धनका धनी, मनका कन्जुस

काठमाडौं । जब देशलाई भयानक विपत् आइपर्छ, तब नेपालजस्तो सानो अर्थतन्त्र भएको देशलाई त्यो संकटबाट उठ्न ठूलो सकस पर्छ । त्यो सकस वि.सं २०७२ मा गएको विनाशकारी भूकम्प होस्, पछिल्लो समय महामारीकारूपमा फैलिएको कोरोना भाइरस होस् वा अहिले पश्चिम रूकुम र जाजरकोटमा गएको भूकम्पले नै किन नहोस्, देशले ठूलो क्षति बेहोर्‍यो । त्यो संकटबाट माथि उठ्न राज्य संयन्त्रले आफ्नो तहबाट काम गरिरहे पनि त्यो सकसको सारथी बन्दै पीडितको घाउमा मल्हम लगाउने काम सबैको हुन्छ । देश समस्यामा परेको बेला, हजारौं परिवारका लाखौं मानिसको मन दुःखेको बेला र सयौं घर भत्केको बेला सबैको हातेमालोले पीडितको घाउमा मल्हम लगाउने प्रयत्नहरू हुनु पर्ने हो । केहीले त्यो सहयोग, त्यो सद्भाव र त्यो उदारता नदेखाएका होइनन् । अझ, देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले त एकजुटका साथ अग्रपंक्तिमा देखिनु पर्ने हो । वि.सं २०७२ को विनाशकारी भूकम्पमा परी ५ हजार बढी मानिसले ज्यान गुमाए । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण १२ हजार बढीको मृत्यु भयो । केही साताअघि पश्चिम रूकुम र जाजरकोटमा गएको भूकम्पका कारण २ सय बढीले ज्यान गुमाए । यो दर्दनाक र भवभय अवस्थामा देशको महत्वपूर्ण वर्ग र अग्रणीरूपमा देखिएका र भनिएका ‘धनाड्यहरू’को मन भक्कानिएन । उनीहरूले पीडितका घाउमा मल्हम लगाउने विषय दिल्लगी ठाने । जब देशमा संकट पर्छ, पीडित, समाज र देशले पनि विभिन्न व्यक्ति तथा संस्थाहरूबाट सहयोगको अपेक्षा गर्छ । दानीले दान गर्छन्, धन नभएकाहरू मन फराकिलो पार्छन् । आर्थिक सहयोग गर्न नसके पनि पीडित कहाँ पुगेर सकेसम्मको सहयोग गर्छन् । तर, अथाह धन भएका धनाड्यहरूको मनले राहत दिनुपर्ने महसुस गरेन । जसले पीडितको पीडा, समाजको शोक र देशको दर्दनाक अवस्था टुलुटुलु हेर्दै बसे । विभिन्न देशमा यस्तो किसिमको संकट पर्दा त्यहाँका उद्योगी व्यवसायीहरूले हात फराकिलो पार्छन् । आफूले सकेसम्मको सहयोग सरकारलाई गर्छन् । केही वर्षअघि विश्वमहामारीका रूपमा फैलिएको कोरोना भाइरसको समयमा चिनियाँ अर्बपति ज्याकमाले चीनमा मात्रै नभई नेपालसहित एशियाका विभिन्न देशमा ठूलो आर्थिक तथा मेडिकल सामग्रीको सहयोग गरे । भारतका धनाड्यहरू रतन टाटा र मुकेश अम्बानीले पनि सहयोगका हातहरू फैलाए । पराेपकारी काममा विश्व धनाढ्य विल गेट्स  विश्वका लागि पथ प्रर्दशक नै बनेका छन् । तर, नेपालका धनाड्यहरूले सहयोग नभई संकटमै सम्पत्ति जोड्ने उपाय खोज्न थाले । त्यसको एउटा नमिठो उदाहरण थियो, ‘थर्मल गनमा उद्योगी सुलभ अग्रवालको कालोबजारी ।’ अहिले पश्चिम रूकुम र जाजरकोटमा गएको विनाशकारी भूकम्पले पारेको मानवीय तथा भौतिक क्षतिबाट पीडित बनेका परिवारको उद्वार र राहतका लागि सरकारले विभिन्न व्यक्ति तथा संस्थाहरूसँग सहयोगको अपील गरिरहेको छ । पीडित परिवारहरूले पनि मद्दतको याचना गरिरहेका छन् । तर, त्यो अपील र याचनाको मुकदर्शक बनिरहेको छ, नेपालका ‘धनी समुदाय’ । सरकारले सहयोगको अपील गरेपश्चात् प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हालसम्म १८ करोड ९१ लाख रुपैयाँ संकलन भएको छ । विभिन्न व्यक्ति तथा संस्था गरेर कुल ७३ सहयोगी मनहरूले कोषमा सहयोग गरेका छन् । तर, त्यो सहयोगको सूचीमा न ती धनाड्यहरूको नाम देखिन्छ न त तिनले नेतृत्व गरेका संघ संस्थाको । सरकार, निजी क्षेत्र र सर्वसाधारणले पनि सायदै नचिन्ने नाम हो विनोद चौधरी । नेपालका एक मात्रै डलर अर्बपति भनेर सञ्चार क्षेत्रले चिनाएको विनोद पुरानो व्यवसायिक घराना चौधरी ग्रुपका अध्यक्ष हुन् । दर्जनौं उद्योग व्यवसायका मालिक रहेका उनी प्रतिनिधिसभा सदस्य समेत हुन् । तर, अर्बपति चौधरीलाई यस्ता किसिमको संकटमा सहयोग गर्नु र देशलाई समस्या परेको बेला राहत उपलब्ध गराउनु एकादेशको कहानी जस्तै हो । संकटमा मात्र अनुदार हाेइनन्, व्यवसाय गरेर कर तिर्ने मामिलामा पनि उनी अलप हुने गरेका छन् । उनी आफूलाई नेपालको सबैभन्दा धनी भनेर समाचार लेखाउन खर्च गर्छन् । राेचक के छ भने नेपाल सरकारले हरेक वर्ष ठूला करदातालाई सम्मान गर्दछ । तर, विनोद चौधरी र उनको कम्पनीहरू नेपालका ठूला करदाताको सूचिमा कहिल्यै पनि पर्दैनन् । यस्तै, नेपालको पुरानो व्यावसायिक घराना ज्योति ग्रुपका लागि पनि संकटमा राहत दिनु तथा आर्थिक सहयोग गर्नु दिवास्वप्न हो । नेपालको ठूलो भनिएको गोल्छा ग्रुपले पनि संकटमा समस्यामा परेकाहरूको घाउमा मल्हम लगाउने प्रयत्न गर्न सकेको छैन । गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष समेत हुन् । तर, उनले पनि संकटकाे समयमा समस्यामा परेकाहरूको उद्वारको लागि काम गर्नुपर्छ भन्ने विषय गौण बनिरहेको छ । यस्तै, नेपालको ठूलो व्यावसायिक घराना विशाल ग्रुप, शंकर समूह, खेतान समूह, मुरारका ग्रुप, शारदा ग्रुप, बैद्य अर्गनाइजेसन, पञ्चकन्या समूह, गोल्यान ग्रुप, दुगड ग्रुप, एमएस समूह, एनई समूह,  एमएडब्लू ग्रुप अफ कम्पनिज, गोयन्ता ग्रुप लगायत ठूला व्यावसायिक घरानाहरूको नाम देश संकटमा परेको बेला सहयोग गर्नेको सूचिमा छैन । बैद्य अर्गनाइजेसनका अध्यक्ष सुरज बैद्य हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका उनी भिजिट नेपाल २०२० का संयोजक समेत भएर काम गरिसकेका छन् । तर, उनका लागि पनि देश समस्यामा परेको बेला सरकारलाई सहयोग गर्नु पर्छ भन्ने विषय गौण बनिरहेको छ । नेपालको पुरानो र ठूलो व्यावसायिक घराना पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक हुन् प्रदिप कुमार श्रेष्ठ । उनी महासंघको पूर्वअध्यक्ष समेत हुन् । सो ग्रुपको अध्यक्ष छन् उनका पिता प्रेमबहादुर श्रेष्ठ । तर, पञ्चकन्या ग्रुपले पनि संकटमा सहयोग गर्नु पर्छ भन्नेलाई खासै प्राथमिकता दिँदैन । बरू, सरकारबाट पाउने कर छुट तथा आफू अनुकलको नीतिका लागि श्रेष्ठले कतिसम्म लाग्छन् भन्ने विषय बेखाबखत देखिन्छ । नेपाल बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्ष भएर काम गरिरहेका गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यान,  एमएडब्लू ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक भएर काम गरिरहेका नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका मुरारका ग्रुपका अध्यक्ष पशुपति मुरारका लगायतहरूले पनि देशका सयौं परिवारहरू ठूलो समस्यामा परेको बेला सहयोगका हात अघि सार्न सकेनन् । ६० को दशकपछि उदाएका नौला व्यावसायिक घरानाहरूले भने यो सकसमा साथ दिएको देखिन्छ । पछिल्लो समय विभिन्न उद्योग व्यवसायमा लगानी गरेर आक्रामक बिजनेस रणनीति बनाएको आइएमई ग्रुपले सरकारलाई सकेसम्मको सहयोग गरेको छ । आइएमई ग्रुपले आफ्नो लगानी रहेको विभिन्न कम्पनीहरूबाट एक करोड ५० लाख सहयोग गरेको छ । यस्तै, भाटभटेनी सुपरमार्केटले पनि सरकारको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ करोड ११ लाख बढी सहयोग गरेको छ भने हवाइ क्षेत्रमा नमूना बनिरहेको बुद्ध एयरले पनि १ करोड सहयोग गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाले सरकारको यो अभियानमा स्वस्फूर्त रूपमा सहयोग गर्दा देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको भनेर गफ दिने उद्योगी व्यवसायीहरूले सहयोग गर्न सकेनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्ट ठूला व्यावसायिक घरानाहरूबाट अपेक्षाअनुसारको सहयोग प्राप्त नभएको धारणा राख्छन् । उनले यो संकटको समयमा उद्योगी व्यवसायीबाट धेरै सहयोग हुने अपेक्षा सरकारको भएपनि त्यो किसिमको सहयोग नमिलेको भनाइ उनको छ । ‘अहिले विभिन्न व्यक्तिले स्वस्फूर्तरूपमा सहयोग गरेका छन्, बैंकहरूले पनि राम्रै सहयोग गरेका छन्, केही व्यावसायिक घरानाबाट राम्रै सहयोग प्राप्त भएको छ, उहाँहरूको सहयोगले पीडितको उद्वारको लागि ठूलो सहयोग पुग्छ, सरकारले यति नै सहयोग गर्छ भनेर अनुमान गरेको छैन, तर व्यावसायिक घरानाबाट भने अपेक्षाकृत ढंगको सहयोग मिलेन,’ उनले विकासन्युजसँग भने । यी हुन् हालसम्म सहयोग गर्ने व्यक्ति तथा संस्थाहरू [pdf id=449044]

महँगो सटर भाडा, अनलाइन सपिङ र पार्किङले कसरी डुबे व्यापारिक केन्द्र ?

काठमाडौं । कोरोना महामारीबाट जब नेपाल पनि अछुतो रहन सकेन, तब आममानिस स्वास्थ्य समस्यामा त परे नै, सँगसँगै मुलुकको अर्थतन्त्रको गति पनि बिस्तारै धिमा हुँदै गयो । चलायमान अर्थतन्त्र लगभग ठप्प हुँदा संघीय राजधानीको व्यापारिक केन्द्र दरबारमार्ग यसबाट बच्न सक्ने कुरै भएन । कोरोना महामारीअघि व्यापारिक केन्द्र दरबारमार्गको व्यापार गुलजार थियो । दरबारमार्ग काठमाडौंको ठूलो व्यापारिक केन्द्र हो । कोरोना महामारीको चपेटामा परेर तनाव खेपिरहेको दरबारमार्गले महामारी हट्दै जान थालेपछि बिस्तारै सास फेरिरहेको थियो । यसले यसो गति लिने छाँट देखाइरहेको थियो । तर, एक्कासि यसमाथि अर्को बज्रपात आइलाग्यो । काठमाडौं महानगरपालिकाको मेयर पदमा चुनाव जितेका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले फ्याट्टै निर्णय गरिदिए– ‘दरबारमार्ग सडक छेउमा रहेको पार्किङ तुरुन्त हटाउनू !’ यति भएपछि सबै काम तमाम हुन पुग्यो । हिजोसम्म गुलजार दरबारमार्ग एक्कासि खहरे सुकेजस्तो भयो । ‘क्वालिटी ग्राहक’ अर्थात बढी पैसा खर्च गर्न सक्ने उपभोक्ताको गन्तव्य दरबारमार्गमा लगभग कर्फ्यु लागेजस्तै भयो । दरबारमार्ग मूलसडकका दायाँ–बायाँ वर्षौंदेखि व्यापार गरिरहेका रेस्टुरेन्ट, ब्रान्डेड सामानका पसल, होटल, जुत्ता, कस्मेटिक, गहना पसल, अन्तर्राष्ट्रिय चेन रेस्टुरेन्ट, चस्मा पसल, बुटिक, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामानका पसललगायतका कारोबार लगभग ठप्प नै भयो भन्दा अतिशयोक्ति नहोला । काठमाडौं महानगरपालिकाले दरबारमार्गका सडकमा दशकौंदेखि हुँदै आएको गाडी र मोटरसाइकल पार्किङ हटाएपछि यहाँको व्यापारिक कारोबार लगभग ठप्पजस्तै छ । महानगरले पार्किङको विकल्प नदिनाले सारा व्यापार चौपट भएको व्यवसायीको दुखेसो छ । अब आजको कुरा, अहिले दरबारमार्ग सुनसान छ । अधिकांश व्यापारिक भवन र तिनका पसल कबलमा ‘टु लेट’ लेखेर टाँसिएको देख्न सकिन्छ । ग्राहक आउलान् र सामान किन्लान् भनेर बाटो हेरेर बसेका व्यापारीलाई आफ्ना पसल कबलका सटर भाडा कसरी तिर्ने भन्ने चिन्ताले दिनहुँ सताइरहन्छ । घरधनीले भाडा छुट दिए वा भाडा तिर्न केही समय थपिएदिए पनि व्यापारै नभएपछि व्यापारीलाई पसल कबल टिकाइराख्न कम्ता चुनौती छैन । विकासन्युजकर्मी दरबारमार्ग घुमिरहँदा पसल कबल सबै खुलेका थिए । तर, रेस्टुरेन्ट, सपिङ मल, कपडा, जुत्तादेखि गहना पसलसम्म सुनसान थिए, ग्राहक देखिन्थेनन् । ग्राहक नै नआएपछि पसल सञ्चालक र कर्मचारी फुर्सदमै थिए र गफगाफमै व्यस्त देखिन्थे । दरबारमार्गका व्यापारीका पसल कबलका सटरका भित्तामा ‘५० प्रतिशसम्म आकर्षक छुट’ भनेर पम्प्लेट टाँसिएका छन् । तर, त्यहाँ टाँसिएका आर्कषक छुटले पनि ग्राहक आकर्षित गर्न सकिरहेका छैनन् । त्यहाँका व्यापारीले एउटै सटरको मासिक भाडा १० देखि १५ लाख रुपैयाँसम्म बुझाउनुपर्ने सम्बद्ध व्यापारी बताउँछन् । तर, पसल खुले पनि व्यापार चाहिँ नभएको व्यापारी दुखेसो पोख्छन् । दरबारमार्गमा ‘फेसन मन्त्र’ नामक बुटिक चलाइरहेकी रजनी राणा पछिल्लो केही समयदेखि व्यापार चलायमान नभएको बताउँछिन् । ‘दसैँ/तिहारमा पनि सोचेजस्तो व्यापार भएन,’ उनी भन्छिन्, ‘ आधा पनि व्यापार छैन ।’ राणाका अनुसार तिहारका लागि भन्दै फाट्टफुट्ट कपडा किन्ने त आइरहेका छन् । तर, त्यस्तो व्यापारले मात्रै सटर भाडा तिर्न सकिने अवस्था छैन । ‘पार्किङको व्यवस्था नभएकाले पनि आफ्ना सवारीसाधनमा आउने यहाँ रोकिन पाउँदैनन्,’ उनी गुनासो गर्छिन्, ‘अब पैदल आउनेले मात्रै यहाँको व्यापार धान्न सक्ने कुरा हुँदैन । सटर भाडा नै तिर्न नसक्ने अवस्था आएपछि पसल खोल्नुले मात्रै कुनै औचित्य पनि राख्दैन । यही व्यापार नै मान्छेको रोजीरोटीको विषय हो । रोजीरोटी नचल्ने अवस्था आएपछि अर्को विकल्प खोज्नुपर्ने हुन्छ ।’ त्यस्तै दरबारमार्गकै अर्का एक व्यापारी आफ्नो नाम उल्लेख नगर्ने सर्तमा पार्किङको असुविधाका कारण व्यापार खस्किएको बताउँछन् । ‘अहिलेको अवस्था नियाल्दा दरबारमार्गका सडक सवारीसाधन आवतजावत गर्ने माध्यममात्र बनेका छन्,’ उनी काठमाडौं महानगरपालिकाप्रति आक्रोशित हुँदै भन्छन्, ‘पोहोरभन्दा अहिलेको व्यापारमा धेरै नै गिरावट आयो । यही कारण नै भनेर भन्न सकिने अवस्था छैन । सामान किन्न आउने ग्राहकले पनि सामानको मूल्य सोध्ने र मूल्यअनुसारको पैसा तिर्न नसक्ने बताउँछन् ।’ उनले पनि पसलको मासिक भाडा ८ लाख रुपैयाँसम्म तिनुपर्ने बताए । ‘अहिले पछिल्लो दुई महिनामा मैले ३ लाख रुपयाँको मात्रै व्यापार गरेको छु । अब भाडा कसरी तिर्ने ?,’ उनले गम्भीर हुँदै भने, ‘अब भाडा तिर्न पनि महिनाको ५ लाख आफ्नै गोजीबाट हाल्नुपर्छ । घाटाको व्यापार गर्न सकिँदैन । मैले पनि अर्को विकल्पका लागि अध्ययन गर्दैछु । तपाईंले यहाँ जति पनि कमर्सियल भवनमा टु लेट देख्नुभएको छ नि, यसको मुख्य कारण नै यही हो ।’ दरबारमार्गमै ३० वर्षदेखि गरगहना पसल सञ्चालन गरिरहेका एक व्यापारी निराश मुद्रामा देखिन्थे । ३० वर्षको अनुभवमा पहिलोपटक यस्तो गम्भीर समस्या देखापरेको उनी सुस्तरी बताउँछन् । ‘पछिल्लो समय आर्थिक मन्दीका कारण पनि गहनामा मानिसहरूको आकर्षण नबढेको हुन सक्छ,’ उनी भन्छन्, ‘तिहारको समय भएकाले फाट्टफुट्ट अर्डर त आएका छन् । तर, पछिल्लो तीन–चार महिनामा सोचेजस्तो व्यापार छैन । भूकम्प र कोरोना महामारीले पनि व्यापारलाई असर त गरेको थियो तर अहिलेजस्तो अवस्था आएको याद छैन ।’ पोहोरभन्दा यो वर्ष व्यापारमा उच्च घाटा बेहोर्नुपरेको उनी दुखी हुँदै बताउँछन् । ‘मेरो नाम नलेखिदिनुहोला है,’ उनको आग्रह थियो । ००० दरबारमार्ग विकास समिति अध्यक्ष सञ्जीव तुलाधर काठमाडौंको प्रमुख व्यापारिक केन्द्रको व्यापारमा गिरावट आउनु र व्यापारिक भवनहरू खाली हुँदै जानुको मुख्य कारण आर्थिक मन्दी नभई ‘पार्किङ’ हट्नु रहेको दाबी गर्छन् । धेरैजसो ग्राहक ‘दबारमार्गमा पार्किङ छैन’ भन्दै अन्यन्त्र किनमेल गर्न जान थालेको उनको भनाइ छ । ‘अब दरबारमार्गप्रति ग्राहकले गलत धारणा बनाइसके,’ अध्यक्ष तुलाधरले विकासन्युजसँग भने, ‘पार्किङको समस्या छ भनेर दरबारमार्ग आउने ग्राहकले अरू गन्तव्य रोज्न थालेका छन् । जसले गर्दा यहाँको व्यापारको आकार पनि सानो हुँदै गएको छ । धेरै व्यवसायी पलायन हुने अवस्थामा छन् । अहिले दरबारमार्गको व्यापार ५० देखि ६० प्रतिशत घटेको छ ।’ पहिला दरबारमार्गमा पार्किङ हुँदा व्यापार ७० देखि ८० प्रतिशत हुने गरेको तुलाधरको भनाइ छ । व्यापारमा कमी आएका कारण राजस्व पनि घटेको उनले बताए । दरबारमार्गमा पाँच लेनको सडक छ । ती लेनमध्ये दुई–दुई लेनमा गाडी आवतजावत गर्नुपर्ने र एक लेन पार्किङलाई दिनुपर्ने अध्यक्ष तुलाधरको भनाइ छ । ‘पहिलेदेखि नै एक लेन चाहिँ पार्किङलाई भनेरै छुट्ट्याइएको थियोे,’ उनी भन्छन्, ‘काठमाडौं महानगरका मेयर बालेनजीले बुझेर पार्किङ हटाउनुभयो वा नबुझी हटाउनुभयो, त्यो थाहा भएन । तर, यही कारण दरबारमार्गका व्यापारीको बिजोग नै भयो । यसको अर्थ धेरैको रोजीरोटी र सरकारी राजस्वमा पनि असर गरेको छ ।’ पार्किङको विकल्पका लागि तुलाधर र उनको टिमले मेयर साहसँग बारम्बार अनुरोध गरिरहेको छ । ‘हामीले गरेको अनुरोधमा मेयरसाबका तर्फबाट कुनै जवाफ आएको छैन,’ अध्यक्ष तुलाधर निराश हुँदै भन्छन्, ‘अब त दरबारमार्गको व्यापारिक केन्द्रको ट्याग हट्ने निश्चितजस्तै भइसक्यो । तै पनि मेयर साबले कुरा बुझ्नुहुन्छ कि भन्ने झिनो आश भने बाँकी छ ।’ ००० काठमाडौं महानगरले २०७९ मंसिर दोस्रो साता दरबारमार्गका सडक छेउ हुँदै आएको गाडी तथा मोटरसाइकल पार्किङ हटाएको थियो । दरबारमार्ग मूलसडकका दुवैतर्फ पैदलयात्रीका लाग १०/१० फिटको सडक पेटी, कुल ७० फिट चौडाइको पाँच लेन सडकमध्ये एक लेन सवारी पार्किङमा प्रयोग भइरहेको थियो । दरबारमल १, दरबारमल २, अन्नपूर्ण होटललगायतमा भएको पार्किङ दरबारमार्गको व्यापारका लागि अपुग हुने अध्यक्ष तुलाधर बताउँछन् । अहिले दरबारमार्ग क्षेत्रको व्यापार सुस्ताउनुको मुख्य कारण नै पार्किङ भएकाले महानगरले तत्कालै बुझेर समस्या समाधान गरिदिनुपर्ने उनको माग छ । दरबारमार्ग सामान किनबेच गर्ने ठाउँमात्रै नभएको अध्यक्ष तुलाधरको तर्क छ । ‘दबारमार्ग व्यापारिक केन्द्रमात्रै नभएर मनोरञ्जन र पर्यटन गन्तव्य पनि हो,’ उनी भन्छन, ‘दरबारमार्गलाई सरकारले प्राथमिकतामा राख्नैपर्छ ।’ ०००० पछिल्लो समय भाटभटेनी, सेल्सबेरी, बिगमार्टजस्ता आधुनिक र विकेन्द्रित मार्टको भने व्यापार बढेको छ र उपभोक्ताको आकर्षण पनि त्यतातिर बढेको देख्न सकिन्छ । भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलका अनुसार भाटभटेनी सुपरमार्केटले एक वर्षमा २९ अर्ब ७० करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २६ अर्ब ९३ करोड रुपैयाँको व्यापार गरेको थियो । ठमेलमा पनि अधिकांश सटर बन्द पछिल्लो समय पर्यटन गन्तव्य ठमेलको अवस्था पनि दरबारमार्गको जस्तै छ । अहिले ठमेलमा व्यापारिक भवनका दोस्रो तलादेखि माथिका अधिकांश सटर (कोठा) खाली देख्न सकिन्छ । ठमेलका घरधनीहरूले पनि २५ देखि ३० प्रतिशतसम्म छुट दिएर सटर भाडामा लगाउन चाहेका छन् । तर, पनि भाडामा लिने मान्छे पाउन मुस्किल देखिने उनीहरूको गुनासो छ । विगतमा दरबारमार्ग, ठमेल, न्यूरोड, पुतलीसडकमा सटर वा वा कोठाहरू लाखौं रुपैयाँ ‘सलामी’ लिएर किनबेच हुने गर्थे भने हाल त्यो पनि असम्भव देखिएको छ । यी ठाउँहरूमा कोरोना महामारीअघि व्यापारका लागि महँगै भाडा तिरेर व्यापार गर्न पनि व्यापारी पछि पर्दैनथे । अहिले घरधनीलाई पनि सटर खाली राख्नुभन्दा भाडा घटाएरै दिनुपर्ने दबाबजस्तै देखिन्छ । ठमेलमा अहिले पनि मासिक २० हजारदेखि ५० लाखसम्म घरभाडा बुझाउने व्यवसायी छन् । घरधनीले घरभाडा छुट दिए पनि ठमेलमा पसल, अफिस, रेष्टुरेन्ट बन्द हुने क्रम रोकिएका छैनन् । ठमेलका रात्रि क्लब पनि यसबाट प्रभावित नै छन् । उनीहरू फ्याट्टै व्यवसाय बन्द गरेर हिँडिहाल्ने अवस्थामा पनि छैनन् । ठमेलमा अहिले पर्यटक सिजन भए पनि व्यापार भने घटेको ठमेल पर्यटन विकास परिषदका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया बताउँछन् । ‘अहिले ठमेल सिजनमै छ, अफ सिजन त होइन,’ पूर्वअध्यक्ष थपलिया भन्छन्, ‘पर्यटक आगमन सन्तोषजनक भए पनि व्यापार छैन ।’ अहिले व्यापारिक केन्द्र ठमेलको दोस्रो, तेस्रो तलामात्र नभई भुइँतला पनि खाली हुँदै गएको उनी बताउँछन् । अहिले विश्व नै आर्थिक मन्दीमा रहेकाले नेपाल त्यसबाट अछुतो रहन नसकेको थपलियाको भनाइ छ । ‘हामीकहाँ म्यानपावर कम छ । यहाँका जनशक्ति कुनै एउटा पसलमा आएर काम गर्छन्, केही समयपछि विदेश पलायन भइहाल्छन्,’ उनी भन्छन्, ‘अर्को कुरा, तलब समयमा हुँदैन । सञ्चालकले आम्दानी नभएपछि नियमित तलब दिन सक्दैन । अब सञ्चालक नै पलायन हुने अवस्था आइसक्यो ।’ अहिले पर्यटक सिजन भए पनि विगतकै दाँजोमा आम्दानी नभएको उनको भनाइ छ । ‘हामीले विभिन्न स्किम ल्याएर व्यापार बढाउन पनि नखोजेका होइनौं,’ थपलिया थप्छन्, ‘तर, कुनै परिवर्तन भएन । के नपुगेर परिवर्तन भएन भन्नेमा हामीले समीक्षा पनि गर्न खोजेनौं ।’ ठमेलको व्यवसाय धान्न पर्यटक संख्या नै बढाउनुपर्ने पूर्वअध्यक्ष थपलिया बताउँछन् । ‘पर्यटक नै आएनन् भने ठमेलको सटर स्वदेशी पर्यटकबाट एकदमै कम चल्छ,’ उनी भन्छन्, ‘नेपालीले पनि खर्च गर्न नसक्ने भन्ने त छैन । तर, सामान्य खाना खाने, सपिङ गर्नेले मात्रै ठमेल चल्न निकै गाह्रो छ ।’ अहिले ठमेलमा स्वदेशी र विदेशी पर्यटक संख्याबराबरजस्तै भएको पूर्वअध्यक्ष थपलिया बताउँछन् । ‘ठमेलमा नेपालकै महँगो घरभाडा छ । हिजोको दिनमा राम्रो व्यापार थियो । व्यापार राम्रो भएकाले व्यापारीलाई पनि चल्न सहज थियो,’ उनी भन्छन्, ‘एउटा व्यापारीले व्यवसाय छाडिहाले पनि अर्को तुरुन्तै आएर व्यापार सुरु गरिहाल्थ्यो । अहिले व्यापार शून्य र भाडा चर्को हुनाले धमाधम व्यवसायी सटर छाड्न बाध्य छन् ।’ हाल बैंकले सहजै लगानी नगरेकाले व्यापारीहरू मारमा परेको पनि थपलिया बताउँछन् । ‘धेरै बैंकले ऋण दिएका छैनन्,’ उनी भन्छन्, ‘ऋण दिए पनि ब्याज तिर्न सक्ने व्यापारीको अवस्था छैन । बैंकले असुल नगरी छाड्दैन ।’ पछिल्लोपटक मुलकमा आयात परिमाण बढेको छ भने उपभोक्ता खपत पनि सोहीअनुसार बढिरहेको छ । तर, राजधानी सहरका प्रमुख व्यापारिक केन्द्रमा रहेका अधिकांश सटरको व्यापार कम भएको थपलिया बताउँछन् । ०००० सन् १९९५ मा विश्वव्यापीरूपमा इन्टरनेट सुरुवात भएपछि संसारभरि अनलाइनबाट हुने व्यवसाय सुरु भएको थियो । विश्वबजारमा अमेजनजस्ता ठूला अनलाइन सपिङ प्लेटफर्म कम्पनीले आफ्नो बजार स्थापना गरेपछि पछिल्लो दशकमा नेपालमा पनि ई–कमर्स फस्टाएको छ । नेपालमा पनि मार्केटप्लेसका रूपमा दराज, हाम्रो बजार, सस्तो डिल, युवामञ्च डटकमजस्ता प्लेटफर्महरूले व्यापारको परिचयमा नयाँ आयाम थपेका छन् । पसलसम्म गएर सामान खरिद गर्ने ग्राहक यतिबेला ई–कमर्स कम्पनीका मोबाइल एप र वेबसाइटमा सामान रोज्ने र आफूले खोजेजस्तो ब्राण्ड र मूल्यमा सहजै अर्डर गर्न पाइने भएपछि अनलाइन सपिङमा ग्राहकको आकर्षण नजानिँदो पारामा बढिरहेको छ । पछिल्लो समय विश्वप्रख्या सामाजिक सञ्जाल एपहरू टिकटक, फेसबुक र इन्स्टाग्राम पनि आफ्ना व्यवसायको विज्ञापन गर्ने राम्रो माध्यम बनेका छन् । टिकटक, फेसबुक, इन्स्टाग्राम वा कम्पनीको वेबसाइट नै बनाएर पनि व्यवसाय भइरहेका छन् । साना–साना खुद्रा पसल, कपडा पसल, जुत्ता, ब्याग, कस्मेटिक, ब्युटीपार्लर, बुटिक, गरगहना पसल, रेस्टुरेन्ट, सामान्य खाजा खाने पसल, नर्सरीदेखि ठमेल, दरबारमार्ग, न्यूरोड, बानेश्वरजस्ता व्यापारिक केन्द्रमा करोडौं लगानीमा खुलेका ठूला पसल, मल, सपिङ कम्प्लेक्समा रहेका पसलहरूले टिकटक, फेसबुक, इन्स्टाग्राम वा अन्य सामाजिक सञ्जालमार्फत व्यापार गर्दै आएका छन् । यस्ता सामाजिक सञ्जालमा आफ्नै एकाउन्ट वा ह्यान्डल खोलेर भिडियोमार्फत सामान बेच्न धेरै नै सजिलो भएको छ । अनलाइन सपिङ गर्न रुचाउने ग्राहक वा उपभोक्ताले व्यापारी तथा पसलका त्यस्ता एकाउन्ट वा ह्यान्डललाई चौबिसै घन्टा पछ्याइरहेका हुन्छन् । नयाँ सामान वा नयाँ उत्पादन बजारमा ल्याउनुपरे त्यस्ता व्यापारिक एकाउन्ट वा ह्यान्डलबाट सार्वजनिक हुने गरेका छन् । जसले गर्दा कुनै पनि सञ्चारमाध्यम (टेलिभिजन, पत्रपत्रिका, अनलाइन समाचार पोर्टल) मा महँगो रकम तिरेर विज्ञापन गर्नु पनि नपर्ने हुँदा व्यापारीलाई राम्रै फाइदा हुने गर्छ । त्यतिमात्र होइन, यसरी सामाजिक सञ्जाल फेसबुक, टिकटक वा इन्स्टग्राम जेबाट आफ्ना सामान वा उत्पादनबारे भिडियो सार्वजनिक गर्नासाथ एकैपटक हजारौं, लाखौं वा करोडौं ग्राहकमाझ पुग्ने गर्छ । त्यस्ता भिडियोमा सामान खरिद अर्डर गर्नका लागि सम्पर्क ठेगाना, मोबाइल वा ल्यान्डलाइन टेलिफोन नम्बर दिइएको हुन्छ । यसबाट ग्रााहकलाई पनि कति सजिलो भएको छ भने सामान किन्न बजार गइरहनै पर्दैन, जसबाट समयको बचत छँदैछ, यातायात खर्च पनि जोगिन्छ । ग्राहकले त्यही भिडियोमा हेरेर आफूलाई मनपर्ने सामान खरिद अर्डर गर्न सक्छन् । प्रविधिले त्यसमाथि यति सजिलो बनाइदिएको छ कि सामान खरिद अर्डर गरेपछि पैसा पनि सिधै अनलाइनमार्फत तिरे हुन्छ । ग्राहकले आफूलाई मनपरेका लुगा, जुत्ता, कस्मेटिक, घडी, ब्याग, सारी, कुथौ, पाइन्ट, सर्ट, टिसर्ट वा अन्य जुनसुकै सामान अर्डर गरेको केही समयमै घरमै आइपुग्छ । कुनै नाम चलेकै रेस्टुरेन्ट होस् वा सामान्य खाजा पसल वा ठूलै होटलबाट आफूलाई मन लागेको खानेकुरा मगाउन पनि सिधै अनलाइबाट सकिन्छ । प्रविधि र सामाजिक सञ्जालले ग्राहकलाई धेरै नै सहज बनाइदिएका छन् । बजारमा आर्थिक मन्दी या विविध कारण सटरहरू खाली गर्नुपर्ने बाध्यता आइलाग्दा पसल छाड्न बाध्य भइरहेका व्यापारीहरूले यी माध्यममबाट पनि आफ्नो व्यापारलाई अगाडि बढाइरहेको पनि देख्न सकिन्छ । महँगो सलामी दस्तुरका कारण व्यापारिक केन्द्रका मुख्य सडकमै सटर भाडामा लिन नसक्ने अवस्था भएपछि व्यापार गर्न चलाखी गर्नेहरूले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालको व्यापक उपयोग गरिरहेका छन् । उनीहरू मुख्य सडकमा पसल नराखी भित्री सडकमा स्टोर खोलेर राम्रै आँकडामा व्यापार गरिरहेका छन्, तर यसमा सबै तिनै अनलाइन प्लेटफर्मको उपयोग भइरहेको छ । सीमित खर्च, सीमित स्रोत र सीमित साधनबीच कसैले कुनै नयाँ व्यवसाय सुरुवात गर्छु भन्ने सोच बनाएमात्र हुने वातावरण पछिल्लोपटक प्रविधिमा भएको विकासले तयार पारिदिएको छ । अहिलेका यस्ता डिजिटल प्लेटफर्मले पनि सानादेखि ठूला आकारका व्यापार गर्न राम्रै साथ दिइरहेका छन् । संघीय राजधानीमात्र नभई मुलुकका धेरै सहरबजारका सटर खाली हुँदै गएका देखिन्छन् । यसको प्रमुख कारण महँगो भाडा वा महँगो सलामी दस्तुर रहेको व्यवसायी बताउँछन् । त्यसमाथि पछिल्लो दशक त अनलाइन सपिङको बढेदो क्रेजले त्यस्ता व्यापारिक केन्द्रका सटरमा टु–लेट (भाडामा छ) लेखिएका बोर्ड झुन्ड्याइनु अब नौलो नहुने अवस्था सिर्जना भइसकेको दरबारमार्गका एक व्यापारीले बताए । संघीय राजधानी काठमाडौंको कुरा गर्दा विगतमा असन, इन्द्रचोक, भोटाहिटी, न्यूरोड, दरबारमार्ग, ठमेल, नयाँबानेश्वरलगायत मात्र बजारका रूपमा चिनिन्थे । तर, अहिले बजार धेरै नै विस्तार भइसकेको छ । चक्रपथ (रिङरोड) क्षेत्र वरपार र त्यसभन्दा बाहिर पनि प्रशस्त बजार खुलेका छन् । त्यसको असरले पनि मुख्य बजारमा व्यापार घटेको व्यापारीको अनुभव छ । रिङरोड बाहिर पनि भाटभटेनी, बिगमार्ट, केके मार्टजस्ता ठूला सपिङ मलहरू भटाभट खुल्न थालेपछि व्यापारिक केन्द्रमा महँगो भाडामा सटर लिएर बसेका व्यापारीको लगभग बिचल्ली भएको छ भन्दा अतिशयोक्ति नहोला । त्यसमाथि संघीयतासँगै प्रदेश मुकाम र पालिका मुकाममा नयाँ बजार बसेका छन् । त्यसले पनि मुख्य बजार सुनसान बनाउन सहयोग पुगेको छ । सम्बन्धित शिर्षक सहरमा व्यापार बढेकै छ, घटेको सटरमा मात्र हो

२९० रुपैयाँको जागिरदेखि गभर्नरको यात्रासम्म

काठमाडौं । खोटाङको गाउँबेसीमा उकाली गर्दै गर्दा महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्छु भन्ने विषय ‘आकाशको फल’ थियो । जसलाई सजिलो हेर्न सकिन्थ्यो तर टिप्न असम्भव । त्यो असम्भवतालाई उनले कसरी सम्भव तुल्याए ? यही प्रश्न हामीले उनै महाप्रसाद अधिकारीलाई सोध्यौं । उनले जवाफमा भने, ‘नेपालमा गभर्नरको एउटा मात्रै पद हुन्छ, म त्यही बन्छु भन्ने लागेको थिएन, तर सबै कुरा समयले बनायो, मैले मेहनत मात्रै गरेको हुँ ।’ उनले थप्दै भने, ‘जसले म यो बन्छु भनेर सपना बुन्छ, उसले त्यही अनुसार मेहनत पनि गरेको हुन्छ, उसले मेहनत अनुसार नपाइरहेको पनि हुन्छ । आफ्नो तर्फबाट गर्नुपर्ने मेहनत निरन्तर जारी राख्नुपर्छ तर, अलिकति महत्वकांक्षी राखियो त्यो भोलि गएर हुन सकेन भने व्यक्तिगत रुपमा पनि त्यसले राम्रो गर्दैन ।’ वि.सं २०२१ सालमा खोटाङमा जन्मेका महाप्रसाद अधिकारीको स्कुले जीवन गाउँमै बित्यो । बिहान साँझ घरमा आमाबुवालाई सहयोग गर्ने उनी दिउँसो विद्यालय जान्थे । वि.स २०३९ सालमा उनले गाउँबाटै एसएलसी (हालको एसईई) पास गरे । गाउँमा हुँदा उनले शिक्षण पेशा शुरु गरे । उनले बुझेको पहिलो तलब २ सय ९० रुपैयाँ थियो । त्यसपछि उनी वि.सं २०४० सालमा बाँकी अध्यनको लागि काठमाडौँ छिरे । यसपछि सुरु भयो उनको पढाइसँगैको जागिरे जीवन । महाप्रसादले काठमाडौंमा आइकमको पढाइसँगै खाद्य संस्थानमा काम थाले । ‘मलाई म काम गर्दे जाँदा संस्थाको लागि इमान्दारी पूर्वक गरें, धेरै पछिसम्म पनि म राष्ट्र बैंकको चिफ नै हुन्छु भन्ने सोचेको थिइनँ । निरन्तर काम गर्दै गएँ इडी बनें, डेपुटी गभर्नर भएँ, डेपुटी भइसकेपछि चाहिँ स्वभाविकै रुपमा गभर्नर हुनुपर्छ भन्ने लाग्यो,’ उनले आफ्नो सुरुवाती दिनदेखि हालसम्मको जीवन यात्रा सुनाउँदै भने । अधिकारीले वि.सं २०४२ सालमा प्रतिस्पर्धात्मक परीक्षामा नाम निकालेर सरकारी जागिरको यात्रा तय गरेका हुन् । वि.सं २०४२ सालमा राष्ट्र बैंकको साहयक स्तरको पदमा जागिर सुरु गरेपछि उनलाई अब यही क्षेत्रमा मैले अझैं प्रतिसपर्धा गर्नु पर्छ भन्ने लाग्यो । उनी वि.सं. ०५१ सालमा राष्ट्र बैंकको उप निर्देशक पदमा स्तरोन्नती भए । वि.सं २०५६ मा निर्देशक पदमा बढुवा भए । त्यसपछि २०६७ सालमा उनी राष्ट्र बैंकको डेपुटी गभर्नर बने । राष्ट्र बैंकमा विभिन्न पदमा गरी तीन दशक बढी समय बिताएका उनी वि.स २०७६ चैत २४ गते गभर्नरका रुपमा नियुक्त भए । महाप्रसाद जुन संस्थाबाट सामान्य कर्मचारीको रुपमा प्रवेश गरेका थिए त्यही संस्थाको सर्वोच्च पदमा पुग्दा अचम्म मान्दैनन् । बरु उनलाई काम गर्दैजाँदा अझै मेहनत गर्न जाँगर चल्छ । अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट २०४६ सालमा व्यवस्थापन संकायमा र इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेट (सीए) पनि गरेका छन् । गभर्नर महाप्रसाद अधिकारी मिहिनेत र सपनाले मान्छेलाई कल्पना नगरेको ठाउँमा पु¥याउने बताउँछन् । उनी अहिलेका विद्यार्थी अथवा केटाकेटीलाई पनि ठूलो महत्वकांक्षा नराखी मेहनत गर्न सल्लाह दिन्छन् । ‘म यही बन्छु, तिमी भोलि गएर यही बन भन्नुभन्दा पनि म मिहेनत गर्छु र केही गर्छु भन्ने सोच्दा राम्रो हुन्छ, उनले भने, ‘यसो गरे भोलि तनाव पनि लिनु पर्दैन ।’ गभर्नरको सपना लेखपढ गरी भोलि के बन्ने ? सामान्यतया सबैलाई सोधिने एउटा सामान्य प्रश्न हो । छोराछोरीलाई अभिभावक, विद्यार्थीलाइ शिक्षक यस्तै प्रश्न सोध्छन् । तपाईं हामीले पनि एसएलसी दिइसकेपछि वा अहिलेको एसईई दिसकेपछि भविष्यलाई निर्धारण गरेर आफ्नो अध्ययन यात्रा सुरु गरेका थियौँ र अहिले गर्छौँ पनि । कहिलेकाँही हामीले बनाएको योजना सफल नहुन पनि सक्छ अर्थात् जुन उद्देश्य बोकेर हामी हिँडिरहेका हुन्छौँ त्यो लक्ष्यमा नपुग्न पनि सकिन्छ । र, नदेखेको सपना नबोकेको उदेश्यमा पनि हामी भोलि पुग्न सक्छौं । गभर्नर महाप्रसाद अधिकारीलाई पनि म नेपालको गभर्नर हुन्छु भन्ने कल्पना समेत थिएन । तर, अहिले तपाईं हामीले चलाउने पैसामा उनको हस्ताक्षर चल्छ । देशको आर्थिक नीति कस्तो हुनुपर्छ ? देशको आर्थिक विकासका लागि कसरी अघि बढ्नुपर्छ भन्ने विषयमा उनको महत्वपूर्ण भूमिका हुन्छ । यसो भनिरहँदा लक्ष्य र उद्देश्य नबोकेर हिँडनुपर्छ भनेको हैन, मिहिनेत र कडा परिश्रमले समयसँगै जिम्मेवारीमा पुगिन्छ । ‘मनोरञ्जन पनि गर्छु’ हरेक काम र पदका पछाडि चुनौति आउनु स्वभाविक हो । यस्तो चुनौति आयो भन्दैमा तनाव लिएर बस्ने चलन छैन गभर्नर अधिकारीको । उनी भन्छन्, ‘सकेजति काम गर्नु पर्छ । तर, चुनौतीको सामना गर्न पनि डराउनु हुँदैन ।’ अधिकारीलाई लगातारका कामबाट थकित हुँदा गीत सुन्न, गेम हेर्न मन पर्छ । उनलाई भलिबल र व्याडमेन्टन खेल्न मन पर्छ भने फुटबल हेर्न पनि उनी रचाउँछन् । उनी बेलाबखत क्रिकेट हेर्ने गरेका छन् । घरमा भान्छाको काम गर्न पनि अधिकारलाई रमाइलो लाग्छ । ‘हामी घरमा आफै पकाएरै खाने हो । मलाई भान्छामा काम गर्न पनि उत्तिकै मनपर्छ, खानामा दालभात तरकारी लगायत सामान्य खानेकुराहरु मनपर्छ, गीत सुन्छु, कहिले आफै गुनगुनाउँछु पनि यती गरे तनावबाट मुक्त भइन्छ,’ अधिकारीले आफ्नो रुची सुनाउँदै भने । अधिकारीको परिवार अहिले ललितपुरमा बस्छ । वि.सं २०५९ सालमा ललितपुरमा घर बनेपछि सबैजना घरमै बस्न थालेका हुन् । अधिकारीका एक छोरा र एक छोरी गरी दुई सन्तान छन् । छोरा अष्ट्रेलियामा व्याचलर पढ्दैछन् भने छोरी भने नेपालमै एमडी गर्दैछिन् । उनकी श्रीमती गृहणीको रुपमा घरमै काम गर्छिन् । ‘मलाई कुनै चिन्ता छैन, छोराछोरी आफै पढ्दै, कमाउँदै गरिरहेका छन्, श्रीमतीले घरव्यवहार धानिरहनु भएको छ, जीवन रमाइलो छ,’ गभर्नर अधिकारीले भने । विवाहपछि प्रेम गभर्नर अधिकारीको प्रेम अनुभव अनौठो छ । उनी भन्छन्, ‘गाउँमा घरको काम र विद्यालय जाँदै ठिक्क भयो, त्यसपछि सिधै बिहेको प्रस्ताव आइहाल्यो माया–प्रेमको अनुभव नै गर्न पाइनँ ।’ ‘बिहे अगाडि विद्यालय वा कलेज जाँदा यो मान्छे मलाई मन पर्यो भन्ने कुरा कहिल्यै भएन, बिहेपछि मात्र मायाप्रेमको अनुभव लिएँ,’ उनले मुस्कुराउँदै थपे । अधिकारी घुम्न पनि धेरै मन पराउँछन् । उनी नेपालका धेरैजसो जिल्ला घुमिसकेको सुनाउँछन् । पश्चिम दार्चुलादेखि पूर्वको ताप्लेजुङसम्म पुग्दा सबै ठाउँ उत्तिकै रमाइलो लागेको उनी सुनाउँछन् । उनले विश्वका धेरै विकसित, अविकसित देशहरु पनि उत्तिकै घुमेका छन् । विभिन्न देश पुग्दा नेपाल जस्तो सम्भावना भएको देश उनलाई कुनै लाग्दैन । सम्झिनै नचाहेको त्यो घटना मान्छेको जीवनमा धेरै घटनाहरु आइलाग्छन् । कतिपय जीवनभर अविस्मरणीय बनिदिन्छन् भने कतिपय चाहेर पनि बिर्सिन सकिँदैन । गभर्नर अधिकारीको जीवनमा पनि यस्तो घटना छ , जुन उनी सम्झिन पनि चाहन्नन् । त्यो विषय हो उनको निलक्बन । उनी २०७८ चैतमा सरकारको निलम्बनमा परे । निलम्बन गर्ने सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा थिए भने अर्थमन्त्री थिऐ जनार्दश शर्मा । सोही बेला उनी निलम्बन परेका थिए । पनि गभर्नर अधिकारी अदालत गए । अदालतको आदेशमा गभर्नरको जिम्मेबारीमा उनी पुनः काममा फर्के । ‘काम गर्दै गर्दा कहिले कहीँ कानुनी झन्झटको सामाना गर्नु पर्ने हुँदो रहेछ, मैले यसलाई स्वभाविक रुपमा लिएको छु,’ उनले भने । निलम्बलमा परेको घट्नाबारे भने उनी धेरै बोल्न चाहेनन् । विकास मिडियाको प्रस्तुती विएन पोडकाष्टसँगको लामो अन्तरवार्तामा उनले भने, ‘यो घट्नालाई म बिसर्न चाहन्छु, धेरै नबोलौ ।’ स्वदेशमै बस्ने वातावरण बनाउनु पर्छ गभर्नर अधिकारी पछिल्लो समय विदेशिरहेका युवाहरुको संख्याप्रति चिन्तित छन् । युवाहरु दिनहुँ बिदेश पलायन भइरहेको बेला गभर्नर अधिकारी भने आफ्ना छोराछोरी स्वदेशमै काम गर्ने बताउँछन् । ‘नेपालमा पनि विस्तारै सेवा सुविधा राम्रो भइरहेको छ, छोरी नेपालमै छिन्, छोरा पनि बाहिर गएको भर्खरै हो, बाहिरबाट केही कुरा सिकेर नेपालमै आएर गर्छ,’ उनले भने । ‘नेपालमा सरकारी सेवा लिन झन्जटिलो हुने, रोजगार अभाव लगायतले युवाहरुमा निराशा छ, बिदेशीने क्रम बढ्दो छ, यो सुधार गर्न सकिने विषय हो,’ उनले थपे । नेपाल ठूलो सम्भावना र अवसर भएको देश भएको पनि उनी बताउँछन् । ‘नेपाल धेरै अवसर भएको देश हो । कतिपय देशमा समुन्द्र पुरेर घर बनेको हुन्छ, उनले भने, तर, हाम्रो देशमा योजनाबद्ध हिसावले देशमै भएका स्रोतसाधनको सदुपयोग गर्न सक्यो भने नेपालको अर्थतन्त्र छिट्टै विकसित देशको जत्तिकै मजबुत हुने थियो ।’ देश विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको उनी बताउँछन् । योजना कार्यान्वयन, कार्यक्रमको कार्यान्वन गर्न केही न केही स्थायित्व चाहिन्छ । नेपालमा बारम्बार सरकार फेरिनु, मन्त्री फेरिने प्रवृतिबाट विकास नभएको अधिकारीको ठम्याइ छ ।