अनि जन्मियो एनएमसी कोप
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अर्थात एनएमसी कोपको इतिहासँग एउटा पृथक र दुःखद घटना जोडिएको छ । जतिखेर मानिसहरुमा नियमित बचतको बानी थिएन । मानिसमा त्यही बचतको बानी बसाल्न ठूलो भूमिका खेलेको छ नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले । सुदूर पूर्वको झापामा अवस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना २०५० साल फागुन २४ गते तदनुसार सन् १९९४ मार्च ८ तारिखमा भयो । यो सहकारी स्थापना हुनु पूर्व भने यहाँको सहकारी अभ्यास भने पृथक खालको थियो । झापा जिल्ला छिमेकी राष्ट्र भारतसँगै जोडिएको छ । झापाका मानिसहरु नेपालका जिल्लाहरुभन्दा पनि भारतका विभिन्न ठाउँको बढी प्रभावमा पर्छन् । अर्थात यहाँका मानिसहरु बढी भारतसँग नजिक छन् । नजिक यस मानेमा कि उनीहरु नुनदेखि सुनसम्मको कारोबार भारतीय बजार सिलिगुडीमै गर्छन् । त्यसैले पनि उनीहरुको व्यापारिक आत्मियता भारतसँग बढी छ । त्यही व्यापारिक आत्मियताकै कारण झापाका केही बुद्धिजिवीहरुले त्यसताका पैसा बचत गर्नकै लागि भनेर भारतको कम्पनीलाई बुझाउँथे । त्यो समयमा स्थानीयस्तरमा अर्थात झापामा आएर भारतीय कम्पनीहरुले पैसा जम्मा गरेर बचतको लागि भनेर लैजान्थे । तर, विडम्बना आफुले जसोतसो बचतको लागि भनेर जम्मा गरेको पैसा भारतीय कम्पनीले फिर्ता नगरेपछि ठूलो समस्यामा परे स्थानीयहरु । यसरी वर्षेनी उठाएको पैसा फिर्ता नआउने भएपछि स्थानीय २६ जना सदस्यहरु मिलेर एउटा सहकारी खाल्ने निधो गरे र त्यही योजनासँग जोडेर आयो एनएमसी कोप अर्थात नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड । एनएमसी कोपको जन्मसँगै वर्षेनी ठगिएका स्थानीयहरुले ठगहरुबाट मुक्ति पाए । झापालीहरुले जसोतसो बचतका लागि छुट्याएको पैसा जम्मा गर्ने विश्वासिलो प्लेटफर्म बन्यो एनएमसी । वर्षौंदेखि पीडित बन्दै आएका स्थानीयहरुले थप पीडित बन्नु परेन । विस्तारै भारतीय कम्पनीबाट ठगिएका पीडितहरुको घाउमा मल्हम लगाउँदै आफ्ना सदस्यहरुलाई खुसी पार्ने सफल सहकारीका रुपमा परिचित बन्यो एनएमसी । सहकारीका मूल्य, मान्यता, सिद्धान्त र मर्मलाई अवलम्बन गर्दै एनएमसीलाई अहिले २७ वर्ष पुगेको छ । एनएमसीको गन्तव्य ठूलो छ । त्यही गन्तव्य सँसँगै आफ्ना सदस्यहरुलाई पनि राहत तथा खुसी पार्ने चुनौती थपिएको बताउँछन् नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मी प्रसाद उप्रेती । २७ वर्षको यात्रामा संस्थाले विभिन्न व्यापार व्यवसाय गर्दै आएको छ । ‘आगामी दिनमा संस्थाले सदस्य र समुदायको विकास एवम् जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने रणनीति छ, अहिले हामीले नेपाल राष्ट्र बैङ्कको स्वीकृतिमा बैङ्किङ कारोबार, डेरी व्यवसाय, सहकारी पसल, चिया व्यवसाय र एकिकृत नमुना कृषि फर्म गरी ५ वटा व्यवसाय सुरु गरेका छौं,’ सीईओ उप्रेतीले भने । करिब ११ अर्बको वासलात ९५ हजार सदस्य साढे दुई दशकभन्दा अगाडि स्थापना भएको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको वित्तीय विवरण नेपाली वाणिज्य बैंकहरुसँग तुलना गर्न योग्य छ । सो सहकारी संस्थाको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार कुल १० अर्ब ९५ करोड ६९ लाख ३९ हजार रुपैयाँको वासलात छ । २६ जनाबाट सुरु भएको एनएमसीले अहिले सदस्यहरुमा पनि ठूलो फड्को मारेको छ । सुरुवाती चरणमा अर्थात २०५० सालमा २ लाख ५३ हजार रुपैयाँबाट सुरु गरेको यो सहकारीको पुँजी रफ्तारमा वृद्धि हुँदै गएको छ । २०७० सालसम्म ९ हजार सेयर सदस्यमा सीमित एनएमसी २०७७ सम्म आइपुग्दा ९५ हजार सदस्य बनाउन सफल भएको छ । जुन आफुलाई नेपालको उत्कृष्ट सहकारी भनेर पनि दावी गर्छ । हाल एनएमसीमा कुल ९५ हजार ८ सय जना सदस्य आवद्ध छन् । एनएमसी सयौंलाई रोजगारी प्रदान गर्ने सहकारी संस्था मात्र होइन स्वरोजगार बन्नका लागि काम सिकाउने एउटा पाठशाला पनि बनेको छ । चालु आर्थिक वर्षमा कुल ११ अर्ब ५३ करोड ९४ लाख रुपैयाँको वासालात बनाउने सहकारीको योजना छ । २०५० सालमा २ लाख ५३ हजार जम्मा गरेर २ लाख २७ हजार रुपैयाँ कर्जा लगानी गरेको यो सहकारीले २०७७ सम्म आइपुग्दा ८ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सहकारीले वर्षेनी नाफा पनि बढाउँदै गएको छ । आजभन्दा वर्ष अगाडि अर्थात २०७५ मा ४ करोड नाफामा रहेको कम्पनी अहिले करिब १७ करोड नाफा गर्न सफल भएको छ । मौलिक पहिचानमा उच्च प्राथमिकता सहकारीले सदस्यलाई नाफा कमाएर वितरण गर्ने मात्र होइन नागरिकलाई संस्कार र शिस्टाचार पनि सिकाइरहेको छ । विभिन्न समय र कालखण्डमा एनएमसीले आफ्ना सेयर सदस्य र समस्त नागरिकहरुका लागि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । मौलिक पहिचानलाई उजागर गर्नको लागि अभियानमार्फत सचेतनामुलक कार्यक्रमहरु एनएमसीका प्राथमिकताका विषयहरु हुन् । एनएमसी टाइमको पालना, सरसफाइ अभियान, नमस्ते अभियान, सुत्केरी भेटघाट, नवजात शिशु भेटघाट, समवेदनामा उपस्थिति, सामाजिक योगदानमा मेरो एक रुपियाँ र सदस्यहरुप्रति अपनत्व र मैत्रीभावको विकासका लागि एनएमसी ट्याग लगायतका अभियानहरु एनएमसीका प्रमुख तथा परिचित अभियानहरु हुन् । जो स्थानीय स्तरमा सहकारी मात्र होइन एक अब्बल तथा उदाहरणिय अभिभावकका रुपमा परिचित छ । कोरोनाकालमा एनएमसी जव विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संन्त्रास छायो, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका लागि आम नागरिकहरुलाई साथ सहयोग गर्ने एक ठूलो अवसरका रुपमा स्थापित भयो । जसले एनएमसीलाई थप परिचित र थप जिम्मेवार बन्ने चुनौती देखा पर्यो । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयमा मात्र होइन कोरोनाकै कारण समस्यामा परेका धेरै नागरिकहरुको अभिभावक एनएमसी बन्यो । कोरोना भाइरसकै समयमा एनएमसीले झापा जिल्लाका १५ वटै स्थानीय निकायहरु ३४ हजार किलो चामल वितरण गर्यो । जसले एक छाक खान नपाएका गरिबहरुलाई ठूलो राहत मिलेको उप्रेती बताउँछन् । ‘कोरोको कारणले खानै नपाउने अवस्था पनि सिर्जना भयो, त्यतिखेर सहयोग तथा साथ दिने चुनौती हामी माथि आइलाग्यो, हामीले सहजै राहत तथा उद्दारको काम गर्यौं, यसले पनि हामीलाई थप जिम्मेवार बन्न उत्प्रेरित गर्यो,’ उनले भने । सीईओ उप्रेतीले कोरोनाको समयमा बचत खातामा न्यून बचत भएका प्रति सदस्यलाई ५ हजार सापटी रकम प्रदान, राष्ट्रिय सहकारी महासंघ मार्फत कोरोना कोषमा २ लाख सहयोग, कोरोनाकालमा ब्याज तथा हर्जानामा छुट, स्वास्थ्य मापदण्ड अपनाउँदै सबै व्यवसाय मार्फत सेवा प्रवाह लगायतका सामाजिक कार्यहरु गरेको बताए । यस्तै, उप्रेतीले एनएमसीले सदस्यहरुलाई १ लाख देखि ५ लाखसम्मको दुर्घटना (मुत्यु) राहत सुविधा, १० हजार रुपैयाँसम्मको दुर्घटना उपचार राहत सुविधा, २५ हजारसम्मको दीर्घरोग उपचार एवम् राहत सुविधा, व्यवसायको क्षतिमा २५ हजारसम्मको राहत सुिवधा, ७५ हजार सम्मको किरिया खर्च राहत सुविधा, प्राकृतिक प्रकोपबाट सदस्यको व्यवसायमा क्षति भएमा सहुलियत कर्जा लगायतका राहतका सुविधा दिँदै आएको बताए । फस्टाउँदै डेरी व्यवसाय नेपाल बहुउद्धेश्यीय संस्थाको पूर्ण स्वामित्व रहने गरी २०७२ सालमा स्थापना भयो एनएमसी डेरी उद्योग । अहिले पूर्वी झापा मोरङ, सुनसरी र इलाममा एनएमसी डेरीकै प्रडक्ड फष्टाएको छ । १५ करोड रुपैयाँभन्दा बढी लागनी रहेको एनएमसी डेरी उद्योगमा यसमा ४ हजारभन्दा बढी किसान आवद्ध रहेको एनएमसी डेरीका प्रमुख तथा सो सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण प्रसाद कोइराला बताउँछन् । उनका अनुसार अहिले सो डेरी उद्योगले १५ वटा दुग्ध प्रडक्टहरु उत्पादन गर्दै आएको छ । ‘किसानले उत्पादन गरेको दुधको गुणस्तरीयतादेखि उपभोक्तासम्म पुग्ने दुधको गुणस्तरियताको कायम राख्ने काम एनएमसीले गर्छ, एनएमसीले उत्पादन गरेका दुग्धजन्य पदार्थहरु उच्च र अब्बल छन् भन्ने कूरा नेपाल सरकारको गुणस्तर कार्यालयले समेत प्रमाणित गरेको छ, पटक–पटक भएका खाद्य मेलामा उच्चस्तरको प्रडक्ट भएको प्रमाणपत्र हामीले पाएका छौं, अहिले यहाँको उपभोक्ताको रोजाई नै एनएमसी डेरीको प्रडक्ट हो,’ कोइरालालले भने । एनएमसीले उत्पादन गर्ने दुग्धजन्य प्रडक्ट उनका अनुसार अहिले दैनिक १२ हजार दुध उत्पादन तथा प्रशोधन गरिन्छ । ‘एनएमसी डेरीका उत्पादनहरु झापा, मोरङ, सुनसरी र इलाम लगायतका जिल्लाहरुमा जाने गरेका छन् । ‘स्थानीय स्तरको दुध संकलन गर्नको लागि ३ सयभन्दा बढी संकलन केन्द्र रहेका छन्, हामीले दुधको गुणस्तरियता कायम गर्नको लागि सबै उपायहरु अवलम्बन गरेका छौं, त्यसैले पनि हाम्रो उत्पादनका आकर्षण बढ्दै गएको छ,’ उनले भने । गाई फार्म ‘एनएमसीको प्रडक्ट पाइएन भने मात्र अन्य प्रडक्टहरु प्रयोग गर्नु हुन्छ अन्यथा उनीहरुको पहिलो प्राथमिकता नै एनएमसीका प्रडक्टहरु हुन्, हामीले हाम्रा सदस्यहरुलाई पूर्ण रुपमा सन्तुष्टि दिन सकेका छौं । अहिले हामीले उत्पादनको सीमितताको कारणले झापा मोरङ, सुनसरी र इलाममै मात्र सिमीत छौं, विस्तारै यसलाई विस्तार गर्दै लैजान्छौं,’ उनले भने । काम सिकाउने कृषि फर्म पनि एनएमसीले विगत एक डेढ वर्षदेखि एकिकृत नमुना कृषि फर्म पनि सुरु गरेको छ । १६ विघा क्षेत्रफलमा विभिन्न जातका तरकारी, गाई पालन, माछा पालन गर्ने योजना रहेको छ । सीईओ उप्रेतीका अनुसार अहिले सो परियोजनाको लागि आवश्यक भौतिक संरचना तथा जग्गामा १२ करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । उनका अनुसार सो एकिकृत नमुना कृषि फर्मको लक्ष्य भनेको वेरोजगारह युवाहरु तथा किसानहरुलाई काम सिकाएर स्वरोजगार बनाउने हो । ‘अहिले कृषि फर्ममा १३ वटा गाईहरु छन्, यो वर्षमा ५० गाई पाल्ने योजना रहेको छ, हामीले व्यवसाय मात्र होइन वयवसाय यसरी गर्नु पर्छ है भनेर सिकाउँछौं पनि, कृषि फर्ममा गाई पालन, माछा पालन, साग सब्जी तरकारी उत्पादन गर्ने गरिन्छ,’ उप्रेतीले भने । एनएमसीले सञ्चालनमा ल्याएकाे एटीएम उनका अनुसार यो मेगा प्रोजेक्ट हो । यसका लागि ५० करोडभन्दा बढी लगानी आवश्यक छ । अहिले अनुमानित लागत साढे ८ करोड रुपैयाँ भएपनि डेढ वर्षपछि यसको लागत २० करोड रुपैयाँ पुर्याउने उनको भनाई छ । उनले भने ‘अहिले ३०/३५ जनाले रोजगारी पाएका छन्, परियोजना हजारौं जनाले रोजगारी पाउँछन्, काम सिक्ने पाठशालाको रुपमा पनि हामी यसलाई स्थापित गर्छौं ।’ एटीएम सञ्चालन गर्ने पहिलो सहकारी नेपाल बहुउद्धेश्यीय सहकारी संस्था (एनएमसी)ले बैंकिङ व्यवसाय पनि गर्दै आएको छ । जुन प्रदेश एककै सबैभन्दा पहिला एटीएम सञ्चालन गर्ने सहकारीका रुपमा परिचित छ । एनएमसीले मोबाइल बैङ्किङ सेवामा पनि फड्को मार्दै गएको छ । संस्थाको आफ्नै छुट्टै वाइरेल लोकल एरिया नेटवर्क सम्बन्धी ब्यबस्थापा पनि रहेको छ । सम्पूर्ण व्यवसायमा ईलेक्ट्रोनिक हाँजिरीको सुविधा पनि रहेको छ । एनएमसीका सदस्यहरुले इन्टरनेटको माध्यममार्फत पनि संस्थाको सेवा लिन सक्छन् । यी विविध कारणले पनि एनएमसी विभिन्न समयमा विभिन्न संस्थाबाट मात्र होइन नेपाल सरकारबाट पनि सम्मान तथा कदर पत्र हाँसिल गर्न सफल भएको छ ।
बच्चन, खान जस्ता बलिउड सुपरस्टारको कपडा सिलाउने टेलरमा सिकेपछि स्थापित प्रेमको ‘त्रिशक्ति सपना’
काठमाडौं । सानो लगानीबाट सुरु गरिएको व्यवसायले कुनै बेला नसोचेको परिणाम दिदो रहेछ । यसमा निरन्तर मिहिनेत, लगाब र धैर्यताको भने खाँचो हुन्छ । ललितपुरको हरिसिद्धिका प्रेम कुमार महर्जनकै उदाहरण लिउँ । उनले २२ वर्ष अगाडी १० हजार रुपैयाँमा टेलरिङ व्यवसाय सुरु गरेका थिए । अहिले २५ जना कालिगढ र ५ जना स्टाफ राखेर लाखौंको कारोबार गरिरहेका छन् । प्रेमले सुरुमा आफ्नै घरको प्रयोगका लुगा सिलाउँने मेसिनको प्रयोग गरे । व्यवसाय नै गर्छु भन्ने मनमा थिएन । काम गर्दै जाँदा उनको मनमा लुगा कपडाकै व्यवसाय गर्ने सोच पलायो । मानिस जन्मेदेखि मृत्युपछिको प्रकृया गर्न पनि कपडा नै आवश्यक पर्छ । यसै कारण उनी कपडा व्यवसायप्रति आकर्षित बने । त्यही रहर र उत्साहले चालेका उनका पाइलाहरु कहिल्यै रोकिएनन् । उर्जा र जोशमा कत्ति पनि कमी आएको छैन । २२ वर्षदेखि निरन्तर एउटै व्यवसायमा छन् । यति लामो समयसम्म गरेको संघर्ष र मिहिनेतले आफ्नो बेग्लै ब्राण्ड बनाइसकेका छन्, त्रिशक्ति टेलर्स । जसको नारा नै छ, सिलाईमा शक्ति, त्रिशक्ति । १० हजार रुपैयाँको लगानीमा प्रेमले व्यवसाय थालेका थिए । हरिसिद्धिस्थित आफ्नो घरमै सिमित रहेको पसललाई उनले लगनखेलमा विस्तार गरे । गुणस्तर र राम्रो सेवाकै कारण दुई दशकभन्दा लामो समयदेखि ग्राहकले त्रिशक्तिको साथ कहिल्यै छाडेनन् । पुरानो मेसिनबाट थालिएको यो व्यवसायमा सञ्चालक प्रेमले २५ वटा आधुनिक मेसिन थपिसकेका छन् । उनले २५ जना कालिगढ र त्रिशक्तिको शोरुममा ५ जनालाई रोजगारी दिलाएका छन् । आफू सञ्चालक भएपनि प्रेमलाई ‘मालिक हूँ’ भन्ने घमण्ड छैन । र, त्यस्तो कहिल्यै सोचेनन् पनि । उनी आफै मेसिन चलाउँछन् । आफै कटिङ गर्छन् । आफै लुगा पनि सिलाउँछन् । यसले गर्दा अरुलाई काम सिकाउँन, अह्राउँन सजिलो बनाएको छ । म्यानपावर नभएको बेला, संकटका बेला उनी आफै अघि सर्छन् । त्रिशक्ति सञ्चालनमा ल्याउँनु अगाडी टेलरिङ व्यवसायबारे सिक्न र अपग्रेड हुन उनी भारतको मुम्बइ पुगेका थिए । विशेष तालिमपछि दुई वर्ष उनले मुम्बइकै चर्चित टेलरिङ शपमा काम गरे । जहाँ भारतीय चर्चित सेलिब्रिटी अमिताभ बच्चन, सलमान खान, शारुख खानलगायतको पहिरन तयार हुन्थ्यो । कमाइ त प्रेमको मासिक १२ हजार भारु मात्र हुन्थ्यो । तर, तत्कालका लागि पैसा सिकाइ र अनुभव महत्वपूर्ण पक्ष थियो । पैसा त प्रेमले नेपाल फर्किएपछि कमाए । मुम्बईमा बस्दा सिकेको ज्ञान, सीप र अनुभबलाई उनले त्रिशक्ति टेलर्समा सदुपयोग गरे । १० हजारबाट थालेको व्यवसायमा उनले दुई वर्षपछि ऋण लिएर २०, २५ लाख रुपैयाँ लगानी बढाए । सुरु–सुरुमा दैनिक १२, १३ घण्टा खट्न थाले । ‘मनैदेखि गरिएको काममा कहिल्यै उर्जाको कमी हुँदैन, मलाई कहिल्यै थकान र दिक्क लागेन,’ उनले सुनाए । शालिन स्वभाब, मीठो बोली र मन्द मुस्कान दिईरहनु उनको विशेषता नै हो । ग्राहकलाई घरकै सदस्य जस्तो व्यवहार गर्न उनी कुनै कन्जुस्याँई गर्दैनन् । ग्राहकहरुलाई खुसी बनाउने हो भने फर्केर आउछन् भन्ने उनको बुझाई छ । अब त अनुभवले उनी यति खारिईसकेका छन् कि कसैको फोटो हेरेकै भरमा कपडाको नाप लिन्छन् । व्यस्तताले त्रिशक्तिको शोरुममा आउन नभ्याउनेहरुलाई फोटोकै आधारमा उनले नाप लिएर कपडा तयार पार्छन् । यसो गर्दा पनि साइजमा कत्ति फरकै नपर्ने अनुभब उनी सुनाउँछन् । त्रिशक्तिले सुट पाइन्ट, लङकोट, ओभर कोट, स्कुलका ड्रेस, पाइलट र एयर होस्टेसका ड्रेस सिलाउने गर्छ । रेमण्ड, जिग्ज्याम लगायत विभिन्न विदेशी लुगाका ब्राण्डहरु यहाँ उपलब्ध छन् । सबै बर्गका ग्राहकहरू लक्षित गरेर सेवा दिने गरेको प्रेम बताउँछन् । छिटै नै काठमाडौं उपत्यकाभित्र शाखा बिस्तार गर्ने उनको योजना छ । बजारमा नयाँ–नयाँ फेशन आइरहन्छ । नयाँ–नयाँ डिजाइन पनि उत्तिकै आइरहन्छन् । दुई दशक यसै पेशामा बिताएका प्रेमलाई अझै सिकौं–सिकौं लागिरहन्छ । पढाई जस्तै यो सिक्ने यो क्रम कहिल्यै नसकिने लाग्छ उनलाई । कोभिड–१९ को महामारीपछि तीन महिना व्यवसाय बन्द हँुदा उनको व्यवसायमा केही समस्या भयो । आत्मविश्वास बलियो बनाउँदै प्रेम अगाडी बढे । लकडाउन खुलेपछि भने व्यवसायले रफ्तार लिन थाल्यो । ‘मासिक कमाई कति छ ?’ उनलाई सोधियो । ‘३० जना स्टाफहरु पालिएको छ, ४ जनाको परिवार खुसीले बाँचिरहेका छौं,’ उनले हास्दै भने । यो क्षेत्रमा प्रशस्त सम्भावना भएको प्रेमको अनुभव छ । उनी युवाहरुलाई टेलरिङ व्यवसायमा लाग्न प्रेरित गरिरहन्छन् । मिहिनेत गर्ने हो र निरन्तरता दिने हो भने सफलता मिल्नेमा शंका छैन भन्ने लाग्छ उनलाई । प्रेम गीत, संगीत, घुमफिरमा उनी रुचि राख्छन् । घुमेकामध्ये इलाम उनलाई सबैभन्दा मन परेको जिल्ला हो । फुर्सदमा फेसबुक, युट्युबमा समय बिताउँछन् । राजनीतिमा खासै रूची नराख्ने प्रेम विस्तारै यतातिर आकर्षित हुँदैछन् । हाल नेपाल कपडा सिलाई तथा व्यवसायी महासंघका सह–कोषाध्यक्ष छन् उनी नेपाल कपडा सिलाई तथा व्यवसायी संघ ललितपुरका अध्यक्ष हुन् । देशभर ७० जिल्लामा संघको संजाल विस्तार भइसकेको छ । बाँकी जिल्लामा पनि अब संगठन विस्तार गर्न लागेको उनी सुनाउँछन् । थुप्रै जिल्ला घुमिसकेका उनले युवाहरूसँग प्रत्यक्ष संवाद गरेका छन् । नेपाल कपडा सिलाइतथा व्यवसायी महासंघले भने देशका बिभिन्न स्थानमा टेलरिङ व्यवसायबारे तालिम प्रदान गरिरहेको छ । युवाहरुलाई विदेश जानभन्दा स्वदेशमै पसिना बगाउन उनी सल्लाह दिन्छन् । महासंघले पनि यहि कुरालाई ध्यानमा राखेर ब्यापक रुपमा तालिम दिइरहेको छ । ‘युवाहरु विदेसिन नपरोस्, देशको मेरुदण्ड भनेकै युवा त हुन्,’ प्रेमले आफ्नो निष्कर्ष सुनाए ।
चाख्ने हो त बाँसको ढुंग्रोमा पकाएको चिया र ब्याम्बो बिर्यानी ?
काठमाडौं । हरियो बाँसको ढुंग्रोमा पकाएको चिया र बिर्यानी चाख्नु भएको छ ? रातोपुलमा खुलेको ‘ब्याम्बो बिर्यानी’ले यस्तै नौलो प्रयोग गरेको छ । बाँसकै संरचनामा निर्माण भएको यस कटेजमा बासकै कुर्सी, बाँसकै टेबलहरु छन् । यो कटेजको मुख्य विशेषता भनेकै बाँसमै बनाइएका परिकारहरु हुन् । कालोपुलबाट रातोपुलतिर जाने बेला झण्डै डेढ सय मिटर जति माथि छ, यो कटेज । यहाँ बाँसकै ढुंग्रोमा पकाइएको चिया, बिर्यानीको स्वाद लिनकै लागि मानिसहरु झुम्मिन्छन् । राजधानीमा फरक र नौलो स्वाद पस्किएकोले कटेजमा ग्राहकहरुको भीड लाग्ने गरेको छ । ब्याम्बो बिर्यानी रातोपुलमा एक वर्षअघि खुलेको हो । झापाका विवश काफ्ले र मिलन रेग्मी यसका सञ्चालक हुन् । लकडाउनको कारण केही समय बन्द भएपनि तिहारपछि फेरि सञ्चालनमा आइसकेको छ । यो कटेज चर्चामा आएको धेरै समय भएको छैन । विशेषगरी तिहारपछि यसको चर्चा बढेको हो । झापाको कमल गाउपालिका ३ तोपगाछीका विवश काफ्ले यसअघि भक्का र मटिया हाउस सञ्चालन गर्थे । अहिले पनि उनले त्यो व्यवसायलाई निरन्तरता दिदै आएका छन् । मटिया हाउस चलाउँने क्रममा बाँसको कटेज र बाँसमै परिकार बनाउने नौलो सोच उनको मनमा जन्मियो । हुन त नेपालमा यस्तो खालको व्यापार नौलो भए पनि श्रीलंका, इन्डोनेसिया, भारतमा भने पहिल्यैदेखि गरिदै आएको पाईन्छ । विवसले त्यही देखेर नेपालमा यसको सुरुवात गरेका हुन् । ‘म नयाँ नयाँ सोच बोकेर काम गर्न रुचाउँने मानिस हो, नेपालीपन झल्किने के छ भनेर सोच्दा बाँस नै रोजें,’ विवशले भने । कटेज सुरु गर्नु अगाडी उनी एक पटक गैरीधाराको तामा रेस्टुराँ गएका थिए । त्यहाँ उनले बाँसको भाँडामा परिकार सर्भ गरेको देखे । उनको मनमा नयाँ सोच आयो, अब बाँसको भाँडामै पकाएर सर्भ गर्नुपर्छ । रेस्टुराँमा नौलो–नौलो प्रयोग गर्ने क्रम बढिरहेको छ । उनले पनि नौलो प्रयोग गर्न खोजे । चिया र बिर्यानी बनाउने हरियो बाँस झापाबाटै झिकाउने गरिएको छ । लामो बाँसलाई २ फिटको साइजमा काटिन्छ । त्यसैमा चियापत्ति, चिनी, दुध र पानी राखेर उमालिन्छ । चिया पिउन प्रयोग हुने बाँसको कप पनि झापाको बुधबारेबाट ल्याउँने गरिएको छ । विवशले व्यापारिक साझेदार खोजेर त्यसपछि ब्याम्बो बिर्यानी कटेजलाई पूर्णता दिए । क्यानाडाबाट फर्किएका सन्जिब पहारीले कटेजको डिजाइन गरेका हुन् । १० लाख रुपैंयाँको लगानीमा कटेज सुरु गरिएको उनले बताए । सुरुवातमा यहाँ विर्यानी र स्न्याक्स मात्र बनाईन्थ्यो । बिस्तारै अन्य परिकारहरु मेनुमा थपिए । बाँसको ढुंग्रो यत्तिकै खेर गईरहेको थियो । त्यसैमा चिया बनाउँदा कस्तो हुँदो रहेछ भनेर विवशलाई जाँच्न मन लाग्यो उनीहरुलाई । ‘राम्रो बन्यो, त्यसको स्वाद पनि मीठो बन्यो,’ सन्जिबले भने । पछि त ब्याम्बो विर्यानीको ब्राण्ड नै चियाले स्थापित गराइदियो । हरियो बाँसको ढुंग्रोमा चिया पाक्न झण्डै १० मिनेट लाग्छ । विर्यानी पाक्न भने ३५ मिनेट समय लाग्छ । चिकेनका आइटम पाक्न बढी समय लाग्छ । अलि कुर्नु परे पनि ग्राहकको धैर्यता भने टुट्दैन । अहिले ब्याम्बो बिर्यानी सोसल मिडियामा खोजीको विषय बनेको छ । विवसले सोसल मिडियामा कसरी आम मानिसको ध्यान तान्ने भन्नेबारे सोचे । आफ्नै स्टाफलाई बाँसमा चिया पकाएको भिडिओ टिकटक राख्न लगाए । भिडिओ भाइरल बन्यो । त्यसपछि त ब्लगर, भ्लगर र मिडियाको नजर परिहाल्यो । मार्केटिङमा त्यसले राम्रै भूमिका खेल्यो । बिहान १० बजे मात्र खुल्ने यो कटेजमा ग्राहक भने त्योभन्दा अगाडि नै पुगिसकेका हुन्छन् । साँझ ८ बजेसम्म यहाँ उस्तै भीड लाग्छ । हाल ७ जना स्टाफले यस कटेजमा काम गरिरहेका छन् । विवशका अनुसार दैनिक २० देखि २५ लिटर दुधको चिया र १ सय ५० भन्दा बढी प्लेट बिर्यानी अर्डर हुने गरेको छ । पछिल्लो समय ग्राहकहरुको भीड यति बढेको छ कि कटेजले धान्नै सकिरहेको छैन । स्पेशको पनि उत्तिकै अभाब भइरहेको छ । विद्यार्थी, सरकारी कर्मचारी, बैंकर्सलगायत बिभिन्न पेशाकर्मीहरु यस कटेजमा टाढा–टाढाबाट आउने गर्छन् । काठमाडौं उपत्यका बाहिरबाट पनि मानिसहरु सिक्न र स्वाद चाख्न आउने गरेका विवशले सुनाए । लकडाउनमा ९ महिना कटेज बन्द भएपनि कटेजका सञ्चालक आत्तिएनन् । तिहारपछि पुनः सञ्चालनमा आएको कटेजले झन रफ्तार लिएको छ । हाल दैनिक २५ हजार रुपैयाँ बराबर कारोबार भइरहेको विवस बताउँछन् । अब बिस्तारै बाँसको फार्मिङ बढ्नेमा विवश विश्वस्त छन् । ब्याम्बो बिर्यानीको सिको गर्दै धेरैले बाँसकै कटेज बनाउँन थालिसकेका छन् । काम गर्नेलाई अवसर अहिले ७ जनालाई रोजगारी दिएको ब्याम्बो बिर्यानीले अझै स्टाफ खोजिरहेको छ । तर, काम गर्ने मानिस पाएको छैन । पछिल्लो समय एक महिनामै ४ जनाले काम छोडे । कटेजले जनशक्ति थप्न खोजे पनि फेला पार्न सकेको छैन । ‘विदेश गएर काम गर्न खोज्ने युवा नेपालमा काम गर्न खोज्दैनन्, नेपालमा भने काम गर्न अल्छी गर्छन्,’ विवसले गुनासो गरे । कामप्रतिको समर्पण जुन क्षेत्रमा हात हाले पनि विवश सफल छन् । उनले बिगतमा भक्का हाउस र मटिया हाउस सञ्चालन गरिसकेका छन् । झापाको भक्का भनेपछि हुरुक्कै हुने धेरै छन् । त्यस्तै मटिया हाउसमा माटोको भाँडोमा खीर, अण्डा र माछाको परिकार चखाउँछन् । यी दुबै राजधानीमा राम्रै ब्राण्डका रुपमा स्थापित भए । सबै व्यवसाय सफल हुनुका पछाडि के कारण होला ? उनलाई सोधियो । ‘म कामलाई सम्मान गर्छु । माया गर्छु, म मालिक हुनका लागि होइन, कामका लागि काम गर्छु,’ विवसले भने । आफू स्टाफसँगै भाँडा माझ्न पनि पछि नपर्ने उनले सुनाए । विवशको अबका योजना सबै जना उद्यमी बन्न चाहन्छन् । तर, सबै सफल उद्यमी बन्न सक्दैनन् । कसरी व्यवसाय गर्ने, के गर्ने, कति लगानी गर्ने भन्ने बारेमा ज्ञान हुँदैन । कसैलाई मःम पसल गर्ने इच्छा होला । तर, उसलाई सबै कुरा थाहा हुँदैन । उद्यमी बन्न चाहनेलाई विवश टिप्स र ट्रिक्स दिन चाहन्छन् । उनी विजनेस कन्सल्ट्याण्टका रुपमा काम गर्न चाहन्छन् । छिटै नै धेरैको नजर तान्ने अर्को व्यवसायमा हात हाल्न लागेको उनले सुनाए । के होला त्यो व्यवसाय ? ‘अहिलेलाई गोप्य राखौं,’ विस्तृतमा विवशले खोल्न चाहेनन् ।