नेपाल प्रहरीका ४६ एसपी र १४९ डिएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीले एकै पटक ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरूवा गरेको छ । शुक्रबार साँझ प्रहरी प्रधान कार्यालयले सरूवा सूची प्रकाशन गरेको हो । प्रहरीले एसपीतर्फ ४६ जनाको सरूवा गरेको छ ।  त्यस्तै डिएसपीतर्फ १४९ जनाको सरूवा सूची प्रकाशन गरेको छ ।  

वैदेशिक रोजगारले भन्यो : विभाग परिसरमा विरोध गर्नेलाई कारबाही गरिने

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग परिसरमा विभिन्न माग राखेर भीडभाड गरेर सेवा प्रवाहमा अवरोध गर्नेलाई कारबाही गर्ने भएको छ ।  विभागले परिसरमा विरोध प्रदर्शन, हुलहुज्जत तथा गाली बेइजती गरे कानून बमोजिम फौजदारी कसुरमा कारवाही गरिने जानकारी गराएको छ ।  विभिन्न समूहहरुले हुलहुज्जत गरी विभागको सेवा प्रवाहमा प्रत्यक्ष असर पारेको तथा त्यस्ता विषयले विभागको सुरक्षा सम्वेदनशीलता समेत बढेको विभागले जनाएको छ । विभागबाट प्रवाह हुने सेवासंग सम्बन्धित नरहेको व्यक्ति अन्य सेवाग्राहीको विषय लिई विभागमा आउने कार्य नगर्न विभागले अनुरोध गरेको छ  ।  

क्रिकेट : अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपाल सामू जितका लागि १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।       र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ दशमलव तीन ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो । एक सय ५३ रन बनाउँदा जम्मा तीन विकेट गुमाएको अमेरिकाले थप ३७ बनाउँदा बाँकी सात विकेट गुमायो ।      अमेरिकाका लागि ओपनर स्मित पटेल र सेहन जयसूर्याले अर्धशतकीय पारी खेले । अमेरिकालाई राम्रो सुरुआत दिलाउने क्रममा पटेलले ८९ बलमा तीन छक्का र आठ चौकाको सहयोगमा ८३ रन बनाए भने जयसूर्याले ५२ बल खेल्दै एक छक्का र पाँच चौकाको सहयोगमा ५० रन बनाए । साथै मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।      कुनै समय बलियो अवस्था रहेको अमेरिकाको पारीलाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्र सिंह ऐरीले चार र सोमपाल कामीले दुई विकेट लिए । साथै सन्दीप लामिछाने र गुलशन झाले एक/एक विकेट लिए । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।          आइसिसी क्रिकेट विश्वकप लिग-२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।          नेपाल अहिले २५ खेलपछि आठमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । साथै अमेरिका २५ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।