धुर्मुस-सुन्तली फाउण्डेसनद्धारा नमूना बस्ती हस्तान्तरण गरिने, ४७ वटा घर निर्माण सम्पन्न

रौतहट । धुर्मुस-सुन्तली फाउण्डेसनद्धारा निर्मित सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण गरिने भएको छ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले मंगलबार आयोजित कार्यक्रममा हस्तान्तरण गर्न लागिएको हो । गत असोज ४ गते शिलान्यास गरिएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत निर्माण भएका छन् । गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस-सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो । करिब रु पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिनरात आफैँ खटेर काम गर्दै आएका थिए। यो एकीकृत नमूना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउण्डेशनका अध्यक्ष तथा कलाकार धुर्मसले बताए । धुर्मुस-सुन्तली फाउण्डेशनको यो चौथो परियोजना हो । रासस

सानिमा बैंकको ब्राण्ड प्रवर्धकमा थप दुई वर्षका लागि महजोडी, विगत ६ वर्ष देखी आवद्ध

काठमाडौं । सानिमा बैंकले कम्पनीको ब्राण्ड प्रवर्धकका रुपमा मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य (मह)जोडीलाई थप दुई बर्षको लागी निरन्तरता दिने सम्झौता गरेको छ । उनीहरु बिगत ६ बर्ष देखी बैंकको ब्राण्ड प्रवर्धकका रुपमा आवद्ध छन् । ‘मह’ जोडी तथा बैंकका कार्यकारी प्रमुख भुवनकुमार दाहाल बिच थप दुई बर्ष ब्राण्ड प्रवर्धकको लागी एक समारोह बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त समारोहमा ‘मह’ जोडीले सानिमा बैंकको प्रतिनिधि हुन पाएकोमा खुशी व्यक्त गरेका छन् । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण सानिमा परिवार नै नेपालको प्रतिष्ठीत कलाकारसँगको समिप्यतालाई निरन्तरता दिन पाएकोमा खुसी भएको बताएका छन् । उक्त सम्झौता अवधिमा मह जोडी बैंकको विभिन्न प्रवर्धनात्मक क्रियाकलाप जस्तै- टेलिभिजन कमर्सियल (टि.भि.सी), रेडियो जिङ्गल, पत्र–पत्रिका विज्ञापन, जनमानस समक्ष उपस्थिती जस्ता कार्यमा संलग्न रहने छ ।

जनता बैंकद्धारा निःशुल्क आँखा सिविर सम्पन्न

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनता बैंक नेपाल लिमिटेडले शनिबार कैलालिको केलारी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा उक्त आँखा सिविर सम्पन्न भएको हो । आँखा सिविरमा १२२४ जनाले विशेष ज्ञचिकित्सकबाट आँखा जचाएका थिए । जस मध्ये ३०० जना बिरामीलाई निःशुल्क अपरेशन सेवा दिन धनगढी नेत्रालयमा रिफर गरिएको छ । त्यसैगरी, उक्त सिविरमा करिव १०० बिरामीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने आवश्यकता अनुसारको औषधि निःशुल्क वितरण गरिएको थियो । उल्लेख्य संख्यामा जनसहभागिता रहेको आँखा सिविरमा जनता बैंकका कर्मचारी र स्थानीय प्रहरीहरु समेत गरी करिब ५० जनाले स्वयम् सेवकको भूमिकामा सिविर व्यवस्थापनमा सहयोग गरेका थिए ।