सिमेन्टको मूल्य घट्दा साना उद्योग बन्द हुँदै, ठूलालाई क्लिङकरमा लाभ

काठमाडौं । ५ वर्षअघि उपभोक्ताले ओपिसी सिमेन्टको लागि प्रति बोरा १००० रुपैयाँसम्म तिरे । पीसीसी सिमेन्टको लागि ९०० रुपैयाँसम्म तिरे । तर अहिले ओपिसी सिमेन्ट प्रतिबोरा ७५० रुपैयाँमा किन्न पाइन्छ । पीपीसी सिमेन्ट बोराको ६५० रुपैयाँ पर्छ । ठूलो उत्पादन क्षमतासहित होङसी, अर्घाखाँची, सर्वोत्तम, शिवम्, यूनाइटेड लगायत ठूला कम्पनीहरु बजारमा प्रतिस्पर्धात्मक रुपमा अगाडि बढेका छन् । उनीहरुले गुणस्तर वृद्धिसँगै मूल्य पनि घटाउने नीति लिएपछि उपभोक्ताले पहिलाभन्दा सस्तोमा सिमेन्ट किन्न पाएका हुन् । सिमेन्ट बाहेक सबै निर्माण सामाग्रीको निरन्तर उच्चदरमा मूल्य वृद्धि भैरहेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी लागत पनि निरन्तर वृद्धि भैरहेको छ । यद्यमी उद्योगहरूबीचको मूल्य प्रतिस्प्रर्धाले सिमेन्टको मूल्य नबढेको व्यवसायीहरुको भनाइ छ । सिमेन्टको उत्पादन बढेको तर सोही अनुसार माग वृद्धि नभएकोले सिमेन्ट उद्योगहरुबीच कसरी टिक्ने भन्नेमा प्रतिस्पर्धा भैरहेको छ । यस्तो प्रतिस्पर्धाले साना सिमेन्ट उद्योग सकसमा चलिरहेको व्यवसायीहरु बताउँछन् । अरुसँग क्लिङ्कर किनेर ग्राण्डिङ गर्दै आएको सिमेन्ट उद्योगहरु बन्द हुने चरणमा पुगेको उनीहरुको भनाइ छ । क्लिङकर आफै उत्पादन गर्ने ठूलो लगानीका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसकेपछि सानो उत्पादन क्षमता भएको सिमेन्ट उद्योगहरु बन्द हुने अवस्थामा पुगेका हुन् । होङसी, अर्घाखाची, सर्बोत्तम, शिवम्, यूनाइटेड, मारुती लगायत आफ्नै क्लिङकर खानी भएको उद्योगसँग क्लिङकर किनेर ग्राण्डिङ उद्योग चलाउँदा लागत बढी पर्न गएको र बजार मूल्यमा प्रतिस्पर्धा गर्न नसकिएको साना उद्योगीको भनाइ छ । ‘ठूला उद्योगले जति मूल्यमा उपभोक्तालाई सिमेन्ट बिक्री गर्छन, साना उद्योगको फ्याक्ट्री मूल्य नै त्यति परेको छ’ ओम सिमेन्टका प्रबन्ध निर्देशक राजन झा भन्छन्, ‘मूल्यमा प्रतिस्पर्धा गर्न नसकेपछि उद्योग बन्द गर्नुको विकल्प नै हुँदैन ।’ सिमेन्टको फ्याक्ट्री मूल्य भन्दा बजार मूल्य प्रतिबोरा करिब १०० रुपैयाँ बढी हुने उद्योगीहरु बताउँछन् । ढुवानी भाडा र बिक्रेताले लिने नाफा जोड्दा फ्याक्ट्री मूल्यभन्दा उपभोक्ता मूल्य प्रतिबोरा करिव १०० रुपैयाँ बढी हुने गरेको जानकारहरु बताउँछन् । क्लिङकर खानी भएका उद्योगले क्लिङकरमा नै धेरै नाफा राखेकोले ग्राण्डिङ उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उनीहरुको भनाइ छ । ‘भारतबाट क्लिङकर आयात गर्न सरकारले भन्सार बढी लिएको छ । नेपाली उद्योगीसँग क्लिङकर लिदाँ उनीहरुकै सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसक्ने गरी मूल्य तय गरेका छन्’ एक व्यवसायीले भने । ‘गएको दुई वर्षदेखि हाम्रो कम्पनी घाटामा गएको छ । अब उद्योग बन्द गर्नुको विकल्प नै छैन’ एक व्यवसायीले भने, ‘हाम्रो लगानी डुब्यो । उद्योग लगाउँदाको लगानी पनि उठेको छैन । उत्पादन बन्द भएपछि बजारमा गएको उधारो पनि उठ्दैन ।’ ग्राण्डिङ गर्ने एउटा सिमेन्ट उद्योग खोल्न कम्पनीमा ५० र बढीमा १५० करोड लगानी हुने व्यवसायीहरु बताउँछन् । ग्राण्डिङ प्लान्ट मात्र चलाईरहेको करिव ३ दर्जन सिमेन्ट उद्योगहरु सकसमा परेका छन् । सरकारको पुँजीगत खर्च नहुँदा र बैंकहरुले घर कर्जा समेत दिन बन्द गरेकाले सिमेन्ट स्टील उद्योगहरुमा आर्थिक संकट देखिएको नेपाल उद्योग परिसंघको उपाध्यक्ष राजेश अग्रवालले बताए । उनी सिमेन्ट उद्योगी पनि हुन् । सिमेन्ट उद्योगहरुबीच प्रतिस्पर्धात्मक वातावरण भएकोले पुरानो प्रविधिमा आधारित तथा ग्राण्डिङ प्लान्ट मात्र भएका उद्योगहरुलाई दिगो बन्न कठिन भएको अग्रवालले बताए । ‘तत्काल माग बढ्यो भने सबै उद्योग चल्न सक्छन् । तर माग वृद्धि हुन सकेन भने प्रतिस्पर्धात्मक क्षमता कमजोर भएका उद्योगहरु बन्द हुन सक्छन्’ उनले भने । उत्पादन क्षमताको तुलनामा खपतमा कमी आउँदा अधिकाशं सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेको सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापा बताउँछन् । ‘केही उद्योगहरुले बन्द गर्नुपर्ने अवस्था आयो भन्नुभएको छ तर बन्द नै भने भैइसकेको छैन्’, उनले भने । माग कम भएकाले अधिकांश उद्योगहरु न्यून क्षमतामा चलिरहेका छन् । आगामी महिनासम्म अहिलेकै अवस्था रहिराख्यो भने अधिकाशं उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुग्ने उनको भनाई छ । ‘ठूला उद्योगको तुलनामा साना ग्राण्डिङ मात्र उत्पादन गर्ने उद्योगहरु बढी समस्यामा परेका छन् । उत्पादन क्षमता सँगै लगात धेरै छ, खपत छैन’, उनले भने, ‘ठूला उद्योगको तुलनामा साना उद्योगमा धेरै उत्पादन लागत पर्छ । अर्काे महिनाबाट माग बढ्यो भने खासै समस्या हुँदैन्, अहिलेकै अवस्था रहिरह्यो भने साना ठूला सबै सिमेन्ट उद्योगलाई समस्या पर्नसक्छ ।’ उनका अनुसार हाल ६४ वटा सिमेन्ट उद्योगहरु सञ्चालन भैरहेका छन् । त्यसमा क्लिङकरसहित सिमेन्ट उत्पादन गर्ने २१ वटा ठूला उद्योग चलिरहेका छन् भने ४३ वटा ग्राण्डिङ मात्र गर्ने साना उद्योग छन् । उनले सिमेन्ट निर्यातका लागि सरकारसँग आग्रह गर्दै आएतापनि सहयोग नभएको बताए । व्यवसायीहरुले सरकारसँग उत्पादन लागत घटाउन, भारतको भन्सारमा लाग्ने शुल्क तथा निर्यात गर्ने उद्योगलाई दिने विद्युतमा छुटको व्यवस्था गर्न माग राख्दै आएका छन् । ‘निर्यात ठूलो मात्रामा हुन्छ । वार्षिक १५० अर्ब रुपैयाँभन्दा बढी मूल्यको सिमेन्ट निर्यात गर्न हामी तयार छौँ । हामीले सिमेन्ट निर्यात गर्दा मात्र १५ प्रतिशत व्यापार घाटा कम हुन्छ । निर्यात गर्न पाए मात्र हामी बाच्छौँ’, उनले भने । साना सिमेन्ट उद्योगहरुले संकट भोगिरहेको विषय आफ्नो जानकारीमा नआएको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । ‘उहाँहरु समस्यामा परेर उद्योग नै बन्द गर्ने अवस्थामा पुग्नुभएको भए हामीकहाँ जानकारी आउथ्यो । तर अहिलेसम्म यो विषयमा कुनै पनि जानकारी आएको छैन्’, उनले भने ।

सौरभ र सुहृद ज्योतिले हाले बाबु पद्मसहित ९ पुर्ख्यौली कम्पनी विरुद्ध मुद्दा

काठमाडौं । व्यवसायिक घराना ज्योति ग्रुप अहिले सम्पत्ती विवादको कानुनी लडाईमा छ । मणिहर्ष ज्योतिले ८२ वर्षअघि स्थापना गरेको व्यवसायिक घराना अहिले छोरा र नातिहरुबीचको नमिठो विवादमा फसेको हो । मणिहर्ष ज्योतिले सन् १९४० मा ज्योति ग्रुप स्थापना गरेका थिए । गत पुस २३ गते ज्योति ग्रुपको तेस्रो पुस्ताका सौरभ ज्योति र सुहृद ज्योतिले आफ्नो पुर्ख्यौली ९ कम्पनी विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेका छन् । सम्पत्ति सम्बन्धी सो मुद्दामा सौरभ र सुहृदले आफ्नै बाबु पद्म ज्योति विरुद्ध पनि मुद्दा हालेका हुन् । सौरभ र सुह्दले आफ्नै पुख्र्यौली कम्पनीहरु स्यामुकापु एण्ड कम्पनी प्रालि, भाजुरत्न फर्मा प्रालि, म्यानेजमेन्ट सर्भिसेज प्रालि, हिमाल एण्ड कम्पनी प्रालि, भाजुरत्न कम्पनी प्रालि, ज्योति यार्न प्रोसेसिङ कम्पनी प्रालि, स्याकर कम्पनी प्रालि, इन्जिनियरिङ एण्ड सेल्स लि र ज्योति एण्ड कम्पनी प्रालि विरुद्ध मुद्दा दायर गरेका छन् । यो सबै मुद्दा सम्पत्ति विवादसँग सम्बन्धित छ । आफूहरुबीच अंशबण्डा भएर आ-आफ्नो पेश व्यवसाय गरिरहेको भएपनि आफूहरुको सेयर स्वामित्व भएका कम्पनीहरुमा आफूहरुमाथि अन्याय गरिएको निवेदक सौरभ र सुहृदको मागदाबी छ । यसरी मुद्दा परेका कम्पनीहरुमध्ये भाजुरत्न फर्मा प्रालिको अध्यक्ष सौरभ र सुहृदका बाबु पद्म ज्योति छन् । सो कम्पनीमा सौरभ र सुहृदको २ हजार कित्ता सेयर (कुल सेयरको ०.१४ प्रतिशत) स्वमित्व छ । कम्पनीले आफूहरु सेयरधनी भएपनि आफूहरुलाई कुनै जानकारी नै नदिई पुस २६ गते वार्षिक साधारणसभा गर्न लागेकोले सो सभा रोक्न माग गर्दै पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको हो । ‘प्रतिवादी कम्पनीका अध्यक्ष तथा सेयरधनी पद्म ज्योति हामी निवेदकहरुको सहोदर बुबा हुनुहन्छ । निज प्रतिवादी र हामीहरुको अंशबण्डा भई आ-आफ्नो पेश व्यवसाय गरिआएका छौं । विपक्षी कम्पनीमा हाम्रा स्व. हजुरबुबा मणिहर्षका सन्तानहरु र निजहरुको स्वामित्व भएका अन्य कम्पनीहरुको नै सेयर लगानी रहेको छ,’ आफ्नै बाबु पद्म ज्योति अध्यक्ष भएको कम्पनी भाजुरत्न फर्मा प्रालि, त्यसको संचालक समिति र आफ्नै बाबु पद्म ज्योति विरुद्ध सौरभ र सुहृदले अदालतमा पेश गरेको निवेदनमा उल्लेख छ । आफूहरुको सेयर भएपनि बाबु नै अध्यक्ष भएको कम्पनीको साधारणसभामा समेत आफूहरुलाई कुनै जानकारी नदिएको र एउटै भवनमा भएका कम्पनीको गतिविधिमा आफूहरुलाई कुनै जानकारी नदिने गरिएको सौरभ र सुहृदको भनाई छ । ‘विपक्षी कम्पनीको रजिष्टर्ड कार्यालय रहेको ठेगाना काठमाडौं जिल्ला, कामनपा वडा नं. २७ कान्तिपथ स्थित ज्योति भवनमा हामी निवेदकहरु र हाम्रा स्व. हजुरबुबा मणिहर्षका अन्य सन्तानहरु संलग्न रहेको थुप्रै कम्पनीको रजिष्टर्ड कार्यालय रहेको तथा हामी निवेदशकहरुको व्यक्तिगत लगानी रहेका अन्य कम्पनीहरुको रजिष्टर्ड कार्यालय पनि सोही ज्योति भवनमा रहेकाले हामीले ज्योति भवनमै बसी आफ्नो नियमति व्यवसायिक काम कारबाही गर्दै आइरहेका छौं । यस्तै, अवस्थामा मिति २०७८।०९।२२ गते बिहीबार हामी निवेदकहरु आफ्नो नियमित काम सकेर घर फर्कने क्रममा ज्योति भवन परिसरमा विपक्षी कम्पनीका कर्मचारीहरुबीच कम्पनीको आव २०७७।०७८ को साधारणसभा हुन लागेको भनी छलफल भइरहेको सुनेका थियौं । उक्त कुरा सुनेपछि हामी निवेदकहरुले विपक्षी कम्पनीका केही कर्मचारीलाई कम्पनीको साधारणसभाको बारेमा के जानकारी छ भनी अनौपचारिक रुपमा सोध्दा निज कर्मचारीहरुले मिति २०७८।०९।२६ मा विपक्षी कम्पनीको साधारणसभा हुन लागेको भन्ने सुनेका छौं भनी जानकारी गराउनु भयो । हामी निवेदकहरुलाई विपक्षी कम्पनीको आव २०७७।०७८ को वार्षिक साधारणसभाका सम्बन्धमा कुनै जानकारी नभएकोले सो सम्बन्धमा सत्य तथ्य के रहेछ भनी विपक्षी कम्पनीका व्यवस्थापकहरुसँग सोध्दा विपक्षी कम्पनीका व्यवस्थापकहरुले कम्पनीको साधारणसभा जहिलेसुकै भएपनि तपाईंहरुलाई बोलाउन आवश्यक छैन, हामीहरुलाई बहुमत सेयरधनीको साथ छ, हामीहरु जे पनि निर्णय गर्न सक्छौं भनी अन्यायको धाक धम्की दिनुभयो,’ पाटन उच्च अदालतमा सौरभ र सुह्दले दिएको निवेदनमा उल्लेख छ । सौरभ र सुहृदले दिएको निवेदनका आधारमा पाटन उच्च अदालतले ७ दिने आदेश दिएको छ । सो आदेशमा विपक्षीसँग जवाफ माग गरिएको हो । ‘यसमा निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण भए सबूद प्रमाण सहित म्याद सूचना पाएका मितिले बाटाको म्याद बाहेक ७ (सात) दिनभित्र विपक्षीहरुले आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत जवाफ पेश गर्नू,’ न्यायाधीश किरण पौडेल र मिना गौतम सेडाईको पुस २७ गतेको आदेशमा भनिएको छ ।

बैंकिङ जब छोडेर व्यवसायमा रमेका ‘अशोक-सुमन’ जोडी

काठमाडौं । तपाईंले घरको साना बाबुनानीलाई तपाईं भविष्यमा के बन्नुहुन्छ भनेर सोध्नु भयो भने जवाफ के आउँछ ? डाक्टर, पाइलट, बैंकर वा यस्तै-यस्तै अरु पनि । काठमाडौं बागबजारका अशोक खड्गीलाई पनि उनको घरमा आमाबुबा वा दाजुभाईहरुले यस्तै प्रश्न सोधे भने उनी आफु के बन्ने भनेर जवाफ दिन्थेनन् । जवाफमा उनी भन्थे, ‘परिश्रम गर्ने हो पछि के बनिन्छ हेर्दै जाऔं ।’ धार्मिक ग्रन्थ गीतमा लेखिएको छ, ‘कर्म गर, फलको आश नगर ।’ हो, अशोक खड्गी पनि यस्तै लाग्छ । उनी कामलाई नै सर्वोपरी ठान्छन्, र सधैं आफ्नो कर्मलाई पुज्छन् । ‘म र म सँगैका धेरै साथीहरुले हामीभन्दा ठूलाले पछि के बन्छौं भनेर सोध्थे, साथीहरु कुनैले बैंकर, कुनैले डाक्टर त कुनैले पाइलट बन्ने सपना सुनाउँथे, तर, म भने यो बन्छु कहिल्यै भनिनँ, सिद्धार्थ स्कुल बनस्थलीमा पढ्दादेखि नै म एभरेज विद्यार्थी थिएँ, मैले सानैदेखि नै धेरै सपना बुन्ने भन्दा पनि काम गर्नु पर्छ जस्तो लाग्थ्यो,’ खड्गीले विगत स्मरण गर्दै सुनाए । वि.स २०४७ सालमा सिद्धार्थ स्कुल बनस्थलीबाट प्रथम श्रेणीमा एसएलसी (अहिले एसईई) पास गरेका खड्कीले प्लस टु र स्नातक सरस्वती कलेजबाट गरे । व्यवस्थापनमा स्नातकोत्तर पूरा गरेका खड्गी बैंकर बन्ने ध्येय नभएपनि स्नातक पढ्दादेखि नै बैंकमा जागिर सुरु गरेको बताउँछन् । नबिल बैंकबाट करिअर सुरु पूर्व बैंकर अशोक खड्गीको बैंकिङ करिअर नबिल बैंकबाट सुरु भयो । वि.स २०५५ सालबाट बैंकिङ जागिर सुरु गरेका खड्गीको नबिल बैंक प्रवेशको क्षण भने गज्जबको छ । नबिल बैंकमा काम गर्दा अशोक ‘म व्यवस्थापनको विद्यार्थी थिएँ, त्यतिखेर बैंकिङ क्रेज एकदमै बढी थियो । मिडियाहरुले पनि उद्योग व्यवसायभन्दा पनि बैंक तथा वित्तीय संस्थालाई नै समाचारमा प्राथमिकता दिन्थे, धेरैको ध्यान बैंकमा थियो, बैंकमा जागिर खानु पनि ठूलै कुरा मानिन्थ्यो, मैले पनि पत्रिकामा विज्ञापन देखेपछि नबिल बैंकमा जागिरका लागि आवेदन दिएँ, तर, बैंकर नै बन्ने भने सपना थिएन,’ खड्गीले भने । व्यवस्थापन विषय पढेको हुनाले पनि बैंकको लिखित परीक्षा आफ्नो लागि गाह्रो नभएकोले परीक्षा पनि सजिलै पास गरेको उनी सुनाउँछन् । बैंकिङ जागिरका लागि लिखित परीक्षामा पास भएका अशोक खड्गीले समयमै मौखिक परीक्षा भने दिन पाएनन् । ‘लिखित परीक्षामा पास भएपछि मौखिक परीक्षाका लागि बैंकबाट फोन आएको रहेछ, मेरो घरमा र म सँग पनि फोन थिएन, त्यतिखेर म काठमाडौं बाहिर थिएँ, म घर नजिकैको पसलमा नबिल बैंकबाट फाेन आएको रहेछ, मैले पछि काठमाडौं आएपछि थाहा पाएँ, मैले मौखिक परीक्षा दिनै पाइनँ,’ उनले भने । फोन आएकै पसलेले उनलाई ‘आइडिया’ दिए । मौखिक परीक्षाको समयमा काठमाडौं बाहिर रहेको र उपस्थित हुन नसकेको भन्दै बैंकलाई निवदेन दिने । अशोकले पनि त्यस्तै गरे । नभन्दै अशोकको प्रस्तावलाई बैंकले स्वीकार्दै अर्को दिन मौखिक परीक्षाका लागि आउन भन्यो । ‘त्यतिखेर म साह्रै खुशी भएँ, बैंकले भनेको प्रस्ताव माने, अन्तर्वार्ता दिएँ, केही दिनपछि नाम पनि निस्कियो, २०५५ देखि नै नबिल बैंकमा इन्ट्री लेभलबाटै काम सुरु गरेँ,’ उनले आफ्नो विगत सुनाए । उनी त्यो समयमा नबिल बैंकमा ६ हजार रुपैयाँबाट काम सुरु गरेको बताउँछन् । बैंकमा काम गरेको ६ महिनापछि तलब बढेर ७ हजार ६० रुपैयाँ पुगेको उनी बताउँछन् । दोहा बैंकमा पनि काम गर्ने अवसर नबिल बैंकमा काम गरेका अशोकलाई ८ वर्ष भइसकेको थियो । नबिल बैंकले आफ्नो कर्मचारीको क्षमता अभिवृद्धि तथा ‘एक्सपोजर’ का लागि विदेशमा पनि पठाउने गर्छ । सोही शिलसिलामा अशोक खड्गीले पनि कतारको दोहा बैंकमा काम गर्न जाने मौका पाए । २०६२/०६३ मा देशमा जनआन्दोलन चर्किएको थियो । सोही समयमा नबिल बैंकले बैंकका १४ जना कर्मचारीलाई एक्सपोजरका लागि भन्दै कतारको दोहा बैंकमा पठाउने योजना बनायो । सोही सूचीमा अशोकको पनि नाम पर्यो । ‘विश्वकै ठूलो बैंक दोहा बैंकमा काम गर्न पाउनु हामी १४ जनाकै लागि ठूलो अवसर थियो, कतार गएपछि त्यहाँको केही आन्तरिक नीति पनि पढ्यौं, मैले दोहा बैंककै कर्पोरेट ट्रेनिङ डिपार्टमेन्टमा काम गरेँ, नबिल बैंकमै हामी पोख्त भैसकेका थियौं, जसले नबिल बैंकको ट्रेजरीमा काम गरेका थिए, उनीहरु नै दोहा बैंकको ट्रेजरीमै काम गर्ने पनि भए, हामी काम गर्ने संस्थाले हामीलाई यति दक्ष बनाएको रहेछ भनेर पनि खुशी भयौं,’ उनले आफ्नो अनुभव सुनाए । उनका अनुसार १४ जना कर्मचारीहरु २ वर्षका लागि दोहा बैंकमा गएका थिए । तर, आफुसहित १ जना अर्को साथी बढुवा भएर नै ६ महिनापछि नबिल बैंकमै फर्केको बताए । ६ हजारबाट एक लाख बढी तलब नबिल बैंकमा प्रवेश गर्दा मासिक ६ हजार रुपैयाँमा काम गरेका अशोकको पदसँगै मासिक तलब पनि ह्वात्तै बढिसकेको थियो । उनले नबिल बैंकबाट दोहा बैंकमा जाँदा आफ्नो तलब २५ हजार रुपैयाँसम्म पुगिसकेको बताए । ‘नबिल बैंकबाट दोहा बैंकमा काम गर्न जाँदा मेरो मासिक तलब २५ हजार रुपैयाँ जति थियो, तर ६ महिनाकै अवधिमा मेरो तलब दोहा बैंकमा १ लाख २० हजार रुपैयाँभन्दा बढी पुग्यो, पैसाकै लागि भए त म २ वर्षसम्म त्यही बस्थेँ, तर, अफिसरमा बढुवा भएर ६ महिनामै स्वदेश फर्किएँ,’ उनले भने । उनका अनुसार दोहा बैंकमा अफिसर पदमा बढुवा हुनका लागि ४ सय जनाको प्रतिस्पर्धा भएको थियो । सो प्रतिस्पर्धामा एक नम्बरमा आफुले नाम निकालेको उनी सुनाउँछन् । ‘बिहान साढे ७ बजे अफिसको समय थियो, २ बजे छुट्टी हुन्थ्यो, दिनभर पढ्ने समय हुन्थ्यो, त्यसैले पनि ४ सय जनाको सूचीका पहिलो नम्बरमा मेरो नाम आयो, अझ २ वर्ष त्यतै बसेको भए पैसा पनि कमाइन्थ्यो, तर, मैले पैसा नै सबै कुरा सोचिनँ, फर्केर नबिल बैंकमै आएँ,’ उनले भने । श्रीमती पनि बैंकर पेशाले बैंकर अशोक खड्गीले आफ्नो पदीय हैसियत बलियो बनाइसकेका थिए । नबिल बैंकको अफिसर पदमा कार्यरत थिए । पद, प्रतिष्ठा र पैसाको उनीसँग कमि थिएन । सोही समयमा उनको चाबहिलकी सुमन जोशीसँग हिचचिम बढ्यो । सुमन ब्राह्मण समुदायबाट । तर, अशोकलाई अन्तरजातिय विवाहले कुनै फरक पार्छ कि भन्ने कहिले सोचेनन् । अगाडिदेखि नै चिनजानमा रहेका उनीहरु वि.स २०६४ सालमा विवाह बन्धनमा बाँधिए । ‘कलेजमा पढ्दा नै हामी एक अर्कालाई चिन्थ्यौं, तर, त्यतिसम्म सुमन पनि बैंकर बनिसकेकी थिइन्, आफ्नै सेक्टरसँग विवाह गर्न पाउँदा दुवै जना खुशी थियौं, र अहिले पनि छौं,’ उनले हाँस्दै आफ्नो प्रेम कहानी सुनाए । प्राइम कमर्सियल बैंकबाट बैंकिङ करिअर सुरु गरेकी सुमनले पनि अहिले बैंकिङ जब छोडिसकेकी छन् । उनी १२ वर्षको अवधिसम्म प्राइम कमर्सियल र एनएमबि बैंकमा काम गरेर बैंकिङ जबबाट विश्राम लिइसकेकी छन् । २०७४ सालमा बैंक छोडेकी उनी हाल ह्वाइट लोटस हाइड्रो पावरको प्रबन्ध निर्देशक र एनसीसी बैंकको सञ्चालकका रुपमा कार्यरत छिन् । …त्यसपछि नबिलबाट ‘एक्जिट’ बैंकिङ करिअर सुरु गरेको १० वर्षपछि अशोक नबिल बैंकबाट बिदा भए । आफुलाई बैंकिङ सिकाएको, पेशा, पैसा, पद र प्रतिष्ठा दिएको बैंकलाई चटक्कै छाड्ने मन नहुँदा नुहँदै पनि अशोकले आफ्नो भविष्य हेर्दै नबिल बैंकबाट बिदा लिए । ‘हुन त नबिल बैंक हरेक दृष्टिकोणले राम्रै छ, अहिले पनि टप बैंकको रुपमा चिनिन्छ, तर, नबिल बैंकमा कर्मचारीको टर्नओभर कम हुनाले कर्मचारीको प्रमोशन पनि ढिलाई तथा ‘करिअर ग्रोअप’ ढिला हुन्छ, मैले मेरो यात्रा एग्रेसिभ रुपमा अगाडि बढाउन नै नबिल छाडेको हुँ,’ बैंकर खड्गीले भने । म्यानेजर बनेर एस बैंकमा २०६५ सालमा नबिल बैंकर छोडेर अशोक एस डेभलपमेन्ट बैंकमा गए । नबिल बैंकमा अफिसर पदमा कार्यरत उनी बढुवा भएर एस बैक म्यानेजर भए । ‘मैले करिअर ग्रोथको लागि नै नबिल बैंक छोडेँ, एस डेभलपमेन्ट बैंकमा म्यानेजर हुँदा धेरै काम गर्ने र सिक्ने मौका पनि मिल्यो, म जाँदा बैंकका तीन वटा शाखा मात्रै थिए, एस फाइनान्सबाट विकास बैंक बनेको थियो, पछि शाखा विस्तार गरेर देशभर बैंकलाई चिन्ने बनाएँ, पहिले काठमाडौंमै केन्द्रित बिजेनस पछि देशभरको बनाएँ,’ उनले आफुले गरेका कामको फेहरिस्थ सुनाए । उनले आफु एस डेभलपमेन्ट बैंकमा गइसकेपछि नै बैंकको १२/१४ शाखा विस्तार गरेको बताए । उनका अनुसार उनी सो बैंकमा गइसकेपछि नै एस क्यापिटलले मर्चेन्ट बैंकिङको कारोबार विस्तार गर्यो । ‘हामी एस क्यापिटल मार्फत नै वर्षभरमा १८/१९ वटा आईपीओ र राइट सेयर निकाल्थ्यौं, वाणिज्य बैंकका मर्चेन्ट बैंकभन्दा पनि हाम्रो राम्रो थियो, हामीलाई अधिकांशले पत्याउँथे,’ उनले भने । सो बैंकमा ५ वर्ष काम गरेपछि उनले आफ्नो प्रमोशन खोजे । एस डेभलपमेन्ट बैंकमा ५ वर्ष काम गरेपछि उनी त्यस बैंकबाट पनि बिदा भए । १५ वर्षपछि सीईओ बैंकर अशोक खड्गीको सुरुमा बैंकर बन्ने सपना थिएन । तर, बैंकिङ जागिरमै प्रवेश भइसकेपछि टप लेभलमा रहेर काम गर्ने योजना उनले बनाइसकेका थिए । टप वाणिज्य बैंकको रुपमा रहेको नबिल बैंकले उनलाई १० वर्षको अवधिमा काम गर्ने हिम्मत दिइसकेको थियो । ५ वर्षमा एस क्यापिटल विकास बैंकमा राम्रो काम गरेर देखाइसकेका थिए । बैंकिङ बजारमा राम्रो काम गर्ने बैंकरको छवि बनाइसकेका उनलाई नवलपरासीमा रहेको गौरीशंकर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि प्रस्ताव आयो । उनले सो अफरलाई अवसर ठाने । उनी ४ वर्षका लागि सीईओमा नियुक्त भएर गौरीशंकर डेभलपमेन्ट बैंकमा काम सुरु गरे । ‘गौरीशंकर डेभलपमेन्ट बैंकका लगानीकर्ता सबै काठमाडौंका थिए, लगानीकर्तालाई कुनै बैंकसँग मर्जर गराउन मैलै आग्रह गरेँ, तीन जिल्लामा सीमित भएर काम गर्नुभन्दा फराकिलो बैंक भएर चिनिन मैले बोर्डमा प्रस्ताव गरेँ, त्यो काम सफल पनि भयो,’ उनले गौरीशंकर डेभलपमेन्ट बैंक प्रभु बैंकमा मर्ज हुँदाको किस्सा पनि सुनाए । २०७० सालमा गौरीशंकर डेभलपमेन्ट बैंकको सीईओ बनेका उनले ३ वर्षसम्म सोही बैंकमा काम गरे । उनले सो बैंकमा पनि स्थानीय स्तरमा वित्तीय साक्षरतादेखि उद्यमी जन्माउनका लागि धेरै पहल गरेको बताए । ‘त्यतिखेर बैंकको पूँजी २१ करोड रुपैयाँ थियो, राष्ट्रियस्तरको विकास बैंक बन्न ६४ करोड रुपैयाँ पूँजी चाहिन्थ्यो, वाणिज्य बैंक बन्न २ अर्ब रुपैयाँ चाहिन्थ्यो, हामीसँग उपाय भनेको वाणिज्य बैंकसँग मर्ज गराउनु नै थियो, त्यसैले पनि पछि प्रभु बैंकसँग बैंक मर्ज गराउनका लागि महत्वपूर्ण भूमिका खेलेँ, त्यो सफल पनि भयो,’ उनले भने । सीईओ खड्गीको अथक प्रयासपछि २०७३ सालमा गौरीशंकर डेभलपमेन्ट बैंक प्रभु बैंकमा मर्ज भयो । त्यो बेला पनि गौरीशंकर डेभलपमेन्ट बैंकको बजारमा राम्रो प्रभाव रहेको उनी सुनाउँछन् । प्रभु बैंकमा एसिस्टेन्ट सीईओ गौरीशंकर डेभलपमेन्ट बैंक प्रभु बैंकमा मर्ज भइसकेपछि उनी एसिस्टेन्ट सीईओ बने । उनले बैंकको सीईओ बन्ने धोका पूरा गरिसकेका थिए । तर, उनी विकास बैंकको मात्रै सीईओ बनिसकेका थिए । उनी अब वाणिज्य बैंकको नै सीईओ बन्न चाहन्थे । उनको सपना विस्तारै पूरा हुँदै थियो । प्रभु बैंकका एसिस्टेन्ट सीईओ रहेका उनी सीईओ बन्न वरिष्ठ डेपुटी र त्यसपछि सीईओ बाँकी थियो । तर, उनले प्रभु बैंकमा केही वर्ष काम गरेपछि सोही बैंकबाट बिदा भए । ‘मैले प्रभु बैंकमा पनि राम्रै काम गरेँ, बैंकको पनि राम्रै प्रोग्रेस भयो, सोही समयमा देशभर शाखा सञ्जाल र अन्तर्राष्ट्रिय रुपमा पनि प्रख्यात बैंकको रुपमा प्रभु चिनियो, अब जागिर भन्दा पनि व्यवसाय गर्नु पर्छ सोचेर बैंकिङ जागिरबाट बिदा भएँ,’ उनले भने । बैंकिङ जब छोडेर अटो बजारमा २० वर्षे बैंकिङ जब छाडेर अहिले अशोक अटो बजारमा होमिएका छन् । उनले ह्वाईट लोटस मोटर्स नामक कम्पनी स्थापना गरेर विद्युतीय सवारी साधन खरिद बिक्री गर्दै आएका छन् । उनले गत वर्षदेखि काम सुरु गरेका छन् । ‘अटो मोबाईल्स क्षेत्र एउटा कर्पाेरेट बिजनेश हो, जसमा समाजसेवा, रोजगार सिर्जना लगायतका वस्तुलाई जोड्न सकिन्छ, विद्युतीय सवारी साधनलाई हामीले रोज्नुको एउटा कारण नेपालको अर्थतन्त्रका सकारात्मक पक्षहरुलाई जोड्न व्यवसाय सुरु गरेका हौं, बैंकले मलाई मात्रै दिएको थियो, मैले यो व्यवसाय सुरु गरेर सयौंलाई रोजगारी दिएको छु,’ उनले भने । उनी ह्वाईट लोटस हाइड्रो पावर नामक कम्पनी स्थापना गरेर पनि उनी काम गरिरहेका छन् । जसको नेतृत्व अशोककी श्रीमती सुमनले सम्हालिरहेकी छिन् । सुमन पनि १२ वर्षे बैंकिङ करिअरलाई बिराम दिँदै अहिले आफ्नै व्यवसायमा व्यस्त छिन् । ‘बैंकमा काम गर्दा गर्दै विद्युतीय सवारी साधनको विषयमा अध्ययन गरिरहेको थिएँ, नेपाल सरकार पनि विद्युतलाई प्राथमिकता दिने र विद्युतको खपत बढाउने तर्फ लागि रहेको छ, मैले पनि अब यही क्षेत्रमा केही गर्नु पर्छ भन्ने सोच बनाएँ,’ खड्गीले आफ्नो योजना सुनाए । एक उद्यमीले बैंकिङ जब नियाल्दा ह्वाईट लोटस मोटर्सका प्रबन्ध निर्देशक तथा पूर्व बैंकर अशोक खड्गी बैंकिङ जब बाहिरबाट हेर्दा जति आकर्षक भएपनि भित्र त्यति सजिलो नभएको तर्क गर्छन् । उनले पैसाकै लागि काम गर्ने भएको भए आफु बैंकिङ जबमा पनि धेरै कमाउन सक्ने बताउँदै देशको अर्थतन्त्रमा टेवा र बेरोजगार रहेका केही युवाहरुलाई रोजगारी दिनको लागि भएपनि यो व्यवसाय सुरु गरेको बताउँछन् । ‘मैले बैंकमा जागिर सुरु गर्दा बैंकमा निकै आकर्षण थियो, हरेक मान्छेहरु बैंकमा काम गर्न चाहन्थे, केही मात्रामा त्यो परिपाटी अहिले पनि छ, नबिल बैंकमा काम गर्न पाउनु झनै ठूलो अवसर मानिन्थ्यो, तर, मैले विभिन्न बैंकको विभिन्न पदमा रहेर काम गरेँ, बैंकको जागिर बाहिरबाट जति आकर्षित देखिन्छ, त्यो भन्दा बढी भित्र प्रेसर छ,’ उनले आफ्नो भोगाई सुनाए । अहिले उनी मात्रै होइन उनकी श्रीमती दाजुभाई र बहिनी पनि आ-आफ्नो व्यवसायमा व्यस्त छन् । ‘अटो मोबाइल पनि ग्ल्यामरस क्षेत्र हो, मान्छेहरुले हेर्ने नजर अलि फरक छ, राज्यको नीति परिवर्तन हुन आवश्यक छ, नेपालको कानुनले सबैलाई समान तरिकाले हेर्ने नीति बनाउनु पर्छ,’ उनले भने ।