घरजग्गा कारोबारले बनायो करोडौंको होटलको मालिक, आधा दर्जन हिमालको दृश्यावलोकन झ्यालबाटै

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाका रामसुन्दर बके पेशाले घरजग्गा कारोबारी हुन् । उनी अहिले पनि घरजग्गा कारोबार नै गरिरहरेका छन् । तर, अहिले बाकेको अर्को पेशा थपिएको छ । उनी अहिले होटल/रिसोर्ट व्यवसायी भनेर पनि चिनिन्छन् । उनले हालै भक्तपुरको सुर्यविनायक नगरपालिकाको रानीकोटमा रिसोर्ट सञ्चालन गरेका छन् । अरुले घरजग्गा कारोबार गरेको देखेर सानै उमेरबाट घरजग्गा कारोबारीमा लागेका उनी हाल रिसोर्ट सञ्चालककै रुपमा आफुलाई स्थापित गर्न चाहन्छन् । ४८ वर्षीय बाकेले २५ करोड रुपैयाँ लगानी गरेर रानीकोटमा भिलेज हाइल्याण्ड नामक रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । २ हजार मिटर उचाईमा रहेको सो रिसोर्टबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न पनि सकिन्छ । ‘सानै उमेरमा अरुले गरेको देखेर जग्गा कारोबारी भएँ, मेरो रुची रिसोर्ट हुँदै होटल सञ्चालन गर्ने थियो, आफूसँग होटल सञ्चालन गर्ने रकम जम्मा गरेर रुची अनुसारको व्यवसाय सुरु गरेँ, अहिले दुवै व्यवसायलाई नै समय दिइरहेको छु,’बकेले भने । ४ वर्ष पूर्वाधार निर्माणमा खर्च गरेका उनले होटल सञ्चालनको तयारी गर्ने बेलामा कोरोना भाइरस (कोेभिड–१९) को महामारी सुरु भएको थियो । महामारीले बीचमा केही समय सञ्चालनमा कठिनाई भएतापनि पछिल्लो समय उल्लेख्य रुपमा स्वदेशी पर्यटकको भिड लाग्ने गरेको उनको भनाई छ । अहिले स्वदेशी पर्यटकहरु रमाइलो गर्नकै लागि रानीकोट पुग्ने गरेका छन् । आधा दर्जन हिमालको दृश्यावलोकन काठमाडौंबाट करिब २० किलोमिटर दूरीमा रहेको भिलेज हाइल्याण्ड रिसोर्टबाटै आधा दर्जनभन्दा बढी हिमालको अवलोकन गर्न पाइन्छ । दोर्जे लाक्पा, लाङटाङ, मनास्लु, पुमरी, गौरीशंकर लगायतका हिमालहरु रिसोर्ट तथा रिसोर्टकै झ्यालबाट हेर्न सकिने उनी बताउँछन् । साथै, काठमाडौं उपत्यकाका तीनै शहर भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका अधिकाश भागहरु पनि होटलका कोठाहरुबाटै देख्न सकिने उनको भनाई छ । ललितपुरको लाँकुरीभञ्ज्याड, काभ्रेको पनौती, कुसादेवीदेखि समेत रानीकोट हाइकिङ रुट प्रख्यात छ । यस्तै, ऐतिहासिक मानिने रानीकोट, धार्मिक हिसाबले प्रख्यात बाघभैरव समेत सो क्षेत्रमा छ । होटल वरिपरी घना जंगल भएकाले भविष्यमा जिप सफारीको योजना पनि बनाएको उनको भनाई छ । ‘हामीले जिप सफारिको योजना बनाएका थियौँ, कोभिडका कारण योजना केही पछि धकेलिएको छ, कोभिड नभएको भए हाल जिप सञ्चालनमा आइसक्थ्यो,’ उनले भने । पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको छ । काठमाडौंबाट नजिककोे स्थान र अग्लो क्षेत्रमा रहेको रानीकोटबाट उपत्यकाका तीनै जिल्ला देखिनेभएपछि पर्यटकको आकर्षण केन्द्र बनेको बाके बताउँछन् । सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको बताउँदै उनले कोरोना भाइरसको महामारीको बीचमा पनि स्वदेशी पर्यटकको भीड नै लाग्ने गरेको छ । के छन् सुविधा ? पर्यटकीय क्षेत्र घुम्ने र रमाइलो गर्नेहरुका लागि रानीकोट गज्जवको ठाउँ हुन सक्ने उनको भनाई छ । साढे पाँच रोपनी जग्गामा फैलिएको रिसोर्टमा हाल तीन वटा भवन छन् । २१ वटा कोठा रहेको रिसोर्टमा ६५ जना राख्ने क्षमता रिसोर्टको छ । केही समयअघि मात्र भिलेज हाइल्याण्ड रिसोर्टलाई पर्यटन विभागले पर्यटकस्तरीय होटलको रुपमा मान्यता दिएको थियो । पर्यटक स्तरीय होटलसरह मान्यता पाएको रिसोर्टलाई तीन तारे सरह बनाउँदै शाखा विस्तार गर्ने योजना रहेको पनि उनले बताए । रिसोर्टमो स्विमिङ पुल र पिङको सुविधा पनि छ । रिसोर्टमा हाल एक रातको ३५ सय रुपैयाँ लिने गरेको उनले बताए । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक चोकबाट ७ किलोमिटर दूरीमा रहेको रिसोर्टका सबै कोठाहरु डिलक्स हुन् । सूर्यविनायक चोकबाट रिसोर्ट जाँदा ५ किलोमिटर पिच र २ किलोमिटर कच्ची बाटो हिँड्नुपर्छ । चितवन र सोलुखुम्बुमा पनि शाखा सञ्चालक बाकेले भिलेज हाइल्याण्ड रिसोर्टको शाखा चितवन र सोलुखुम्बुको पटालेमा शाखा सञ्चालन गर्ने योजना रहेको बताए । रिसोर्ट सञ्चालनका लागि जमीन पनि खरिद गरिसकेको उनले सुनाए । ‘होटल मेरो रुचीको क्षेत्र हो, रानीकोटमा बनाएको भिलेज हाइल्याण्ड रिसोर्टको शाखा चितवन र सोलुको पदले भन्नै स्थानमा विस्तार गर्ने योजना बनाएको छु, त्यसका लागि दुई स्थानमा रिसोर्टकै नाममा जग्गा खरिद गरिसकेको छु, अग्ला क्षेत्रमा होटल सञ्चालन गर्ने मेरो तयारी हो’, उनले भने । उनका अनुसार शाखा सञ्चालनका प्रक्रिया अगाडि बढिसकेको छ । तर, कोरोनाको कारण भने काम अगाडि बढाउन केही समस्या भएको उनको भनाई छ । रानीकोट पुग्ने आन्तरिक पर्यटकमध्ये अधिकांश हाइकिङ मार्फत जाने गरेका छन् । हाइकिङका लागि उपर्युक्त गन्तव्यको रुपमा मानिएको रानीकोट डाँडाँमा नै सो रिसोर्ट रहेको छ । कोरोना र लकडाउनको कारण लामो समय घरभित्रै थुनिएका शहरियाहरु खुला हावामा सास फेर्न र मनोरम प्राकृतिक छटाहरुमा रमाउन रानीकोट पुग्ने गरेका छन् ।

अनि आयो युनाइटेडको ‘यूटर्न’

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी २०५० सालमा नेपाली बीमा क्षेत्रमा प्रवेश गर्दा देशको पाँचौं निर्जीवन बीमा कम्पनी थियो । विभिन्न कालखण्डमा अनेकन आरोह अवरोहहरु सामना गरेको युनाइटेडले २८ वर्ष पार गरिसकेको छ । ‘रजत जयन्ती’ मनाइसकेको युनाइटेड अहिले परिपक्व कम्पनीका रुपमा अगाडि बढिरहेको छ । देशको ठूलो व्यवसायिक घरानाहरु चौधरी ग्रुप, एनई ग्रुप लगायतद्वारा प्रवर्द्धित यो कम्पनी कुनै बेला बिजनेसको हिसावले ‘टप थ्री’ बीमा कम्पनीहरुमध्येमा पर्थ्याे । तर, समय सँधै एकनास र एकसुरमै कहाँ हुन्छ र ! युनाइटेड इन्स्योरेन्सको हकमा पनि लागू भयो व्यवसायिक आरोह अवरोधहरु । फरक रणनीति र व्यवसायिक योजना लिएर आएका नयाँ-नयाँ बीमा कम्पनीहरुका अगाडि युनाइटेड पछि पर्न थल्यो । सोही कारण हुन सक्छ, नेपाली बीमा कम्पनीहरुमा सबैभन्दा बढी प्रमुख कार्यकारी अधिकृतहरु फेरिने कम्पनीहरुमध्ये युनाइटेड इन्स्योरेन्स पनि पर्न थाल्यो । सञ्चालक समितिले बीमा बजारका एक से एक हस्तीलाई सीईओ नबनाएको पनि होइन विगतमा । यो २८ वर्षको अवधिमा कम्पनीमा २ दर्जन बढी सीईओ फेरिए । तर, कम्पनीले अपेक्षाकृत प्रगति गरिरहेको थिएन । युनाइटेडमा पात्रहरु धेरै फेरिए । तर, बजारमा जबरजस्त उपस्थिति, जुनस्तरको अपेक्षा गरिएको थियो, त्यसो भइरहेको थिएन । दिन सबैका आउँछन् । बजार कसैको पेवा होइन । विगतको ट्याक रेकर्डकै भरमा आजको गेम जित्न सकिन्न । आज गेम जित्न आज राम्रो खेल्नुपर्छ । यो नियम खेल र व्यवसाय दुबैमा उत्तिकै लागू हुन्छ । युनाइटेड इन्स्योरेन्सको हकमा पनि अहिले यही नियम लागू भएको छ । कुनै बेला धेरैको नजरबाट ओझेलमा पर्न थालेको युनाइटेडले अहिले आश्चर्यजनक रुपमा यूटर्न गरेको छ । हिजोको ‘टप थ्री’को आफ्नो स्थान सुरक्षित राख्ने रणनीतिका साथ युनाइटेड इन्स्योरेन्स अहिले अगाडि बढिरहेको छ । ‘हामी नयाँ भिजन, नयाँ मिसन र रणनीतिका साथ अगाडि बढिरहेका छौं, विगतका गल्ती र कमजोरी सुधार गर्दै क्लाइन्ट (ग्राहक) मनाउन सफल भएका छौं, स्थापनाकालको हाम्रो स्थान हामी सुरक्षित बनाउने किसिमले काम गरिरहेका छौं, आगामी एक वर्षभित्रै ‘टप फाइभ’ मा युनाइटेड इन्स्योरेन्स भएको सबैले देख्नुहुन्छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलले हामीलाई यस्तो सुनाउँदै गर्दा उनको आवाज कम, आत्मविश्वास बढी सुनिए जस्तो लाग्थ्यो । तथ्यांकले पनि युनाइटेड इन्स्योरेन्सले अहिले व्यापारमा लोभलाग्दो प्रगति गरेको देखाएको छ । ‘कुनै समय हामी ‘टप फाइभ’ मा पर्थ्यौं, बीचमा हामी तल झर्यौं, हुन त बिजनेस हो, कहिले माथि त कहिले तल हुन्छ नै तर, हामी धेरै समयसम्म नोक्सानमै रह्यौं, हाम्रा सेवाहरु परिस्कृत नगरेकै कारण ठूला क्लाइन्टहरु पनि छोडेर जानु भयो, अहिले विगतको पाठ सिक्दै अगाडि बढ्न खोजेका छौं,’ सीईओ पौडेल विगत सम्झदै भन्छिन् । उनका अनुसार युनाइटेड अहिले सम्पूर्ण रणनीतिहरु बदलेर बजारमा गएको छ । यो दुई वर्षकै अवधिमा कम्पनीले राम्रो नतिजाका लक्षणहरु देखाइसकेको छ । ‘हामी नम्बरमा मात्र यूटर्न भएनौं, विगतमा छुटेका ग्राहकहरुलाई पनि फिर्ता ल्याउन सफल भयौं, जुन हाम्रो लागि ठूलो उपलब्धि हो, उहाँहरु पनि हामीलाई विश्वास गरेर पुनः फर्किनु भयो, हामीले अर्गानिक ग्रोथ र नाफामुखी ग्रोथलाई प्राथमिकता दिएका छौं,’ उनले भनिन् । युनाइटेडले अपनाएको जुक्ति युनाइटेड इन्स्योरेन्स कम्पनीलाई छोडेर गएका ग्राहकहरुलाई पुनः कम्पनीमै ल्याएर गुणस्तरीय सेवा दिनु सामान्य विषय थिएन । तर, त्यो ठूलो चुनौतिलाई युनाइटेड व्यवस्थापनले सम्भव तुल्यायो । सीईओ पौडेल कम्पनीलाई पुनः सुरुवातकै चरणमा ल्याउन अर्थात पुनर्जीवित गर्न आधारभूत कामबाटै शुरु गरेको बताउँछिन् । उनले कम्पनीको रि-ब्राण्डिङ, लोगो परिवर्तनदेखि बजारमा प्रस्तुत हुने शैली समेत परिवर्तन गर्नुपरेको अनुभव सुनाउँछिन् । ‘हामीले झन्-झन् तल गइरहेको युनाइटेडलाई यो अवस्थामा ल्याउनका लागि पुनः ब्राण्डिङ गर्यौं, कम्पनीको लोगो परिर्वतन गर्यौं, ‘राइट पिपुल इन दी राइट प्लेस’ को सिद्धान्तलाई अवलम्बन गर्यौं र स्ट्रोङ्ग टीम र स्ट्रोङ्ग सर्भिसले नै हामीलाई अगाडि बढ्न मद्दत गर्यो, हामीले यो बीचमा प्रविधिको प्रयोग पनि धेरै बढायौं, ’ उनले आफ्नो अनुभव सुनाइन् । उनले हरेक प्रणाली अटोमेटेड (स्वचालित) गरेर ग्राहकलाई छिटो तथा छरितो सेवा दिइरहेको पनि बताइन् । साथै, ग्राहकलाई आकर्षित गर्नको लागि स-साना विषयहरुमा ध्यान दिनुपर्ने उनको भनाई छ । एक वर्षभित्रै ‘टप फाइभ’ स्थापनाकालमा निर्जीवन कम्पनीको ‘टप थ्री’ मा रहेको युनाइटेको अबको एक वर्षभित्रै ‘टप फाइभ’ भित्र पर्ने योजना छ । हाल २० वटा निर्जीवन कम्पनीहरुमध्ये टप १५ भित्र युनाइटेड इन्स्योरेन्स पर्छ । ‘हामीले बन्न चाहेको ‘नम्बर वान’ कम्पनी हो तर, तत्कालै असम्भव नै छ, जसको लागि हाम्रो प्रयास जारी छ, यात्रा लामो छ, हामीले अब एक वर्षभित्रै ‘टप फाइभ’ मा आउने हो, सकिँदैन भनेर मेहेनत गर्न छोड्ने होइन, असम्भव भन्ने केही छैन,’ सीईओ पौडेल भन्छिन् । उनका अनुसार अबको ४ वर्षको अवधिमा युनाइटेडले ५ प्रतिशत बजार हिस्सा ओगेट्नेछ । युनाइटेडले मर्जरभन्दा पनि प्राप्तितर्फ ध्यान दिने उनले सुनाइन् । कुनै कम्पनीलाई प्राप्ति गरेमा अझ कम्पनीको बजार हिस्सा बढ्ने उनको अनुमान छ । ‘मेरो ४ वर्षको कार्यकालमा कम्पनीलाई ‘स्टेबल’ बनाउने ईच्छा छ, २०७८/७९ मा जसरी भएपनि लाभांश दिने हो, केही भएन भनेपनि न्यूनतम ५ प्रतिशत त हामी दिन सक्ने अवस्थामा हुन्छौं,’ उनले भनिन् । यस्तै, वार्षिक साधारणसभा पनि पुसभित्रै गरिसक्ने कम्पनीको लक्ष्य छ । ‘पहिले युनाइटेडले दिने भुक्तानी एक/दुई वर्ष लाग्थ्यो, अहिले चार दिनभित्रै हुन्छ, १० प्रतिशतको प्रोटफोलियो हुनेहरु अहिले शतप्रतिशत बढाउन चाहन्छन्, यो क्लाइन्टहरुले महशुस गरेर नै सम्भव भएको हो, हामीले सामाजिक सञ्जालहरुलाई पनि प्राथमिकता दिएका छौं, अहिलेको नयाँ पुस्ता सामाजिक सञ्जालमा बढी अभ्यस्त छ, उनीहरुलाई फोकस गरेर पनि हामीले हाम्रो वेवसाइटलाई परिस्कृत गर्यौं, अझै बढी दह्रो बनेर जाने प्रयास गरिरहेका छौं,’ उनले भनिन् । उपासनाको प्रवेशले पाएको सफलता कम्पनी वा संस्थाको वृद्धि विकासमा नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ भन्ने महशुस अहिले सीईओ पौडेलले गराएकी छिन् । दुई वर्ष अगाडि नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हुँदैदेखि युनाइटेडले आफ्नो लय समातेको थियो । केही वित्तीय सूचकमा चमक देखिसकेको थियो । तर, अहिले सबै सूचकहरुमा उछाल छ । अहिले उनी कम्पनीको सीईओ छिन् । उनी कम्पनीमा प्रवेश भएको यो दुई वर्षमै कम्पनीले उल्लेख्य प्रगति गरिसकेको छ । उनी शुरुमा कम्पनीको डीसीईओका रुपमा २०७६ मंसिर १५ गते नियुक्त भइन् । त्यसको ११ महिनापछि अर्थात २०७७ कार्तिकमा कार्यवाहक सीईओको रुपमा नियुक्त भइन् । र, कार्यवाहक भएको ६ महिनापछि अर्थात गत वैशाख १६ गते उनी कम्पनाको सीईओमा नियुक्त भइन् । यो दुई वर्षको अवधिमा कम्पनीले राम्रै प्रगति गरेको तथ्यांकले देखाउँछ । सबल नेतृत्वको प्रवेशले कम्पनीमा कति फरक पार्दो हरेछ भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘नेतृत्वले नै कम्पनीको भविश्य निर्धारण गर्छ, कम्पनीको शतप्रतिशत प्रभाव नेतृत्वले नै पार्छ, राम्रो टीम भएपनि टीमलाई सही रुपमा परिचालन गर्ने खुबी पनि नेतृत्वमा हुनु पर्छ ।’ उनका अनुसार विगतमा युनाइटेडको सर्भिस नरुचाउने क्लाइन्टहरु अहिले युनाइटेडको नै सेवा लिन चाहन्छन् । ‘ठूलो-ठूलो व्यापारीहरुले कमव्याक गर्न सक्छन् भन्ने प्रमाणित पनि युनाइटेडले गरेको छ, अहिले प्रमोटरहरुले पनि युनाइनेट होल्ड गर्न चाहन्छन्, बेच्नभन्दा युनाइटेडको सेयर किन्न इच्छुक हुनुहुन्छ, जुन हाम्रो ठूलो सफलता हो,’ उनी भन्छिन् । वित्तीय परिसूचकमा उछाल युनाइटेड इन्स्योरेन्सको विगतका आर्थिक वर्षहरुको तुलनामा गत आर्थिक वर्षको वित्तीय विवरणमा ठूलो भिन्नता देखिन्छ । कम्पनीले हालै सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको असार मसान्तसम्म ३३०.३८ प्रतिशतको खुद नाफा वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ करोड ७४ लाख ८० हजार रुपैयाँ मात्रै खुद नाफा गरेको यस कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ७ करोड ५२ लाख ३१ हजार रुपैयाँ खुद नाफा गरेको छ । यस्तै, कम्पनीले गत वर्ष मात्रै आफ्नो इतिहासमा नयाँ रेकर्ड बनाएको छ । पहिलो पटक एक अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेर कम्पनी अर्ब क्लबमा मिसिएको छ, जुन युनाइटेडका लागि ठूलो सफलता हो । कम्पनीले गत वर्ष मात्रै १ अर्ब ५ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही समयमा ६९ करोड ८९ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को तुलनामा आव २०७६/७७ मा उल्लेख्य प्रगति गरेको देखिएको छ । कम्पनीले यो एक वर्षको अवधिमा चुक्ता पुँजीमा २४० प्रतिशतको वृद्धि गरेको छ । आव २०७५/७६ मा ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आव २०७६/७७ मा १ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी पुगेको छ । यस्तै, कम्पनीको जगेडा कोषमा पनि १४४ प्रतिशतको वृद्धि भएको छ । आव २०७५/७६ मा ३ करोड रुपैयाँको जगेडा कोष रहेकोमा आव २०७६/७७ मा ७ करोड ३७ लाख रुपैयाँको पुगेको थियो । हाल भने कम्पनीको जगेडा कोष ११ करोड बढी रुपैयाँको पुगिसकेको छ । सेयर मूल्य पनि बढ्यो यो एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्यमा पनि उछाल देखिएको छ । एक वर्ष अगाडि २८० रुपैयाँ सेयर मूल्य रहेको कम्पनीको सेयर मूल्य आजको दिनमा ८२४ रुपैयाँ पुगेको छ । हाल कम्पनीको सेयर मूल्यको माग पनि उच्च बढेको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी ७.३२ रुपैयाँ छ । कम्पनीको गत आवको चौथो त्रैमासको वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १४३.२३ रुपैयाँ छ । कम्पनीको परिसूचकहरुमा अघिल्लो वर्षको वासलातपछि मात्रै ठूलो परिवर्तन आएको उनी बताउँछिन् । सेयरधनी, टीम र ग्राहकलाई सन्देश सीईओ पौडेल युनाइटेड इन्स्योरेन्सको कमब्याक सेयरधनीहरुको आत्मविश्वास र भरोसा, सहकर्मीहरुको साथ र ग्राहकहरुको कम्पनीप्रति देखाएको विश्वासले सम्भव भएको बताउँछिन् । ‘समस्या र कमजोरी जुनसुकै क्षेत्रमा हुन्छन्, तर, विगतलाई हेरेर वर्तमानलाई मूल्यांकन गर्नुहुँदैन, हामीले धेरै उपलब्धि पाइसकेका छौं, अझै प्रयास गरिरहेका छौं, सेयरधनी र सहकर्मी साथीहरुको अपेक्षा पुरा गर्ने र ग्राहकहरुलाई दिनुपर्ने सेवामा हामी प्रतिवद्ध छौं,’ उनले भनिन् । सानै वस्तु र थोरै रकमबाट बीमा गर्न शुरु गरेपनि युनाइटेडमा जोडिन उनी सबैलाई आग्रह गर्छिन् । अब नयाँ पोलीसीहरु पनि ल्याउने योजनामा कम्पनी रहेको उनको भनाई छ । सम्बन्धित सामग्री: म दिनरात काम गर्छु, साथीहरु भन्छन्- ‘तिमी कति भाग्यमानी’

बैंक, बीमा र किसान जोड्दै पूर्व सचिव

काठमाडौं । प्रत्येक वर्षको बजेट बनाउने बेलामा अर्थमन्त्रालयको टीमको दिमागमा आउने एउटै कुरा हो– कृषि प्रधान देश, कृषिले धानेको अर्थतन्त्र । देशको योजना तर्जुमा गर्ने राष्ट्रिय योजना आयोग पनि भनिरहेको हुन्छ– नेपालको दुईतिहाई जनसंख्या कृषिमा आश्रित छ । र, योजना बनाउँदा कृषि क्षेत्रको विकासलाई मुख्य केन्द्रमा राख्नुपर्छ । पूर्व प्रधानमन्त्री विपी कोइरालाका अनुयायीहरु त भनिरहेका हुन्छन्– सबै परिवारसँग एक हल गोरु होउन्, एउटा लैनो गाई होस्, अलिकति करेसाबारी पनि । सरकारी योजना र अधिकारीहरुले भनेर के गर्नु ! निर्वाहमुखी कृषिले प्रत्येक वर्ष किसानलाई झन् गरिब बनाउँदैछ । उत्पादित वस्तुले उत्पादन लागत पनि धान्दैन । कृषिको यान्त्रिकरण, उन्नत मल, विउ तथा सिंचाईको अभाव जस्ता समस्या समाधानका उपाय सरकारी योजना उल्लेख गरिएको कागजातमा धेरै भेटिए पनि व्यवहारमा भेटिदैन । त्यसैले त किसान भनिरहेका भेटिन्छन्– उत्तम व्यापार, मध्यम जागिर, खत्तम कृषि । कृषि विकास मन्त्रालयको सचिव भएर अवकाश पाएका जयमुकुन्द खनाललाई किसानले अहिले भनिरहेको ‘खत्तम कृषि’ले पिन्च गरिरहेको रहेछ सायद । त्यसैले अवकाशपछि किसानलाई केही सहयोग गर्न सकिन्छ कि, कृषि क्षेत्रको विकासका लागि केही योगदान गर्न सकिन्छ कि भनेर पहल थालिरहेका छन् । सरकारी संयन्त्रमा बसेर लामो समय काम गर्दा खनालले अनुभूत गरेको कुरा के हो भने कृषि उत्पादनमा समस्या छ । उत्पादनपछि बजारीकरणमा समस्या छ । फलतः किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउनै सकेका छैनन् । सरकारले लामो समयदेखि पहल गरेर योजना तर्जुमा गरी कृषिको उन्नतिका लागि यति धेरै लगानी गर्दा पनि समाधान नभएको समस्या सरकारी संयन्त्रबाट बाहिर निस्केपछि धेरै के नै गर्न सकिन्छ र ! त्यसैले पूर्व सचिव खनाल सहितको एउटा टीम किसानले अहिले भोगिरहेको सबैभन्दा टड्कारो समस्या सम्बोधनको पहलमा लागेको छ । पूर्व सचिव खनाल किसानले उत्पादन गरिसकेका कृषि उपजले ‘मार्केट अपरच्युनिटी’ मात्रै पाउने हो भने पनि किसानलाई धेरै सहज हुने विश्लेषण सुनाउँछन् । त्यसका लागि किसानले आफ्ना उत्पादनलाई बढी मूल्य पाउने समयमा विक्री गर्न सक्ने अवस्था सिर्जना हुनुपर्छ । त्यो भनेको के हो त ? त्यो भनेको किसानले बाली भित्र्याएपछि त्यसको गुणस्तर नविग्रने गरी बढी मूल्य पाइने समयसम्म राख्न पाउने व्यवस्था हुनुपर्यो । बाली लगाउनको लागि मल विउ किन्दाको, काम गर्ने मान्छेलाई ज्याला दिन, किसानले आफ्नो दैनिकी गुजार्न र अर्काे बाली लगाउनको लागि चाहिने पैसा पनि पाउने संयन्त्र विकास हुनुपर्यो । ‘हामीसँग पर्याप्त मात्रामा भण्डारण गर्ने स्थान नहुँदा उत्पादन हुने वित्तिकै सस्तो मूल्यमा कृषि उपजको बिक्री गर्नुपरेको हो । एक त राख्ने स्थान हुँदैन, अर्काे कुरा साहूँसँग लिएको ऋण तिर्न वा आफ्नो तत्कालको आवश्यकता परिपूर्ति गर्न बिक्री गर्नुपर्ने बाध्यता किसानलाई छ, उत्पादन भएकै महिनामा उत्पादित वस्तुको मूल्य समेत सस्तो हुने हुँदा किसानले भनेजस्तो मूल्य पाउन सक्दैनन्,’ पूर्व सचिव खनाल भन्छन् । यसको लागि किसानलाई पायक पर्ने ठाउँमा गोदाम घर चाहियो । गोदाम घरमा राखेको सामान विग्रनु पनि भएन । अनि गोदाममा राखिएको कृषि उत्पादनको धितोमा कर्जा पाइने संयन्त्र विकास हुनुपर्यो । गोदाम घरमा राखिएको वस्तु कुनै कारणबस क्षति हुन सक्ने जोखिम पनि रहेकोले त्यसको बीमा पनि हुनुपर्यो । किसानका यी तीन प्रमुख समस्या समाधान गर्नको लागि पूर्व सचिव खनाल प्रमुख कार्यकारी अधिकृत रहने गरी नेपाल वेयरहाउस कम्पनी लिमिटेड दर्ता भएको छ । यो कम्पनीले किसानले उत्पादन गरेका कृषि उपजलाई अत्याधुनिक प्रविधिसहितको गोदामघरमा भण्डारण गर्ने व्यवस्था गरिदिने छ भने त्यस्ता वस्तुको बीमा र धितोका आधारमा कर्जा पाइने व्यवस्था मिलाइदिनेछ । प्रमुख कार्यकारी अधिकृत खनालका अनुसार गोदामघरमा राखेको सामानको धितोमा किसानले बैंकहरुबाट ऋण पाउने छन् । किसानले कसरी पाउँछन् बैंकबाट ऋण ? वेयरहाउले विभिन्न बैंकसँग कर्जा लिएको छ । यो कर्जा उसले आफ्नो व्यवसायिक प्रयोजनको लागि लिएको हो । कम्पनीले एभरेष्ट, नेपाल एसवीआई, बैंक अफ काठमाडू र हिमालय बैंकसँग कर्जा लिएको छ । यी बैंकहरुले गोदाममा कृषि उपज राख्ने किसानलाई कर्जा दिने प्रतिबद्धता जनाएका छन् । यस्तै, कृषि विकाश बैंक र मुक्तिनाथ विकास बैंकसँग पनि कृषि उपज धितोमा कर्जा दिने सम्बन्धी सम्झौता हुने तयारी भइरहेको कम्पनीका जिफ विजनेश अफिसर (सीबीओ) निश्चित अर्यालले जानकारी दिए । ‘किसानले हाम्रो गोदामघरमा सामान राख्दा हामीले सर्टिफाई गरेर राखिदिन्छौं, गुणस्तरको ग्यारेन्टी अर्थात ल्याव टेष्ट गरेर जस्तो सामान राखेको छ, त्यस्तै दिने ग्यारेन्टी हामी गरिदिन्छौं, अनि त्यही सामानको धितोमा बैंकहरुले प्रचलित व्याजदरमा किसानलाई कर्जा दिन्छन्,’ सीबीओ अर्याल भन्छन् । अत्याधुनिक प्रविधिसहित बन्ने सो गोदामघरमा राखिएको सामानको गुणस्तरमा समस्या नआउने भएकोले बैंकहरुले सहजै कर्जा दिने अनुमान अर्यालले गरे । गोदामघरमा राखिएका समानको बीमा पनि हुने व्यवस्था मिलाइएको छ । तराईका तीन जिल्लामा निर्माण गरेको गोदामघर मध्ये सुनसरीमा सेप्टेम्बरबाट सञ्चालनमा ल्याउने तयारी छ । कम्पनीले तीन स्थानमा गोदामघर निर्माण गरिरहेको छ । एक अर्ब ४९ करोड लगानीमा सुनसरी, पर्सा र कपिलवस्तुमा गोदामघर निर्माणको अन्तिम चरणमा पुगेको प्रमुख कार्यकारी अधिकृत खनाल बताउँछन् । ‘किसानले जस्तो खाद्य पदार्थ ल्याउनु भएको छ, सोही मात्रामा निश्चित अवधिपछि हामीले किसानलाई नै फिर्ता गछौँ । हाम्रो काम सामग्रीको सुरक्षा गर्ने हो, हामी आफैले खाद्य पदार्थको खरिद र बिक्री गर्दैनौँ’, उनले भने । गत वर्ष नै गोदामघर सञ्चालनको तयारी भएकोमा कोेभिडका कारण रोकिएको थियो । सुरुवाती चरणमा किसानले जम्मा गरेको खाद्यान्न निःशुल्क रुपमा कम्पनीकै गाडीले डेलिभरी गर्ने तयारी भएको उनी बताउँछन् । लगातीकर्ता कम्पनीमा निम्बस ग्रुप, एनएमबि बैंक, शिखर इन्स्योरेन्स, टिम भेन्चर्स, श्रीनगर एग्रो फार्म र विभिन्न १२ जना व्यवसायीको लगानी रहेको छ । कम्पनीमा कुल एक अर्ब ४९ करोड लगानी रहेको छ । कम्पनीमा डा. दिनेश गौतम, शैलेस लामिछाने, सुमन जोशी, आनन्द बगरिया र अनुज अग्रवाल व्यक्तिगत लगानीकर्ता छन् । पहिलो चरणमा सुनसरीको इटहरी नजिकै औरावनी, पर्साको जितपुर र कपिलवस्तुको चन्द्रौटामा वेरहाउस निर्माण कार्य थालिएको हो । यी ३ ठाउँमा बन्ने वेयरहाउसको क्षमता ५५ हजार मेट्रिकटन रहेको छ । जसमध्ये सबैभन्दा धेरै पर्सामा २५ हजार मेट्रिकटन र सुनसरी र कपिलवस्तुमा १५/१५ हजार मेट्रिकटन क्षमता रहेको छ । ‘पहिलो चरणमा निर्माण गरिएका वेरहाउसमा मकै, गहुँ र भटमास मात्रै भण्डारण गरिने छ । दोस्रो चरणमा बन्ने वेरहाउसमा धान, आलु र तरकारी तथा फलफूल भण्डारण गरिने छ, यो साइरो बेस्ड प्रणाली हो, यसमा किसानले आफ्नो सामग्री ल्याउँछन् । ल्याव टेस्ट गराउँछन् । क्वालिटी सेट गराएर त्यहाँ राख्ने र रसिद लिएर जान्छन्,’ खनालले थपे । उनका अनुसार जर्मनबाट भित्र्याइएको नयाँ प्रविधिको प्रयोग गरी वेयरहाउसमा राखिएको कृषि उपजलाई सुरक्षित बनाइनेछ । कति लाग्छ शुल्क ? किसानले गहुँ, मकै र मटमास गोदामघरमा राख्दा निश्चित रकम तिर्नुपर्ने हुन्छ । कम्पनीका अनुसार एक किलो गहुँ एक महिना गोदाममा राख्दा किसानले ५० पैसा रकम बुझाउनुपर्ने हुन्छ । किसानले आफ्नो आवश्यकता अनुसार तीन प्रकारका वस्तुहरु गोदाममा राख्न पाउँछन् । ‘नेपालमा विभिन्न प्रकार र प्रजातिका धानहरु उत्पादन हुन्छ । उदाहरणका लागि मोटा, मसीना, मन्सुली, मार्सी लगायतका धानहरुलाई लिऔँ । यी धान छुट्टा छुट्टै प्रकृतिमा पर्छन । गोदाममा राख्दा सबै धानलाई एकै स्थानमा राख्नेकुरा भएन । छुट्टा छुट्टै राख्दा धेरै स्थान लिन्छ, हामी सुरुवाती चरणमा बजारकोे अवस्था हेरेर विस्तारै कृषि उपजको मात्रा बढाउँदै जान्छौं,’ खनालले भने । कम्पनीले प्रत्येक स्थानमा ४÷४ विगाह जग्गा कम्पनीकै नाममा खरिद गरिसकेको छ । यस्तो जग्गा गोदामघर बनाउन प्रयोग गरिनेछ । एक वर्षमा आईपीओ, विधि बुक विल्डिङ वेयरहाउस कम्पनीले एक वर्षभित्रमा आईपीओ जारी गर्ने जनाएको छ । कम्पनी सञ्चालनमा आएको १ वर्षभित्रमा १३ करोड ७५ लाख बराबरको सेयर बिक्री गर्ने प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए । उनका अनुसार बुक विल्डिङ विधिमार्फत सेयर बिक्री गरिनेछ । कम्पनीले तीन वर्ष तयारी वर्ष, ५ वर्षमा नाफामा जाने र ८ वर्षदेखि लगानीकर्तालाई लाभांश दिने प्रक्षेपण गरेको छ ।