विश्वको सबैभन्दा ठूलो थाङ्का प्रदर्शन, ७० फीट लामो थाङ्कामा गौतम बुद्धको जीवनी प्रस्तुत

काठमाडौँ, २६ कात्तिक । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा १६ राष्ट्रका कलाकारले बनाएको विश्वको सबैभन्दा ठूलो थाङ्का आजदेखि प्रदर्शनीमा राखिएको छ । मनाङ सेवा समाजको आयोजनामा दशरथ रङ्गशालामा नेपाली कलाकार सूर्यबहादुर थकाली र जापानी कलाकार यासुका तातागीको नेतृत्वमा निर्माण गरिएको ७० मि लम्बाइ र ५० मि चौडाइको सो थाङ्काले गौतम बुद्धको जीवनीलाई प्रस्तुत गरेको छ । सो प्रदर्शनीको उद्घाटन गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुद्धले देखाएको बाटो नै मानवसभ्यताको दिगो बाटो भएकाले उनको सन्देश विश्वभरि फैलाउनुपर्नेमा जोड दिए । उनले भने, “बुद्धको सिद्धान्तलाई विश्वसामु चिनाउन यो थाङ्काले महत्वपूर्ण भूमिका खेलेको छ ।” नेपालका लागि जापानी राजदूत मासासी ओगावाले थाङ्का प्रदर्शनीले नेपाल–जापान सम्बन्ध अझै बलियो हुने बताउँदै सम्बन्धको ६० औँ स्थापनाका अवसरमा राजदूतावासले विभिन्न कार्यक्रम गर्ने जानकारी दिए । पूर्व श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले विश्वकै सबैभन्दा ठूलो थाङ्कालाई सरकारले नेपालमा राख्न सके नेपाल पर्यटकको आकर्षकको केन्द्रबिन्दु हुन सक्ने बताए । कार्यक्रममा नेपाली कलाकार थकाली, जापानी कलाकार तातागी लगायतले १२ वर्षको अथक प्रयासले गर्दा उक्त थाङ्का निर्माण भएको र यसमा बुद्धको जन्मदेखि परिनिर्वाणसम्मको अवस्थालाई समेटेको जानकारी दिए । उक्त थाङ्का शुक्रबार र शनिबार काठमाडौँमा, आगामी मङ्सिर ५ र ६ गते पोखरामा र मङ्सिर ११ र १२ गते लुम्बिनीमा प्रदर्शन गरिने छ । रासस

सफल व्यवसायी डोनाल्ड ट्रम्पले बनाए नयाँ इतिहास, राजनीतिमा प्रबेश गरेको एक वर्षमा बने अमेरिकाको राष्टपति

वासिङटन, २४ कात्तिक । सन् २०१५ देखि राजनीतिमा प्रवेश गरेका खर्बपति डोनाल्ट ट्रम्प एक वर्षमा अ‍ेमेरिकाको राष्ट्रपति पदमा चुनिएका छन् । उनी सन् २०१६ नोभेम्वर ९ मा राष्ट्रपतिको उम्मेदवारको रुपमा रिपब्लिकन पार्टीबाट निर्वाचित भएका छन् । राष्ट्रपति पदका उम्मेदवार बनेदेखि चुनावी अभियानका क्रममा बारम्बार विवादमा परेपनि अन्ततःउनी अमेरिकाको ४५औं राष्ट्रपतिका रुपमा निर्वाचित हुन सफल सफल भएका छन् । अमेरिकामा खर्बपति रूपमा परिचित डोनाल्ड ट्रम्प सन् १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा जन्मिएका थिए । सन् १९७१ देखि देशको धनाढ्यका रुपमा चिन्निनु थाल्नुभएका ट्रम्पले सन् १९८० मा न्युयोर्कमा ग्रान्ड हायात होटल खोलेर चर्चाको शिखर चढेका थिए । उनलाई सन् २०१६ मा फोब्र्स म्यागजिनले अमेरिकाकै सर्वाधिक धनीको सूचीमा राखेको थियो भने विश्वमा ३२४ औँ स्थानमा थिए । उनको कुल सम्पत्ति करिब ३.७ अर्ब डलर रहेको फोब्र्सले २०१६ मा अनुमान गरेको थियो । राष्ट्रपति हुनुअघि उनको परिचय रियल स्टेट व्यवसायी (जग्गा जमिनसम्बसन्धि काम गर्ने) टेलिभिजन व्यक्तित्व, लेखक र राजनीतिज्ञका रुपमा स्थापित थियो । कलेज पढ्दैदेखि उनी आफ्ना पिताले सञ्चालन गर्दै आएको रियल स्टेट व्यवसायमा संलग्न भए र सन् १९७३ देखि परिवारको व्यवसायको जिम्मा लिए । व्यापारिक घराना आफ्नो जिम्मामा आएपछि उउले आफ्ना सबै व्यवसायलाई ‘ट्रम्प अर्गनाइजेसन’का रुपमा सञ्चालन गरे । व्यवसायीक जीवनमा ट्रम्पका अनेकौँ कम्पनीहरु टाट पल्टिएका थिए । ट्रम्पले जीवनभर र मादक पदार्थमा हात पनि नलाएको बताइन्छ । तर उनले पैसा कमाउन सन् २००६ मा आफ्नै कम्पनीमार्फत् “भोड्का” उत्पादन थाले । उनका ठूला दाजु फ्रेड अत्याधिक मादक पदार्थ पिउने (जड्याँहा) भएकाले मधिराकै कारण निधन भएको थियो । त्यसैले ट्रम्पले कहिल्यै मदिरा सेवन नगरेको बताइएको छ । तेह्र वर्षको उमेरमा सेनाको विद्यालयमा भर्ना भएका ट्रम्पले युनिभर्सटी अफ पेन्सिलभानियाबाट सन् १९६८ मा स्नातक पूरा गरेका छन् । एजेन्सीहरू

महाअभियोग र मुद्दा अलमल्याउने रणनीतिमा कार्की, महाभियोग प्रस्ताव प्रक्रियासम्मत नभएको भन्ने

काठमाडौं २२, कात्तिक । संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले प्रस्ताव तुहाउने र अदालतमा विचाराधीन आफूविरुद्धको मुद्दालाई अल्मल्याउने योजना बनाएका छन् । कार्कीका नातेदार र शुभचिन्तकको पहलमा बानेश्वरमा भएको भेलाले त्यही योजनाअनुरुप सोमवार सर्वोच्च अदालतमा २ वटा मुद्दा दर्ता गर्ने तयारी गरेको स्रोतले जनाएको छ । अख्तियार र व्यवसायी स्रोतका अनुसार अदालतमा विचाराधीन मुद्दा र संसदमा दर्ता भएको महाभियोग प्रस्ता तुहाउने विषयमा कार्कीको उपस्थितिमा शुक्रबारदेखि छलफल भएको थियो । कार्कीमाथिको महाभियोग प्रस्ताव दर्तालगत्तै अख्तियारबाट अवकाश पाएका वरिष्ठ अधिवक्ता कोमल घिमिरेको संयोजनमा भएको भेलामा करिब एक दर्जन कानून व्यवसायी उपस्थित थिए । ‘संसदमा दर्ता भएको महाभियोग प्रस्ताव प्रक्रियासम्मत छैन भनेर अघि बढ्ने योजना बनेको छ,’ भेलामा सहभागी एक कानून व्यवसायीले कान्तिपुरसित भने, ‘कार्की विरुद्धको मुद्दाको म्याद तामेली प्रक्रियामा समेत प्रश्न उठाई सर्वोच्च अदालतमा जाने निर्णय भएको छ ।’ भेलामा कानून व्यवसायीहरु महादेव यादव, कृष्णप्रसाद सापकोटा, युवराज संग्रौला, भीमार्जुन आचार्य, माधव बस्नेत, ललित बस्नेत, बाबुराम कुँवर, बालकृष्ण न्यौपानेलगायत सहभागी थिए । छलफलपछि माधव बस्नेतले मुद्दाको मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको स्रोतले बतायो । कार्कीका तीन रणनीति –  महाभियोग प्रस्तावविरुद्ध रिट हाल्ने –  म्याद तामेली प्रक्रियाविरुद्ध सर्वोच्चमा जाने –  सकेसम्म धेरै वकालतनामा गराएर मुद्दा लम्ब्याउने संसदमा दर्ता भएको महाभियोग र सर्वोच्च अदालतमा विचाराधीन योग्यताको प्रश्नसम्बन्धी मुद्दाको एकसाथ प्रतिरक्षाको रणनीति बनाउन कार्कीले यसबीचमा अन्य शुभचिन्तकसँग पनि छलफल र भेटघाट गरेको स्रोत बताउँछ । कानून व्यवसायीसँगको छलफलले महाभियोगको प्रस्ताव र म्याद तामेलीको प्रक्रियामा प्रश्न उठाउने रणनीति तय गरेको थियो । ‘महाभियोग सिफारिस समितिबाट संसदमा प्रवेश गर्नुपर्ने विषय सोझै संसदमा प्रवेश गरेको, बहालवाला मन्त्री नै प्रस्तावक भएको र उनीहरुले महाभियोगको पक्षमा दिएको प्रस्ताव प्रक्रियासम्मत नभएको भनी सर्वोच्च अदालतमा प्रश्न उठाउने तयारी छ,’ ती कानुन व्यवसायीले भने, ‘महाभियोगको प्रक्रिया अघि बढाउन रोक लगाउन आदेशको माग हुनेछ ।’ सम्भवतस् सोमबार नै दुई निवेदन दर्ता गर्ने तयारीमा उनको प्रतिरक्षा गर्ने कानून व्यवसायीहरुको समूह छ । कान्तिपुर दैनिकबाट ।