नक्सा पास गर्न अब अनिवार्य शौचालय बनाउनै पर्ने
काठमाडौं । मोरङको बेलवारी नगरपालिकाले शौचालय नभएको घरको नक्सा पास नगर्ने भएको छ । नयाँ घर बनाउँदा सुरुमै शौचालयसहितको नक्सा बनाउनुपर्ने नियम नगरपालिकाले नगरपरिषदबाटै पास गरेको हो । घरमा शौचालय बनाएपछि मात्रै घरको नक्सा पास गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए । बेलबारी नगरपालिकालाई गत आइतबार खुल्ला दिशामुक्त नगरपालिका घोषित गरिएको थियो । १२ हजार ८९२ घरधुरीमा शौचालय निर्माण भएपछि खुल्ला दिशामुक्त नगर घोषणा गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । निर्माणाधीन घर तथा भविश्यमा निर्माण हुने घरमा शौचालय निर्माण भएको नपाइए नगरले दिने सेवासुविधासमेत रोक्ने नगरपालिकाले जनाएको छ । शौचालय निर्माणसँगै हरित नगरी बनाउने उद्देश्यकासाथ नगरपालिकाभित्र कालोपत्रे गरिसकिएका सडकको किनारमा अनिवार्य रुपमा विरुवा रोप्नु पर्ने नगरपालिकाले जनाएको छ । यसैगरी नयाँ बनाएका घरमा समेत नगरपालिकाले दुईवटा विरुवा अनिवार्य रुपमा रोप्नु पर्ने नीति अख्तियार गरेको छ । रासस
लागुऔषध पूर्ण निषेध गर्ने गृहमन्त्री थापाकाे घाेषणा
काठमाडौं । मुलुकमा लागुऔषध प्रयोग र यसको ओसार पसार निषेध गर्ने गृहमन्त्रालयले जनाएको छ । मंगलबार ललितपुरमा लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले सरकारले विकासका लागि पाँच र दश वर्षको योजना बनाएजस्तै गृहमन्त्रालयले लागुऔषधलाई पूर्ण रुपमा निषेध गर्ने समयवद्ध योजना बनाएको उनले खुलासा गरे । केही समयपछि गृहमन्त्रालयले वडास्तर देखिनै लागु औषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलनकै रुपमा शुरु गर्न लागेको जानकारी दिँदै त्यसमा साथ दिन सबैसँग आग्रह गरे । राजनीतिक उपलब्धी हासिल गर्न जसरी दलहरुले संयुक्त आन्दोलन गरेका थिए त्यसैगरी विकास र समृद्धिका लागि समेत संयुक्त आन्दोलन जरुरी रहेकोमा उनको जोड छ । ‘लागुऔषध निषेध र मदिरा नियन्त्रणको आन्दोलन सरकार एक्लैको प्रयास वा नेताको प्रयासले मात्रै सकिँदैन,’ उनले भने ‘उक्त आन्दोलनमा सम्पुर्ण जनताको साथ आवश्यक छ ।’ लागुऔषधी कारोबारीहरुलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्रले पनि आफ्नो कार्यशैलीलाई सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘हामीले लागुऔषधको कारोबार, प्रयोग र ओसारपसार नियन्त्रण होईन पूर्ण रुपमा निषेध गर्ने तथा लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौँ,’ गृहमन्त्री थापाले कायक्रमको अवसरमा भने । फेरी उनले थपे, ‘लागुऔषधका निषेध सरल छैन तर सम्भव छ ।’ विगतमा जस्तो सामान्य अभियान चलाएर मात्रै यो सम्भव छैन । यसलाई आन्दोलनकै रुपमा अघि बढाउने उनको भनाइ छ ।
अब कुकुरलार्इ बाहिर दिसा गराए कारबाही हुने
काठमाडौँ । तपार्इले कुकुर पाल्नु भएकाे छ र दिसाबाहिर गराउदै अाउनु भएकाेछ भने कारबाहीमा पर्न सक्नुहुनेछ अब साेच्ने बेला अाएकाे छ । कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाे भन्दै काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ । कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले दिएको निर्देशन पालना नगरेमा कारबाही गर्ने बताए । उनका अनुसार एउटा कुकुरले एक वर्षमा एक लाख २४ हजार २८४ ग्राम दिसा गर्ने गर्दछ । हाल कामपामा ८० हजार घरपालुवा २२ हजार सामुदायिक कुकुर रहेको तथ्यांक छ । कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फेसल कोलीफर्म ब्याक्टेरिया हुने र उक्त जीवाणु मानव जीवनका लागि अत्यन्तै हानिकारक हुने भएकाले घरपालुवा कुकुरलाई घरको निश्चित स्थानमा नै दिसा गराउन महाशाखाले आग्रह गरेको हो । अहिले धेरै घरपालुवा कुकुरलाई घर बाहिरको खाली स्थानमा दिसापिसाब गराउने प्रचलन छ । कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म र टेपवर्मजस्ता जुका उत्पादन हुने र ती मानिसको शरीरमा प्रवेश गर्दछन् । यसरी प्रवेश गर्ने जुकाले मानिसको शरीरलाई नकारात्मक असर गर्ने हुँदा कामपाले यस किसिमको नियमको शुरुवात गरेको हो । एउटा कुकुरको दिसामात्र जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार हानिकारक ब्याक्टेरिया फैलिन्छन् । यस्तो विकराल स्थिति रोक्न घरपालुवा कुकुरलाई घरमै दिसापिसाब गराउन कामपाले अनुरोध गरेको हाे । घरपालुवा कुकुरको तुलनामा कम संख्यामा रहेको सामुदायिक कुकुर व्यवस्थापन गर्नका लागि पनि कामपाले विशेष अभियान थाल्ने महाशाखा प्रमुख श्रेष्ठकाे भनाइ छ । रासस