शाहरुख र अक्षयका कारण सिपोराले हल पाईनन्, भूईँमान्छेको प्रर्दशन मिति सर्यो
काठमाडौं । राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु चलचित्र ‘भूईँमान्छे’को प्रर्दशन मिति २ साता पछि धकेलिएको छ । साउन २० गतेदेखि प्रर्दशनमा आउने तयारीका साथ टिजर सार्वजनिक गरिएको ‘भूईँमान्छे’ले सो मितिमा हल नपाउने भएपछि पछि धकेलिएको हो । शाहरुख खान अभिनित चलचित्र ‘जब ह्यारी मिट सेजल’ ले अगष्ट ४ अर्थात साउन २० गतेलाई प्रर्दशन मिति तोकेपछि ‘भूईँमान्छे’को प्रर्दशन मिति फेरबदल गर्नुपरेको निर्देशक नवराज बुढाथोकीले जानकारी दिएका छन् । त्यस लगत्तै अक्षय कुमार अभिनित चलचित्र ‘ट्वाईलेट एक प्रेम कथा’ प्रर्दशनमा आउने भएकाले चलचित्र वितरकको सल्लाहमा ‘भूईँमान्छे’ को प्रर्दशन मिति २ साता पछि सरेको हो । बलिउड स्टार अभिनित चलचित्र प्रर्दशनमा आएपछि नेपाली चलचित्रले हल पाउनै मुश्किल रहेकाले बाध्यतावश चलचित्रको प्रर्दशन मिति सारिएको निर्देशक बुढाथोकीले बताएका छन् । पोस्टमार्टम गर्ने व्यक्तिको कथामा केन्द्रित ‘भूईँमान्छे’ मा रमेश बुढाथोकी, सहिन प्रजापति, बादल भट्टलगायत शैली थिएटरका कलाकारको अभिनय छ । लामो समयदेखि नाटक निर्देशन गर्दै आएका बुढाथोकीले यस अघि चलचित्र वनफूल निर्देशन गरेका थिए । वरिष्ठ रंगकर्मी अभिनित वनफूल अहिलेसम्म प्रर्दशनमा आएको छैन । वनफूल भन्दा अघि रोहिणी भट्टराईको लगानीमा निर्माण भएको उनको दोश्रो चलचित्र ‘भूईँमान्छे’ प्रर्दशनमा आउन लागेको हो । भूईँमान्छेसँगै भदौ २ गते हेमराज बि।सी निर्देशीत चलचित्र ग्याङस्टार ब्लुज पनि प्रर्दशनमा आउँदैछ ।
राज्यकोषको हदैसम्म दुरुपयोग, हत्या आरोपीलाईसमेत राज्यबाट करोडौं क्षतिपूर्ति
धनगढी। थरूहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरि भएको घटनाको आरोपितलाई सरकारले क्षतिपूर्ति रकम बाँढेको छ। राज्यकाेषबाट १ कराेड ७४ लाख पाउने तर फरार अभियुत्त रेशम चाैधरी प्रहरीको फरार सूचिमा रहेका रेशम चौधरीले सरकारले घटनाका पीडित भन्दै १ करोड ७४ लाख क्षतीपूर्ती उपलब्ध गराएको हो। यसैगरी सासंद जनक चौधरीले पनि ५० लाख १२ हजार ८ सय पाएका छन्। मन्त्रिपरिषदले विशेष निर्णय गरेर राहात दिइएको कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए। यसैगरी हाडवेयर पसल तोडफोड भएका प्रदिप चौधरीले १ करोड ३९ लाख र काठको फर्निचरको पसल तोडफोड भएका शिव नारायण चौधरीले १ करोड ५० लाख राहात पाएका छन्। रेशम चौधरीको राहात बुझ्न उनको वुवा लालबिर चौधरी आएका थिए। नजिकको हकवाला भनेर लालबिर चौधरीकै नाममा एकाउण्ट पे चेक उपलब्ध गराएको प्रजिअ रिजालले बताए। चौधरीको फूलबारी एफएम र फूलबारी रिसोर्टमा तोडफोड भएको थियो । टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी प्रहरीको फरार सुचीमा छन्। उनी बिरुद्ध एस एस पी लगायत ९ जनाको हत्या गराएको अभियोगमा जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्दा दर्ता गराइएको छ। इलाका प्रशासन कार्यालय टीकापुरमा पीडितलाई बोलाएर शुक्रबार राहात बितरण गरिएको हो। ८८ जना पीडित मध्ये ४० जनालाई राहात बितरण गरि सकिएको प्रजिअ रिजालले बताए। वाँकी शनिवार बितरण गरिने उनको भनाई छ। ८८ जनालाई १० करोड ७३ लाख रुपैया क्षतिपूर्ति वितरण गर्न लागिएको उनले बताए । ‘ प्रतिव्यक्ति ७ हजार २ सय देखि १ करोड ७४ लाखसम्म राहात उपलब्ध गराएका छौं’ रिजालले भने। थरुहट आन्दोलनका क्रममा टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा तत्कालिन सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक जना नाबालक मारिएका थिए। आन्दोलनकारीबाट प्रहरीको निर्मम हत्या भएको थियो भने नाबालकलाई गोली हानेर हत्या गरिएको थियो। नागरिक दैनिकबाट ।
पाटन दरबार क्षेत्रका पसल कवलले बर्षाेदेखि भाडा तिरेनन, भाडा मासिक ५ सय मात्रै
ललितपर। पाटन दरबार आसपासका ४५ वटा पसल कवलको भाडा गुठी संस्थानले वषौँदेखि उठाउन सकेको छैन। यी पसल कवलको मासिक भाडादर मासिक पाँच सय रुपियाँभन्दा बढी पनि छैन। गुठी संस्थान पाटन शाखा कार्यालय प्रमुख बैकुण्ठ आचार्यका अनुसार भाडा असुल गर्न संस्थानले पहल नगरेको होइन तर पसलेले नै संस्थानलाई टेर्दैनन्। समाजमा सुन्दा र जान्दा निकै लाजमर्दो अवस्था देखिने यसको जिम्मेवारी कसको हो ? न पसल भाडामा लिएकालाई थाहा छ न त गुठी संस्थानलाई नै। दरबार छेउका यी पसल भाडा तिर्नै नसक्ने बेचल्तीका पसल भने होइनन्। स्थानीयवासी पञ्च वज्राचार्य भन्छन्, कृष्ण मन्दिर छेवैको चटामरी र बारा पसलको सरदर दैनिक आय नै पाँच हजार रुपियाँ छ तर पाटनको एकाध जात्रालाई चन्दा दिएर पसलेले टार्दै आएको छ। कतिपय भाडादरको यो अवस्था र भाडा असुल गर्नै नसकिने यो अवस्थाप्रति खुलेर कुरा गर्न पनि हच्कन्छन्। कतिपय पसलेसँग जुद्धसमशेरकालीन कागजपत्र पनि छन् तिनै कागजको बेअर्थ लगाएर पसलमा मोहियानी हकसमेत दाबी हुने गरेको छ, संस्थानका एक कर्मचारी बताउँछन्। भक्तपुर दरबार क्षेत्रस्थित संस्थानका यस्ता पसलमा भने कुनै समस्या छैन, आर्थिक नियमावली अनुसार टेन्डर प्रक्रियाबाट भक्तपुर दरबार आसपासका पसलबाट संस्थानले नियम अनुसार नै आम्दानी गरिरहेको छ। हनुमानढोका दरबार आसपासका कडेल्चोक भगवती गुठीका पसल कवल पहिले नारायणहिटी दरबारले आफ्नो सम्पत्तिमा कायम गर्यो। दरबारको अस्तित्व गएपछि यहाँको आयलाई पुरातत्व विभागले लिएको छ। विश्व सम्पदा सूचीमा रहेका यी स्थानका अधिकांश पसल संस्थान मातहत छन्। गुठी संस्थानले भाडा दिन नसक्ने पसल खाली गराउन पनि सकेको छैन। संस्थान अधिकारीका अनुसार वर्तमान संस्थान ऐन खारेज भई नयाँ ऐन पारितको तयारीमा छ, ऐन पारितपछि बहाल असुली कारवाहीमा संस्थान कठोर रूपमा प्रस्तुत हुन्छ। गोरखापत्र दैनिकबाट ।