धुर्मुस–सुन्तलीद्वारा निर्माण भएको घर शुक्रबार हस्तान्तरण हुने, भूकम्पपीडितका लागि समाजकै नमूना काम
काठमाडौं १०, कार्तिक । सिताराम कट्टल (धुर्मुुुस र कुन्जना घिमिरे (सुन्तली)ले धुर्मुस–सुन्तली फाउन्डेसनको नाममा ६ महिनाअघि शिलान्यास गरी निर्माण सुरु गरिएको गिरानचौर एकीकृत बस्ती शुक्रबार भूकम्प प्रभावितलाई हस्तान्तरण गरिने भएको छ । फाउन्डेसनको अगुवाइमा निर्माण गरिएको यो एकीकृत नमुना बस्ती काग तिहारको दिन हस्तान्तरण गरिन लागिएको हो । तामाङ समुदायको बाहुल्य रहेको गिरानचौरमा ६५ घर ठडियो । अर्को एउटा घर मर्मत गरिएको छ । चारकोठा रहेको घरभित्रै शौचालय छ । अन्नपात राख्नका लागि घरमा माथिल्लो तला छ । यहाँ ५ वटा पार्क, ३ वटा चिल्ड्रेन पार्क, घण्टाघर अनि भ्यू टावर, १ खेलमैदान बनाइएकाले बस्ती सुन्दर बनेको स्थानीय बताउँछन् । एउटा सामुदायिक हल छ । हरेक घरको अघिल्तिर पर्याप्त आँगन भएकाले पनि शोभनीय देखिन्छ । घर पछाडि कम्तीमा दुई वटा फल दिने बिरुवा लगाइन्छ । करेसाबारी घरको पडाडि भएकाले तरकारीको जोहो गर्नसमेत सकिन्छ । ‘ग्रिन सिटी, क्लिन सिटी’को धारणाअनुरुप भोलिको दिनमा यसलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने लक्ष्य छ, धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुुस’ले उत्साही हुँदै भने, “यहाँको हरेक घर होमस्टे सञ्चालनका लागि योग्य छ ।” बस्ती निर्माणका लागि ५ करोड बढी खर्चिएको धुर्मुसको अनुमान छ । वास्तविक हिसाब त्यही दिन मात्रै हुनेछ,” उनले भने, “विभिन्न स्थानबाट सामान खरिदको बिल आइसकेको छैन । दसैंको घटस्थापनाको दिन भूकम्प प्रभावितलाई घर हस्तान्तरण गरिने पूर्वतयारी भए पनि विविध कारणले हस्तान्तरण हुन सकेन । “धेरै बाधा अड्चन आए, धेरै चुनौती थपिए,” धुर्मुसले भने, “मैले सबैलाई जितें, तर प्रकृतिसँग हारें ।” निर्माण सुरु गरेदेखि नै पानी परिरहेकाले बस्ती हस्तान्तरण गर्ने लक्ष्य भेट्न मुस्किल परेको हो । घर बनाउने क्रममा बालुवा सिमेन्टको मसला धेरैचोटी भेलले बगायो । बस्ती निर्माणस्थलसम्म पुग्ने साढे पाँच किलोमिटरको कच्ची सडक बनाउनै १ महिना लाग्यो । बारम्बार परिरहने पानीले काममा बाधा पु¥याएकैले लक्षित दिनसम्म भूकम्प प्रभावितलाई घर हस्तान्तरण गर्न नसकिएको धुर्मुसले दुःखेसो पोखे । ६५ घरका सबैलाई श्रमदानका लागि अनिवार्य गरिएको थियो । बाँकी सेना, प्रहरी, स्थानीयले सहयोग गरे । केही संघ÷संस्था र युवाको श्रमदानका साथै प्राविधिक कामका लागि अन्य जिल्लाबाट मिस्त्री ल्याइएकाले काग तिहारको दिन बस्ती हस्तान्तरण गर्न सम्भव भएको हो । “यो गाउँ हैन सुन्दर सहर हो, यसको निर्माणका लागि फाउन्डेसनले अगुवाइ मात्रै गरेको हो,” एकीकृत बस्ती निर्माण अभियानका प्रमुख अभियन्ता धुर्मुसले भने, “सबैको साथ सहयोगले यहाँसम्म आइपुगेका छौं, हामी सबैले बराबरी शारीरिक श्रम गरेकलै यो सफलता हात परेको हो ।” यसरी सबै मिले देश विकास हुने उनको तर्क छ । पर्यटनका लागि, भौतिक सुन्दरता अनि सामुदायिक खुसीका लागि गिरानचौर अब्बल छ । “यो हेरेर सबैले बुझ्नु पर्छ कि देश कसरी बन्छ भनेर” उनी खुसी हुँदै भन्छन्, “धुर्मुसले गिरानचौर हैन देश बनाउँदै छ ।” यहाँ भोलिका दिनमा काठमाडौंमा रहेका विभिन्न संघसंस्थाले साधारणसभा पनि चलाउन सक्नेछन् । उनकाअनुसार यहाँ बनेका घरले राष्ट्रियता झल्काउँछ । गिरानचौरका सबै घर नेपालको झण्डामा समाहित रंग रातो, निलो र सेतोले सज्जित छ । गाउँवासी पनि चिटिक्क परेको घर आफूले पाउने भएपछि खुसी छन् । उनीहरूले सरकारी राहतको आश गरेका छैनन् । गाउँकै ५९ वर्षीय रुद्र तामाङ फाउन्डेसनले बनाएको घरको डिजाइनले आफू सन्तुष्ट भएको बताउँछन् । “जाडोमा निकै समस्या भयो, बर्खामा पनि पानी चुहिएरै हैरानै भएको थियो,” रुद्रले आफ्नो समस्या सुनाए, “अब त आनन्द हुन्छ ।” ३५ रोपनी क्षेत्रफलमा फैलिएको एकीकृत नमुना बस्तीलाई तीन वटा ब्लकमा बाँडिएको छ । ब्लक ‘ए’मा २३ घर बनेका छन् भने ब्लक ‘बी’मा २७ र ब्लक ‘सी’मा १५ घर छन् । अपांग, वातावरण र बालमैत्री बन्ने यो बस्ती नेपालकै नमुना हुने अभियन्ता धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।कारेबार दैनिकबाट ।
तिहारमा भाइटीकाको उत्तम साइत ११ बजेर ५२ मिनेटमा
काठमाडौं ९ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको तिहारमा भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुृरेको छ । समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । “यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ” उनले भने । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ । रासस
राष्ट्रिय आविस्कार केन्द्रका लागि हङकङमा ४० लाख रूपैयाँ सङ्कलन
म्याग्दी, ८ कात्तिक । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले आइतबार हङकङमा आयोजना गरेको देउसीभैलो र तिहार भेटघाट कार्यक्रमबाट महावीर पुनको नेतृत्वमा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्रका करिब रु ४० लाख सहयोग सङ्कलन गरेको छ । मोना हङकङका देउसीभैलो कार्यक्रम संयोजक दल सर्बुजाले दिएको जानकारी अनुसार हङकङको मंकीहिल कन्ट्रीपार्कमा आयोजना गरिएको सो देउसीभैलो तथा तिहारको भेटघाट कार्यक्रममा सहभागीले सो रकम राष्ट्रिय आविस्कार केन्द्रका लागि सहयोग गरेका हुन् । अहिलेसम्म आफ्नो क्षेत्र, जिल्ला र जातिका लागि सेवा गरिएको तर अब महावीरले चालेको राष्ट्र निर्माणलाई सहयोग गर्ने भन्दै हङकङवासी नेपालीले मुठी खोलेर आर्थिक सहयोग गरेको मोनाका संयोजक सेर्बुजाले जानकारी दिए । समाजसेवी महावीर पुनले विज्ञान र प्रविधिकाे क्षेत्रमा विकासमा याेगदान गर्न र सिर्जनात्मक क्षमताकाे विकासमा याेगदान दिने उदेश्यले राष्ट्रिय आविस्कार केन्द्र निर्माण गर्न सहयाेग जुटाउने अभियान थालेका छन् । रासस