क्लास टपर बैंकर सिवाकोटीको बैंकिङ यात्रा…
काठमाडौं । जीवन के हो ? मैले यो प्रश्न ग्लोबल आईएमई बैंककी चिफ मार्केटिङ म्यानेजर शान्ता सिवाकोटीलाई सोधेँ । उनले जवाफमा भनिन्, ‘जीवन व्यक्तिको च्वाइस हो,’ उनले अझ प्रष्ट पार्न खोजिन्, ‘जीवन जन्म र मृत्यु बीचको च्वाइस नै हो, यसलाई कसरी अगाडि बढाउने भन्ने मुख्य हात स्वयम् व्यक्तिको नै हुन्छ । तपाईंलाई थाहा हुँदैन कि तपाईं कसरी जन्मनु भयो र कसरी मृत्यु हुन्छ । त्यो बीचमा हामीसँग जति समय छ, त्यो समयमा आफूलाई खुसी भएर कसरी अगाडि बढाउने भन्ने नै जीवन हो जस्तो लाग्छ ।’ मैले फेरि जिज्ञासा गरेँ, जीवनमा दुःख हुँदैन ? उनले हाँस्दै मैतिर प्रश्न तेर्स्याइन्, कसैको जीवनमा दुःख नहुने पनि हुन्छ र ? जीवनमा सुख दुःख अवश्य नै हुन्छ । तर, व्यक्तिले त्यसलाई कुन रुपमा लिन्छ र कसरी ग्रहण गर्छ भन्ने विषय मुख्य हो । उनले आफ्नै उदाहरण दिइन्, जस्तै म कहिल्यै पनि कामलाई ड्युटीका रुपमा लिन्न । मैले मेरो कामलाई सर्वोपरी ठान्छु । कामलाई मनोरञ्जनका रुपमा लिन्छु । जब व्यक्तिले कामलाई मनोरञ्जन र त्यसलाई आफ्नो प्यासनको रुपमा लिन्छ नि खुसी आफुसँगै दौडिन्छ ।’ प्यासन…? म अडिएँ ‘हो, खुसी हुन प्यासन चाहिन्छ,’ उनले भनिन्-‘व्यक्तिमा प्यासनप्रतिको लगाव, झुकाव र इमान्दारिता चाहिन्छ, अनि मात्र व्यक्ति सफल हुन्छ । मेरो पनि बैंकर बन्ने सानैदेखिको प्यासन थियो । त्यो सपना मैले पछ्याइरहेँ, आफूले सकेसम्म मेहनत गर्दै गएँ, त्यसैले त अहिले म यो स्थानमा छु, बैंकमै काम गरेको २० वर्ष पुग्यो, सायद दुःखका दिनहरु त सकिए होलान्, पहिले दुःख गरेकै कारण २० वर्षसम्म काम गरेर मार्केटिङको नेतृत्वदायी भूमिकामा छु, अझै यात्रा लामो छ, सपना राती होइन दिउँसो देख्नुपर्छ र ती सपना पुरा नहुञ्जेल पछ्याइरहनुपर्छ ।’ सन् २००० बाट बैंकिङ करियर सुरु ग्लोवल आईएमई बैंकमा चिफ मार्केटिङ म्यानेजर पदमा कार्यरत शान्ता सिवाकोटीले बैंकिङ क्षेत्रमा काम गरेको २० वर्ष पुग्यो । सन् २००० को सेप्टेम्बर महिनाबाट बैङ्किङ क्षेत्रमा प्रवेश गरेकी सिवाकोटी नेपाली बैंकिङ क्षेत्रमा काम गर्ने महिलाहरुमध्ये एक परिचित नाम हो । आजभन्दा २० वर्ष अगाडि एनआईसी (हालको एनआइसी एशिया) बैंकबाट बैंकिङ करियर सुरु गरेकी उनले ६ वर्ष सो बैंकमा काम गरेर त्यसपछि हालको ग्लोबल आईएमई बैंकमा प्रवेश गरिन् । ग्लोबल आईएमई बैंकको स्थापनाकालदेखि कार्यरत उनी सो बैंकको विभिन्न विभागमा नेतृत्व गरेर सफल भूमिका निर्वाह गर्दै आएकी छिन् । उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘२० वर्षे बैंकिङ करियरमा थुप्रै उतार चढावको सामना गर्नु पर्यो तर समस्याहरुलाई मैले कहिल्यै समस्याको रुपमा लिइन, हिँड्दै जाँदा लाग्ने ठक्करका रुपमा लिएँ, त्यसले झन् मलाई अनुभव र ज्ञान हासिल गर्न मद्दत पुर्यायो ।’ महिला भएकै कारण कहिल्यै आफूलाई कमजोर महशुस गर्नु नपरेको उनी बताउँछिन् । आफ्नो परिवार कार्यालयका सहकर्मीहरुको साथ र सहयोगले पनि आफ्नो बैंकर बन्ने ठूलो इच्छा पूरा गर्न पाएको उनको भनाई छ । एनआईसी एसिया बैंकमा एसिस्टेन्ट तहबाट बैङ्किङ यात्रा सुरु गरेकी उनले हालसम्म विभिन्न डिपार्टमेन्टमा रहेर काम गरिसकेकी छिन् । एनआइसी एशिया बैंकको फाइनान्स र ट्रेजरी विभागमा ६ वर्षसम्म काम गर्दा आफूले बैंक सम्बन्धि थुप्रै विषयहरु बुझ्ने अवसर पाएको बताउँछिन् । त्यससँगै ग्लोबल आईएमई बैंकमा आफूले ट्रेजरी, अपरेसन, मार्केटिङ, विजनेस प्रमोसन, ब्रान्डिङ, ब्रान्च म्यानेजरदेखि सरकारको अल्टरनेटिभ प्रोमोसन सेन्टर (एपीसी) फन्ड लगानी सम्बन्धी प्रोजेक्टको नेतृत्व सम्हालिसकेको उनी बताउँछिन् । हाल उनी बैंकको चिफ मार्केटिङ म्यानेजरको रुपमा कार्यरत छिन् । बैंकर बन्ने धोको सिवाकोटीका बुवा पनि बैंकर नै हुन् । राष्ट्रिय वाणिज्य बैंकमा काम गर्ने उनका बुवा कहिलेकाहिँ उनलाई पनि आफूसँगै बैंकमा लिएर जान्थे । उनी आफ्नो विगत सम्झिँदै सुनाउँछिन्, ‘एकदिन बुवाले मलाई आफूसँगै बैंकमा लैजानु भयो, बुवाको बस्ने कोठा चिटिक्क परेको थियो, छेउमा धेरै बक्स थिए। मलाई ती सबै पैसा राखेको ब्याग (झोला) हो वा पत्र राखेको ब्याग हो जस्तो लाग्थ्यो । त्यहाँको इन्भाइरोन्मेन्ट (वातावरण) एकदमै रमाइलो लाग्यो । ओहो ! बैंक कति रमाइलो हुँदो रहेछ । त्यहाँको माहोल हेर्दा मलाई पनि बुवा जस्तै बैंकर बन्ने इच्छा लाग्यो । बैंकप्रतिको पहिलाे इम्प्रेसन नै मेरो त्यही हो ।’ बैंकर बन्ने चाहनाकै कारण सानै उमेरमा बैंकमा खाता खोलेको उनको भनाई छ । ‘मैले बैंकमा खाता खोलेको पनि थाहा छ । पैसा जम्मा गर्ने भनेको पनि थाहा छ । अनि मैले त्यहाँ पैसा राखेर कसरी नाफा गरेर मलाई बढी पैसा अर्थात ब्याज आउँछ भन्ने काैतुहलता थियो । तर, विस्तारै ऋण लगानी हुँदो रहेछ, ऋण इल्ड हुँदो रहेछ भन्ने बुझेँ,’ उनले आफ्नो विगत सम्झिँदै अनुभवहरु पनि सुनाइन् । २ हजारमा १३ जना छनोट सिवाकोटीलाई बैंकमा काम गर्नु पर्छ भन्ने उत्सुकताले निकै स्थान लिइसकेको थियो । एकदिन उनले एउटा पत्रिकामा बैंकमा काम गर्नको लागि विज्ञापन आएको देखिन् । विज्ञापन थियो हालको एनआईसी एशिया बैंकको । उनले पनि सो बैंकमा आवेदन दिने मनसाय बनाइन् । ‘म त्यो समयमा आफै शारिरीक रुपमा अस्वस्थ थिएँ, प्रेगनेन्टको समय भएकोले पनि म शारिरीक रुपमा असहज फिल गरिरहेकी थिएँ । तर, त्यो समय मैले आफैलाई परीक्षण गर्ने खालको थियो, शारिरीक रुपमा गाह्रो भए पनि मैले आवेदन दिएँ, २ हजार जनाले आवेदन दिएका थिए तर पछि १३ जना मात्र छनोट भए । त्यतिखेर पनि मैले आफूलाई जज गर्ने अवसर पाएँ,’ उनले भनिन् । त्यतिखेर पनि आफ्नो नाम १/२ नम्बरमा निस्केको उनले खुसी हुँदै सुनाइन् । ‘मलाई अहिले अचम्म लाग्छ, १० क्लास पनि पास नहुँदा ९ क्लास पढाउँथे, अहिले आफैलाई आएर ओहो लाग्छ, त्यतिखेर मेहेनत गरेकै कारण अहिले छोरीहरुलाई गाइड गर्न पनि सजिलो हुन्छ,’ उनले थपिन् । जहिल्यै क्लास टपर वि.सं २०३५ सालमा दोलखामा जन्मिएकी शान्ता सिवाकोटीको बाल्यकाल भने काठमाडौंमै बित्यो । कक्षा एकदेखि बानेश्वरको शिशु विद्याश्रम (हालको एपेक्स लाइफ स्कूल) अध्ययन गरेकी उनी कक्षा १० सम्म क्लास टपर नै भइन् । एपेक्स लाइफ स्कूलबाट एसएलसी दिएकी उनी आफू भाग्यमानी भएको महसुस गर्छिन् । ‘म घरको पहिलो बच्चा हो, त्यसैले पनि मैले धेरै माया पाएँ , ग्राण्ड पारेन्टस् (हजुरआमा हजुरबुबा) पनि सँगै बस्नुहुन्थ्यो । मेरो बुवा पनि बैंकमा नै काम गर्नु हुन्थ्यो । घरमा विभेद कहिल्यै भोग्नु परेन । मेरो दुई जना भाई र एक जना बहिनी छन् । अरुको कुरा सुन्दा म भाग्यमानी छु जस्तो फिल हुन्छ।’ उनले आफ्नो बाल्यकालको अवस्था सुनाइन् । ‘बानेश्वरमै स्कुलिङ भयो । शिशु विद्याश्रम स्कूलको म पहिलो ब्याच थिएँ, उनले विद्यार्थीको जीवनको अनुभव सुनाउँदै भनिन्, ‘म जति ठूलो हुँदै गएँ, स्कूल पनि त्यति ठूलो हुँदै गयो । ४ क्लासबाट स्तरोन्नती हुँदै गएको सो स्कुुल म एसएलसी दिँदासम्म त्यतै पढ्न पाएँ, एसएलसी पढ्दासम्म क्लास टपर नै भएँ, तर टपर हुनेलाई अर्को वर्ष टपर भइन्छ कि भइन्नँ भन्ने प्रसेर चाहिँ हुँदो रहेछ ।’ पढेकै स्कुलमा अध्यापन शान्ता सिवाकोटीको जीवन सानैदेखि पढाईमा राम्रो भएकै कारण उनले एसएलसी परीक्षा दिएको पछिल्लो दिनमै आफू पढेको स्कूलमा पढाउने अवसर पाइन् । आफूमा क्षमता छ भने अवसरका ढोकाहरु सधैँ खुला हुने रहेछन् भन्ने कुरा पनि उनले थाहा पाइन् । ‘म क्लास टपर हुन्थे, प्राध्यानाध्यापक सरले पनि मलाई धेरै माया गर्नु हुन्थ्यो, मेरो पढाईकै कारण मैले परीक्षा दिएको पछिल्लो दिनमै उहाँले मलाई सोही स्कूलमा पढाउन आग्रह गर्नुभयाे । मैले पनि पढाएँ, आजकाल सम्झेर आफूलाई नै अचम्म लाग्छ,’ उनले भनिन् । उनले एसएलसीको नतिजा नआउँदासम्म सोही स्कूलमा पढाइन् । तर, पछि नतिजा आएपछि भने निरन्तर पढाउन नसकेको उनी सुनाउँछिन् । प्लस टु पढ्नु पर्ने भएको कारणले पनि नियमित पढाउन छोडेको उनको भनाई छ । तर, दिउँसो कलेज गए पनि बिहानको समयमा सोही स्कूलको होष्टेलमा बस्ने विद्यार्थीहरुलाई पढाउन भने उनले छोडिनन् । १६ वर्षको उमेरदेखि काम गर्न सुरु गरेको बताउने बैंकर सिवाकोटीले आफू पहिलेदेखि नै केही काम गर्नु पर्छ भन्ने मानसिकताको भएको बताउँछिन् । उनले एउटा रमाइलो घटना पनि सुनाइन् । ‘स्कूलमा पढाउँदै गर्दा प्रिन्सिपल सरले रुटिङ तयार पार्नु भएको थियो, मसँगै पढाउने अन्य साथीकाे रुटिङमा नाम थियो तर मेरो नाम रुटिङमा थिएन, मैले ओहो ! मेरो नाम त रहेनछ भनेर आफै झस्किएँ, पछि सरलाई सोध्न गएँ । उहाँहरुले मलाई ८/९/१० कक्षामा राखिदिनु भएछ । भर्खरै १० क्लासको परिक्षा दिएको मैले १० क्लासलाई पढाउन पाउँदा सरहरुले मलाई त्यतिसम्मको क्षमतावान सोचिदिँदा म धेरै खुसी भएकी थिएँ ।’ १९ वर्षको उमेरमा विवाह सिवाकोटीले भर्खर प्लस टु सकेर स्नातक ज्वोइन गरेकी थिइन् । त्यतिखेर उनी १९ वर्षकी थिइन् । उनको सोही समयमा विवाह भयो । ‘मैले प्लस टु मात्रै सकेको थिएँ, घरबाट विवाह गरिदिए, विवाह भएपनि पढाई छोड्नु हुन्न भन्ने मानसिकतामा म थिएँ, विवाहपछि पनि पढाईलाई निरन्तरता दिएँ, श्रीमानको सहयोगले पनि म अहिले यो स्थानमा छु जस्तो आफूलाई महसुस हुन्छ,’ उनले भनिन् । विवाहपछि नै स्नताक र स्नातकोत्तर पढाई गरेको उनले बताइन् । उनले प्लसटु, स्नातक र स्नातकोत्तर शंकरदेव कलेजबाट नै गरेकी हुन् । विज्नेस स्टडीमै स्नातकोत्तर गरेकी सिवाकाेटीलाई घर व्यवहारले काम र पढाई पनि म्यानेज गर्न सहयाेग मिल्याे । ‘मलाई पढ्नु पर्छ भन्ने सानैदेखिको इच्छा थियो, आमा हाउस वाइफ नै भएपनि पढ्नु पर्छ भनेर हामीलाई जहिल्यै भनिरहनुहुन्थ्यो, पढाईको महत्व के हो भनेर उहाँलाई राम्रोसँग थाहा थियो,’ उनले भनिन्,‘ धेरै जिम्मेवारी भएपछि पढ्न गाह्रो त अवश्य नै हुन्छ । तर, ती समस्याहरुको अगाडि आफ्ना सपना साकार गर्न कुनै समस्याले पनि छेक्ने रहेनछ, जसरी भएपनि मैले यो काम गर्नै पर्छ भन्ने लाग्थ्यो । केही गाह्रो हुँदो रहेछ तर नसकिने भन्ने हुँदो रहनेछ ।’ घरबाट यति धेरै सर्पोट नभएको भए यहाँसम्म आउन समस्या हुने उनको भनाई छ । ‘ढिलासम्म अफिसमा काम गर्नु पर्थ्यो तर घरबाट त्यस्तो कुनै समस्या नै भएन, महिलालाई मात्र होइन घरमा पुरुषको लागि सपोर्ट गर्ने महिला भइनन् भने पनि गाह्रो नै हुन्छ, घरमा श्रीमान र श्रीमती एक अर्काका सर्पोटिभ भएनन् भने सफलता नै हासिल गर्न सकिँदैन,’ उनले भनिन्,‘ श्रीमान शिक्षा फिल्डमा काम गर्नुहुन्छ । दुवै जनाले एक अर्कालाई साथ र सल्लाह दिन्छौं । आफ्नो क्षेत्रमा आफै यो गर्नु पर्छ भन्ने ज्ञान दुवैसँग छ । त्यही भएर पनि यो काम नै गर्नुपर्छ भनेर एक-अर्कालाई बाध्य पार्दैनौं ।’ सिवाकोटीको बुझाईमा बैंकिङ बैंकिङ क्षेत्र अर्थतन्त्रको मेरुदण्ड नै हो । आज पनि बैंकको पहुँचमा नहुनेहरु धेरै जना हुनुहुन्छ । ४० प्रतिशत मानिसले बैंक बुझेका छैनन् । बैंकिङ क्षेत्रले नै अर्थतन्त्रलाई निर्धारण गर्न सक्छ । अर्थतन्त्रका लागि बैंकिङ एउटा महत्वपूर्ण क्षेत्र हो । ‘बैंकिङमा अन्य क्षेत्रभन्दा समय बढी दिनै पर्ने हुन्छ । काम पनि धेरै लामो समयसम्म गर्नु पर्ने नै हुन्छ । मार्केटिङमा हुँदा त दिउँसो बाहिर ग्राहकहरु सँग नै हामी हुन्छौं । बेलुका आएर काम पनि हुन्छ । यसले पनि धेरै जसो महिलाहरु ड्रप आउट हुने गरेका छन् । सबैले अफिसका लागि समय पनि दिन सक्दैनन्,’ उनले आफ्नो अनुभव सुनाइन् । उनले घरव्यवहार र काम सँगै व्यालेन्स गर्न गाह्रो हुने बताउँदै तर यसलाई सहज रुपमा लिएर काम गरे आफ्नो सपना अवश्य नै साकार हुने बताइन् । ‘समय व्यवस्थापन नै गर्न नसकेर धेरै महिलाहरु बैंकिङमा आएर पनि फेरि छोड्ने गरेको देखिन्छन्, यो सबै व्यवस्थापनकै कमजोरी हो, समय व्यवस्थापन गर्ने काम आफ्नो हो,’ उनले भनिन् । अहिले इन्ट्रिमा पुरुषभन्दा महिलाको सहभागिता बढी भएपनि विवाहपछि भने महिलाको सहभागिता बैंकमा कम हुने उनको भनाई छ । ‘घर व्यवहार चलाउन, कार्यालयको काम, आफ्नो व्यवस्थापन गर्न गाह्रो त सबैलाई हुन्छ, तर त्यसको व्यवस्थापन गर्न सिक्नुपर्छ, सुरुवाती चरणमा मलाई पनि एकदमै गाह्रो भएको थियो, त्यतिखेर दुःख गरेकै कारण म यहाँसम्म पुगेँ, मेरो सपना साकार पारेँ,’ उनले भनिन् । समाजको नजर कसैले पनि महिलाको क्षमतामाथि प्रश्न गर्न नहुने उनको तर्क छ । ‘महिलाको क्षमताको विषयमा प्रश्न उठाउनै मिल्दैन, महिला कुनै पनि कोणबाट पुरुषभन्दा कम छैनन्, क्षमताको हिसावले अपार छ , हामी हाम्रो सोचाइकै कारणले पछाडि परेका छौं, अर्को महत्वपूर्ण विषय म सक्दैन कि भन्ने मानसिकता गर्ने र शिक्षामा कम पहुँच भएकै कारण महिलाको सहभागिता कम देखिन्छ,’ उनले भनिन् । महिलालाई हेर्ने समाजको नजर पनि परिवर्तन गर्नु पर्ने उनको भनाई छ । महिला सक्षम हुनको लागि सर्वप्रथम वित्तीय रुपमा शसक्त हुनु पर्ने उनको धारणा छ । ‘घर व्यवस्थापन गर्न पनि धेरै ठूलो क्षमताको आवश्यकता पर्छ, महिलामा एक किसिमको म्यानेजमेन्ट स्किल इनबर्न (जन्मजात) नै छ, खालि सही शिक्षाको अभाव छ, समाजको सोचाईले थिचेको छ, महिलाले गर्न नसक्ने कुनै काम नै छैन, अहिले विद्यालय कलेजमा टपमा महिला नै आएको देखिन्छन्,’ उनले भनिन्,‘पुरुषमा प्राथमिकता दिने मानसिकता हटाउनु पर्छ ।’ नव प्रवेशिकालाई सुझाव बैङ्किङमा अहिले थुप्रै अवसरहरु छन् । विगतको तुलनामा बैङ्कमा प्रवेश गर्ने महिलाहरुको संख्या पनि बढी हुँदै गएको छ । अब केही वर्षभित्रै नेपाली महिलाहरुको बैंकिङमा राम्रै उपस्थिती देखिने उनको भनाई छ । ‘अहिले नेपाली बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिकामा औंलामा गन्न मिल्ने महिलाहरु मात्रै छन्, तर अहिले तल्लो तहमा महिलाहरु थुप्रै भइसकेका छन्, अब कुनै दिनमा लिडिङ पोष्टमा पनि महिलाको सहभागिता देखिन्छ,’ उनले भनिन् । महिला पछाडि पर्नुमा पारिवारिक र कार्यालय अनि व्यवस्थापनको असहयोग कारक तत्व रहेको उनको भनाई छ । ‘विवाह पश्चात बच्चा हुने र बच्चा हुर्काउनका लागि जागिर नै त्याग्नु परेको अवस्था छ, उनले भनिन्, यसलाई व्यवस्थापन गरेर अगाडि बढे गर्न नसकिने भन्ने केही छैन ।’ बैंकमा प्रवेश गर्न चाहनेले सशक्त रुपमा आफ्नो प्यासनलाई आत्मसाथ गर्दै अगाडि बढाउनु पर्ने उनको भनाई छ । ‘विश्वबारे जानकारी राखौँ, नयाँ नयाँ टेक्नोलोजीबारे जानी राखौं, आफ्नो लक्ष्यलाई पछ्याइ रहौं, रातमा होइन दिनमा सपना देखौं, पक्कै पनि एकदिन सपना साकार पार्न सकिन्छ,’ उनी सुझाव दिन्छिन् । उनले आफुले बच्चा जन्माएको डेढ महिनामै काममा फर्केको अनुभव सुनाइन् । कामलाई सर्वोपरी ठानेर लागे सपना साकार गर्न समय नै नलाग्ने उनको भनाई छ । उनले सपना साकार गर्नको लागि हार्ड वर्कर, कमिटमेन्ट र काममा डेडिकेसन राख्नु पर्ने उनको भनाई छ । ग्लोवल आईएमई बैंकमा योगदान चिफ मार्केटिङ म्यानेजर शान्ता सिवाकोटी ग्लोवल आईएमई बैंक स्थापनाकालदेखि बैंकमा कार्यरत छिन् । बैंकले गर्ने काम र ल्याउने हरेक कार्यक्रमहरुमा सिवाकोटीको ठूलो हात छ । विभिन्न समयमा विभिन्न डिपार्टमेन्टको नेतृत्व गर्दै आएकी सिवाकोटी कार्यकौशलता र सफल नेतृत्वदायी भूमिकाले नै उनले महत्वपूर्ण डिपार्टमेन्टहरुमा काम गर्ने अवसर पनि पाएकी छिन् । ‘व्यक्तिको योगदानभन्दा पनि टिमवर्कको समन्वयले नै ग्लोबल आईएमई बैंक अहिले यो अवस्थामा छ, हामीले नागरिकहरुमा वित्तीय साक्षरता बढाउनदेखि बचत गर्ने बानी बसाल्नको लागि ठूलो पहल गरेका छौं, अहिले एक क्याम्पियनकै रुपमा ‘मेरी उनीलाई’ भन्ने कार्यक्रम ल्याएका छौं । जुन महिला लक्षित प्रडक्ट हो, यस प्रडक्ट मार्फत महिलाहरुलाई वित्तीय साक्षरता प्रदान गर्न महत्वपूर्ण योगदान पुग्नेछ, भन्ने हाम्रो विश्वास छ,’ उनले भनिन् । ‘हामीले मेरी उनीलाई प्रडक्ट मात्र होइन यो एउटा अभियानका रुपमा सञ्चालन गरेका छौं, महिलामा क्षमता छ तर अवसर पाइरहेका छैनन्, हामी यसलाई अभियानका रुपमा अगाडि बढाउँछौं, यस मार्फत उनीहरुलाई वित्तीय रुपमा अगाडि बढ्न सजिलो हुन्छ, पहिले उनीहरुको खाता हुन्छ । खाता भएपछि उनीहरु बैंकसँग सम्पर्कमा हुन्छन् । बचत गर्ने बानी बस्छ । विस्तारै बैंकसँग उनीहरुको सम्पर्क हुन्छ । उनीहरु आर्थिक रुपले सुरक्षित भएको पनि महसुस गर्छन् । फिक्स डिपोजिट मार्फत उनीहरु खुसी प्राप्त गर्छन् । आउने दिनमा अगाडि बढ्नको लागि धेरै सहयोग पुग्छ । विस्तारै आर्थिक चलायमान गर्ने बानी बस्छ । त्यसबाट उद्यमशिलताको विकास हुन्छ,’ उनले भनिन् । ‘झण्डा बाकेर नारा लगाएर कहिले पनि महिलाको हक अधिकार पुरा हुन सक्दैन । जबसम्म महिला आर्थिक रुपले सम्पन्न हुन सक्दैनन् तव शसक्तिकरण भन्ने कुरा व्यवहारमा देख्न सकिँदैन । यसमा हामीले लिएको लक्ष्य भन्दा राम्रो सहभागिता छ,’ उनले भनिन् । यी विभिन्न कार्यक्रमहरु ल्याउन आफ्नो र टिमको ठूलो हात रहेको उनको भनाई छ । अबको गन्तब्य आफ्नो बैंकर बन्ने इच्छा पुरा भएपनि डेस्टिनेसन (गन्तब्य) भने पुरा नभएको उनी बताउँछिन् । ‘अब यो भन्दा अगाडि कसरी अगाडि बढ्ने भन्ने हो, अझै यो संस्थालाई कसरी अगाडि बढाउने, सक्षम र सवल संस्था कसरी बनाउने भन्नेतर्फ मेरो र हाम्रो टिमको ध्यान जान्छ,’ उनले भनिन्, ‘म बैंकिङमै हुन्छु, नेतृत्वदायी भूमिकामै हुने सबैको उद्देश्य हुन्छ, काम गर्दै जाऔं, गन्तव्यमा त किन नपुगिएला ।’
सर्वाेत्तम सिमेन्टले ल्याउने बुक विल्डिङ प्रक्रियाको आइपिओ के हो ? कति कित्ता किन्नुपर्छ ?
काठमाडौं । रियल सेक्टरका कम्पनीहरु पुँजी बजारमा आएनन् भनेर गुनासो भइरहेको समयमा सर्वाेत्तम सिमेन्ट पुँजी बजारमा आउने अन्तिम तयारीमा छ । तर, यो कम्पनीले नेपाली पुँजी बजारको इतिहासमै फरक तरिकाले आइपिओ जारी गर्न लागेको छ । अहिलेसम्म प्रतिकित्ता अंकित मूल्य (सामान्यतः प्रतिकित्ता सय रुपैयाँ) मा र प्रिमियम मूल्यमा आइपिओ जारी हुँदै आएकोमा सर्वाेत्तमले भने बुक विल्डिङ प्रक्रियाबाट आइपिओ जारी गर्न लागेको हो । अहिलेसम्म नेपालमा बुक विल्डिङ प्रक्रियाबाट आइपिओ जारी हुन लागेको यो नै पहिलो पटक भएको धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी बताउँछन् । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले यसैपाली बुक विल्डिङ निर्देशिका २०७७ जारी गरेपछि सर्वाेत्तम सिमेन्टले सोही प्रक्रियाबाट आइपिओ जारी गर्ने तयारी अन्तिम अवस्थामा पुर्याएको हो । के हो बुक विल्डिङ प्रक्रिया ? बोर्डले जारी गरेको निर्देशिका ‘बुक विल्डिङ विधि भन्नाले संगठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा धितोपत्रको निष्कासन मूल्य निर्धारण गरिने विधि वा प्रक्रिया सम्झनु पर्छ’ भनेर परिभाषा खण्डमा लेखिएको छ । यसलाई अझ सजिलो हुने गरी यसरी बुझौं । जस्तो कि कुनै कम्पनीले आइपिओ जारी गर्न लाग्यो भने सो कम्पनीले पुँजी बजारका संस्थागत लगानीकर्तालाई आफ्नो कम्पनीको सबै विवरण उपलब्ध गराउँछ । सबै विवरण पाएपछि संस्थागत लगानीकर्ताले सो कम्पनीको सेयर आफूले यति मूल्यमा किन्न सक्ने भनेर जानकारी आइपिओ जारी गर्ने कम्पनीलाई गराउँछन् । संस्थागत लगानीकर्ताले आइपिओ जारी गर्ने कम्पनीको मूल्य प्रस्ताव पठाउनुअघि आफ्ना विशेषज्ञलाई कम्पनीको वित्तीय अवस्था, आगामी योजना, सम्भावित प्रतिफल, कम्पनीको संचालक समिति र व्यवस्थापनको नेतृत्व गरिरहेका अधिकारीहरुको विगतदेखिको कार्यसम्पादनका आधारमा अब कस्तो कम्पनी बन्ला भन्ने विश्लेषण, दोस्रो बजारमा कम्पनीको सेयरले पार्ने प्रभाव लगायतका विषयको विश्लेषण गर्छन् । यस्तो विश्लेषणबाट प्राप्त नतिजाको आधारमा संस्थागत लगानीकर्ताले आइपिओ जारी गर्ने कम्पनीको आइपिओ आफूले यति मूल्यमा किन्ने भनेर प्रस्ताव पठाउने गर्छन् । यसरी विभिन्न संस्थापक लगानीकर्ताबाट प्राप्त भएको आइपिओको मूल्यको औसत मूल्य आइपिओ जारी गर्ने कम्पनीले निकाल्छ । यसरी निकालिएको मूल्य नै आसय हुन्छ । यो आसय मूल्य तय हुने प्रक्रिया नै बुक विल्डिङ विधिबाट आइपिओको मूल्य तय हुने विधि वा प्रक्रिया हो । कतिवटा लगानीकर्ताले तय गरेपछि निर्धारण हुन्छ आसय मूल्य ? निर्देशिकाले यसको पनि निक्र्योल गरेको छ । कम्तिमा १० वटा संस्थागत लगानीकर्ता सहभागी भएर उनीहरुले मूल्य प्रस्ताव गरेपछि आसय मूल्य तय हुन्छ । अर्थात सर्वाेत्तम सिमेन्टको हकमा पनि कम्तिमा १० संस्थागत लगानीकर्ताले पठाएको मूल्यको औसत निकालेपछि आसय उसको आइपिओको आसय मूल्य तय हुन्छ । को हुन् संस्थागत लगानीकर्ता ? बुक विल्डिङ निर्देशिका २०७७ ले बुक विल्डिङ प्रक्रियामा सहभागी हुनको लागि योग्य संस्थागत लगानीकर्ता पनि तोकेको छ । निर्देशिका अनुसार (क) सूचिकृत संगठित संस्था, (ख) विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, (ग) सामूहिक लगानी कोष व्यवस्थापक, (घ) सामूहिक लगानी कोषका योजना, (ङ) मर्चेन्ट बैंकर, (च) मान्यता प्राप्त अवकाश कोष, (छ) बोर्डले समय समयमा तोकेका अन्य कोष वा कम्पनी वा संस्थालाई योग्य संस्थागत लगानीकर्ता भनिएको छ । यस्तै, बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन सम्बन्धी अन्य व्यवस्था बोर्डले निर्देशिकामा तोके बमोजिम हुनेछ भनिएको छ । यो भनेको धितोपत्र व्यापार र धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित लगानी कम्पनी हुन् । यी दुबै प्रकारका कम्पनीको नेटवर्थ कम्तिमा पनि १० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ । कस्ता कम्पनीले पाउँछन् बुक विल्डिङ विधिबाट आइपिओ जारी गर्न ? यसको पनि मापदण्ड बनाइएको छ । बोर्डले (क) संगठित संस्था विगत तीन आर्थिक बर्षदेखि लगातार खुद नाफामा संचालनमा रहेको, (ख) संगठित संस्थाको साधारणसभाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको, (ग) संगठित संस्थाको प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पूँजीको कम्तिमा १५० प्रतिशत रहेको, (घ) संगठित संस्थाले कम्तिमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्छ । योग्यता पुगेका संगठित संस्थाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नु पर्नेछ । यसरी प्राप्त भएको खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्ने हुन्छ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको सेयर नेप्सेमा सूचिकरण भएको मितिले छ महिनासम्म बिक्री वा हस्तान्तरण गर्न भने पाइदैन । तर, सर्वधारणको हकमा भने यस्तो बन्देज छैन । सर्वसाधारणलाई १० प्रतिशत सस्तो बुक विल्डिङ प्रक्रियाद्वारा तय भएको आधार मूल्य संस्थागत लगानीकर्ताको हकमा हो । सर्वसाधारणले भने यसरी तय भएको मूल्यमा १० प्रतिशत सस्तोमा आइपिओ किन्न पाउँछन् । कति कित्ता किन्नुपर्छ ? अहिले आइपिओ हाल्नको लागि कम्तिमा एक हजार रुपैयाँ भए हुन्छ भन्ने जस्तो सन्देश प्रवाह भएको छ । किनभने धितोपत्र बोर्डले कम्तिमा १० कित्ताको लागि आइपिओ माग गरे हुने भनेको छ भने कम्तिमा १० कित्ताका दरले पुगेजति सबैलाई आइपिओ बाँडफाँड गर्नुपर्ने व्यवस्था पनि गरेको छ । तर, बुक विल्डिङ प्रक्रियाबाट आइपिओ जारी गर्ने कम्पनीको १० कित्ता किनेर हुँदैन । सर्वसाधारणले पनि यस्तो आइपिओ कम्तिमा पनि ५० कित्ता किन्नको लागि आवेदन दिनुपर्ने भनिएको छ । सर्वाेत्तमको आइपिओको मूल्य कति ? सर्वाेत्तम सिमेन्टले बुक विल्डिङ प्रक्रियाबाट निष्कासन गर्न लागेको आइपिओको आधार मूल्य प्रतिकित्ता ७५० रुपैयाँ तोकिएको छ । तर, अहिले भनिएको यो मूल्य नै अन्तिम नहुन पनि सक्छ । किनभने कम्पनीले भनेको यो ७५० रुपैयाँ मूल्य अण्डरराइटर कम्पनीहरुले तय गरेको मूल्य हो । संस्थागत लगानीकर्ताबाट सर्वाेत्तम सिमेन्टले प्राप्त गरेको आसय मूल्यका आधारमा प्रतिकित्ता ७५० रुपैयाँ नै आधार मूल्य तय भएपनि सर्वसाधारणको लागि योभन्दा १० प्रतिशत सस्तो अर्थात प्रतिकित्ता ६७५ रुपैयाँ हुनेछ । तर, सर्वाेत्तम सिमेन्टले मेरो आइपिओको आसय मूल्य यति यति प्राप्त भयो, त्यसको आधारमा आधार मूल्य यति हो भनेर नियामक निकाय धितोपत्र बोर्डमा कुनै जानकारी गराएको छैन । कम्पनीले प्राप्त गरेको आसय मूल्यका आधारमा तय भएको आधार मूल्यप्रति पनि नियामक निकाय धितोपत्र बोर्डले थप अध्ययन गर्न सक्ने अवस्था रहन्छ । त्यसैले सर्वाेत्तम सिमेन्टको बुक विल्डिङ प्रक्रियाबाट जारी हुने आइपिओको मूल्य कति हो भनेर यकिन भइसकेको छैन । यद्यपि कम्पनीले आफ्नो आधार मूल्य प्रतिकित्ता ७५० रुपैयाँ नै हो भनेर दाबी गरेको छ । किन ७५० रुपैयाँ ? आफ्नो कम्पनीको आइपिओको मूल्य ७५० रुपैयाँ नै हुनुका पछाडि कम्पनीले १५ कारण रहेको दाबी गरेको छ । सर्वाेत्तम सिमेन्टले दाबी गरेका १५ वटा आधार यस्ता छन्ः १. कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता ३ हजार मेट्रिक टन तथा वार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन क्षमता र कम चुक्ता पूँजीमा बढी उत्पादन हुँदा बढी प्रतिफल दिन सक्ने । २. कम्पनीले आफ्नो व्यवसायिक उत्पादन शुरु गरेपछि नै नाफा कमाउदै आएको र विगत ३ वर्षको औषत नाफा (कर पछिको) वार्षिक १ अर्ब ४ करोड रुपैयाँभन्दा वढी भएको । ३.विगत तीन वर्षको औषत इपीएस ५२ रुपैयाँ रहेको र आगामी तीन वर्षको औषत इपीएस ४५ रुपैयाँभन्दा वढी प्रक्षेपित गरिएको । ४. कम्पनीको रिजर्भमा २०७७ माघ मसान्तसम्म २ अर्ब ३१ करोड रुपैयाँभन्दा वढी रहेको । ५. हाल कम्पनीको सम्पति २० अर्ब रुपैयाँ रहेको । ६. आगामी ३ वर्षसम्म आयकरमा ५ प्रतिशत छुट पाउने भएकोले वढी प्रतिफल दिनसक्ने । ७. आइपिओबाट प्राप्त रकममध्ये ४० प्रतिशतले ऋण भूक्तानी गरी शतप्रतिशत ऋण मुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर हुने भएकाले, यसबाट ४ बर्षपछि बार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढि हुन जाने प्रक्षेपण गरिएकाले । ८. आइपिओ जारी पश्चात पहिलो ३ महिनाभित्रै १० प्रतिशत वोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने निश्चित भएकोले सो वापत झण्डै १०० रुपैयाँ प्रतिसेयरको आम्दानी तत्कालै हुने । ९. सेयरधनीले तिरेको ६५० रुपैयाँ प्रिमियमको १५ प्रतिशतले हुन आउने प्रतिसेयर ९७.५० रुपैयाँ कम्पनीको रिजर्भमा रहने भएकोले सो वापत थप वोनस सेयर जारी हुने संभावना रहेको । १०. इक्राबाट आइपिओ रेटिङ्ग थ्रीबीप्लस पाएकोले कम्पनी लगानीकर्ताको लागि औषतभन्दा बढी राम्रो रहेको । साथै इक्रा रेटिङ्ग अनुसार कम्पनीको चुनढुंगा तथा ढुवानीको लागत अन्य सिमेन्ट उद्योगकोभन्दा कम रहेकोले कम्पनीले बढी प्रतिफल दिन सक्ने । ११. संस्थागत लगानीकर्तालाई ७५० रुपैयाँ मूल्य तोकिएकोमा सर्वसाधारणले ७५० मा १० प्रतिशत घटाई ६७५ रुपैयाँमा सेयर पाउने भएकोले सर्वसाधारण लगानीकर्तालाई सहुलियत भएको । १२. कम्पनीले आफ्नो हालसम्मको रिजर्भबाट १० प्रतिशत वोनस सेयर र २५ प्रतिशत नगदा लाभांश दिने भएकोले, सेयर खरिदको तीन महिना भित्रै लगभग १०० रुपैयाँ बराबरको प्रतिफल प्राप्त हुने । यसरी सर्वसाधारण लगानीकर्ताको सेयर मुल्य ५७५ रुपैयाँ मात्र पर्न जाने । १३. २५ बर्षभन्दा बढी सिमेन्ट उद्योग सञ्चालन गरेका अनुभवी सञ्चालकहरुबाट सञ्चालित उद्योग भएकाले, संचालन लगात न्यून रहेकाले । १४. डेनमार्कवाट आयातित अत्याधुनिक भीआरएम प्रविधिवाट सिमेन्ट उत्पादन गर्दा विद्युतमा ३० प्रतिशत वचत हुने तथा कोइला खपतमा २० प्रतिशतसम्म वचत हुने भएकाले लागत कम भई बढी प्रतिफल दिने । १५. कम्पनीसँग ९० वर्ष पुग्ने चुनढुङा खानी रहेकोले उत्पादन क्षमता वढाउदै लैजान सजिलो रहेको ।
हिमानीदेखि मनिषासम्म पुगेको अनानिक ब्युटी सैलुन, नेपालमा ५ र क्यानाडामा २ वटा ब्रान्च
काठमाडौं । कोभिड १९ को महामारीले धेरै कुरा अस्तव्यस्त बनाइदियो । मानिसहरुको जनजीवनमा यसले ठूलै उथलपुथल ल्यायो । लकडाउनमा धमाधम पसल, रेस्टुराँहरु बन्द हुँदै गए । व्यवसाय ठप्प हुँदै गयो । राजधानीबाट मानिसहरु सुरक्षित बासको खोजीमा गाउ फर्किन थाले । तर, त्यहि संकटको बेला बौद्धमा भने ठूलै लगानीमा अनानिक ब्युटी सैलुन एण्ड स्पा सञ्चालनमा आयो । केही अघि अभिनेत्री मनिषा कोइरालाले यसको औपचारिक रुपमा उद्घाटन गरिन् । प्रतिनिधि सभा सदस्य शान्ता चौधरी, क्याप्टेन विजय लामा, मिस नेपाल २०२० नम्रता श्रेष्ठ, नायिका स्वस्तिमा खड्का लगायत एक दर्जन नाम चलेका कलाकारहरुको जमघट पनि यसमा जमघट थियो । लकडाउनका बेला यो सैलुनले घर–घरमै गएर सेवा दियो । विषम परिस्थीतिमा पनि फरक तरिकाले व्यापार गर्न सकिन्छ भन्ने पाठ कोरोनाले सिकायो । त्यसो त अनानिक व्युटि सैलुनले यसअघि नयाँबानेश्वर, दरवारमार्ग, पोखरामा आफ्ना ब्राञ्च विस्तार गरिसकेको छ । लकडाउनपछि भने लाविम मलमा पनि थप नयाँ ब्राञ्च विस्तार भईसकेको छ । अनानिक व्युटि सलोन एण्ड स्पाले नेपालमा ५ वटा ब्राञ्च फैलाइसकेको छ । क्यानाडामा यसका दुई वटा ब्राञ्च छन् । यसका सञ्चालक हुन्, भोजुर, पातलेपानी, बाख्रेम स्थायी घर भएका सुरविन वान्तवा राई । क्यानाडामा भने उनकी दिदी जुनु देवीले व्यवसायलाई सम्हाल्छिन् । जुनु देवीको उपनाम हो, अनानिक । त्यही नामबाट सैलुन खोलिएको हो । जुन अहिले सैलुनहरुको भीडमा बेग्लै ब्राण्ड बनिसकेको छ । सुरविनले नेपालमा ट्राभल एजेन्सी चलाएका थिए । सामाजिक अभियन्ताका रुपमा सक्रिय रहेका उनी दिदीकै कारण सैलुन व्यवसायमा संलग्न भए । अहिले नेपालमा सबै सैलुनका ब्राञ्चहरू उनले नै सम्हालिरहेका छन् । पेशाले उनका बुबा राम बहादुर शिक्षक हुन् । परिवारबाट सबैको सहयोग रहेको उनले बताए । नेपालमा सन् २०१३ मा पहिलो पटक नयाँ बानेश्वरमा अनानिक सुरु भयो । ९ जना स्टाफ र एक करोड रुपैयाँको लगानी गरेको सञ्चालक सुरबिनले बताए । ‘व्यवस्थित, ठूलो र सुविधायुक्त थियो । मानिसहरू आउँदा तर्सिन्थे ।’ उनी भन्छन्, ‘सिमित प्रोफेसनल व्यक्तिहरु आउँथे ।’ अनानिकमा अन्य ठाउ भन्दा बढी सुविधा भएकाले बैंकर्स, राजदुत, फाइभ स्टार होटेलका स्टाफ, स्कुल कलेजका सञ्चालक, एनजिओ, आइएनजिओका कर्मचारीको रोजाइमा पर्यो । त्यसबेला देखि यो सैलुनका आफ्नै ग्राहकहरु छन् । अहिलेसम्म यस सैलुनबाट १ हजार भन्दा बढीले तालिम लिइसकेका छन् । जेल, नेल, फेसियल, हेयर कट्, पेडिकेयर, मेनिकेयर जस्ता फरक–फरक विधामा यसले तालिम प्रदान गर्दै आएको छ । यहाँबाट सिकेर गएकाहरु युरोप, अस्ट्रेलियामा आफ्नो व्यवसाय गरिरहेका छन् । बिपन्न, पिछडिएका, विपन्नलाई नि:शुल्क तालिम दिएको र उनीहरूले आफ्नै व्यवसाय गरिरहेको सञ्चालक सुरविन बताउँछन् । यही समाजसेवाको कामलाई पूर्व युवराज्ञी हिमानी शाहले तारिफ गरेकी छिन् । लाबिम मल ब्राञ्चको उद्घाटनमा पनि हिमानी उपस्थित भएकी छिन् । ‘लकडाउनमा अनानिकले घर–घर पुगेर सेवा दिएर आफ्नो व्यवसायलाई निरन्तरता दियो । लकडाउनले ठूलो पाठ सिकायो ।’ उनी भन्छन् ‘सबै व्यवसाय बन्द हुँदा हामीले आफ्नो कामलाई निरन्तरता दियौं ।’ प्रियंका कार्की, स्वस्तीमा खड्का, वर्षा राउत जस्ता थुप्रै सेलिब्रिटीहरुको रोजाईमा परेको सैलुन हो । अनानिकले पाँच वटा ब्राञ्च गरेर ७० जनालाई रोजगारी प्रदान गरेको छ । यो सैलुनले अरु भन्दा फरक तरीकाले जनशक्ति परिचालन गरेको छ । अमेरिका र अस्ट्रेलियामा तालिम लिएर फर्केका चार जना क्रियटिभ स्टाइलिस्ट छन् । काठमाडौंमा एरिया म्यानेजर तोकिएको छ । जसले सबै ब्राञ्चको निरीक्षण गर्छ । हरेक सैलुनमा क्रियटिभ स्टाइलिस्ट छन् । ग्राहकहरूको रुप, बनोट अनुसार हेयर स्टाइलको डिजाइन गर्ने काम गर्छन् । आफ्नो स्टाफहरूलाई अनाटिकले राम्रो सेवा, सुविधा दिएको सञ्चालक सुरविन दावी गर्छन् । उनका अनुसार यहाँ काम गर्ने स्टाफले २० हजार देखि ८० हजार रुपैयाँसम्म पारिश्रमिक पाउँछन् । ओभर टाइम, विदाको समय काम गरेको, प्रोडक्ट बेचेको बेग्लै पैसा आउँछ । विहान साढे ९ बजे खुल्ने अनाटिक साँझ ७ बजे बन्द हुन्छ । नेपालका बुटवल, चितवन लगायतका शहरबाट शाखा खोल्नका लागि प्रस्ताब आईरहेको सुरविन बताउँछन् । नेपाल बाहिर कोरिया, भारत लगायतका देशमा पनि त्यहाँ रहेका नेपालीहरूले ब्राञ्च खोल्नका लागि हौस्याईरहेका छन् । प्राय: भारतबाटै आएका नागरिकहरु सैलुन व्यवसायमा कब्जा जमाइरहेका छन् । सञ्चालक सुरविन नेपालमा काम गर्न यतै जनशक्ति तयार हुनुपर्ने बताउँछन् । ‘किन विदेशबाट मानिस ल्याउनु पर्ने ?’ उनी भन्छन् ‘नेपालीहरुले नै यो काम सिकेर व्यवसाय गर्न सक्छन् । बजार धान्न सक्छन् ।’ सञ्चालक सुरविनका अनुसार ५ वटै ब्राञ्च गरेर १० करोड रुपैयाँ भन्दा बढी लगानी भईसकेको छ । यसमा क्यानाडा बस्ने दिदी जुनु देवीकै ठूलो सहयोग रहेको उनी बताउँछन् । लकडाउन अगाडी सैलुनले राम्रो कारोबार गरेको उनी बताउँछन् । नयाँ बानेश्वरको एउटै शाखाले मात्र एक महिनामा ४० देखि ४५ लाख रुपैयाँ कारोबार गरेको रेकर्ड उनले सुनाए । ‘हरेक ब्राञ्चहरुमा एक लाख रुपैयाँ भन्दा माथि कारोबार हुन्थ्यो ।’ उनी भन्छन्, ‘अहिले स्टाफ खर्च र भाडा तिर्न पुगेको छ । अहिलेलाई यही नै ठूलो कुरा भएको छ ।’ आगामि दिनमा अनानिककै शाखालाई विस्तार गर्ने योजना रहेको सुरविन बताउँछन् । नेपालमा जता पनि सम्भाबना छ । गुणस्तर दिन सक्ने हो भने ग्राहकहरुको कमी नभएको उनको अनुभब छ । हाल सञ्चालनमा आएका ब्राञ्चहरुले पनि त्यो कुराको प्रमाणित गरिसकेका छन् । ‘टिप्न जान्नुपर्छ । नेपालमा अवसर र पैसा जताततै छ ।’ छुट्टिने बेला सुरविनले सुनाए ।