संस्थापक र सर्वसाधारण सेयर छ्यासमिस
काठमाडौं । ‘होटल तथा पर्यटन समूहमा सूचीकृत छन् कालिन्चोक होटल र सिटी होटल । कालिन्चोक होटलको १० प्रतिशत सेयर सर्वसाधारण सेयरधनी समूह र ९० प्रतिशत सेयर संस्थापक समूहमा उल्लेख छ । तर, सिटी होटलको सबै सेयर सर्वसाधारण सेयर भनेर प्रविष्टि गरिएको छ । एउटै समूहका एउटै प्रकृतिका २ वटा होटलको किन फरक ?,’ सिडिएस एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध सञ्चालक (एमडी) प्रविन पान्दाकले प्रश्न गरिन् ? ‘उदाहरणका लागि कुनै बैंकमा एक लाख रुपैयाँको भौचर डिपोजिट गर्छौं । भौचरमा एक लाख रुपैयाँ देखिन्छ तर बैंकको सफ्टवेयरमा पाँच लाख वा १० लाख रुपैयाँ राखे जस्तै (जति भौचरमा हुनुपर्ने हो त्यति नै सफ्टवेयरमा राख्नुपर्छ),’ एमडी पान्दाकले भनिन्, ‘अधिकांश कम्पनीले विधि र नियमानुसार नै प्रणालीमा तथ्यांक प्रविष्ट गरेका छन् । तर, केही कम्पनीमा भने यस्तो बेथिति छ । के तथ्यांक नमिल्ने अवस्था आउनु कानुनसम्मत हो ?’ उनका अनुसार केही कम्पनीले सीडीएससीमा सेयर डिपोजिट गर्दा संस्थापक सेयरलाई पनि सर्वसाधारण सेयर भनेर उल्लेख गराएका छन् । जबकि प्रबन्ध पत्र तथा नियमावलीमा ९० प्रतिशत संस्थापक र १० प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहने भनिएको हुन्छ । पुँजी बजारको आधारभूत सिद्धान्त नै पारदर्शिता र तथ्यांकको शुद्धता भएको बताउँदै उनले प्रश्न गरिन्, ‘यस्तो गम्भीर विषयमा तथ्यांक नमिल्नु के अपराध होइन ? के यो लगानीकर्ताप्रति धोका होइन ?’ काम गर्ने क्रममा यस्ता बेथिति देखिएपछि स्पष्ट कानुनी व्यवस्थाको खाँचो आवश्यक रहेको महसुस गरेपछि एमडी पान्दाकले धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका-२०८२ ड्राफ्ट गरिन् । निर्देशिका ड्राफ्ट गरेर वि.सं. २०८२ साउन ११ गते स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पठाइन् । ‘म धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका तयार गर्ने उद्देश्यले सीडीएससीमा नियुक्त भएकी होइन । तर, काम गर्ने क्रममा कुनै कम्पनीलाई एउटा आइजिन र कुनै कम्पनीलाई २ वटा आइजिन प्रदान गरिएको छ । यस्ता बेथिति देखिएपछि निर्देशिका तयार पारेर नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पठाएँ,’ उनले भनिन्, ‘सुरुमा सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठज्यू पनि सकारात्मक हुनुहुन्थ्यो । तर, स्वीकृतिका लागि पठाएको निर्देशिका सात महिनाभन्दा बढी समय हुँदा पनि अझै पारित भएको छैन ।’ पान्दाकका अनुसार निर्देशिका धितोपत्र बोर्डमै रोकिएको छ । प्रस्तावित निर्देशिकामा संस्थापक सेयर र सर्वसाधारण सेयरलाई लकइन अवधिभर फरक आइजिनमा राखिने भनेर उल्लेख छ । ‘हामीले त सोचेका थियौं- यो निर्देशिका दुई-पाँच दिनमै स्वीकृत भएर आउँछ । किनभने यो निर्देशिका सञ्चालनलाई व्यवस्थित गर्न मात्र बनाइएको थियो । कसैको हक- अधिकारलाई हनन गरेको थिएन,’ उनले भनिन्, ‘तर, डबल आइजिनलाई सुरुमै सिंगल हुने गरी बनाइदिन्छु भन्दै विभिन्न कर्ताहरू हिँडिरहेको भन्ने विभिन्न स्रोतहरूबाट सुन्दा बडो दुःख लाग्यो । आशा गरौं यो कुरा सत्य नहोस्, धितोपत्र बोर्डका अध्यक्ष लगायत सञ्चालकबाट पुँजी बजारको विश्वसनीयता, पारदर्शितामा आँच आउन दिइने छैन ।’ नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले पनि उक्त निर्देशिका धितोपत्र बोर्डमा आएको र हालसम्म निर्णय नभएको बताए । उनले भने, ‘सिडिएससीबाट निर्देशिका बनाएर धितोपत्र बोर्डमा आएको छ । बोर्डले अध्ययन गरिरहेको छ । बोर्डमा छलफलकै क्रममा रहेको छ । सिडिएससीका एमडी पान्दाकका अनुसार यो निर्देशिका सुशासनका लागि अत्यन्त महत्वपूर्ण दस्तावेज हो । सीडीएससीको प्रणालीमा गलत तथ्यांक नै प्रविष्टि गरी वित्तीय अपराध र अनुचित लाभ लिन रोक लगाउने एउटा कडी हो । उनका अनुसार प्रतिष्ठित व्यवसायीहरूलाई सीडीएससीमा एउटा आइजिन दिइयोस् कि दुई वटा आइजिन दिइयोस्, वास्ता छैन । तर, केही व्यक्ति कम्पनीको संस्थापक र सर्वसाधारण सेयरलाई एउटै आइजिनमा राख्ने गरी निर्देशिका संशोधन गर्नतर्फ लागेको उनको आरोप छ । ‘संस्थापक सेयर र सर्वसाधारणको मूल्य फरक रहेको सर्वविदितै छ । यदि यो मूल्य फरक हुन्थेन भने एउटा आइजिन र दुईटा आइजिनको यत्रो ठूलो चर्चा नै हुने थिएन,’ उनले भनिन्, ‘मैले पनि यो आइजिन मिसाउँदा-नमिसाउँदा के हुँदो रहेछ भनेर हेर्दा करिब ४१ करोडको संस्थापक सेयर बजार मूल्य १३२७ रुपैयाँ भएकोमा सर्वसाधारण सेयरमा सुटुक्क मिसाउँदा छिनभरमै ५ अर्ब ४४ करोडको मूल्यमा परिणत हुँदो रहेछ ।’ केही कम्पनीको संस्थापक सेयरलाई टीएमएस प्रणालीमा सर्वसाधारण सेयरको रूपमा देखाएर लगानीकर्तालाई खरिद गर्न आकर्षित गरिएको र उनीहरूलाई झुक्याइएको समेत देखिएको उनको दाबी छ । अर्थ मन्त्रालयले २०६४ सालमा जारी गरेको एउटा परिपत्रमा संस्थापक सेयरको मूल्य सामान्यतया सर्वसाधारण सेयरको मूल्यभन्दा करिब आधा हुने उल्लेख छ । यसको अर्थ संस्थापक सेयरको मूल्य सर्वसाधारण सेयरको तुलनामा कम हुने नै भनिएको हो । तर, उक्त संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा कसैलाई केही नभनी मिसाउने कार्य अपारदर्शी र लगानीकर्तामाथि चरम अन्याय भएको उनको भनाइ छ । कम्पनीको सेयरलाई एउटै आइजिन दिँदा बेथिति भएकाले दुईटा आइजिनको व्यवस्था सहित निर्देशिका तयार पारिएको उनको भनाइ छ । पुँजी बजारको आधारभूत सिद्धान्त नै ‘डिस्क्लोजर’ अर्थात् खुलासा हो । यस्तो आधारभूत विषयमा पनि जानकारी गराउन आनाकानी गर्नु अपारदर्शीताको प्रवृत्ति भएको उनले बताइन् । कस्तो छ धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका, २०८२ ? धितोपत्र अभौतिकीकरण गर्दा विभिन्न समस्याहरू देखिएपछि ऐन र नियमावलीले दिएको अधिकार प्रयोग गरी एमडी पन्दाकले धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका, २०८२ तयार पारिन् । धितोपत्रको अभौतिकीकरण गर्ने कार्यलाई व्यवस्थित, पारदर्शी तथा प्रभावकारी बनाउन निर्देशिका तयार पारेको उनको भनाइ छ । धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका बनाउने प्रक्रिया एउटा कम्पनीको आइजिन मिसाउने विषयबाट सुरु भएको हो । उक्त कम्पनीको संस्थापक सेयर र सर्वसाधारण सेयरलाई एउटै आइजिनमा मिसाउन भनिएको थियो । तर, एउटै आइजिनमा मिसाउन मिल्ने प्रकृतिको थिएन । त्यसपछि कम्पनीले लिखित रूपमा धितोपत्र बोर्डमा पत्राचार ग¥यो । पत्राचार गर्दा प्रचलित धितोपत्रसम्बन्धी कानुनी व्यवस्था अनुसार गर्न÷गराउन भनियो । त्यसपछि धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावलीको नियम ३० (१) मा केन्द्रीय निक्षेप कम्पनीले सेवा सञ्चालनका लागि विनियमावली तथा कार्यसञ्चालन निर्देशिका बनाई लागू गर्न सक्ने व्यवस्था रहेको पाइयो । त्यसपछि कानुनबमोजिम कार्य गर्नुपर्ने भएपछि कार्यसञ्चालन निर्देशिका तयार गरियो । उपनियम २ र ३ मा सीडीएससी सञ्चालक समितिले स्वीकृत गरी नेपाल धितोपत्र बोर्डमा पेश गर्ने र बोर्डबाट स्वीकृति प्राप्त भएपछि लागू गरिने व्यवस्था उल्लेख छ । सोही व्यवस्था अनुसार निर्देशिका बोर्डमा पठाइएको हो । प्रस्तावित धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका- २०८२ मा धितोपत्रको आइजिन दिने प्रक्रिया सम्बन्धी उल्लेख छ । जसअनुसार अभौतिकीकरण सम्झौता भएपछि धितोपत्र निक्षेप गर्नका लागि संगठित संस्थाले जारी गरेको धितोपत्रको प्रकार अनुसार एउटै प्रकृतिका धितोपत्र समूहलाई एउटै र फरक प्रकृतिका धितोपत्र समूहलाई छुट्टाछुट्टै आइजिन प्रदान गर्नुपर्ने उल्लेख छ । तर, संगठित संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संस्थापक र सर्वसाधारण समूहको सेयर छुट्टिएको अवस्थामा ती समूहलाई छुट्टाछुट्टै आइजिन प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ । ‘निर्देशिकाले एउटा आइजिन वा दुईटा आइजिन दिने भनिएको छैन । सुरुमा तपाईं ‘मेरो धितोपत्र हो एउटै, समूह फरक छैन’ भनेर आउनुहोस्, हामी एउटै आइजिनमा राखिदिन्छौँ । तर, ‘मेरो धितोपत्र संस्थापक हो, मेरो धितोपत्र सर्वसाधारण हो’ भनेर आउनुभयो भने सोही अनुसार डिपोजिटरी प्रणाली (सीडीएस) मा राखिदिन्छौं,’ एमडी पान्दाकले भनिन् । निर्देशिकामा आइजिन मिश्रण (मर्जर) सम्बन्धी व्यवस्था पनि गरिएको छ । यदि कुनै धितोपत्रलाई फरक-फरक आइजिन दिइएको भए र प्रचलित कानुन अनुसार फरक आइजिन आवश्यक नपर्ने देखिएमा सम्बन्धित संस्थाको अनुरोधमा सीडीएससीले आइजिन मिश्रण गर्न सक्ने व्यवस्था गरिएको छ । फरक-फरक आइजिन प्रदान गरिएको धितोपत्र एउटै आइजिनमा मिसाउनु परेमा सम्बन्धित संगठित संस्थाले आइजिन मिश्रणसम्बन्धी साधारण सभाबाट पारित निर्णयको प्रमाणित प्रतिलिपि, धितोपत्र मिश्रण गराउने सम्बन्धमा राष्ट्रिय स्तरको दैनिक पत्रिका तथा अन्य सञ्चार माध्यममा कम्तीमा दुई पटक सूचना प्रकाशन गरेको प्रमाण, बोर्डको सहमतिको प्रमाण, धितोपत्र बजारलाई जानकारी गराइएको प्रमाण, प्रचलित कानुनबमोजिम फरक आइजिन आवश्यक नपर्ने सम्बन्धमा सम्बन्धित संगठित संस्थाको स्वघोषणापत्र तथा आवश्यक कागजातसहित सीडीएससीमा निवेदन दिनुपर्ने सर्त राखिएको छ । ‘लकइन अवधि सकिएपछि साधारण डिस्क्लोजर गरेर मात्रै आउनुहोस् । एजीएमबाट पारित गरेर आउनुहोस् । एजीएम किन भन्यौं भने तपाईंको प्रबन्धपत्र र नियमावलीमा कति नम्बरमा कति कित्ता सेयर राखिएको हुन्छ भन्ने उल्लेख हुन्छ । सोही बमोजिम धितोपत्र बोर्डमा विवरणपत्रमा पनि उल्लेख गरेर बुझाइएको हुन्छ,’ उनले भनिन्, ‘संस्थापकहरूलाई नै प्राविधिक रूपमा विधिसम्मत मिलोस् भनेर हो । कानुनी दस्तावेजमा रहेको तथ्यांक र डिजिटल प्रणालीमा रहेको तथ्यांक मिलोस् भनेर एजीएममा जान भनिएको हो । राष्ट्रिय स्तरको सूचना प्रकाशन गर्नुहोस् । एजीएमकै नोटिसमा खुलाएर राख्न सकिन्छ, त्यसले पनि काम गर्छ । सामान्यतया दुई पटक राष्ट्रिय स्तरको सूचना प्रकाशन गरिएको हुन्छ । म त एकदमै डिस्क्लोजरमा अब्बल हुन्छु भन्नुहुन्छ भने पत्रिकामै सूचना छपाउनुहोस् । 'अब म सर्वसाधारण सेयरसँग मिसिँदैछु, यो एजीएमबाट पारित गर्दैछौं वा फलानो मितिबाट मिसिँदैछौं' भनेर स्पष्ट रूपमा भन्नुहोस् । यसको उद्देश्य सर्वसाधारण लगानीकर्ता, सम्बन्धित निकाय, सरोकारवाला पक्ष र सरकारलाई जानकारी दिनु मात्रै हो । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति भएको पनि हुनुपर्छ ।’ ‘कम्तीमा पनि नेपालको पूँजी बजारले यति इमान्दारिता त अपेक्षा गर्छ नी । तर, यो निर्देशिकाबारे भ्रम फैलाइएको छ- कि यसले परिवर्तन गर्न दिँदैन । त्यो भ्रम मात्र हो । यो मेरो कुरा होइन, नेपाल सरकार, नेपालको अर्थतन्त्र र नेपालको पूँजी बजारको कुरा हो । सबैलाई थाहा छ, म नेपाल स्टक एक्सचेन्जको स्थायी कर्मचारी हुँ । त्यसैले यो निर्देशिकाले कन्भर्जन रोक्न खोजेको भन्ने कुरा भ्रम मात्रै हो । हामीले पहिले यो विषय स्पष्ट रूपमा भन्न नसक्नु पनि हाम्रो कमजोरी हो,’ उनले भनिन् । तर, विगतमा कसैलाई एउटा र कसैलाई दुईटा आइजिन दिएको अवस्था रहेको उनले बताइन् । ‘यो चाहिँ कानुन नहुँदा मनपरी भएको हो । मैले पनि त त्यो गर्न सक्थें नि, तर मैले कुनै पनि सूचीकृत कम्पनीलाई कसैलाई एउटा र कसैलाई दुईटा दिएको छैन । सक्थे होला-ओम मेगाश्री भन्ने पहिलो पटक फार्मास्युटिकल कम्पनी आएको थियो । मैले पनि व्याख्या गर्न सक्थेँ- फार्मास्युटिकल कम्पनीको दुईटा हुनुपर्छ अथवा एउटा हुनुपर्छ भनेर । तर मैले त्यसो गरिनँ,’ उनले भनिन्, ‘अर्को प्योर इनर्जी भन्ने पनि आएको थियो । त्यो कम्पनी पनि सोलार प्रयोग गरेर आउने पहिलो कम्पनी जस्तो लाग्छ पुँजी बजारमा । त्यो कम्पनीको पनि मैले पहिलेजस्तै व्याख्या गर्न सक्थें होला, तर मैले कहिल्यै त्यसरी सूचीकृत कम्पनीलाई, कुनै व्यक्तिलाई वा कुनै संस्थालाई मेरो तजबिज प्रयोग गरिनँ ।’ दुई वटा आइजिन किन ? लकइन खुल्नुअघि, अर्थात् लकइन अवधिभित्रै बिक्री गर्न खोज्ने कामहरू पनि हुने गरेका छन् । त्यसकारण संस्थापकहरू लकइन अवधि भन्दा अगाडि बिक्री गर्न नपाउने व्यवस्थामा विश्वस्त हुन सकिने आधार दुईटा आइजिनमा देखिन्छ । अन्यथा संस्थापकले थाहै नदिई बाहिरिन खोजेको हुन सक्छ । कुनै एउटा कम्पनीमा संस्थापकहरूले लकइन खुलेको भोलिपल्ट एक करोडभन्दा बढी कित्ता सेयर बिक्री गरेर बाहिरिएको देखिएको छ । अर्थात् कम्पनीको संस्थापकको रूपमा एक्जिट हुनुभएको छ । त्यो गैरकानुनी त म भन्दिनँ, किनभने लकइन खुलेपछि त्यो बिक्रीयोग्य सेयर नै हो । तर, सुरुमा सबै सेयर एकै ठाउँमा मिसाएर राख्नु भने गैरकानुनी थियो । लकइन खुलेपछि बिक्री गर्न पाइने सेयर हो । सायद थाहा नदिई यसरी बाहिरिनका लागि एउटै आइजिनमा राख्ने प्रयास गरिएको होला । लकइन अवधिमा प्लेजमा राख्ने काम पनि हुन्छ । प्लेज गर्दा बजार मूल्य अनुसार नै गरिन्छ । मूल्य बढेपछि प्लेजमा राख्ने प्रवृत्ति देखिन्छ । लकइन अवधिमा प्लेजमा राखिएको संस्थापक सेयर बिक्री गर्न मिल्ने अवस्था पनि देखिएको छ । लकइन भनेर लक गरिएको छ, तर प्लेजमा राखिएको छ । लकइन खुल्ने बित्तिकै भोलिपल्ट बिक्री गरिएको पनि देखिन्छ । हामीकहाँ उजुरी आयो, विवरण आयो भने हेरेर कारबाहीका लागि सिफारिस गर्छौं । तर, हजारौं, लाखौं, करोडौं र अर्बौं रुपैयाँका कारोबारमा सबै कुरा छामेर भेट्न हाम्रो प्रणालीले पनि सक्दैन । प्लेज सकिनेबित्तिकै भोलिपल्ट बेचिदिएको रहेछ । त्यसपछि कसैले उजुरी गरेपछि मात्र थाहा हुन्छ । प्रायः आफ्नै साथीभाइहरूले उजुरी गर्ने गर्छन् । कसैले भन्छ- ‘लकइनको प्लेज सेयर बेचियो ।’ लकइन खुल्ने बित्तिकै बिक्री गरेर फेरि हतार-हतार किन्ने, अनि बैंकलाई ‘मेरो लकइनको सेयर थियो, बिर्सेर बेचिएछ, फेरि रोका राखिदिनुहोस्’ भनेर मिलाइएको पनि सुनिएको छ । यदि डाटा र नाम थाहा भएको भए प्रणालीबाट निकालेर तुरुन्तै कारबाहीका लागि पठाइन्थ्यो । तर, थाहा हुँदैन । कसैलाई थाहा भए जानकारी दिनुहोस्, हामी कारबाही गर्छौँ । संस्थापक सेयरको मूल्य फरक देखाउन र सेयर संरचना पारदर्शी नबनाउँदा पनि समस्या उत्पन्न हुन्छ । ९० प्रतिशत वा ८० प्रतिशत सेयर संस्थापककै हुन्छ । जब त्यो ट्रेडेबल भएर टीएमएसमा जान्छ, सप्लाई अफ सेयर बढेपछि मूल्य घट्ने सम्भावना हुन्छ । अब मानौँ- एक महिना अगाडि सूचना दिइयो भने पनि त्यो सूचना पढेर आउने सर्वसाधारण लगानीकर्ता कति हुन्छन् ? मैले सुनेअनुसार केही कम्पनीमा साधारण सभामा कोरम नपुगेर दुई-तीन पटकसम्म सभा स्थगित भएको पनि रहेछ । त्यस्ता कम्पनीहरू उल्लेख्य संख्यामा छन् भन्ने सुनेको छु- सायद पाँच-सात वटा होला, तर ठ्याक्कै यकिन छैन । किनभने टीएमएसमा सेयर किन्ने लगानीकर्ताहरूले कम्पनी नियन्त्रणको दृष्टिले सेयर किनिरहेका छन् भन्ने मैले धेरै देखेको छैन । प्रायः ‘आज बढ्छ, भोलि बढ्छ भनेर किन्ने, बेच्ने, फेरि सस्तोमा किन्ने- यस्तै बजार प्रवृत्तिबाट प्रभावित भएर किनिरहेका जस्तो देखिन्छ । के हाम्रो देशमा यस्तै अवस्था ल्याउन खोजिएको हो ? डाटामा फरक पारेर, कानुनी कागजातमा पनि फरक पारेर भोलि वित्तीय अपराधको जोखिम बढाउने र संस्थापकहरूलाई नै फसाउने काम गर्न खोजिएको हो ? सबै संस्थापकहरूले यस्तो भन्नुभएको छैन । धेरै संस्थापकहरू अत्यन्त इमानदार, विश्वासयोग्य र प्रतिष्ठित उद्योग-व्यवसायी हुनुहुन्छ । उहाँहरूलाई एउटा आइजिन दियोस् वा दुईटा आइजिन दियोस् भन्नेभन्दा पनि कन्भर्जन र लकइन एउटै हो भनेर झुक्याइएकाले पनि यस्तो भएको हुन सक्छ । कतिपय सूचीकृत कम्पनीहरूलाई त यी प्राविधिक कुरा नै थाहा छैन । जस्तै- आज हामीले यहाँ उपस्थित अतिथिहरूलाई यो निर्देशिकाबारे यसरी जानकारी दिएका थिएनौं । कसैले के भन्छ, कसैले के भन्छ भनेर भ्रम पनि भएको हुन सक्छ । कतिपय संस्थापकहरूले 'एउटै आइजिनमा राख्दा त्यति ठूलो समस्या छैन, त्यहाँ हाल्दा मूल्य बढ्छ' भन्ने सोचेर पनि गरेको हुन सक्छ । यदि आइजिन सारेर मात्र मूल्य बढ्ने हो भने त धितोपत्र बजारको सबैभन्दा महँगो स्क्रिप्टमा सबै नेपालीको सेयर राखिदिए पनि भयो नि । यसैगरी बैंकमा संस्थापक सेयर राख्ने, तर पूँजी बजारमा सर्वसाधारण सेयर राख्ने- यस्ता विषयमा म धेरै जान्न चाहन्नँ । सायद यिनै कारणहरूले यो निर्देशिका बुझिसकेका केही व्यक्तिहरूले जानाजानी यो निर्देशिका पारित हुन नदिने प्रयास गरिरहेका छन् कि भन्ने लाग्छ ।
२० वर्षमै गाविस सचिव, राष्ट्र बैंकका कान्छा ईडी
काठमाडौं । भोजपुरको दिङ्ला । पहाडको काखमा बसेको त्यो बस्ती, जहाँबाट नेपालको आधुनिक शिक्षाको पहिलो ज्योति बल्यो । त्यहीँको ऐतिहासिक माटोसँग जोडिएको अधिकारी परिवारको कथा पनि शिक्षासँगै गाँसिएको छ । बालागुरु सडानन्द अधिकारीले स्थापना गरेको नेपालको पहिलो विद्यालयसँग यो परिवारको सम्बन्ध रहँदै आएको छ । यही शैक्षिक परम्पराको स्मृतिलाई बोकेको परिवारमा जन्मिएका हुन् निश्चल अधिकारी । निश्चलको जन्म भने भोजपुरमा होइन, झापामा भयो । उनी वि.सं २०३७ सालमा झापामा भएको हो । तर, उनको पारिवारिक जरा भोजपुरको दिङ्लामै गाडिएको छ । बाल्यकालमै परिवार काठमाडौं स¥यो । त्यसपछि उनको बाल्यकाल, पढाइ र जीवनका अधिकांश वर्ष काठमाडौंमै बिते । त्रिपुरेश्वरस्थित विश्वनिकेतन विद्यालयबाट निश्चलले वि.सं २०५२ सालमा ६८ प्रतिशत अंक ल्याएर एसएलसी (हालको एसईई) उत्तीर्ण गरे । तत्कालीन समयमा ६८ प्रतिशत अंक ल्याउनु ठूलो उपलब्धि मानिन्थ्यो । त,र उनी आज पनि आफूलाई उत्कृष्ट विद्यार्थीको रूपमा चित्रण गर्न चाहँदैनन् । उनी सहज रूपमा भन्छन्, ‘म त सधैं औसत विद्यार्थी नै थिएँ ।’ एसएलसीपछि उनले नेपाल कमर्स क्याम्पसमा अध्ययन सुरु गरे । सर्टिफिकेट लेभल (प्लस टू) देखि मास्टर्स (स्नातकोत्तर) सम्मको अध्ययन त्यहीँ पूरा गरे । पढाइप्रतिको रुचिले उनलाई अझै अगाडि बढायो । उनले पाटन क्याम्पसबाट अर्थशास्त्रमा अर्को मास्टर्स पनि गरे । अध्ययनसँगै उनी भविष्यबारे सोच्थे । परिवारबाट पनि लोकसेवा आयोगको तयारी गर भनेर सुझाव थियो । सुरुमा उनले लोकसेवा परीक्षा कस्तो हुन्छ भन्ने बुझ्नकै लागि प्रयास गरे । त्यसपछि प्रश्नको ढाँचा बुझेर तयारी गरे । दोस्रो प्रयासमै उनी सफल भए । त्यतिबेला उनी स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत थिए । लोकसेवा आयोगको परीक्षामा उत्तिर्ण भएपछि उनलाई विभिन्न मन्त्रालय रोज्न एउटा सूची दिइयो । उनले सबै मन्त्रालयमा टिक लगाए । ‘मेरो जागिर यात्रा सरकारी सेवाबाट भएको हो । वि.सं २०५७ सालमा खरिदार पदमा नाम निस्कियो । रसुवा जिल्लामा गाविस सचिव भएर काम गरें,’ सरकारी जागिरमा नियुक्ति हुँदाको सुरुवाती दिनहरु स्मरण गर्दै उनले भने । उमेर कम, अनुभव कम, तर जिम्मेवारी ठूलो । घरमा बाआमाको साथमा बसेर पढ्दै आएको एउटा युवक अब दुर्गम जिल्लातिर जागिर खान हिँड्दै थियो । त्यो क्षणलाई उनी आज पनि जीवनको सबैभन्दा अविस्मरणीय मोड मान्छन् । रसुवा पुग्नु आफैंमा एउटा यात्रा थियो । बट्टारसम्म सडक थियो, त्यसपछि पैदल हिँड्नुपथ्र्यो । बसबाट झरेपछि आफ्नो कार्यक्षेत्र पुग्न करिब दुई घण्टा हिँड्नुपर्ने अवस्था थियो । पहाडका उकाली–ओराली पार गर्दै उनले आफ्नो पहिलो सरकारी जिम्मेवारी सम्हाले । त्यो समय देश द्वन्द्वको चपेटामा थियो । वि.सं २०५८ सालको दरबार हत्याकाण्डपछि राजनीतिक अवस्था झनै जटिल बनेको थियो । गाउँगाउँमा असुरक्षाको वातावरण थियो । सरकारी कर्मचारीहरू पनि विभिन्न पक्षका नजरमा पर्थे । तर, उनी भन्छन्, ‘त्यो कठिन समयमा पनि आफूले कुनै अप्रिय घटना भोग्नु परेन । यात्रामा चेकपोस्टहरू हुन्थे, सावधानी अपनाउनुपर्थ्यो, तर काम भने जारी रहन्थ्यो ।’ गाउँका मानिसहरूले सरकारी कर्मचारीभन्दा बढी आफ्नै छोराजस्तै व्यवहार गरेको उनी सुनाउँछन् । उनले गाविस सचिव हुँदा काम गरेको स्मरण गर्दै भने, ‘गाउँलेहरूले सुझाव दिन्थे, सल्लाह दिन्थे, सहयोग गर्थे । त्यो माया र विश्वासले जिम्मेवारी निभाउन अझै प्रेरित गर्याे ।’ रसुवामा दुई वर्ष बिताएपछि उनको नाम महालेखा परीक्षक कार्यालयमा अधिकृत तहमा निस्कियो । त्यसपछि सुरु भयो अर्को यात्रा । महालेखा परीक्षक कार्यालयमा पाँच वर्ष काम गर्दा उनले नेपालका धेरै जिल्ला घुम्ने अवसर पाए । ‘हुम्ला लगायतका दुर्गम ठाउँहरू देखें । देशका विभिन्न सरकारी निकायहरू कसरी सञ्चालन भइरहेका छन् भन्ने कुरा नजिकबाट बुझ्ने मौका पाएँ । त्यो जागिरले देशलाई चिन्न सिकायो,’ उनले सुनाए । सरकारी जागिर छोडेर राष्ट्र बैंकमा तर, जीवनले अझै अर्कै मोड लियो । वि.सं २०६४ सालमा उनले लिखित प्रतिस्पर्धामार्फत नेपाल राष्ट्र बैंकमा प्रवेश गरे । सरकारी सेवाको निरन्तरता छोडेर उनी केन्द्रीय बैंकमा आए । राष्ट्र बैंकमा प्रवेश गरेपछि उनले विभिन्न विभागमा काम गर्ने अवसर पाए । वित्तीय संस्था सुपरभिजन, नियमन, सम्पत्ति व्यवस्थापन, विदेशी विनिमय, पेमेन्ट सिस्टम लगायत विभागमा रहेर काम गर्ने अवसर पाएको उनले सुनाए । ‘निजामतीमा पनि जाँच दिएको थिएँ । राष्ट्र बैंकमा नाम निस्कियो । आफूलाई मूभ गर्नुपर्छ भन्ने हिसाबले राष्ट्र बैंकमा आएँ,’ उनले भने, ‘सोचे अनुरुप प्रगति पनि हाँसिल भइरहेको छ ।’ उनलाई नेपाल राष्ट्र बैंकमा चासो बढ्नुको कारण भनेको घर छोडेर बाहिरि जानु पर्दैन भन्ने हो । ‘राष्ट्र बैंकका कार्यालयहरु सुगम ठाउँमा पनि छन् । गाविस सचिवमा काम गर्दा जागिर खाँदा दुर्गममा काम गर्नुपर्याे, त्यहाँ काम गर्दाको अफ्ठेरो भयो । महालेखामा पनि हिडिरहनु पर्ने थियो । पढाईमा प्रभाव पर्छ भनेर राष्ट्र बैंकमा आएँ,’ आफ्नो सहजता सुनाउँदै उनले भने । धेरैले राष्ट्र बैंक नेपालको उत्कृष्ट संस्थाका रुपमा सोच्छन् । जुन आफ्नो काम उत्कृष्ट ढंगले गर्छ भने बुझाइ धेरैमा छ । त्यही बुझाइले आफूले पनि राष्ट्र बैंक रोजेको उनको भनाइ छ । प्रादेशिक कार्यालय धनगढीमा म्यानेजर भएर काम गर्दा उनले सुदूरपश्चिमका सबै जिल्ला भ्रमण गरे । त्यो अनुभवले उनलाई देशको आर्थिक र सामाजिक वास्तविकता बुझ्न अझ मद्दत गर्याे । उनको करिअरको एउटा विशेष पक्ष के थियो भने हरेक पदोन्नति उनले लिखित प्रतिस्पर्धाबाट प्राप्त गरे । अन्ततः २०८२ असारमा उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी) बने । उमेरका हिसाबले उनी सम्भवतः सबैभन्दा कान्छा कार्यकारी निर्देशक मानिन्छन् । ‘मैले राष्ट्र बैंकलाई के दिएँ भन्नेभन्दा देशले मलाई के दियो भन्ने कुरा ठूलो हो,’ उनी भन्छन् । सरकारी विद्यालय, शिक्षक र राज्यले दिएको अवसरले नै उनलाई यहाँसम्म ल्याएको उनी सुनाउँछन् । त्यसपछि उनी आफ्ना बाआमालाई सम्झिन्छन् जसले बाटो देखाए, हौसला बढाए । व्यक्तिगत जीवनमा उनी अत्यन्त सरल छन् । उनले २०६७ सालमा मागी विवाह गरे । उनकी श्रीमती विराटनगरकी हुन् र उनी पनि जागिरे नै छिन् । हाल उनी काठमाडौंको कौशलटारमा परिवारसँग बस्छन् । उनका दुई छोरा छन् । आज जब उनको नाम नेपाल राष्ट्र बैंकको नेतृत्व तहसँग जोडिन्छ, धेरैले भविष्यमा उनलाई डेपुटी गभर्नरको सम्भावित उम्मेदवारका रूपमा पनि हेर्छन् । तर, उनी यस विषयमा धेरै दाबी गर्दैनन् । उनको उत्तर सरल छ, ‘जिम्मेवारी आयो भने निभाउनेछु ।’ ‘डेपुटी गभर्नरका लागि १८ जना ईडी नै क्षमतावान र आकांक्षी हुनुहुन्छ, त्यसमा म पनि पर्छु । जिम्मेवारी आयो भने सहज रुपमा वहन गरिन्छ,’ उनी भन्छन्, ‘सायद अहिदले म सबै ईडीमध्ये कान्छो नै हो । जतिसम्म राष्ट्र बैंकमा बसिन्छ, देश र जनताको लागि काम गरिन्छ ।’ राष्ट्र बैंकले आफूलाई नाम, दाम र पहिचान दिएको उनी सुनाउँछन् । ‘हाम्रो जोड भनेको पब्लिकलाई गुनासो बिना सेवा दिने हो,’ उनी भन्छन्, ‘आफ्नो काममा इमानदार छु । आफ्नो कामलाई न्याय दिएको महसुस हुन्छ ।’ सम्बन्धित स्टोरी : इन्जिनियर बन्न चाहन्थे, ईडी बने राष्ट्र बैंक भित्रका ‘मर्जर किङ’, डेपुटी गभर्नरका दाबेदार डा. डिल्लीराम पोख्रेल : त्रिविका गोल्ड मेडलिष्ट, राजाकी छोरीका प्रतिस्पर्धी जो बसकाे खलासी हुँदै राष्ट्र बैंकको ईडी बने
इन्जिनियर बन्न चाहन्थे, ईडी बने
काठमाडौं । कहिलेकाहीँ जीवनले बुनेका सपना समयको भुमरीमा कतै हराएझैँ लाग्छन् । तर, तिनै सपना फेरि अर्को रूप लिएर मानिसलाई अप्रत्याशित उचाइमा पु¥याइदिन्छन् । स्याङ्जा गल्याङको शान्त पहाडी परिवेशमा हुर्किएका दयाराम शर्मा पंगेनीले पनि बाल्यकालमा एउटा सपना बुनेका थिए– इन्जिनियर बन्ने । गणितप्रतिको लगाव र भविष्यप्रतिको उत्साहले उनले विद्यालयमा ऐच्छिक विषयका रूपमा गणित रोजेका थिए । तर, जीवन सधैं योजनाअनुसार चल्दैन । घरको आर्थिक अवस्थाले त्यो सपना अधुरै रह्यो । समयले उनलाई व्यवस्थापनको बाटोमा मोड्यो, र त्यही बाटो हुँदै उनी आज नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (ईडी) को जिम्मेवारीमा पुगेका छन् । उनको जीवनयात्रा केवल पदोन्नतिको कहानी मात्र कनेन, संघर्ष, साहस, इमानदारी र कर्तव्यनिष्ठाको एउटा गहिरो प्रेरणा बनेको छ उनको जीवन । २०६२/६३ सालतिर देशको राजनीतिक अवस्था अत्यन्तै अस्थिर थियो । माओवादी जनयुद्धको प्रभाव देशका धेरै भूभागमा फैलिएको थियो । यात्रुहरू सडकमा निस्कँदा अनिश्चितता र त्रासदीपूर्ण हुन्थ्यो । त्यही समय दयाराम शर्मा पंगेनी नेपाल राष्ट्र बैंकको सहायक तृतीय श्रेणीमा कार्यरत थिए र उनको सरुवा धनगढी कार्यालयमा भएको थियो । कैलालीको धनगढीमा काम गर्नु त्यतिबेला सहज थिएन । तर, जिम्मेवारीबाट पछि हट्ने स्वभाव उनको थिएन । त्यही बेला बैंकिङ प्रशिक्षण केन्द्र (बीटीसी) ले उनलाई काठमाडौं आएर दुई वटा कक्षा पढाउनुपर्ने जिम्मेवारी सुम्पियो । उनी अहिले पनि सम्झिन्छन्, ‘धनगढीबाट हायस चढेर काठमाडौं आउने क्रममा कर्णाली पुल पार गरेपछि गाडी एकाएक रोकियो । केही क्षणमै माओवादी कार्यकर्ता आए र सबै यात्रुलाई गाडीबाट बाहिर निकालेर सडकछेउमा उभ्याए । एक–एक गरेर सबैसँग सोधपुछ हुन थाल्यो—कता जाने, के गर्ने, कहिले फर्किने ।’ उनले आफ्नो परिचय दिए । सोधपुछपछि यात्रुहरू फेरि गाडीमा चढे र यात्रा अघि बढ्यो । तर, काठमाडौं पुगेपछि उनलाई एउटा कुरा सम्झना आयो, माओवादीसँग सोधपुछ हुँदा आफूले फर्किने समय ठीकसँग टिपाउन बिर्सिएका रहेछन् । उनी त्यो क्षण सम्झँदै भन्छन्, ‘माओवादीको चेकिङमा २÷४ दिन थप बस्छु भनेर टिपाउनै बिर्सेछु ।’ त्यसपछि उनको मनमा एउटा अदृश्य डर बस्यो । यदि फर्किँदा फेरि सोधपुछ भयो भने के होला ? यही त्रासले उनले सामान्य बाटो छोडेर नेपालगन्ज हुँदै भारतको बाटो प्रयोग गरेर धनगढी फर्किने निर्णय गरे । बमको आवाजबीच बितेको रात नेपालगन्ज पुगेपछि उनी राष्ट्र बैंकका त्यतिबेलाका कार्यालय प्रमुख चिन्तामणि शिवाकोटीको क्वार्टरमा बसे । दिनभरको यात्रापछि शरीर थाकेको थियो, तर रात शान्त थिएन । उनी सम्झन्छन्, ‘चिन्तामणी सर (चिन्तामणी सिवाकोटी)ले पंगेनी बावु आज मेरैमा बस्नु भन्नु भयो । उहाँकोमा खाना खाइयो, उहाँको मै बसें । खाना खाएर कुराकानी गर्दै थियौं । बम पड्किएको आवाज आउन थाल्यो । सर पनि डराउनु भयो, म पनि डराए ।’ रातको सन्नाटामा विस्फोटका आवाजहरू झन् भयावह सुनिन्थे । त्यो रात उनीहरूले निद्राभन्दा बढी त्रासको अनुभूति गरे । भोलिपल्ट उनले अर्को निर्णय गरे । ‘नेपालको बाटो भएर जाँदा जोखिम हुन सक्छ । त्यसैले भारतको बाटो हुँदै धनगढी जाने,’ त्यो कहालीलाग्दो समय स्मरण गरेर उनले सुनाए, ‘धनगढी पुगिसकेपछि म बाँच्ने पक्का भएँ भनेर लामो स्वास फेरें ।’ कुखुराको खोरमा बितेको रात धनगढी पुगेपछि पनि अवस्था सहज थिएन । माओवादी गतिविधि बढिरहेको थियो । राति डेरातिर जाँदा बाटोमै विस्फोट हुने घटनाहरू सामान्यजस्तै भइसकेका थिए । त्यो दुश्य स्मरण गर्दै उनी भन्छन्, ‘म क्वार्टरमा पनि बस्न सक्दैनथें । धनगढीको उत्तरबेहडी भन्ने ठाउँमा मेरो एक जना साथीले डेरा खोजेर बसेको थिए । ढुकुटीको चाबीहरु सबै अफिसमै राखेर लक गरेर डेरामा बस्थें । म डेरामा जाँदा पनि बाटोमै बम पड्किन्थ्यो, कहिलेकाहीँ डेरामा नपुगिकन कुखुराको खोरतिर गएर रात बिताएको पनि छु ।’ संकटको त्यो समय केवल डरले भरिएको थिएन, जिम्मेवारीले पनि भरिएको थियो । बैंकको काम रोक्न मिल्दैनथ्यो । निरीक्षणमा जाँदा चार/पाँच जना अपरिचित मानिस देखिँदा पनि मनमा डर लाग्थ्यो । ‘विद्रोहकालिन समयमा निरीक्षण गर्न जाँदा ४/५ जना कोही आएपनि डराउँथ्यौं । माओवादीले २/४ पटक राष्ट्र बैंकको धनगढी कार्यालयमा आक्रमण गर्याे । तर, कर्मचारी साथीहरु कसैलाई केही भएन,’ उनले सुनाए । गाउँबाट सुरु भएको यात्रा दयाराम शर्मा पंगेनी स्याङ्जाको गल्याङ नगरपालिका–१० मा जन्मिएका हुन् । उनका बाल्यकालका दिनहरू पहाडको शान्त वातावरण, विद्यालयका साधारण कक्षाकोठा र भविष्यका साना–साना सपनाहरूले भरिएका थिए । उनले कक्षा पाँचसम्म तेज प्राथमिक विद्यालयमा पढे । त्यसपछि बालसिता निमाविमा अध्ययन गरे र २०४९ सालमा दहथुम माध्यमिक विद्यालयबाट एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भए । बाल्यकालको पढाइ सम्झिँदै उनी भन्छन्, ‘एसएलसी भन्दामुनी म त्यति धेरै मिहिनेत गर्ने होइन तर, कम मिहिनेत गर्ने पनि होइन । विषय वस्तुलाई घोकेर भन्दा पनि बुझेर जानुपर्छ भन्ने स्वभावको थिएँ । फस्ट ब्वाई भएकाले सबै गुरुहरुले मन पराउनुहुन्थ्यो ।’ उनी थप्छन्, ‘त्यतिबेला म एक्स्ट्रोभेट नेचरको थिएँ । तर, अहिले आएर इन्ट्रोभट नेचर छ की जस्तो लाग्छ ।’ राष्ट्र बैंकसम्मको यात्रा प्लस टु, स्नातक र स्नातकोत्तर सबै अध्ययन उनले शंकरदेव क्याम्पसबाट पूरा गरे । स्नातक पढ्दै गर्दा उनले लोकसेवा आयोगबाट निजामति सेवाको परीक्षा पास गरे र रक्षा मन्त्रालय सिंहदरबारमा काम सुरु गरे । तर, राष्ट्र बैंकको अवसर देखेपछि उनले त्यतातिर पाइला मोडे । ‘राष्ट्र बैंक आउनु भन्दा अगाडि १०/११ महिना जति म निजामति सेवातर्फ रक्षा मन्त्रालय सिंहदरबारमा थिएँ । त्यहाँ पनि लोकसेवा नै पास गरेको हो । त्यसपछि राष्ट्र बैंकको खुला प्रतिस्पर्धाबाट असिस्टेन्ट र ४ वर्षपछि आन्तरिक प्रतिस्पर्धाबाट हेड असिस्टेन्ट भएँ । हेड असिस्टेन्ट २/३ महिना मात्रै भएँ । त्यसपछि खुला प्रतिस्पर्धाबाट जाँच दिएको थिएँ, २०५९ साउन २७ गते असिस्टेन्ट डाइरेक्टर बनें ।’ ‘मेरो फाइल प्रमोशन कहिले पनि भएन । सधैँ लिखितमा नाम निकालेर नै हो । सहायकदेखि निर्देशकसम्म सबैमा लिखितबाट नै आएको हो,’ उनले भने । तेस्रो प्रयासमा बने निर्देशक प्रधान सहायक, सहायक निर्देशक र उपनिर्देशक पद उनी पहिलो प्रयासमै बने । तर, निर्देशक बन्ने यात्रा भने तीन प्रयासपछि मात्र सफल भयो । दुई पटक लिखित परीक्षा पास गरे पनि अन्तर्वार्तामा असफल हुँदा उनले हार मानेनन् । ‘मैले अरु बढी मिहिनेत गर्नुपर्छ, अरु बढी परिस्कृत हुनुपर्छ, ज्ञान लिनुपर्छ र अर्काे परीक्षामा उत्कृष्ट ढंगले मेरो जवाफहरु पेस गर्नुपर्छ भन्ने लाग्यो । तेस्रो पटकको प्रयासमा म निर्देशक भएँ,’ उनले भने । दयाराम आफ्ना आमाबुवाका एक्ला सन्तान हुन् । संघर्षपूर्ण जीवन बिताएर सफलता हासिल गरे पनि एउटा पीडा भने उनलाई सधैं खड्किन्छ । उनले आफ्नो सफलता बुबाआमालाई देखाउन पाएनन् । उनका छोरा कम्प्युटर इन्जिनियरिङ पढ्दैछन् भने छोरी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा स्नातकोत्तर अध्ययनरत छिन् । दयाराम शर्मा पंगेनी आफ्नो करियरलाई इमानदारी र कर्तव्यनिष्ठाको आधारमा हेर्छन् । राष्ट्र बैंकले दिएको अवसरलाई उनले जीवनकै महत्वपूर्ण उपलब्धि ठान्छन् । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय एक्सपोजर, वित्तीय र मौद्रिक क्षेत्रमा काम गर्ने धरातल दियो । समाजमा दयाराम शर्मा पंगेनी भनेर चिनाउने र उच्च शिर गरेर बस्न दिएको उनी बताउँछन् । राष्ट्र बैंकमा योगदान राष्ट्र बैंकको विजनेश कन्टिन्यूटी प्लान तयार गर्नुपर्ने थियो । संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहँदा बिजनेश कन्टिन्यूटी प्लानमा भूमिका खेलेको उनले सुनाए । बैंकिङ विभागमा रहँदा पनि आफूले धेरै नै कामहरु गरेको उनको दाबी छ । ‘डिजिटल सर्भिस ट्याक्सको काम भएको थिएन । माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक लगायत केही सामाजिक सञ्जाल र सूचना प्रविधि कम्पनी सञ्चालनमा थिए । तर, करको दायरामा आएका थिएनन् । अर्थमन्त्रालयसँग समन्वय गरेर नेपालमा व्यवसाय गरेबापतको डिजिटल सर्भिस ट्याक्सको दायरा ल्याउने काम गर्याैं,’ उनले भने । भूटान, श्रीलङ्का, रसिया, म्यान्मार, अन्य अफ्रिकन मुलुक र बुद्ध धर्मावलम्बी रहका देशका नागरिकले आफ्नो देशको मुद्रा ल्याएर लुम्बिनीमा चढाउँछन् । लामो समयदेखि विभिन्न मुलुकका धर्मावलम्बीहरुले चढाएको उक्त रकम सटही हुन नसकेर कोषमा थुप्रिएको थियो । लुम्बिनी विकास कोषले उक्त मुद्रा सटहीका लागि राष्ट्र बैंकसँग पटक पटक अनुरोध गरिरहेको थियो । तर, राष्ट्र बैंकबाट सटहीको काम हुन सकिरहेको थिएन । रुपन्देहीमा रहेको लुम्बिनी विकास कोषको ननकन्भर्टेबल करेन्सीलाई सटही गर्ने काम पनि गरेको उनले सुनाए । ‘लुम्बिनी विकास कोषले धेर पटक अनुरोध गरेको थियो । हामी अध्ययन गरिरहेका थियौं । तर, म गइसकेपछि यो काम गर्नुपर्छ है भनेर लुम्बिनी विकास कोष र राष्ट्र बैंकको भैरहवा कार्यालयसँग समन्वय गर्याैं, गभर्नरज्यूबाट पनि स्पष्ट निर्देशन आयो,’ उनले भने, ‘हाम्रो एजेन्सी बैंक सिंगापुरमा थियो, सीआइएमबि । दर्जनौं पटक अनुरोध गरेपछि करिब ६० लाख रुपैयाँ बराबर सिंगापुरबाट सटही गरेर लुम्बिनी विकास कोषलाई हस्तान्तरण गर्याैं ।’ स्ट्याण्डर्ड चार्टर्ड बैंकबाहेक सबै वाणिज्य बैंकले सरकारी कारोबार गर्छन् । तर, नेपाल बैंकसँग वर्षाैंदेखि अर्बाैं रुपैयाँ रिकन्सिलेसन हुन सकिरहेको थिएन । पछि आफ्नो नेतृत्वमा नेपाल बैंकसँगको सरकारी कारोबारको पनि हिसाबमा देखिएको समस्या समाधान गरेको उनले सुनाए ।