यक छ तर, सुधार नभएकै होइन, हामीले गर्ने हाम्रा क्रियाकलापमा के कस्ता जोखिम छन् र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन आवश्यक छ, राष्ट्र बैंकले पनि नियमनमा केही सुधार गरेको छ तर, अझै धेरै विषयमा ध्यान दिन आवश्यक छ,’ क्षेत्रीले थपे । यस्तै, बैंकर कृष्णराज लामिछाने बैंकिङ फ्रडका ठूला घटनाहरु हुन नदिनका लागि छुट्टै खालको संयन्त्र स्थापना गर्नु पर्ने बताउँछन् । विभिन्न कारणले यस्ता खालको घटनाहरु हुने र बैंक तथा वित्तीय संस्थाहरु नै बद्नामी हुनुपर्ने अवस्था सिर्जना हुने गरेकोले अब ठूलो रकमको कर्जा प्रवाह गर्नका लागि क्रस चेकिङ युनिट खोल्नु पर्ने राय लामिछानेको छ । बैंकर कृष्णराज लामिछाने यस्ता घटनाहरु सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको स्वनियमनको कमिका कारण नै हुने गरेको उनको बुझाई छ । ‘यस्ता घटनाहरुमा कसैलाई दोष दिन मिल्दैन, बैंक तथा वित्तीय संस्थाहरुमा लाखौंको संख्यामा ग्राहक हुन्छन्, त्यसमा सीमित इस्यूहरु आउनु धेरै ठूलो विषय पनि होइन तर, सचेत हुन आवश्यक छ, एकले अर्कालाई विश्वास र भरोसा नगर्दासम्म काम पनि अगाडि बढ्दैन, एक जना कर्मचारीले बदमासी गर्यो भने दोष सबैले भोग्नु परेको छ,’ लामिछानेले भने । मालपोत तथा भ्यालुएटरले गलत गरे पनि दोष सीईओलाई आउने भएकोले आगामी दिनमा यस्ता घटना नदोहोरिनका लागि थप लगानी गरेर भएपनि केन्द्रियस्तरमै ‘क्रस चेकिङ युनिट’ स्थापना गरेर काम गर्नु पर्ने लामिछानेको सुझाव छ ।

अनामनगरमा यस्तो बन्यो ७३ करोड लागतमा महालेखाको १० तले अत्याधुनिक भवन

काठमाडौं । महालेखा परीक्षकको कार्यालयका लागि काठमाडौंको अनामनगरमा अत्याधुनिक भवन निर्माण भएको छ । भवन निर्माणको कार्य सकिएकोले मंसिर ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । २०७२ को शक्तिशाली भूकम्पको कारण महालेखाको बबरमहलमा भएको भवनमा क्षति पुगेर प्रयोग गर्नै नसक्ने अवस्था आएपछि अनामनगरमा नयाँ भवन बनाइएको हो । कार्यालयले २०७३ साल साउन ३१ गते लुम्बिनी/गौरी पार्वती शान्ति जेभीलाई भवन निर्माणको ठेक्का दिएको थियो । सुरुमा सो भवन बनाउनको लागि ७८ करोड २० लाख ६६ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो । यद्यपि, ठेकेदारसँग सुरुमा ६१ करोड २७ लाख १७ हजार रुपैयाँमा भवन निर्माणको सम्झौता भएको थियो । ठेकेदारलाई भेरियसन वापद सुरु ठेक्का रकमको ६.६६ प्रतिशत रकम थप गरी कुल ७३ करोड ९ लाख ४३ हजार रुपैयाँमा सो भवन निर्माण भएको हो । महालेखा परीक्षकको कार्यालयका सहप्रवक्ता नेत्रप्रसाद पौडेलले दिएको जानकारी अनुसार भवन निर्माणको लागि ठेकेदारसँग सम्झौता हुँदा २०७६ साल भदौ २० गतेभित्र भवन निर्माण सम्पन्न गर्ने भनिएको थियो । तर, समयमै तोकिएको समयभित्र भवन निर्माण सम्पन्न नभएपछि ४ पटक म्याद थप गरेर यही कात्तिक मसान्तभित्र भवन बनाइसक्ने सम्झौता भएको थियो । सो भवन ७ रोपनी क्षेत्रफलको जग्गामा बनेको छ । भवनमा बेसमेन्ट सहित १० तला छन् भने अण्डर ग्राउन्ड २ तलाको छ । जसलाई पार्किङको लागि प्रयोग गरिनेछ । सो पार्किङमा ५० वटा ४ पांग्रे सवारी साधन र २४० वटा दुई पांग्रे सवारी साधन अट्ने छन् । भवनको भुईतलामा रिसेप्सन, पुस्तकालय, सोधपुछ कक्ष र चमेनागृह हुनेछ भने पहिलो तलामा फाइल व्यवस्थापन कक्ष बनाइएको छ । दोस्रो तलामा महालेखा परीक्षकको कार्यकक्ष, ७५ जना अट्ने क्षमताको बैठक कक्ष र विशिष्ट व्यक्ति भेटघाट कक्ष हुनेछ । अन्य तलाहरुमा कार्यालयका विभिन्न विभागहरु हुनेछन् । कार्यालयमा १ जना महालेखा परीक्षक, ४ जना उपमहालेखापरीक्षक, १८ जना नायब महालेखापरीक्षक सहित ६४३ जनाको दरबन्दी छ । बबरमहलमा रहेको भवनमा भूकम्पबाट क्षति पुगेपछि कार्यालयले बबरमहलको आफ्नै भवनका प्रयोग गर्न मिल्ने कोठाहरु तथा पुल्चोक, ताहाचल, अनामनगर र डिल्लीबजारमा भवन भाडामा लिएर कार्यालय संचालन भइरहेको छ । अनामनगरमा रहेको भवन बनिसकेपछि कार्यालयका विभिन्न स्थानमा रहेका विभागहरु सोही स्थानमा सार्ने योजना रहेको छ । भवनका विशेषता सो भवन परम्परागत र आधुनिक ढाँचाको संयुक्त आवरणको छ । पार्किङको लागि दुई तला छन्, जसमा २४० वटा दुई पांग्रे सवारी साधान र ५० वटा ४ पांग्रे गाडी अट्ने छन् । यस्तै, भवनमा २ सय जना अट्ने क्षमताको सभाकक्ष छ भने खुल्ला कार्यकक्षको अवधारणमा बनाइएको छ । फाइल व्यवस्थापनको लागि एकीकृत कक्षको व्यवस्था गरिएको छ ।