‘व्यापारले हात्ती पाल्छ, जागिरले श्रीमती पनि पाल्न सकिदैन’
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल पक्कापक्की भइसकेका थिए । उनीसहित चेम्बरको नयाँ कार्यसमितिको नाम सार्वजनिक गर्न मात्रै बाँकी थियो । चेम्बर नयाँ कार्यसमितिको नाम सार्वजनिक गर्न ७० औं वार्षिक साधारणसभाको पखाईमा थियो । हामीले नवनियुक्त अध्यक्ष मल्ललाई त्यसको दुई दिन अगाडि चेम्बरकै बैठक कक्षमा भेट्यौं । बैठक कक्षमा अन्य सोफा सेटसहित दुई आकर्षक सेतो रङको सोफा पनि थिए । ती दुई सोफा एउटा अध्यक्ष र अर्को वरिष्ठ उपाध्यक्षको थियो । हामीले वरिष्ठ उपाध्यक्ष मल्ललाई फोटो खिचाउन अध्यक्षको सोफामा बस्न आग्रह गर्यौं । तर, आफुले अध्यक्षको पद बहाली नगरेको भन्दै उनले अध्यक्षको कुर्सीमा बस्न मानेन्न र हामीलाई कुराकानीका लागि चेम्बरकै सभाहलमा लिएर गए । चैत २६ गते भएको चेम्बरको ७०औं वार्षिक साधारण सभाबाट उनी अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन् । झट्ट हेर्दा सालिन, भद्र र सरल देखिने राजेन्द्र मल्ल स्वभावमा पनि त्यतिकै भद्र र सालिन छन् । नेपालकै सबैभन्दा पुरानो र ७० वर्ष पुगेको संस्था नेपाल चेम्बर कमर्सको जिम्मेवारी अहिले उनै राजेन्द्र मल्लको काँधमा आइपुगेको छ । चेम्बरको अबको नेतृत्व मल्लले नै सम्हाल्नेछन् । नेपालको सबैभन्दा पुरानो संस्थाको नेतृत्व लिँदै गर्दा कस्तो अनुभुति भइरहेको छ ? कुराकानीको सुरुवात हामीले यही प्रश्नबाट गर्यौं । मुहारमा जिम्मेवारी बोधको झल्को दिँदै उनले उत्तर फर्काए– नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा मैले वि.स २०६२ सालबाट प्रवेश गरेँ । पहिलो पटक सदस्य, कोषाध्यक्ष त्यसपछि दित्तिय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा निर्विरोध निर्वाचित भएको छु । मेरो यो सफलता र यहाँसम्म आइपुग्नुको हात सबै व्यवसायी साथीहरुको नै हो,’ उनले फेरि थपे, ‘मुलुकको उत्थान र विकासका लागि यो संस्थामार्फत हुन सक्ने काम निडर र निस्वार्थका साथ गर्नेछु ।’ वि.स २०२० सालमा काठमाडौंको साँखुमा जन्मेका राजेन्द्र मल्ल व्यवसायिक घरानाकै हुन् । ‘मेरो बाजे पनि व्यापार व्यवसाय गर्नु हुन्थ्यो, बुबाले पनि त्यही काम गर्नु भयो, साँखुमा जग्गा जमिन प्रशस्त भए पनि बुबाले कपडा, खाद्यान्न लगायतको व्यापार व्यवसाय गर्नु हुन्थ्यो, मेरो पनि सानैदेखि व्यापार गर्ने ईच्छा र चाहना हो, त्यही भएर नै म अहिले यो क्षेत्रमा छु,’ उनले भने । नागरिकता नहुँदा व्यवसाय गर्न रोक अध्यक्ष राजेन्द्र मल्ल २०४२ सालबाट आफूले व्यवसायिक यात्रा सुरु गरेको बताउँछन् । उनलाई व्यापार व्यवसाय गर्न थालेको ३५ वर्ष भइसकेको छ । वि.स २०४२ सालमा एउटा ज्वाइन भेन्चर ट्रेडिङ कम्पनी दर्ता गरेर व्यवसायिक यात्रा सुरु गरेका मल्ल त्यसताका निकै संघर्ष गर्नु परेको सुनाउँछन् । ‘म २२ वर्षको थिएँ, विहान ८ बजे घरबाट निस्कन्थेँ, बेलुका ८ बजे घर आइपुग्थेँ, दिनभर मानिसहरुलाई भेट्थेँ, कसलाई र कसरी भट्यो भने काम बन्छ अगाडि नै योजना बनाउँथेँ,’ उनी भन्छन्, ‘मेरो साथ नै आफूभन्दा ठूलासँग भयो, उनीहरुबाट सर–सल्लाह लिन पनि सजिलो हुन्थ्यो ।’ ग्लोबल टेण्डरिङको काम गरेको ४/५ महिनापछि मोटरपाट्सको काम गरेको उनी बताउँछन् । त्यसपछि विभिन्न क्षेत्रमा लगानी बढाएको उनले सुनाए । ‘सानैदेखि व्यवसाय गर्ने रहर थियो, १५ वर्षको हुँदा होजियरी उद्योग खोल्छु भनेर लागेको थिएँ, तर, १५ वर्षको उमेरमा नागरिकता नमिल्दो रहेछ, नागरिकता नै नभएको मानिस कसरी व्यवसाय गर्ने भन्ने भएपछि त्यो काम रोकियो, उनले भने, ‘तर पछि उमेर पुगेपछि नागरिकता बनाएर व्यापार व्यवसायमा लागेँ । मल्लका पाँच दाजुभाई छन् । उनी कान्छा हुन् । एक बाहेक सबैको दाजुभाईको आ–आफ्नै व्यापार व्यवसाय छ । बुबाको त्यो अर्ति मल्लका बुवा पनि साँखुमै व्यापार व्यवसाय गर्थे । जग्गा जमिन प्रयाप्त भएपनि व्यापार गर्नु पर्छ भन्ने सोच आफ्ना बुवामा पनि भएको उनी बताउँछन् । ‘बुवा स्थानीय लत्ता–कपडा, खाद्यान्नको व्यापार गर्नु हुन्थ्यो, उहाँ सामान बोकेर सिन्धुपाल्चोक काभ्रेतिर जानुहुन्थ्यो, त्यहीँ व्यापार गर्नुहुन्थ्यो, उहाँबाट व्यापार गर्ने तरिका पनि सिकेँ, त्यसपछि मैले पनि व्यापार गर्नु पर्छ भनेर यही क्षेत्रतिर लागेँ,’ उनले भने । अध्यक्ष मल्ल आफ्ना बुवाले दिएको एउटा अर्ति कहिल्यै नभुल्ने बताउँछन् । उनी भन्छन्,’ मेरो बुवा भन्नुहुन्थ्यो, ‘व्यापारले हात्ती पाल्छ तर जागिर गरेर श्रीमती पनि पाल्न गाह्रो हुन्छ, उहाँको यो अर्ति म कहिल्यै पनि भुल्दैनँ, यो अर्तिले मलाई काम गर्ने जाँगर आउँछ, काममा अझ धेरै खट्न सहयोग पुग्छ ।’ उनले थप सुनाए, ‘हुन त जागिर पनि चाहिन्छ तर जागिरबाट धेरै काम सम्भव छैन, पहिले जागिरबाट घर परिवार पाल्न पनि गाह्रो हुन्थ्यो, अहिले अलि सहज भएको छ, विभिन्न सेवा सुविधाहरु पनि सहज बनाएको, तर पनि व्यापार अपार हो ।’ यति लामो व्यवसायिक यात्रामा पैसा त मनग्य कमाउनु भयो होला नि ? एउटा व्यवसायीसँग हाम्रो यो प्रश्न जायज थियो । उनले लामो स्वास तान्दै भने, ‘म मेरो आम्दानी र प्रगतिमा सन्तुष्ट छु, हुन त पैसा जति भएपनि मानिसलाई पुग्दैन तर म भने सन्तुष्ट छु, अहिलेसम्म जति कमाएँ, यसमा म रमाएको छु, उनी अडिए ।’ लगानीमा विविधिकरण २०४२ सालमा एउटा ग्लोबल टेण्डरिङ अर्थात ठेक्कापट्टाबाट व्यवसायिक यात्रा सुरु गरेका मल्लले अहिले लगानी नगरेको कुनै पनि क्षेत्र बाँकी छैन । बैंक, बीमा, जलविद्युत, स्वास्थ्य, शिक्षा, उद्योग, उड्डयन, होटल लगायत क्षेत्रमा उनले लगानी विस्तार गरेका छन् । मनाङ एयर, प्रभु इन्स्योरेन्स, कान्तिपुर इन्जिनियरिङ कलेज लगायतका उनका परिचित व्यवसाय हुन् । उनी प्रभु इन्स्योरेन्सका डाइरेक्टर पनि हुन् । बीमामा २५ वर्ष लामो अनुभव भएका उनको ठमेलमा ठमेल ट्रेड सेन्टर पनि निर्माणाधीन छ । ‘व्यवसायमा जिरो लेवलबाट काम गरेको हुँ, सुरुमा विदेशी कम्पनीको एजेन्ट भएर विभिन्न ठेक्कापट्टाको काम गरेँ, त्यसपछि निरन्तर आम्दानी हुने काम गर्नु पर्यो भनेर कमलादीमा मोटरपाट्सको व्ययवसाय सुरु गरेँ, विस्तारै उद्योग र बीमामा लगानी बढाएँ, काम गर्न लागेको ३५ वर्ष भइसकेको छ, समय हिजै जस्तो लाग्छ, उनले भने,‘ अहिले विभिन्न क्षेत्रमा लगानी गरेको छु, सबैतिरबाट राम्रै आम्दानी भइरहेको छ ।’ सरकारले पब्लिक–प्राइभेट पाटर्नरसिप मोडलसहितको व्यवसायतर्फ ध्यान दिनु पर्ने उनको भनाई छ । ‘मैले यति लामो समय व्यवसाय गरेँ, जनसहभागिता सहितको व्यवसाय हुुनु पर्छ भन्ने मेरो धारणा हो, यसले व्यक्ति र देशको विकास हुन सक्छ,’ उनले भने । सरकारले विभिन्न व्यवसायमा पब्लिक सेयरको कन्सेप्ट ल्याउनु पर्ने उनको भनाई छ । विभिन्न क्षेत्रमा लगानी गर्दा आफुलाई पनि फाइदा हुने र मुलुकको पनि विकास हुने उनी बताउँछन् । ‘सबै व्यवसायमा आफु नै सहभागी हुनु पर्छ भन्ने हुँदैन, एउटा सिस्टम बसाल्नु पर्छ, प्रणालीले आफै काम गर्छ, विकास र सम्वृद्धि अवश्य पनि सम्भव छ’ उनले भने । वर्षेनी आफ्नो आम्दानीको ग्राफ बढ्दै गएको उनी बताउँछन् । उनी भन्छन्, ‘यो वर्ष कोरोना भाइरसको कारण उड्डयन क्षेत्रमा केही असर पर्यो, बीमा लगायत क्षेत्रले राम्रै आम्दानी दिइरहेको छ, मसँग जे जति सम्पत्ति म यसमै खुसी छु, ।’ सेयरमा लगानी अध्यक्ष मल्ल हालसम्म सेयर किनेको भएपनि बिक्री भने नगरेको बताउँछन् । उनका अनुसार हालसम्म विभिन्न कम्पनीहरुले सार्वजनिक गरेको प्राथमिक सेयर, हकप्रद सेयरमा लगानी गरेको भएपनि खरिद बिक्रीमा त्यतिधेरै सक्रिय नभएको उनी सुनाउँछन् । सेयरमा कारोबार गर्नको लागि मैले एउटा पोर्टफोलियो म्यानेज्मेन्ट सर्भिससँग सम्झौता गरेको छु, उनीहरु आफै सेयर सार्वजनिक भएको समयमा भरिदिन्छन्, हालसम्म बेचेको भने छैन, उनीहरुसँग दुई/दुई वर्षमा सम्झौता हुन्छ हुन्छ,’ उनले भने,‘ तर त्यसको ग्रोथ भने मलाई बेलाबेलामा भनिरहेका हुन्छन्,त्यसबाट पनि राम्रै आम्दानी भइरहेको छ ।’ सेयर किन्ने बेच्ने समय नभएर नै सक्रिय रुपमा त्यसमा नलागेर अरुलाई नै जिम्मा दिएको उनी बताउँछन् । ‘अब त झन चेम्बरको नेतृत्व मेरो काँधमा आएको छ, अब चेम्बरलाई नै समय दिन्छु, यस संस्थागत विकास र सबै उद्योगी व्यवसायीहरुका समस्या बुझ्ने काम गर्छु, समाज सेवा त छदैँछ,’ उनले भने । रुची सामाजिक काम व्यवसायिक क्षेत्रमा काम गरेको यति लामो समय भएपनि आफ्नो रुची समाज सेवा भएको उनी बताउँछन् । ‘म सानैदेखि सामाजिक सेवा गर्नमा रुची राख्ने मान्छे, आजसम्म धेरै ठाउँमा सामाजिक काम पनि गर्दै आएको छु, अझै गर्ने धोको छ,’ उनले आफ्नो सामाजिक सेवा गर्ने योजना पनि सुनाए । जीवनमा पैसा धेरै कमाएको भएपनि सामाजिक कामले व्यक्तिको मनलाई शान्त गर्ने धारणा उनी राख्छन् । ‘५७ वर्षको दौरानमा धेरै संघष पनि गरियो, अब म आफुसँग भएको सम्पत्ति व्यवस्थित गर्न तर्फ लाग्छु, धेरे कमाएर के नै गर्नु छ र ?,’ उनले भने ‘थोरै पैसा कमाएर आफु पनि व्यवस्थित हुने र सरकालाई पनि राजश्व तिरेर सेवा दिने काम गर्छु, अब कमाएर लालपुर्जा मात्रै थुपार्ने भन्दा पनि कमाएर सामाजिक सेवा तर्फ लाग्ने सोच छ ।’ सामाजिक कार्य अन्तर्गत नै आफुले पढेको विद्यालय साँखु भाग्यदोयमा एउटा भवन निर्माण गरेको उनी बताउाछन् । यस्तै उनले आफ्नो जन्मथलोमा वृद्धाश्रमको घर बनाउँदा र साँखुको बैजनाथ मन्दिरमा पनि सहयोग गरेका छन् । अझै सामाजिक सेवामा लाग्ने उनको योजना छ । ‘कुन क्षेत्रमा सेवा गर्ने भन्ने मैले सोचेको छैन, तर म मृत्युवरणपछि मैले कमाएको सम्पत्ति मेरो छोराछोरीले मात्रै खाने होइनन्, केही सम्पत्ति यो मुलुकका लागि दिने सोचमा छु , मेरो ध्यान अब सामाजिक सेवामा छ, मलाई चेम्बर सामाजिक थलो जस्तै लाग्छ,’ उनले भने ‘चेम्बरले साना –साना मानिस दुखी पििडतलाई सहयोग गर्छ, ठूला व्यापारी साना व्यापारी भन्दा पनि हामी सबैको संस्था हो ।’ उनी भारतका अर्बपति रतन टाटा आफ्नो प्ररणाको स्रोत भएको पनि बताउँछन् । टाटाले पनि धेरै सामाजिक सेवा गर्ने भएको र आफ्नो पनि सामाजिक सेवा गर्ने ईच्छा भएकोले टाटा आफुलाई मन पर्ने व्यक्ति भएको उनी सुनाउँछन् । आगामी योजना अबको आफ्नो नेपाल चेम्बरलाई थप शसक्त संस्था बनाउने र उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न तर्फ हुने उनी बताउँछन् । नेपाल चेम्बर अफ कमर्सलाई एक विश्वसनिय सामाजिक संस्थाका रुपमा विकास गर्नको लागि आफु सधैँ तत्पर रहने उनले बताए । उद्योगी तथा व्यवसायीको हितका लागि आफू सधैँ लागि पर्ने उनको भनाई छ । ‘देशलाई खान पुग्ने उत्पादनलाई कसरी वृद्धि गर्ने, किसानको उत्पादनलाई बजारिकरण कसरी गर्ने भन्ने तर्फ हाम्रो ध्यान जान्छ, अहिले व्यवसायमा बढी बिचौलिया छ, जुन करको दायरामा पनि आएका छैनन्, उनीहरुलाई करको दायरामा ल्याउने वा बिचौलिया नै समाप्त पार्नेतर्फ मेरो ध्यान जानेछ,’ उनले भने, ‘उत्पादित वस्तुलाई ढुवानीको सहज वातावरण सिर्जना गर्नेतर्फ पनि हाम्रो ध्यान जानेछ ।’ उनका अनुसार अहिले चेम्बर ७० जिल्ल्ला र २५ वटा पालिकामा विस्तार भएको छ । अझै संस्थालाई विस्तार गरेर सबै उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न तर्फ आफ्नो ध्यान जाने उनले बताए ।
गाँजाको अर्थतन्त्रः विश्वभर ३ खर्ब ४० अर्ब डलरको बजार
काठमाडौं । आज महाशिवरात्री । शैव र हिन्दुहरुले महाशिवरात्री पर्व विशेष उल्लासका साथ मनाउने गर्छन् । नेपालमा शिवरात्रीमा ‘शिवबुटी’ भन्दै गाँजाको सेवन गर्ने प्रचलन छ । यद्यपि, नेपालको कानुनले गाँजाको प्रयोग, ओसार प्रसार र विक्री वितरण रोक लगाएको छ । विश्वका ५० भन्दा बढी देशले गाँजालाई प्रतिबन्धित लागू पदार्थको सुचीबाट हटाउँदै यसको व्यवसायिक खेती खुल्ला गरिसकेका छन् । पछिल्लो समय गाँजालाई प्रतिबन्धित औषधीको सुचीबाट हटाउनु पर्छ भनेर विश्वव्यापी रुपमा आवाज उठ्न लागेको छ । विश्वमा गाँजाको अर्थतन्त्र निकै ठूलो रहेको तथ्यांकहरुले देखाएका छन् । स्वीट्जरल्याण्डको न्युज पोर्टल ‘जेनेभा विजनेस न्युज’का अनुसार गाँजाको बजार वार्षिक ३ खर्ब ४० अर्ब अमेरिकी डलरभन्दा बढीको छ । सो न्युज पोर्टलका अनुसार गाँजाको सबैभन्दा ठूलो बजार एसिया महादेश हो । यो क्षेत्रमा वार्षिक १ खर्ब ३२ अर्ब ९० करोड अमेरिकी डलर बराबरको बजार छ । यस्तै, उत्तर अमेरिककामा वार्षिक ८५ अर्ब ६० करोड अमेरिकी डलर, युरोपमा ६८ अर्ब ५० करोड अमेरिकी डलर, अफ्रिका ३७ अर्ब ३० करोड अमेरिकी डलर ल्याटिन अमेरिकामा ९ अर्ब ८० करोड अमेरिकी डलर बराबरको बजार छ । नेपालमा गाँजा प्रयोगको इतिहास नेपालमा गाँजा उत्पादन र बिक्री वितरणको इतिहास लामो छ । तराईका बारा, पसाए, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बालीका रूपमा गाँजाखेती गर्ने गरिन्थ्यो । दोस्रो विश्वयुद्धकै समयदेखि नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित भएको विश्वास गरिएको छ । ‘हिप्पी’ युगको सुरुआत भएसँगै गाँजाको सेवनकर्ताको घुइचो काठमाडौंमा लाग्न थालेको थियो । सो समयमा काठमाडौंमा ३० भन्दा बढी गाँजा र चरेस केन्द्र खुलेका बताइएको छ । गाँजाको प्रयोग परम्परागत रुपमा बूढापाकाले अनिद्रा र शारीरिक पीडा हटाउन तथा एक्ला, अशक्त र पट्यारलाग्दा दिन बिताउन गर्ने चलन थियो । भजनकिर्तनको आनन्द लिन, चाडपर्व मनाउन, घरपालुवा जनावरको उपचार गर्न जस्ता प्रयोजनमा गाँजाको प्रयोग हुने गरेको थियो । नेपालमा हिन्दु धर्मको प्रभावले गाँजा चलनमा आएको पाइएको छ । नेपाल र भारतमा फागु पर्व बेला गाँजाको फूल (भाङ) खाने चलन छ । भगवान शिवले समुद्र मन्थन बेला अमृत शुद्धीकरण निम्ति शरीरबाट गाँजा उत्पादन गरेको हिन्दु धर्मशास्त्रमा उल्लेख छ । समुन्द्र मन्थनकै बेलामा उत्पन्न भएको अमृतको थोपा जमिनमा परेपछि गाँजाको बिरूवा उम्रेको अर्काेथरी व्याख्या पनि शास्त्रहरुमा छ । नेपालमा गाँजा प्रयोगको लामो इतिहास छ । नेपालले समेत विश्वयुद्धका बेला गाँजाबाटै बनाइएका झाडापखलाको औषधि निर्यात गरेको र अहिले पनि सिंहदरबार वैद्यखानाले त्यस्ता औषधीहरू बनाउने गरेको वैद्यखानाले जानकारी दिएको छ । अहिले विश्वमा धेरै खोजिने मध्येको एक निद्रा सम्बन्धी रोगको उपचारमा पनि गाँजा प्रयोग हुने गरेको विज्ञले बताएका छन् । सन् १९७० अघिसम्म नेपालमा गाँजा खेती र व्यापार वैधानिक थियो । नेपालबाट ठूलो परिमाणमा गाँजा र चरेस निर्यात हुने गरेको तथ्यहरु फेला परेका छन् । सन् १९६० र सन् १९७० को दशकमा नेपालमा फैलिएको हिप्पी संस्कृतिको मुल कारण नै गाँजाको सहज उपलब्धता हो भनेर व्याख्या गरिएको थियो । नेपालमा कानुनी व्यवस्था संयुक्त राष्ट्रसंघले सन् १९६१ मा ‘द सिङ्गल कन्भेन्शन अन नार्काेटिक ड्रग्स १९६१’ पारित गर्यो । त्यसमा गाँजालाई पनि अफिमजस्तै कडा खालको लागुऔषध मान्दै प्रतिबन्ध लगाउनुपर्ने प्रावधान राखियो । नेपालले सो अभिसन्धिमा हस्ताक्षर गरेपछि सन् १९७६ मा लागुऔषध नियन्त्रणसम्बन्धी कानुन बनायो । त्यसमा गाँजाको खेती, भण्डारण, सेवन र बिक्री वितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो । पाँचचोटि संशोधन भइसकेको सो ऐनले २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना भनिएको छ । सोभन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुन सक्छ । उक्त ऐनअनुसार ५० ग्रामसम्म गाँजा राखे तीन महिनासम्म कैद र ३ हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । खुल्ला गर्ने वहसको सुरुवात गाँजा सेवनलाई विश्वमै सबैभन्दा पहिला अनुमति दिने देश उरुग्वे हो । त्यसपछि नेदरल्यान्ड्स, स्पेन, दक्षिण अफ्रिका, कोलम्बियाजस्ता देशले पनि गाँजा सेवनलाई अनुमति दिएका छन् । अस्ट्रेलिया, अस्ट्रिया, जर्मनी, इजरायल जस्ता देशहरुमा गाँजालाई औषधीमो रुपमा प्रयोग गर्न छुट छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्राड्यूले गाँजालाई कानुनी मान्यता दिने विधेयक संसदमा पेस गरे पारित गरिसकेकी छन् । गाँजाको फाइदा आधुनिक विज्ञानले पनि गाँजा प्रयोगले फाइदा हुने पुष्टी गरेको छ । गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान पनि भएका छन् । अनुसन्धानहरुले पुष्टी गरे अनुसार ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुन्छ । शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने पनि पुष्टी भएको छ । अर्काे एउटा अनुसन्धानले गाँजा सेवन गर्नेको यौन क्षमता बढी हुने देखाएको छ । ‘जर्नल अफ सेक्सुअल मेडिसिन’को सो रिपोर्टमा गाँजा सेवन गर्नेको यौन क्षमता नगर्नेको तुलनामा बढी हुने उल्लेख गरिएको छ । अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयले सन् २००२ देखि २०१५ सम्म सो अनुसन्धान गरेको थियो । अनुसन्धानमा गाँजा सेवन गर्ने २५ देखि ४५ वर्ष उमेर समूहका ५० हजार मानिस सहभागी भएका थिए । सहभागीलाई एक वर्षमा कतिपटक गाँजा सेवन गरेको र त्यसको चार सातासम्म कति पटक यौनसम्पर्क राखेको भन्ने प्रश्न सोधिएको थियो । उनीहरूले सामान्य अवस्थाभन्दा गाँजा सेवनपछि धेरैपटक यौनसम्पर्क गरेको बताएका रिपोर्टमा उल्लेख छ । गाँजालाई आयुर्वेदमा ‘विजया’ भनेर उल्लेख गरिएको छ । निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्या जस्ता रोग निको पार्न गाँजा (विजया) को औषधि प्रयोग हुँदै आएको छ । सम्बन्धित सामग्री एक रोपनी जग्गा हुनेले वर्षमै करोड कमाउँछ: गाँजा खेतीबारे तामाङ र स्थापितको अन्तर्वार्ता गाँजाले देश समृद्ध गर्छ भन्ने कुरा कहाँबाट आयो ? यसले नेपाललाई समस्यामा पार्छः पूर्व डीआईजी मल्ल गाँजाको खेतीलाई बैधानिकता दिँदा नेपालको जीडीपी ५ गुणाले बढ्छः उपाध्याय
क्लास टपर बैंकर सिवाकोटीको बैंकिङ यात्रा…
काठमाडौं । जीवन के हो ? मैले यो प्रश्न ग्लोबल आईएमई बैंककी चिफ मार्केटिङ म्यानेजर शान्ता सिवाकोटीलाई सोधेँ । उनले जवाफमा भनिन्, ‘जीवन व्यक्तिको च्वाइस हो,’ उनले अझ प्रष्ट पार्न खोजिन्, ‘जीवन जन्म र मृत्यु बीचको च्वाइस नै हो, यसलाई कसरी अगाडि बढाउने भन्ने मुख्य हात स्वयम् व्यक्तिको नै हुन्छ । तपाईंलाई थाहा हुँदैन कि तपाईं कसरी जन्मनु भयो र कसरी मृत्यु हुन्छ । त्यो बीचमा हामीसँग जति समय छ, त्यो समयमा आफूलाई खुसी भएर कसरी अगाडि बढाउने भन्ने नै जीवन हो जस्तो लाग्छ ।’ मैले फेरि जिज्ञासा गरेँ, जीवनमा दुःख हुँदैन ? उनले हाँस्दै मैतिर प्रश्न तेर्स्याइन्, कसैको जीवनमा दुःख नहुने पनि हुन्छ र ? जीवनमा सुख दुःख अवश्य नै हुन्छ । तर, व्यक्तिले त्यसलाई कुन रुपमा लिन्छ र कसरी ग्रहण गर्छ भन्ने विषय मुख्य हो । उनले आफ्नै उदाहरण दिइन्, जस्तै म कहिल्यै पनि कामलाई ड्युटीका रुपमा लिन्न । मैले मेरो कामलाई सर्वोपरी ठान्छु । कामलाई मनोरञ्जनका रुपमा लिन्छु । जब व्यक्तिले कामलाई मनोरञ्जन र त्यसलाई आफ्नो प्यासनको रुपमा लिन्छ नि खुसी आफुसँगै दौडिन्छ ।’ प्यासन…? म अडिएँ ‘हो, खुसी हुन प्यासन चाहिन्छ,’ उनले भनिन्-‘व्यक्तिमा प्यासनप्रतिको लगाव, झुकाव र इमान्दारिता चाहिन्छ, अनि मात्र व्यक्ति सफल हुन्छ । मेरो पनि बैंकर बन्ने सानैदेखिको प्यासन थियो । त्यो सपना मैले पछ्याइरहेँ, आफूले सकेसम्म मेहनत गर्दै गएँ, त्यसैले त अहिले म यो स्थानमा छु, बैंकमै काम गरेको २० वर्ष पुग्यो, सायद दुःखका दिनहरु त सकिए होलान्, पहिले दुःख गरेकै कारण २० वर्षसम्म काम गरेर मार्केटिङको नेतृत्वदायी भूमिकामा छु, अझै यात्रा लामो छ, सपना राती होइन दिउँसो देख्नुपर्छ र ती सपना पुरा नहुञ्जेल पछ्याइरहनुपर्छ ।’ सन् २००० बाट बैंकिङ करियर सुरु ग्लोवल आईएमई बैंकमा चिफ मार्केटिङ म्यानेजर पदमा कार्यरत शान्ता सिवाकोटीले बैंकिङ क्षेत्रमा काम गरेको २० वर्ष पुग्यो । सन् २००० को सेप्टेम्बर महिनाबाट बैङ्किङ क्षेत्रमा प्रवेश गरेकी सिवाकोटी नेपाली बैंकिङ क्षेत्रमा काम गर्ने महिलाहरुमध्ये एक परिचित नाम हो । आजभन्दा २० वर्ष अगाडि एनआईसी (हालको एनआइसी एशिया) बैंकबाट बैंकिङ करियर सुरु गरेकी उनले ६ वर्ष सो बैंकमा काम गरेर त्यसपछि हालको ग्लोबल आईएमई बैंकमा प्रवेश गरिन् । ग्लोबल आईएमई बैंकको स्थापनाकालदेखि कार्यरत उनी सो बैंकको विभिन्न विभागमा नेतृत्व गरेर सफल भूमिका निर्वाह गर्दै आएकी छिन् । उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘२० वर्षे बैंकिङ करियरमा थुप्रै उतार चढावको सामना गर्नु पर्यो तर समस्याहरुलाई मैले कहिल्यै समस्याको रुपमा लिइन, हिँड्दै जाँदा लाग्ने ठक्करका रुपमा लिएँ, त्यसले झन् मलाई अनुभव र ज्ञान हासिल गर्न मद्दत पुर्यायो ।’ महिला भएकै कारण कहिल्यै आफूलाई कमजोर महशुस गर्नु नपरेको उनी बताउँछिन् । आफ्नो परिवार कार्यालयका सहकर्मीहरुको साथ र सहयोगले पनि आफ्नो बैंकर बन्ने ठूलो इच्छा पूरा गर्न पाएको उनको भनाई छ । एनआईसी एसिया बैंकमा एसिस्टेन्ट तहबाट बैङ्किङ यात्रा सुरु गरेकी उनले हालसम्म विभिन्न डिपार्टमेन्टमा रहेर काम गरिसकेकी छिन् । एनआइसी एशिया बैंकको फाइनान्स र ट्रेजरी विभागमा ६ वर्षसम्म काम गर्दा आफूले बैंक सम्बन्धि थुप्रै विषयहरु बुझ्ने अवसर पाएको बताउँछिन् । त्यससँगै ग्लोबल आईएमई बैंकमा आफूले ट्रेजरी, अपरेसन, मार्केटिङ, विजनेस प्रमोसन, ब्रान्डिङ, ब्रान्च म्यानेजरदेखि सरकारको अल्टरनेटिभ प्रोमोसन सेन्टर (एपीसी) फन्ड लगानी सम्बन्धी प्रोजेक्टको नेतृत्व सम्हालिसकेको उनी बताउँछिन् । हाल उनी बैंकको चिफ मार्केटिङ म्यानेजरको रुपमा कार्यरत छिन् । बैंकर बन्ने धोको सिवाकोटीका बुवा पनि बैंकर नै हुन् । राष्ट्रिय वाणिज्य बैंकमा काम गर्ने उनका बुवा कहिलेकाहिँ उनलाई पनि आफूसँगै बैंकमा लिएर जान्थे । उनी आफ्नो विगत सम्झिँदै सुनाउँछिन्, ‘एकदिन बुवाले मलाई आफूसँगै बैंकमा लैजानु भयो, बुवाको बस्ने कोठा चिटिक्क परेको थियो, छेउमा धेरै बक्स थिए। मलाई ती सबै पैसा राखेको ब्याग (झोला) हो वा पत्र राखेको ब्याग हो जस्तो लाग्थ्यो । त्यहाँको इन्भाइरोन्मेन्ट (वातावरण) एकदमै रमाइलो लाग्यो । ओहो ! बैंक कति रमाइलो हुँदो रहेछ । त्यहाँको माहोल हेर्दा मलाई पनि बुवा जस्तै बैंकर बन्ने इच्छा लाग्यो । बैंकप्रतिको पहिलाे इम्प्रेसन नै मेरो त्यही हो ।’ बैंकर बन्ने चाहनाकै कारण सानै उमेरमा बैंकमा खाता खोलेको उनको भनाई छ । ‘मैले बैंकमा खाता खोलेको पनि थाहा छ । पैसा जम्मा गर्ने भनेको पनि थाहा छ । अनि मैले त्यहाँ पैसा राखेर कसरी नाफा गरेर मलाई बढी पैसा अर्थात ब्याज आउँछ भन्ने काैतुहलता थियो । तर, विस्तारै ऋण लगानी हुँदो रहेछ, ऋण इल्ड हुँदो रहेछ भन्ने बुझेँ,’ उनले आफ्नो विगत सम्झिँदै अनुभवहरु पनि सुनाइन् । २ हजारमा १३ जना छनोट सिवाकोटीलाई बैंकमा काम गर्नु पर्छ भन्ने उत्सुकताले निकै स्थान लिइसकेको थियो । एकदिन उनले एउटा पत्रिकामा बैंकमा काम गर्नको लागि विज्ञापन आएको देखिन् । विज्ञापन थियो हालको एनआईसी एशिया बैंकको । उनले पनि सो बैंकमा आवेदन दिने मनसाय बनाइन् । ‘म त्यो समयमा आफै शारिरीक रुपमा अस्वस्थ थिएँ, प्रेगनेन्टको समय भएकोले पनि म शारिरीक रुपमा असहज फिल गरिरहेकी थिएँ । तर, त्यो समय मैले आफैलाई परीक्षण गर्ने खालको थियो, शारिरीक रुपमा गाह्रो भए पनि मैले आवेदन दिएँ, २ हजार जनाले आवेदन दिएका थिए तर पछि १३ जना मात्र छनोट भए । त्यतिखेर पनि मैले आफूलाई जज गर्ने अवसर पाएँ,’ उनले भनिन् । त्यतिखेर पनि आफ्नो नाम १/२ नम्बरमा निस्केको उनले खुसी हुँदै सुनाइन् । ‘मलाई अहिले अचम्म लाग्छ, १० क्लास पनि पास नहुँदा ९ क्लास पढाउँथे, अहिले आफैलाई आएर ओहो लाग्छ, त्यतिखेर मेहेनत गरेकै कारण अहिले छोरीहरुलाई गाइड गर्न पनि सजिलो हुन्छ,’ उनले थपिन् । जहिल्यै क्लास टपर वि.सं २०३५ सालमा दोलखामा जन्मिएकी शान्ता सिवाकोटीको बाल्यकाल भने काठमाडौंमै बित्यो । कक्षा एकदेखि बानेश्वरको शिशु विद्याश्रम (हालको एपेक्स लाइफ स्कूल) अध्ययन गरेकी उनी कक्षा १० सम्म क्लास टपर नै भइन् । एपेक्स लाइफ स्कूलबाट एसएलसी दिएकी उनी आफू भाग्यमानी भएको महसुस गर्छिन् । ‘म घरको पहिलो बच्चा हो, त्यसैले पनि मैले धेरै माया पाएँ , ग्राण्ड पारेन्टस् (हजुरआमा हजुरबुबा) पनि सँगै बस्नुहुन्थ्यो । मेरो बुवा पनि बैंकमा नै काम गर्नु हुन्थ्यो । घरमा विभेद कहिल्यै भोग्नु परेन । मेरो दुई जना भाई र एक जना बहिनी छन् । अरुको कुरा सुन्दा म भाग्यमानी छु जस्तो फिल हुन्छ।’ उनले आफ्नो बाल्यकालको अवस्था सुनाइन् । ‘बानेश्वरमै स्कुलिङ भयो । शिशु विद्याश्रम स्कूलको म पहिलो ब्याच थिएँ, उनले विद्यार्थीको जीवनको अनुभव सुनाउँदै भनिन्, ‘म जति ठूलो हुँदै गएँ, स्कूल पनि त्यति ठूलो हुँदै गयो । ४ क्लासबाट स्तरोन्नती हुँदै गएको सो स्कुुल म एसएलसी दिँदासम्म त्यतै पढ्न पाएँ, एसएलसी पढ्दासम्म क्लास टपर नै भएँ, तर टपर हुनेलाई अर्को वर्ष टपर भइन्छ कि भइन्नँ भन्ने प्रसेर चाहिँ हुँदो रहेछ ।’ पढेकै स्कुलमा अध्यापन शान्ता सिवाकोटीको जीवन सानैदेखि पढाईमा राम्रो भएकै कारण उनले एसएलसी परीक्षा दिएको पछिल्लो दिनमै आफू पढेको स्कूलमा पढाउने अवसर पाइन् । आफूमा क्षमता छ भने अवसरका ढोकाहरु सधैँ खुला हुने रहेछन् भन्ने कुरा पनि उनले थाहा पाइन् । ‘म क्लास टपर हुन्थे, प्राध्यानाध्यापक सरले पनि मलाई धेरै माया गर्नु हुन्थ्यो, मेरो पढाईकै कारण मैले परीक्षा दिएको पछिल्लो दिनमै उहाँले मलाई सोही स्कूलमा पढाउन आग्रह गर्नुभयाे । मैले पनि पढाएँ, आजकाल सम्झेर आफूलाई नै अचम्म लाग्छ,’ उनले भनिन् । उनले एसएलसीको नतिजा नआउँदासम्म सोही स्कूलमा पढाइन् । तर, पछि नतिजा आएपछि भने निरन्तर पढाउन नसकेको उनी सुनाउँछिन् । प्लस टु पढ्नु पर्ने भएको कारणले पनि नियमित पढाउन छोडेको उनको भनाई छ । तर, दिउँसो कलेज गए पनि बिहानको समयमा सोही स्कूलको होष्टेलमा बस्ने विद्यार्थीहरुलाई पढाउन भने उनले छोडिनन् । १६ वर्षको उमेरदेखि काम गर्न सुरु गरेको बताउने बैंकर सिवाकोटीले आफू पहिलेदेखि नै केही काम गर्नु पर्छ भन्ने मानसिकताको भएको बताउँछिन् । उनले एउटा रमाइलो घटना पनि सुनाइन् । ‘स्कूलमा पढाउँदै गर्दा प्रिन्सिपल सरले रुटिङ तयार पार्नु भएको थियो, मसँगै पढाउने अन्य साथीकाे रुटिङमा नाम थियो तर मेरो नाम रुटिङमा थिएन, मैले ओहो ! मेरो नाम त रहेनछ भनेर आफै झस्किएँ, पछि सरलाई सोध्न गएँ । उहाँहरुले मलाई ८/९/१० कक्षामा राखिदिनु भएछ । भर्खरै १० क्लासको परिक्षा दिएको मैले १० क्लासलाई पढाउन पाउँदा सरहरुले मलाई त्यतिसम्मको क्षमतावान सोचिदिँदा म धेरै खुसी भएकी थिएँ ।’ १९ वर्षको उमेरमा विवाह सिवाकोटीले भर्खर प्लस टु सकेर स्नातक ज्वोइन गरेकी थिइन् । त्यतिखेर उनी १९ वर्षकी थिइन् । उनको सोही समयमा विवाह भयो । ‘मैले प्लस टु मात्रै सकेको थिएँ, घरबाट विवाह गरिदिए, विवाह भएपनि पढाई छोड्नु हुन्न भन्ने मानसिकतामा म थिएँ, विवाहपछि पनि पढाईलाई निरन्तरता दिएँ, श्रीमानको सहयोगले पनि म अहिले यो स्थानमा छु जस्तो आफूलाई महसुस हुन्छ,’ उनले भनिन् । विवाहपछि नै स्नताक र स्नातकोत्तर पढाई गरेको उनले बताइन् । उनले प्लसटु, स्नातक र स्नातकोत्तर शंकरदेव कलेजबाट नै गरेकी हुन् । विज्नेस स्टडीमै स्नातकोत्तर गरेकी सिवाकाेटीलाई घर व्यवहारले काम र पढाई पनि म्यानेज गर्न सहयाेग मिल्याे । ‘मलाई पढ्नु पर्छ भन्ने सानैदेखिको इच्छा थियो, आमा हाउस वाइफ नै भएपनि पढ्नु पर्छ भनेर हामीलाई जहिल्यै भनिरहनुहुन्थ्यो, पढाईको महत्व के हो भनेर उहाँलाई राम्रोसँग थाहा थियो,’ उनले भनिन्,‘ धेरै जिम्मेवारी भएपछि पढ्न गाह्रो त अवश्य नै हुन्छ । तर, ती समस्याहरुको अगाडि आफ्ना सपना साकार गर्न कुनै समस्याले पनि छेक्ने रहेनछ, जसरी भएपनि मैले यो काम गर्नै पर्छ भन्ने लाग्थ्यो । केही गाह्रो हुँदो रहेछ तर नसकिने भन्ने हुँदो रहनेछ ।’ घरबाट यति धेरै सर्पोट नभएको भए यहाँसम्म आउन समस्या हुने उनको भनाई छ । ‘ढिलासम्म अफिसमा काम गर्नु पर्थ्यो तर घरबाट त्यस्तो कुनै समस्या नै भएन, महिलालाई मात्र होइन घरमा पुरुषको लागि सपोर्ट गर्ने महिला भइनन् भने पनि गाह्रो नै हुन्छ, घरमा श्रीमान र श्रीमती एक अर्काका सर्पोटिभ भएनन् भने सफलता नै हासिल गर्न सकिँदैन,’ उनले भनिन्,‘ श्रीमान शिक्षा फिल्डमा काम गर्नुहुन्छ । दुवै जनाले एक अर्कालाई साथ र सल्लाह दिन्छौं । आफ्नो क्षेत्रमा आफै यो गर्नु पर्छ भन्ने ज्ञान दुवैसँग छ । त्यही भएर पनि यो काम नै गर्नुपर्छ भनेर एक-अर्कालाई बाध्य पार्दैनौं ।’ सिवाकोटीको बुझाईमा बैंकिङ बैंकिङ क्षेत्र अर्थतन्त्रको मेरुदण्ड नै हो । आज पनि बैंकको पहुँचमा नहुनेहरु धेरै जना हुनुहुन्छ । ४० प्रतिशत मानिसले बैंक बुझेका छैनन् । बैंकिङ क्षेत्रले नै अर्थतन्त्रलाई निर्धारण गर्न सक्छ । अर्थतन्त्रका लागि बैंकिङ एउटा महत्वपूर्ण क्षेत्र हो । ‘बैंकिङमा अन्य क्षेत्रभन्दा समय बढी दिनै पर्ने हुन्छ । काम पनि धेरै लामो समयसम्म गर्नु पर्ने नै हुन्छ । मार्केटिङमा हुँदा त दिउँसो बाहिर ग्राहकहरु सँग नै हामी हुन्छौं । बेलुका आएर काम पनि हुन्छ । यसले पनि धेरै जसो महिलाहरु ड्रप आउट हुने गरेका छन् । सबैले अफिसका लागि समय पनि दिन सक्दैनन्,’ उनले आफ्नो अनुभव सुनाइन् । उनले घरव्यवहार र काम सँगै व्यालेन्स गर्न गाह्रो हुने बताउँदै तर यसलाई सहज रुपमा लिएर काम गरे आफ्नो सपना अवश्य नै साकार हुने बताइन् । ‘समय व्यवस्थापन नै गर्न नसकेर धेरै महिलाहरु बैंकिङमा आएर पनि फेरि छोड्ने गरेको देखिन्छन्, यो सबै व्यवस्थापनकै कमजोरी हो, समय व्यवस्थापन गर्ने काम आफ्नो हो,’ उनले भनिन् । अहिले इन्ट्रिमा पुरुषभन्दा महिलाको सहभागिता बढी भएपनि विवाहपछि भने महिलाको सहभागिता बैंकमा कम हुने उनको भनाई छ । ‘घर व्यवहार चलाउन, कार्यालयको काम, आफ्नो व्यवस्थापन गर्न गाह्रो त सबैलाई हुन्छ, तर त्यसको व्यवस्थापन गर्न सिक्नुपर्छ, सुरुवाती चरणमा मलाई पनि एकदमै गाह्रो भएको थियो, त्यतिखेर दुःख गरेकै कारण म यहाँसम्म पुगेँ, मेरो सपना साकार पारेँ,’ उनले भनिन् । समाजको नजर कसैले पनि महिलाको क्षमतामाथि प्रश्न गर्न नहुने उनको तर्क छ । ‘महिलाको क्षमताको विषयमा प्रश्न उठाउनै मिल्दैन, महिला कुनै पनि कोणबाट पुरुषभन्दा कम छैनन्, क्षमताको हिसावले अपार छ , हामी हाम्रो सोचाइकै कारणले पछाडि परेका छौं, अर्को महत्वपूर्ण विषय म सक्दैन कि भन्ने मानसिकता गर्ने र शिक्षामा कम पहुँच भएकै कारण महिलाको सहभागिता कम देखिन्छ,’ उनले भनिन् । महिलालाई हेर्ने समाजको नजर पनि परिवर्तन गर्नु पर्ने उनको भनाई छ । महिला सक्षम हुनको लागि सर्वप्रथम वित्तीय रुपमा शसक्त हुनु पर्ने उनको धारणा छ । ‘घर व्यवस्थापन गर्न पनि धेरै ठूलो क्षमताको आवश्यकता पर्छ, महिलामा एक किसिमको म्यानेजमेन्ट स्किल इनबर्न (जन्मजात) नै छ, खालि सही शिक्षाको अभाव छ, समाजको सोचाईले थिचेको छ, महिलाले गर्न नसक्ने कुनै काम नै छैन, अहिले विद्यालय कलेजमा टपमा महिला नै आएको देखिन्छन्,’ उनले भनिन्,‘पुरुषमा प्राथमिकता दिने मानसिकता हटाउनु पर्छ ।’ नव प्रवेशिकालाई सुझाव बैङ्किङमा अहिले थुप्रै अवसरहरु छन् । विगतको तुलनामा बैङ्कमा प्रवेश गर्ने महिलाहरुको संख्या पनि बढी हुँदै गएको छ । अब केही वर्षभित्रै नेपाली महिलाहरुको बैंकिङमा राम्रै उपस्थिती देखिने उनको भनाई छ । ‘अहिले नेपाली बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिकामा औंलामा गन्न मिल्ने महिलाहरु मात्रै छन्, तर अहिले तल्लो तहमा महिलाहरु थुप्रै भइसकेका छन्, अब कुनै दिनमा लिडिङ पोष्टमा पनि महिलाको सहभागिता देखिन्छ,’ उनले भनिन् । महिला पछाडि पर्नुमा पारिवारिक र कार्यालय अनि व्यवस्थापनको असहयोग कारक तत्व रहेको उनको भनाई छ । ‘विवाह पश्चात बच्चा हुने र बच्चा हुर्काउनका लागि जागिर नै त्याग्नु परेको अवस्था छ, उनले भनिन्, यसलाई व्यवस्थापन गरेर अगाडि बढे गर्न नसकिने भन्ने केही छैन ।’ बैंकमा प्रवेश गर्न चाहनेले सशक्त रुपमा आफ्नो प्यासनलाई आत्मसाथ गर्दै अगाडि बढाउनु पर्ने उनको भनाई छ । ‘विश्वबारे जानकारी राखौँ, नयाँ नयाँ टेक्नोलोजीबारे जानी राखौं, आफ्नो लक्ष्यलाई पछ्याइ रहौं, रातमा होइन दिनमा सपना देखौं, पक्कै पनि एकदिन सपना साकार पार्न सकिन्छ,’ उनी सुझाव दिन्छिन् । उनले आफुले बच्चा जन्माएको डेढ महिनामै काममा फर्केको अनुभव सुनाइन् । कामलाई सर्वोपरी ठानेर लागे सपना साकार गर्न समय नै नलाग्ने उनको भनाई छ । उनले सपना साकार गर्नको लागि हार्ड वर्कर, कमिटमेन्ट र काममा डेडिकेसन राख्नु पर्ने उनको भनाई छ । ग्लोवल आईएमई बैंकमा योगदान चिफ मार्केटिङ म्यानेजर शान्ता सिवाकोटी ग्लोवल आईएमई बैंक स्थापनाकालदेखि बैंकमा कार्यरत छिन् । बैंकले गर्ने काम र ल्याउने हरेक कार्यक्रमहरुमा सिवाकोटीको ठूलो हात छ । विभिन्न समयमा विभिन्न डिपार्टमेन्टको नेतृत्व गर्दै आएकी सिवाकोटी कार्यकौशलता र सफल नेतृत्वदायी भूमिकाले नै उनले महत्वपूर्ण डिपार्टमेन्टहरुमा काम गर्ने अवसर पनि पाएकी छिन् । ‘व्यक्तिको योगदानभन्दा पनि टिमवर्कको समन्वयले नै ग्लोबल आईएमई बैंक अहिले यो अवस्थामा छ, हामीले नागरिकहरुमा वित्तीय साक्षरता बढाउनदेखि बचत गर्ने बानी बसाल्नको लागि ठूलो पहल गरेका छौं, अहिले एक क्याम्पियनकै रुपमा ‘मेरी उनीलाई’ भन्ने कार्यक्रम ल्याएका छौं । जुन महिला लक्षित प्रडक्ट हो, यस प्रडक्ट मार्फत महिलाहरुलाई वित्तीय साक्षरता प्रदान गर्न महत्वपूर्ण योगदान पुग्नेछ, भन्ने हाम्रो विश्वास छ,’ उनले भनिन् । ‘हामीले मेरी उनीलाई प्रडक्ट मात्र होइन यो एउटा अभियानका रुपमा सञ्चालन गरेका छौं, महिलामा क्षमता छ तर अवसर पाइरहेका छैनन्, हामी यसलाई अभियानका रुपमा अगाडि बढाउँछौं, यस मार्फत उनीहरुलाई वित्तीय रुपमा अगाडि बढ्न सजिलो हुन्छ, पहिले उनीहरुको खाता हुन्छ । खाता भएपछि उनीहरु बैंकसँग सम्पर्कमा हुन्छन् । बचत गर्ने बानी बस्छ । विस्तारै बैंकसँग उनीहरुको सम्पर्क हुन्छ । उनीहरु आर्थिक रुपले सुरक्षित भएको पनि महसुस गर्छन् । फिक्स डिपोजिट मार्फत उनीहरु खुसी प्राप्त गर्छन् । आउने दिनमा अगाडि बढ्नको लागि धेरै सहयोग पुग्छ । विस्तारै आर्थिक चलायमान गर्ने बानी बस्छ । त्यसबाट उद्यमशिलताको विकास हुन्छ,’ उनले भनिन् । ‘झण्डा बाकेर नारा लगाएर कहिले पनि महिलाको हक अधिकार पुरा हुन सक्दैन । जबसम्म महिला आर्थिक रुपले सम्पन्न हुन सक्दैनन् तव शसक्तिकरण भन्ने कुरा व्यवहारमा देख्न सकिँदैन । यसमा हामीले लिएको लक्ष्य भन्दा राम्रो सहभागिता छ,’ उनले भनिन् । यी विभिन्न कार्यक्रमहरु ल्याउन आफ्नो र टिमको ठूलो हात रहेको उनको भनाई छ । अबको गन्तब्य आफ्नो बैंकर बन्ने इच्छा पुरा भएपनि डेस्टिनेसन (गन्तब्य) भने पुरा नभएको उनी बताउँछिन् । ‘अब यो भन्दा अगाडि कसरी अगाडि बढ्ने भन्ने हो, अझै यो संस्थालाई कसरी अगाडि बढाउने, सक्षम र सवल संस्था कसरी बनाउने भन्नेतर्फ मेरो र हाम्रो टिमको ध्यान जान्छ,’ उनले भनिन्, ‘म बैंकिङमै हुन्छु, नेतृत्वदायी भूमिकामै हुने सबैको उद्देश्य हुन्छ, काम गर्दै जाऔं, गन्तव्यमा त किन नपुगिएला ।’