व्यवसायीको पासो बन्दै बैंकको ऋण, धमाधम देहत्याग, जिम्मेवार को ?
काठमाडौं । मंगलबार इलामका प्रेमप्रसाद आचार्यले संसद भवन अगाडि नै आत्मदाहको प्रयास गरे । व्यवसायी समेत रहेका आचार्यले शरिरमै पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे । नेपाल प्रहरीले लगत्तै अस्पताल लिएर उपचार गर्दा उनलाई बुधबार स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरे । व्यवसाय डुबेर बैंकको ऋणको जञ्जालमा परेपछि आफुले आत्महत्या गर्नु परेको विषय उनले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए । अहिले उनको आत्मदाहको विषयलाई लिएर सामाजिक सञ्जाल तातेको छ । गत मंसिरमा पनि सिरहाका एक जना व्यवसायीले बैंकले चर्को ब्याज लिएको र आफ्नो व्यवसायले थेग्न नसकेको भन्दै आत्महत्या गरे । सिरहा गोलबाजारमा व्यापार गर्दै आएका पप्पु महासेठले बैंकको ब्याज तिर्नै नसकेको भन्दै आत्महत्या गरेका थिए । यस्तै, गत भदौ २१ गते काठमाडौं न्यूरोडमा कपडा व्यापार गर्दै आएका व्यवसायी सुदर्शन घिमिरेले पनि आत्महत्या गरे । उनले पनि बैंकको ऋण तिर्न नसकेपछि आत्महत्या गरेको सुसाइड नोट भेटिएको थियो । मासिक ४० हजार बढी सटर भाडा र लाखौं रकम बैंकको किस्ता तिर्नु परेको र सोही अनुसार व्यापार नचलेपछि मृत्युको बाटो रोज्नु परेको हुदयविदारक शब्दहरु उनको सुसाइड नोटमा उल्लेख थियो । भक्तपुर मध्यपुर ठिमीका व्यवसायी सुदीप अधिकारीले पनि अघिल्लो वर्ष बैंकको ऋण तिर्न नसकेको भन्दै परिवारको समेत हत्या गरेर आत्महत्याको बाटो रोजे । प्रहरीले अनुसन्धान गर्दा उनको आत्महत्याको कारण बैंकको ऋण भएको खुलेको थियो । यी प्रतिनिधि घटनाहरु मात्रै हुन् । पछिल्लो समय बैंकको उच्च ब्याज र सावाँ तिर्नै नसकेर दिनहुँ व्यवसायीहरुले मृत्युवरण गर्नु परेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसपछि संकटमा परेको अर्थतन्त्र र व्यवसाय पनि खासै नचल्दा सक्नेले व्यवसायबाटै पलायन भइरहेका छन् भने कतिपय सहन नसकेर मृत्युको बाटो रोजिरहेका छन् । अहिलेसम्म व्यवसाय संकटमै परेर कति जना व्यवसायीले मृत्युको बाटो रोज्नु पर्यो यसको यकिन विवरण भने कुनै पनि निकायसँग छैन । तर, बैंकको ऋण तथा ब्याज र व्यवसाय संकटमै परेको कारणले आत्महत्या गरेका घटनाहरु भने सञ्चार माध्यममा सम्प्रेषण भइरहन्छन् । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले समस्या सिर्जना भएर आत्हत्या गरेका उद्योगी व्यवसायीको तथ्यांक महासंघसँग नभएको बताए । उनका अनुसार पछिल्लो समय बैंकको ब्याज तथा व्यवसायमा समस्या आएकै कारण आत्महत्या गरेका व्यवसायीको संख्या बढेको भएपनि यकिन तथ्यांक भने महासंघले नराखेको बताए। उनले व्यवसाय संकटमै परेको कारण आत्महत्या गर्नु गम्भीर र सोचनीय विषय भएको धारणा राखे । उद्योग व्यवसाय बिग्रदै गएपछि बैंक तथा वित्तीय संस्थाले पनि ऋणीहरुलाई दबाब दिन थालेका छन् । बैंकहरुले सावाँ ब्याज असुली तथा धितो लिलामीका सूचनाहरुले पछिल्लो समय पत्रपत्रिका भरिभराउ हुने गरेका छन् । योसँगै धेरै उद्योगी व्यवसायीहरुले समेत बैंकको ब्याज घटाउनु पर्ने भन्दै आन्दोलन पनि गरे । तर, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी बैंकिङ पनि व्यवसाय भएकोले ऋणीले लिएको ऋणको सावाँ ब्याज तिर्नु पर्ने बताउँछन् । ‘बैंकिङ पनि एउटा व्यवसाय हो, लगानीकर्ताले नाफाकै लागि लगानी गरेका हुन्छन्, कोरोनाअघिको तुलनामा बैंकको ब्याज एक प्रतिशतले मात्रै बढेको छ, बैंकहरुले ब्याज धेरै बढाएका छैनन्, ब्याज घटाउ भनेर अनावश्यक दबाब दिनका लागि आन्दोलन तथा नारावाजी गर्नु राम्रो होइन, अहिले पनि सिंगल डिजिटमा ब्याज भएका ऋणीहरु पनि हुनुहुन्छ, नियतवस रुपमा बैंकले ब्याज बढाएर समस्यामा पार्दैन,’ अध्यक्ष केसीले भने । कालोसूचीमा पर्नेको ग्राफ बढ्दो कर्जा सूचना केन्द्रले ऋणीहरुलाई कालोसूचीमा राख्ने काम गर्छ । बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ऋणीहरूलाई प्रवाह गरेको ऋण नउठेमा विभिन्न समयमा सूचना जारी गरेर ऋण तिर्नका लागि ताकेता गर्छन् । पटक–पटक सूचना जारी गर्दा पनि ग्राहक सम्पर्कमा नआएपछि बैंकले धितो लिलामी गरेर ऋण असुल गर्ने काम गर्छन् । सोही समयमा बैंकले कर्जा सूचना केन्द्रलाई सो ऋणीको सम्पूर्ण तथ्यांक उपलब्ध गराएर कालोसूचीमा राख्न सिफारिस गर्छन् । सोही सिफारिसलाई आधार मानेर कर्जा सूचना केन्द्रले पनि ऋणीलाई कालोसूची राख्छ । कर्जा सूचना केन्द्रका अनुसार अहिले कालोसूचीमा पर्ने व्यक्ति तथा व्यवसायीको संख्या बढ्दो छ । बैशाखदेखि माघ ९ गतेसम्म कुल १८ हजार ७० जना व्यवसायी कालोसूचीमा परेका छन् । प्रत्येक महिना त्यो संख्या बढ्दो अवस्थामा रहेको केन्द्रले जनाएको छ । कर्जा सूचना केन्द्रका अनुसार बैशाखमा १ हजार ११५ जना, जेठमा १ हजार ५८७ जना, असारमा २ हजार ५३८ जना, साउनमा १ हजार ७८६ जना, भदौमा २ हजार ८८ जना, असोजमा १ हजार ७९९ जना, कात्तिकमा १ हजार ५९२ जना, मंसिरमा २ हजार ७३ जना, पुसमा २ हजार ६६८ जना र माघ ९ गतेसम्म ८२४ जना कालोसूचीमा परेका छन् । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिरेर कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका ऋणी बैंकिङ सुविधाबाट वञ्चित हुन्छन् । राष्ट्र बैैंकको एकीकृत निर्देशिकाले बैंकको निर्देशनबमोजिम कालो सूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता खोल्न नपाउने व्यवस्था गरेको छ ।. आत्महत्या गर्ने पनि बढ्दै नेपाल प्रहरीका अनुसार आत्हत्या गर्ने संख्या वर्षेनी बढ्दै गएको छ । नेपाल प्हरीले के कति व्यवसायीले आत्महत्या गर्छन् भन्ने तथ्यांक नराखेपनि आत्महत्या गर्नेको संख्या भने बढ्दै गएको छ । नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले नेपालमा विगत तीन वर्षमा २० हजार बढीले आत्महत्या गरेको बताए । उनका अनुसार वर्षेनी आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । व्यवसायिक संकट, बैंकको उच्च ब्याज, शैक्षिक बेरोजगारी, निराशापन लगायतका विषयले व्यक्तिले आत्महत्या गर्ने गरेको उनको भनाइ छ । तथ्याङ्क अनुसार समग्रमा महिला भन्दा पुरुषमा आत्महत्याको दर बढी देखिन्छ । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६ हजार २५२ जना, आर्थिक वर्ष २०७७/०७८ मा ७ हजार १४१ र आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ८३० जनाले आत्महत्या गरेका छन् । जिम्मेवार को ? मंगलबार प्रेमप्रसाद आचार्यले संसद भवन अगाडि नै आत्मदाह गर्ने प्रयास गरेपछि अहिले सर्वत्र सरकारको आलोचना भइरहेको छ । स्वर्गीय आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमार्फत् पनि विभिन्न मागहरु राख्दै आफु मरेपनि देश बाँचिरहोस् भन्ने हृदयविदारक स्टाटस राखेका थिए । उनले बैंकको उच्च ब्याजदर घटाउनु पर्ने, आयात प्रतिस्थापन गरी घरेलु उत्पादन र निर्यातलाइ प्रोत्साहन गर्नु पर्ने लगायतका मागहरु सरकार समक्ष राखेका थिए । उनका मागहरु पुरा हुनु पर्ने भन्दै बुधबार माइघर मण्डलामा सर्वसाधारणले सरकारविरुद्द नारावाजी समेत गरेका थिए । यो र यस्तै घटनाको जिम्मेवार सरकार भएको भन्दै सर्वसाधारणहरुले सरकारको विरोध गरेका थिए । यो घटनाको विषयलाई लिएर गृहमन्त्री रवि लामिछानेले माफी पनि मागेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राख्दै आचार्यलाई माफी मागेका हुन् भने बुधबार आचार्यको परिवारलाई भेट्न समेत पुगेका थिए । गृहमन्त्री लामिछानेल आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको भन्दै यसमा सरकार हामी दोषी भएको उल्लेख गरेका छन् । आचार्यको विषयमाथि सरकारले छानविन तथा अध्ययन गर्ने निर्णय पनि गरिसकेको छ ।
साथीहरू मिलेर बनेको एफवान सफ्ट, फिनटेकमा उत्कृष्ट
काठमाडौं । तपाईं आफ्नो साथी, सहकर्मी वा घरपरिवारलाई पैसा पठाउन आग्रह गर्दै हुनुहुन्छ भने, कसरी पठाउनु भन्नुहुन्छ ? इसेवा, फोनपे वा मोबाइल बैंकिङ ? हो, अधिकांशले लिने नाम यिनै हुन् । व्यावसायिक जगत् वा युवा पुस्ता माझ डिजिटल कारोबारको लागि इसेवा, फोनपे सर्वाधिक प्रयोग हुने डिजिटल एप्लिकेशन हुन् । इसेवा नेपालमा सर्वाधिक डाउनलोड भएको एपमध्ये एक हो । अहिलेसम्म ७० लाख मानिसले इसेवा एप डाउनलोड गरेको कम्पनीले जनाएको छ । मोबाइल र इन्टरनेटबाट कारोबार गर्न सकिने इसेवा अहिले अधिकांशको दैनिकी बनेको छ । घरमै बसेर जोकोहीलाई पनि पैसा पठाउन, घरभित्रै बसेर किनमेल गर्न र घरमै बसेर अनेकौं बिल भुक्तानी गर्न सक्ने सुविधा इसेवाले प्रदान गरिरहेको छ । कसैलाई पैसा पठाउन वा पाउन मान्छेलाई भेट्नै पर्दैन । इसेवाबाट सहजै सकिन्छ । इसेवा, फोनपे लगायत अन्य केही डिजिटल प्लेटफर्महरुको मदर कम्पनी भने एफवान सफ्ट हो । जुन कम्पनीको स्थापना गरेका हुन् विश्वास ढकालले । संस्थापनादेखि नै ढकाललाई साथ दिने अन्य तीन जना संस्थापक सेयरधनी हुन्, सुवास शर्मा, अस्गर अली र सुवास सापकोटा । सुवास सापकोटा चार्टर्ड एकाउन्टेन्ट हुने भने अन्य तीनै जना इञ्जिनियर हुन् । सन् २००४ सालमा स्थापना भएको यो कम्पनीले १८ वर्षको अवधिमा प्रविधिमा धेरै ठूलो फड्को मारेको छ । नेपाललाई प्रविधि सिकाएको छ । ‘हामी कलेजमै हुँदा कम्पनीको स्थापना भएको हो, त्यतिबेला विश्वास ढकालले एक्लै कम्पनी दर्ता गरे, एक आपसमा चिनजानले हामी चारै जना कम्पनीमा जोडियौं, पछि विस्तारै काम गर्न थाल्यौं, बजारले चिन्न थाल्यो, अहिले सबैले प्रविधिको क्षेत्रमा एउटा अग्रणी कम्पनीका रुपमा लिँदा खुसी लाग्छ,’ कम्पनीका सञ्चालक तथा एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास शर्मा भन्छन् । एफवान सफ्ट ठूलो महत्वकांक्षा लिएर सुरु भएको कम्पनी होइन । विस्तारै सम्भावनाहरु देखिँदै गए । सुरुमा कम्पनीले बैङ्कको एसएमएस बैंकिङ्गको उत्पादन सुरु ग¥यो र बैङ्कहरुलाई बेच्यो । अधिकांश बैङ्कले त्यो प्रडक्ट प्रयोग गरे । त्यसपछि इसेवा सार्वजनिक भयो । सन् २००९ मा सार्वजनिक भएको इसेवाले अहिले डिजिटल कारोबारको बजार तताइरहेको छ । इसेवाले मोबाइल र इन्टरनेटबाट कारोबार गर्न सकिने सुविधा ल्यायो । विस्तारै टेलिकम कम्पनी, सिनेमा हल, एयरलाइन्स, स्कुल/कलेज, बिजुली तथा पानीको बिल, यातायात कम्पनीलगायतले अनलाइनबाट कारोबार गर्न सकिने व्यवस्था भयो । ‘इसेवाबाट भुक्तानी गर्न सकिने धेरै सेवा भइसकेका छन्, यी विभिन्न सेवा हामीले सुरुवात गरेपछि अन्य कम्पनीहरु पनि आइरहेका छन्, हाम्रै कारणले यो क्षेत्र एउटा उद्योगका रुपमा स्थापित हुँदा खुसी लाग्छ,’ सीईओ शर्मा भन्छन् । अहिले एफवान सफ्टकै वार्षिक आम्दानी करिब ५५ करोड रुपैयाँ हुन्छ । इसेवा, फोनपे लगायत अन्य कम्पनीको कारोबार आ-आफ्नै छ । अहिले एफवान सफ्टका प्रडक्टहरु सबैको घर-घरमा पुगेका छन् । बिजुलीको बिल तिर्ने ६० प्रतिशतले इसेवाबाट भुक्तानी गर्छन् । एफवान सफ्टले बैङ्कहरुलाई चाहिने सफ्टवेयर बनाउँछ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र इसेवा मनी ट्रान्सफर पनि यसकै प्रडक्ट हो । विदेशी कम्पनीसँगको प्रतिस्पर्धा प्रविधिको दायरा असीमित छ । तर, मान्छेहरूले यसको दायरा सीमित बनाइदिएका छन् । भनिन्छ नि, ‘प्रविधिले विश्वलाई एउटा एउटा गाउँ बनाएको छ ।’ तर, विडम्बना, स्रोत साधन र नीतिगत व्यवस्थाकै कारण सीमित घेराभित्र रहेर व्यवसाय गर्नु पर्ने बाध्यता नेपालमा छ । अहिले नेपाली कम्पनीहरूलाई विदेशमा लगानी गर्न सक्ने नीतिगत व्यवस्था छैन । तर, विदेशी कम्पनीहरू भने नेपालमा आएर सजिलै व्यवसाय गर्न पाउँछन् । ‘विदेशी इन्टरनेट कम्पनीहरु पनि नेपालमा आउन सक्छन्, हामीले उनीहरुसँग प्रतिस्पर्धा गर्न सक्नु पर्छ, उनीहरुभन्दा सस्तो, भरपर्दो र राम्रै सेवा दिन सक्नु पर्छ, त्यसका लागि हामी तयार भएर बस्नु पर्छ,’ शर्मा भन्छन्, ‘तर, नीतिगत रुपमा नेपालमा प्रतिस्पर्धा गर्ने वातावरण नै छैन ।’ हुन त नेपाली कम्पनीलाई विदेशमा गएर प्रडक्ट बेच्न चुनौती नै छ । ‘सुरुमा त नेपाल भन्ने ब्राण्ड नै राम्रो छैन, नेपाल सफ्टवेयर बेच्ने देश हो र ? भनेर सोध्छन् । किन्नै परेपछि नेपालको सफ्टवेयर किन किन्ने भन्ने प्रश्न गर्छन्, नेपालको सफ्टवेयर किन्ने बनाउन हामीले सस्तोमा बेच्न सक्नुपर्छ, धेरै विषयहरु कन्ट्री इमेजले पनि फरक पार्छ, हामीलाई अहिले नेपालमै बिक्री गर्न चुनौती छ, विदेशमा त झन् कति–कति,’ शर्माले भने । १८ वर्षअघि स्थापना भएको एफवान सफ्ट नेपालको पहिलो फिनटेक कम्पनीमात्र होइन, सबैभन्दा बढी प्रयोगकर्ता भएको र सबैभन्दा ठूलो कारोबार गर्ने कम्पनी हो, जहाँ ३०० इन्जिनियर्ससहित १००० भन्दा बढीले रोजगारी पाएका छन् । क्षमताका हिसाबले एफवान सफ्टमा धेरै अनुभवी र क्षमता भएका व्यक्तिहरु छन् । एफवान सफ्ट समूहका अध्यक्ष ढकाल रेस्ट अफ व¥ल्डले सार्वजनिक गर्ने विश्वका १०० शीर्ष टेक चेन्जमेकर्सहरुको सूचीमा पनि परेका छन् । रेस्ट अफ व¥ल्डले ढकाल नेतृत्वको कम्पनीले निर्माण गरेका १२ वटा सोलुसनमध्ये ९० प्रतिशत बैङ्कहरुले कुनै न कुनै एउटा प्रयोग गर्ने उल्लेख गरेको छ । दक्ष जनशक्तिको अभाव शर्मा पछिल्लो समय नेपाली युवाहरुको विदेश पलायनको ट्रेण्ड देखेर चिन्तित बनेका छन् । स्वदेशमा राम्रो जागिर र त्यसको पनि स्थीरता नदेखेर विदेशिने युवाहरुको ट्रेण्ड देखेर उनी नेपालको भविश्य के होला ? भन्ने विषयमा प्रश्न गर्छन् । ‘नेपालमा बस्न चाहने धेरै कम छन्, राम्रो जागिर र करियर राम्रो बनाउनका लागि विदेशिने क्रम बढ्दो छ, हाम्रोमा पनि दुई/तीन वर्ष काम गरेर विदेश जान्छौं भन्छन्, हामी केही स्थीरताको वातावरण सिर्जना गरिरहेका छौं, नेपालमा कसैलाई बस्ने रहर नै छैन, यो एकदमै ठूलो समस्या हो, हामी गर्न नसक्नेको देश बन्दैछौं, उनी भन्छन्, ‘नेपालमा कम्पनी चलाउने जो कोहीलाई पनि सम्मान गर्नुपर्छ ।’ एफवान सफ्टले ल्याएका सेवाहरु सबै नेपालीले प्रयोग गर्दछन् कुनै न कुनै रुपमा । फोन, पानी, बिजुलीको पैसा तिर्न, रकम ट्रान्सफर गर्न, किनमेलपछि डिजिटल भुक्तानी गर्न वा मोवाइल तथा इन्टरनेट बैकिङ्ग सुविधा लिन । नेपालमा बिजनेस गर्नेहरु माफिया नै हुन् भन्ने भ्रम राजनीति र बुझाइमा छ । जुन गलत छ । ‘राम्रो काम गरिरहेको मान्छे नेपाल छोडेर विदेश जान्छु करिअर बनाउँछु भन्दा नजा भन्न सकिँदैन, उसले गएर स्थीर अर्थतन्त्रमा यहाँको भन्दा राम्रो काम गर्न सक्छ भने नजा कसरी भन्ने ? कि उनीहरुलाई विदेशको सुविधा यतै दिन्छु भन्न सक्नु प¥यो, तर, सकिँदैन’ उनले थपे, ‘यहाँको वातावरणले दिँदैन, हामी निकै कमजोर छौं ।’ हाल एफवान सफ्ट समूहमा १ हजार बढीले रोजगारी पाएको उनी बताउँछन् । त्यसमा करिब ३ सय इञ्जिनियर छन् । ईसेवा भारतको पेटिएमभन्दा दुई वर्ष अगाडि आएपनि भारतमा पेटिएमले जसरी ठूलो बजार लिन नसकेको उनी बताउँछन् । नेपालमा जति नै राम्रो प्रडक्ट बनाए पनि ठूलो मार्केट लिने सम्भावना न्यून रहेको उनी बताउँछन् । इसेवामा ७० लाख ग्राहक आवद्ध रहेको बताउँदै उनी अब नेपालमा बजार विस्तार गर्न समस्या भइरहेको बताउँछन् । एफवान सफ्टले केही नयाँ प्रडक्टहरु ल्याउने तयारी गरिरहेको छ । कम्पनी अझै डिजिटल फाइनान्सियलसँग सम्बन्धित केही सर्भिसहरु ल्याउने योजनामा छ । स्रोत साधनको सीमितताको बाबजुत पनि काम भइरहेको उनी बताउँछन् । ‘हुन त गर्न मिल्ने ठाउँ धेरै छ, हामीले जुन फिल्डमा काम गर्ने सोच बनायौं, त्यो क्षेत्रलाई भाइब्रेन्ट बनायौं, अहिले यो क्षेत्र एक उद्योगकै रुपमा चिनिन थालेको छ, कुल ३७ वटा कम्पनी थपिए । अर्बौं लगानी भएको छ, हजारौंले रोजगारी पाएका छन्, हामीले गर्न सकिन्छ भन्ने बाटो देखायो, यसको विस्तार हुन आवश्यक छ,’ उनले भने । ५ लाख लगानीबाट सुरु भएको एफवान सफ्टले गरेको कामप्रति सञ्चालकहरु सन्तुष्ट छन् । कम्पनी अहिले ५० करोडको हाराहारीमा पुगेको छ । कम्पनीले गर्नुपर्ने धेरै विषय बाँकी रहेको उनको भनाइ छ । इसेवा र फोनपेले पब्लिकमा जाने तयारी पनि गरेका छन् । कोभिड–१९ ले गर्दा केही ढिलाई भए पनि अबको एक वर्षभित्र पब्लिकमा जाने उनले बताए । ‘नेपालमा प्रविधिमा भविश्य छ, जागिरभन्दा पनि सकेसम्म उद्यमी बन्न सक्नुपर्छ, चुनौती मोल्न र दुःख गर्न तयार भयो भने नेपालमा पनि अवसरहरु छन्, नेपालमै समस्या समाधान गर्छु भन्यो भने पनि सम्भावना छन्,’ उनले भने । अहिले एफवान सफ्ट विज्ञ तथा अनुभवीहरुलाई कम्पनीहरुमा भित्र्याएर एग्रेसिभ बिजनेसभन्दा पनि यसको स्थिरतामा ध्यान दिइरहेको उनले बताए । युवाहरुले सुरु गरेर बजारको लिडिङ पोजिसनमा स्थापित यस कम्पनीमा शशिन जोशी, परशुराम कुँवर क्षेत्री जस्ता भेट्रान पूर्व बैङ्कर्सलाई सञ्चालकको भूमिका दिइएको छ । यसको उद्देश्य कम्पनीलाई अझ विश्वासिलो र दीगो बनाउनु रहेको उनी बताउँछन् । (देशविकास पत्रिकाको वर्षअङ्कबाट) सम्बन्धित सामग्री : बुबाको जग गोल्डस्टारलाई ‘विश्व ब्राण्ड’ बनाउन तम्सिएको जोडी विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल
व्यापार छोडेर उद्योगमा स्थापित शशिकान्त अग्रवालको कथा
काठमाडौं । एमएस ग्रुपका प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल पुर्ख्यौंली व्यवसाय ‘व्यापार’ छोडेर उद्योगमा रुपान्तरित र स्थापित उद्यमी हुन् । अन्तर्राष्ट्रिय चेन होटल नेपालमा भित्र्याएसँगै उनी होटल व्यवसायमा पनि राम्रोसँग जमेका छन् । बैङ्क, बीमा र जलविद्युत् क्षेत्रको सेयरमा उनको ठूलो लगानी रहेको छ । वि.सं. २०१६ पुस २४ काठमाडौंको झोसेमा जन्मिएका अग्रवाल अहिले ६२ वर्षका भए । हट्टाकट्टा देखिने उनको जीवनशैली सामान्य छ । उनी बिहान एक घण्टा मर्निङ वाक गर्छन् । दैनिक केही मात्रामा रक्सी पिउँछन् । खानपान ननभेज हो । नेपालको सन्दर्भमा एउटा सामान्य मान्छेभन्दा व्यापारीलाई बढी रोग लागेको देखिन्छ । अग्रवाल पनि यसलाई स्वीकार्छन् । ४५ देखि ५० वर्षभन्दा माथिका अधिकांश व्यापारीलाई ब्लड प्रेसर छ । त्यस्तै, अधिकांशमा मुटुको समस्या छ । उनलाई पनि यहि समस्या छ र दैनिक औषधि सेवन गर्छन् । मारवाडी समुदायका अग्रवालको परिवार राजस्थानबाट काठमाडौंको झोसे आएका हुन् । र, बिजनेस यात्रा पनि झोसेबाटै शुरु भएको थियो । जुन शशिकान्तको हजुरबुबाले शुरु गरेका हुन् । अग्रवालको परिवार काठमाडौंमा बस्दै आएको करिब १२० वर्ष भइसकेको छ । व्यापारिक पृष्ठभूमिको उनको परिवारले कपडाको व्यापारबाट आफ्नो करियर शुरु गरेको हो । पहिले इन्द्रचोकमा कपडा पसल थियो । पछि झोसेमा कपडाको होलसेल पसल चलाए । ‘मेरो हजुरबुबा (मालुराम मारवाडी/मालुसाहु) ले नेपालमा धेरै कपडाको बजार विस्तार गर्नुभएको छ, उतिबेला पनि ओखलढुङ्गा, बनेपा, धुलिखेल, टाँडी, गोरखा, दार्खु, बाह्रबिसे, लगायत विभिन्न ठाउँमा कपडा बोकेर जानुहुन्थ्यो, धेरै ठाउँमा गएर कपडा बेच्न सकाउने, उहाँको नाम मालुसाहु नै चिरपरिचत छ, जुन नामले मलाई धेरै सहयोग गरेको छ,’ स्वर्गीय हजुरबुबाको कहानी सुनाउँदै उनले भने । शशीकान्तका हजुरबुबा (मालुराम) र बुबा (शिवकुमार) को नामबाट एमएस (मालुराम शिवकुमार) ग्रुप जन्मियो । त्यहीबाट अग्रवालको परिवारले आफ्नो व्यावसायिक पहिचान बनाएको छन् । कपडा ट्रेडिङबाट अग्रवाल ग्रार्मेन्ट उद्योगमा लागे । शुरुमा भारतबाट आयात गर्दै आएका अग्रवालले पछि तेश्रो देशबाट कपडाको आयात गर्न थालेका थिए । ‘सन् १९७८/१९७९ ताका सबै नेपालीहरु मिलेर कोरिया र जापानबाट एउटा ठूलो पानी जहाजमा कपडा मगाइएको थियो, उक्त जहाज कम्पनी बदमास रहेछ, जसले जहाजको सामान अन्तै बेच्ने तयारी गरेछ, पछि मुद्दा हालेपछि सामान नेपाल फिर्ता ल्याउन सफल भयौं,’ विगतलाई स्मरण गर्दै उनले भने- ‘व्यापारमा बढी जोखिम देखेपछि म ट्रेण्डबाट उद्योगमा लागेँ ।’ सुरुमा उनले मोजा, कट्टु, गञ्जी, बच्चाको सुटको उत्पादन शुरु गरे । उद्योग राम्रै चल्यो । अग्रवालले राम्रै कमाए । त्यसपछि धोविघाटमा पशुपति टेस्टाइल फ्याक्ट्री चलाए । त्यसपछि उनले क्रमशः व्यापार छोड्दै गए, उद्योग थप्दै गए । सन् १९९४ मा उनले एभरेष्ट सुगर एण्ड केमिकल्स इन्ड्रस्टीज खोले । जुन उद्योग अहिले पनि नेपालको सबैभन्दा ठूलो चिनी उद्योगमध्ये एक हो । सिराहामा हिमालय सुगर चलाएका छन् । वीरगञ्जमा भगवती स्टिल उद्योग छ । त्यस्तै, पवन गोल्यानसँगको पार्टनरशीपमा इटहरीमा रिलायन्स स्पिनिङ मिल्स सञ्चालनमा छ । धागोमात्र बन्ने यो उद्योगबाट टर्की, जापान, दक्षिण अफ्रिका, भारत लगायतका देशहरुमा करोडौंको निर्यात हुन्छ । धागो बनाउनको लागि कच्चा पदार्थ अर्थात फाइबर भने भारत, चीन, इन्डोनेसिया, थाइल्याण्डलगायतका देशबाट आयात गरिने उनले बताए । ‘अहिले हामी बल व्यिरिङको मात्र व्यापार गर्छौं, संसारको सबैभन्दा ठूलो व्यिरिङ म्यानुफ्याक्चर कम्पनी स्वीडेनको एसकेएफको एजेन्ट हौं, ४० वर्षदेखि नेपालका अधिकांश कारखाना, अस्पताल, होटल लगायतका क्षेत्रलाई चाहिने ठूलो तथा सानो सबै व्यिरिङ सप्लाई गर्दै आएका छौं, अरु व्यापारमा हामी छैनौं,’ उनले भने । हाल अग्रवालले काठमाडौंको दुई ठाउमा होटल चलाउँदै आएका छन् । ठमेलमा फेयरफिल्ड र नक्सालमा मेरियट होटल सञ्चालन गर्दै आएका अग्रवाल अर्को नयाँ होटल सञ्चालनमा ल्याउने योजनामा छन् । उनले काठमाडौंको कमलादीमा मेरियटकै ब्राण्डको मोक्सी नामक होटल सञ्चालनमा ल्याउन लागेका हुन् । यो ९० कोठाको तीन तारे होटल हो । उनका छोरा गौरव अग्रवाल पनि व्यवसायमा आइसकेका छन् । गौरवले होटल बिजनेश हेरिरहेका छन् । शशीकान्तका भाई सुमित अग्रवालले होटलसँगसँगै कन्स्ट्रक्सन एक्टिभिटी, हाउँजिङ्गको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् । जग्गा बेचेर पनि समयमा तलब चिनी उद्योगीले किसानलाई भुक्तानी नदिएको विषयले नेपालको राजनीति र उखु किसानमा ठूलो तरङ्ग पैदा गर्छ । चिनी व्यवसायीको बदनाम हुने गरेको छ । यहि विषयमा जोडिएर शशीकान्त अग्रवालको नाम र फोटा समाचारहरुमा आईरहन्छ । अग्रवाल विगत २५ वर्षदेखि चिनी उत्पादक सङ्घको अध्यक्ष हुन् । ‘म चिनी उत्पादक सङ्घको अध्यक्ष भएकोले पत्रकारहरुले मलाई सोध्नुहुन्छ, मेरो नाम र फोटो पनि छापिन्छ, तर मैले कुनै पनि किसानको पैसा भुक्तानी बाँकी राखेको छैन’ अग्रवालले भने- ‘कोभिड महामारीको समयमा जग्गा बेचेर कर्मचारीलाई तलब खुवाएको सुनाए, अरुले व्याज तिर्न नसकेको समयमा पनि मैले किस्ता तिरेँ, अहिले यो होटललाई पैसा चाहिएको अथवा अर्को होटल बनाउनु छ भने बैङ्कहरुले मलाई आँखा चिम्लेर पैसा दिन्छन्, आर्थिक कारोबारमा मेरो रेपुटेशनलाई लिएर कसैले पनि प्रश्न गर्ने ठाउँ राखेको छैन ।’ टुरिजम ग्लामर पनि, फ्रजाइल पनि हालसम्म दुई होटल सञ्चालनमा ल्याएका अग्रवाल थप अर्को होटल सञ्चालनमा ल्याउने तयारीमा छन् । उनी होटल व्यवसायलाई फ्रजाइल व्यवसायको उपनाम दिन्छन् अग्रवाल । ‘टुरिजम एकदमै फ्रजाइल बिजनेस हो, नेपालमा जस्तै कुनै रोग फैलियो भन्ने हल्ला कसैले फैलाइदियो, काठमाडौंमा बम् पड्कियो भनेर सुनाइदिनुस्, भोलिदेखि नै क्यान्सिलेसन शुरु भइहाल्छ, त्यसैले यो बढो फ्रजाइल बिजनेस हो,’ प्रष्टाउँदै उनले भने- ‘तर यो बिजनेसको कमाइभन्दा पनि आफ्नो प्रपर्टीको एप्रिसियसनले फाइदा गर्छ ।’ साथै, यो क्षेत्रमा ग्लामर पनि मिसिएको अग्रवाल बताउँछन् । ‘होटलभन्दा पनि एभरेष्ट सुगर मिल्स, रिलायन्स मिल्समा ठूलो लगानी थियो, तर पनि कुनै पनि पत्रकार साथीबाट ती उद्योगको बारेमा सोधखोज हुँदैनथ्यो, तर होटलको बारेमा भने दैनिक कम्तिमा ५ जनाले अन्तरवार्ता लिन आउनुहुन्थ्यो, त्यसैले यो ग्लामर बिजनेस हो,’ उनले थप्दै भने- ‘मलाई अरु क्षेत्रमा आफ्नो चिनारी बनाउन ३०/४० वर्ष लाग्यो होला तर होटलमा ५ वर्षमै बन्यो ।’ व्यवसायमा इमान्दारिता, स्वच्छता, जोडिएका स्टाफहरु, वितरकहरु सबैसँग हातमा हात मिलाउँछन् अग्रवाल । उनीप्रति सबैजना खुसी छन्, त्यसलाई नै अग्रवालले ग्रोथको अर्को बाटो सम्झिन्छन् । आफूलाई ट्रेण्ड सेटरको उपनाम दिनेहरुलाई इमान्दारीपूर्वक कर्म गर्न सुझाव दिन्छन् उनी । तपाईं कति सम्पत्तिको मालिक ? हामीले प्रश्न गर्यौं । ‘जति सम्पत्ति छ प्रायः सबै मेरै नाममा छ, कतिपय कम्पनीको सेयर भाइको नाममा होला, सबै पारदर्शी नै छन्, लुकाउनु पर्ने आवश्यकता छैन र लुकाएर लुकिने पनि होइन, तर मूल्यांकन भने गरिएको छैन,’ अग्रवालले बताए । नेपालमा व्यक्तिगत सम्पत्तिको मूल्यांकन गर्ने चलन नभएर पनि आफूहरुले यसमा गृहकार्य नगरेको उनी बताउँछन् । एमएस ग्रुपका प्रबन्धक निर्देशक शशिकान्त अग्रवाल पुर्ख्यौली व्यवसाय ‘व्यापार’ छोडेर उद्योगमा रुपान्तरित र स्थापित उद्यमी हुन् । अन्तर्राष्ट्रिय चेन होटल नेपालमा भित्र्याएसँगै उनी होटल व्यवसायमा पनि राम्रोसँग जमेका छन् । धेरै पैसा भएपछि त्यसको भ्यालुएसन गर्न नसकिने हो ? प्रतिप्रश्न गर्दै सोध्यौं । ‘त्यो पनि होला,’ उत्तर फर्काउँदै उनले भने- ‘सार्वजनिक गर्न नचाहने पनि होला, मूल्यांकन गर्न नचाहेको पनि हुन सक्छ ।’ की म यति सम्पत्तिको मालिक हुँ भन्दा समाजमा असुरक्षित भइन्छ ? हामी रोकिएनौं । ‘विल्कुल होइन, कुनै जमाना थियो होेला, तर अहिले विनोदजीले डलरमा अरबपति छु भनिराख्नु भएको छ, उहाँले हरेक वर्ष सार्वजनिक गर्नुहुन्छ, असुरक्षित हुने भए किन सार्वजनिक गर्नुहुन्थ्यो र ? चोरेर ल्याएको हो र लुकाउन ? हामीलाई नै प्रतिप्रश्न गर्दै उनले भने । पैसा र खुसी दुवै आर्जन ‘यो समानान्तर हो, पैसा पनि राम्रै कमाएको छु, नकमाएको भए अहिले पाँच तारे होटलको ओनर अर्थात सञ्चालक हुँन्थिन होला र कमाएपछि यसै खुसी भइहालियो, व्यापारिक यात्रामा पैसा कमाउने दौडमा लाग्दा योसँग मेरो खटपट छ, झगडा परेको छ भन्ने दिन आजसम्म कहिल्यै आएन, यसको यति तिर्नु छ, कसरी तिर्ने ? भन्ने पनि कहिल्यै भएन, ‘आई अल्वेज इन्ज्योई माई बिजनेस, सो आई अल्वेज ह्याप्पी,’ अग्रवाल भन्छन् । व्यवसायमा इमान्दारिता, स्वच्छता, जोडिएका स्टाफहरु, वितरकहरु सबैसँग हातमाहात मिलाउँछन् अग्रवाल । उनीप्रति सबैजना खुसी छन्, त्यसलाई नै अग्रवालले ग्रोथको अर्को बाटो सम्झिन्छन् । आफूलाई ट्रेण्डसेटरको उपमा दिनेहरुलाई इमान्दारीपूर्वक कर्म गर्न सुझाव दिन्छन् उनी । जसले ग्रोथको बाटो पहिल्याउँछ र नाम कमाउन प्रेरित गर्नेमा उनी विश्वस्त छन् । सफल उद्यमीका आधारहरु ‘प्यासन इज भेरि की फ्याक्टर’ भन्छन् अग्रवाल । ‘नेपालमा विश्वव्यापी कोरोना भाइरस आयो, दुई वर्ष केही भएन, व्यवसाय ठप्प, त्यही पनि हामीले धैर्यता राख्यौं, होटल बन्द पनि गरेनौं, कर्मचारीलाई पनि निकालेनौं, अहिले त्यसकै विभिन्न रिवार्डहरु पाइरहेका छौं ।’ त्यसैले, कहिले पनि प्यासन लुज नगर्न उद्यमीहरुलाई सन्देश दिन्छन् उनी । यसका साथै आफ्नो लगन छाड्नु हुँदैन । गृहकार्य गर्छु भनेर लिइसकेपछि त्यसको अर्थपूर्ण अन्त्य नभएसम्म निरन्तरता दिनुपर्छ । आजको काम भोलि गर्छु भन्ने सोच्नु हुँदैन । स्टेकहोल्डर सन्तुष्ट, बिजनेस सक्सेस अग्रवाल संलग्न भएका व्यवसायमा आबद्ध जो कोही हत्तपत्त बाहिरिँदैनन् । ‘व्यापार नै उसले छाडेर अर्को लाइनमा लाग्यो भने त अर्कै कुरा हो, नत्र त हामीसँग अहिलेसम्म जोडिएका व्यापारी, एशोसिएट र स्टाफहरुले छोडेको रेकर्ड छैन,’ गौरवका साथ भन्छन् अग्रवाल । खुसीले सन्तुष्टि प्राप्त गर्छ, सन्तुष्टिले घर परिवारमा खुसियाली छाउँछ । यसले काम गर्न ऊर्जा थपिन्छ, आयू बढ्छ, लाइफमा फ्रस्ट्रेशन हुँदैन । फ्रस्ट्रेशन नभएपछि कति कुरा आफैं ठीक हुन्छन्,’ शशिकान्त अग्रवालले भने । विगत ३०/४० वर्षदेखिका स्टाफहरु आफूसँगै छन् भनेर सुनाउँन पाउँदा अग्रवालको मन खुसीले प्रफुलित हुन्छ । ‘हामीले उहाँहरुको सन्तुष्टिको ख्याल राख्यौं, आवश्यकताहरुलाई हरसम्भव पुरा गर्न कोशिस ग¥यौं, तर कोहीकसैसँग सन्तुष्टि स्तर कायम नभएसम्म कोही पनि लामो समयसम्म जोडिइ रहँदैन, पूर्णरुपमा सन्तुष्ट भएरै त होला उहाँहरुले आफ्नो पुरै जीवन दिनुभएको छ, यसमा म गर्व गर्छु,’ यसलाई अर्को सक्सेसको रुपमा लिने गरेको अग्रवालले बताउँछन् । ठमेल र नक्सालको दुई होटलमा एमएस ग्रुपको शतप्रतिशत लगानी छ । दुई होटलमा गरी ४ सय जना स्टाफ छन् । भगवती स्टीलमा करिब ४ सय जना छन् । अन्य कर्पोरेट अफिस तथा रिटेलहरुमा गरी कूल ५० जना रहेको र हाल ८५० जना जतिले प्रत्यक्ष रुपमा रोजगार गरिरहेका एमएस ग्रुपका अध्यक्ष अग्रवाल बताउँछन् । भक्तपुरमा हाउजिङ बनाउँदै एमएस ग्रुपले पछिल्लो ५/७ वर्ष केही काम नगरेको अध्यक्ष अग्रवाल बताउँछन् । ‘जग्गा महङ्गो भएर किन्ने आट पनि गरिएन, पछि कोभिड आयो,’ उनले भने- ‘अब थिमी बजारैमा २/३ सय फ्याल्ट बन्दै छ, भक्तपुरको ताथली भन्ने ठाउँमा ५० रोपनीमा एउटा प्रोजेक्ट बनाउँदै छौं, जसमध्ये आधा जग्गामा प्लटिङ गरेर बेच्छौं र बाँकीमा अपार्टमेन्ट बनाउँछौं ।’ देश बनाउन व्यवसायीको भूमिका अग्रवालका अनुसार देश बनाउन व्यापारीको कुनै अलग भूमिका हुनै पर्दैन । ‘यदि मैले राष्ट्रमा लगानी गरेँ भने त्यसले राष्ट्रको रोजगारी, बिजुली खपत लगायत देशमा सम्पत्ति सिर्जना गर्नमा महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने । सरकारले समय सापेक्ष पोलिसी बनाउनु पर्छ । कुन बेला कुन पोलिसीमा के हेरफेर गर्ने हो भनेर अध्ययन गरेर समय हिसावले गराउनु पर्छ । ‘कानून अर्थात सविधान त परिवर्तन गराउनु पर्ने हुन्छ भने पोलिसी त के हो र ?’ अग्रवाल बताउँछन् । पोलिसी लविङमा अग्रवालको बिजनेस कमिटीले धेरै प्रयास गरिरहेको छ । तर राम्रो प्रभाव छोड्न सकेको छैन । ‘हामीले ठूला विज्ञहरु हायर गरेर यस्तो चाहियो भन्छौं, कलेक्टिभ लविङ गर्ने तीन चारवटा सङ्घ संस्था छन्, कमन इन्ट्रेष्ट भए पनि सेम भ्वाइस छैन, त्यसैले पनि सरकारले त्यति सिरियस्ली नलिएको होला,’ चिन्तित हुँदै अग्रवालले भने । अब व्यापारको ड्राइभिङ सिटमा नबस्ने ६२ वर्ष भएका अग्रवाल अब बिजनेसमा सक्रिय नहुने बताउँछन् । ‘थप व्यापारिक सङ्घर्ष गर्दिनँ, सन्यास पनि लिन्न, तर अबको समय व्यापारको ड्राइभिङ सिटमा बस्दिनँ, छोरा भाइहरुलाई गाइड गर्छु, भइराखेको कारोबारलाई अपडेट राख्ने, मोडरनाइजेशन गर्ने काम गर्छु,’ भावी योजना सुनाउँदै अग्रवालले भने । सामान्य जीवन बिताउने अग्रवाल साथीभाइहरुसँग घुलमिल हुन बढी रुचाउँछन् । ‘अबको १०/१२ वर्ष यसरी नै बित्यो भने म खुसी र भाग्यमानी हुनेछु,’ उनले भने । ‘जीवनको प्राथमिकता नै खुसी हो, खुसीले सन्तुष्टि प्राप्त गर्छ, सन्तुष्टिले घर परिवारमा खुशियाली छाउँछ, यसले काम गर्न उर्जा थपिन्छ, आयु बढ्छ, लाइफमा फ्रस्ट्रेशन हुँदैन, फ्रस्ट्रेशन नभएपछि कति कुरा आफै ठिक हुन्छ,’ शशिकान्त अग्रवालले भने । जीवनमा मान्छेलाई कहिल्यै केही कुराको सन्तुष्टि नमिल्ने उनी बताउँछन् । राजनीतिको उदाहरण दिँदै उनी भन्छन्- ‘एक व्यक्ति जसले तल्लो स्तरबाट राजनीति गर्छ, गर्दा गर्दा मन्त्री बन्ला, प्रधानमन्त्री बन्ला र पनि उसको इच्छा आकांक्षा खतम हुँदैन, जुन जागेको जागै हुन्छ ।’ खासमा जीवन के रहेछ ? हामीले प्रश्न गर्यौं । ‘अरुलाई नोक्सान नपुर्याई आफ्नो कर्म गर्नु र आफ्नो लक्ष्य प्राप्त गर्न अघि बढ्नु नै जीवन हो,’ छोटोमा उनले टुङ्ग्याए । यो भन्दै गर्दा अग्रवालले आफ्ना समकालिन साथीहरुलाई सम्झिए । कति आफूभन्दा पछि छुटेका त कति कयौं अगाडि पुगेका । ‘यो एउटा भाग्यको खेल पनि हो र कसले कति जोखिम मोल्यो र मिहिनेत ग¥यो भन्ने पनि हुन्छ,’ उनी रोकिएनन् र भन्न थाले- ‘ जीवनले सबै मान्छेलाई एउटा मुकाममा पुर्याउँछ, त्यो मुकाममा पुगिसकेपछि जीवन कस्तो छ भन्ने बुझिन्छ, जुन मान्छेले आफूलाई सन्तोष र भाग्यशाली सम्झिन्छ त्यसको जीवन सधैँ राम्रो हुन्छ ।’ (देशविकास पत्रिकाको वर्षअङ्क बाट) सम्बन्धित सामग्री : बुबाको जग गोल्डस्टारलाई ‘विश्व ब्राण्ड’ बनाउन तम्सिएको जोडी विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल