यु–१९ एसिया कप क्रिकेटः ५२ जना खेलाडीको छनोट

काठमाडौँ, ७ मङ्सिर । श्रीलङ्कामा आयोजना हुने उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ५२ जना खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विभिन्न छ जिल्लाबाट गरेको ट्यालेन्ट हन्ट कार्यक्रमबाट ५२ जनालाई प्रारम्भिक चरणमा छनोट गरेको हो । क्यानले नयाँ युवा खेलाडी खोजी गर्न काठमाडौँ, धनगढी, नेपालगन्ज, विराटनगर, भैरहवा र कलैयामा ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गरेको थियो । त्यहाँबाट छनोट भएका र उन्नाइस वर्षमुनि टोलीबाट यसअघि नै खेलिसकेका खेलाडीसहित ५२ जना प्रारम्भिक चरणमा छनोट भएका हुन् । छनोट हुने खेलाडीमा अभिनाष कर्ण, सुशान्त सिंह थापा, मुकुन्द यादव, सन्दिप ढुङ्गाना, अनिल कुमार थापा, फिर्तोश अन्सारी, ललित नारायण राजवंशी, आसिफ शेख, अनिल कुमार साह, अस्चल थारु चौधरी, रिजन ढकाल, राशिद खान, पवन शर्राफ, रित गौतम, जितेन्द्र सिंह ठकुरी, प्रदिप टण्डन, सन्दिप जोहरा, आयुषमान बम, प्रणय शाह, कमल खत्री, पाल्देन लामा, र शुभाङ्कर उराउ छन् । त्यसैगरी अमन पन्थी, सागर भण्डारी, दिपेन्द्रसिंह ऐरी, सन्दिप सुनार, सुमन पाण्डे, सन्दिप लामिछाने, रोहित पौडेल, देव खनाल, समसद आलम, प्रकाश केसी, धिरज शाही, कमल सिंह ऐरी, साह आलम, विक्रम भुसाल, रवीन्द्र शाही, प्रनित थापा मगर, विजय चौधरी, विक्रम ठगुन्ना, अफजल खान, लोकेश चन्द, भीम सार्की, रोमन बम, अर्जुन साउद, सुरज ऐर, विपिन रावल, किशोर महतो, नन्दनकुमार यादव, दिव्यांशु मल्लिक, मोहम्मद हुसैन र अनिल विश्वकर्मा पनि छनोट भएका छन् । रासस

१० वर्षमा २ लाख अपराध, समाजलाई नकारात्मक असर पार्दै आपराधिक घटना बर्सेनि बढ्यो

काठमाडौं ५, मंसिर । आपराधिक घटना बर्सेनि बढ्दो देखिएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष २०६३्६४ देखि १० वर्षको अवधिमा सामाजिक संगठित तथा आर्थिक अपराधसम्बन्धी घटनाको अनुपात बर्सेनि बढेको हो । प्रहरीका अनुसार उक्त अवधिमा दर्ता भएको करिब २ लाख १७ हजार मुद्दामा डेढ लाखभन्दा बढी व्यक्ति कारबाहीको दायरमा आएका छन् । अपराधमा संलग्न ८० प्रतिशतभन्दा बढी अभियुक्त कारबाहीको दायरामा आएको प्रहरीले जनाएको छ । उपत्यका, पूर्व र मध्य क्षेत्रअन्तर्गतका जिल्ला अपराधजन्य गतिविधी बढी हुने स्थानमा देखिएका छन् । कारोबार दैनिकबाट ।

धुर्मुस सुन्तली फाउण्डेशनको फिल्म ‘ज्योति’ प्रदर्शन, बालमैत्री देश बनाउने घोषणा

काठमाडौं, ४ मंसिर । समाजसेवी तथा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले देशलाई बालमैत्री बनाउने घोषणा गरेका छन् । रामेछापको सदरमुकाम मन्थलीमा बालमैत्री स्थानीय शासन सम्बन्धी फिल्म ‘ज्योति’ प्रर्दशन समारोहमा बोल्दै उनीहरुले देशलाई बालमैत्री बनाउने घोषणा गरेका हुन् । बालमैत्री देश बनेमा मात्र समृद्ध नेपाल सम्भव रहेको भन्दै उनीहरुले त्यसका लागि नयाँ अभियानको सुरुवात गरेको बताएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका लागि युनिसेफ नेपालको सहयोगमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको फिल्म ‘ज्योति’ प्रर्दशन गर्दै उनीहरुले बालमैत्री देश बन्नका लागि जनचेतना आवश्यकता महसुस गरेर नयाँ अभियान सुरु गरेको जिकीर गरेका छन् । पुनर्निर्माणमा जुटेका धुर्मुस सुन्तलीले त्यसका साथमा भविष्यका कर्णधार बालबालिकालाई हरेक क्षेत्रमा समान सहभागिता गराउन सके नेपालको भविष्य उज्जवल हुने उनीहरुको सोचाई छ । करिब ५ हजार जनाको उपस्थितिमा भएको उक्त कार्यक्रमपछि अधिकाँसले हस्ताक्षर गरेर आफ्नो क्षेत्रलाई बालमैत्री बनाउने प्रतिबद्धता जनाएका छन् । रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले ‘ज्योति’ फिल्मले आम नागरिकलाई बालमैत्री समाज निर्माणका लागि प्रेरित गरेको प्रतिक्रिया दिएका छन् । रामेछाप जिल्लालाई बालमैत्री जिल्ला घोषणाका लागि सुरु गरिएका कामलाई अब झन् तिव्रताका साथ अघि बढाउने उनले प्रतिबद्धता समेत जनाएका छन् । यस्तै, रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले सहज ढंगमा सबैले बुझ्ने गरी निर्माण भएको फिल्मले मानिसको सोचाई परिर्वतन गर्न सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । एकैपटकमा समाजका अधिकाँस नागरिकलाई सुसुचित गराएर बालमैत्री समाज निर्माणमा फिल्म निकै सहयोगी हुने उनको भनाई छ । सदरमुकामसँगै गा.वि.स स्तरमा समेत बालमैत्री फिल्म ज्योति प्रदर्शन गरिने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । रामेछापसँगै दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा, गोरखा, सिन्धुलीलगायत अन्य १६ जिल्लाका ३२ ठाउँमा फिल्म प्रर्दशन गर्ने फाउण्डेशनको योजना छ । पहिलो चरणमा भूकम्प प्रभावित जिल्लाहरुमा बालमैत्री समाज निर्माणको अभियान सुरु गरिएको र त्यसपछि देशैभर पुग्ने उनीहरुको योजना छ ।