टेलिकमले दियो दृष्टिविहीन विद्यार्थीलाई सामसुङ ग्यालेक्सी एम२० स्मार्टफोन

काठमाडौँ । समाजका हरेक वर्ग र समुदायलाई आफ्ना सेवाहरुबाट लाभान्वित गराउँदै आएको नेपाल टेलिकमले विपन्न र दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरुलाई फेरी स्मार्ट फोन उपलब्ध गराएको छ । सुर्खेतको छिन्चुमा आयोजित एक कार्यक्रमका बीच असार १७ गते कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन प्रदान गरे । कार्यक्रममा अधिकारीले नेपाल टेलिकमले देशका विकट क्षेत्रमा समेत अत्याधुनिक सञ्चार सेवाहरु उपलब्ध गराउनुका साथै फरक क्षमता भएका नागरिकहरुलाई उपलब्ध गराइएको सेवाले प्रविधिको माध्यमबाट आर्थिक गतिविधिका साथै सहज जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाल टेलिकम राष्ट्रको सञ्चार भएकाले व्यवसाय मात्र विस्तार नगरी सेवाको भावनाले समेत काम गरिरहेको बताए । भेरीगंगा नगरपालिका १० का वडाअध्यक्ष मानबहादुर बुढाले नेपाल टेलिकमले विभिन्न सेवामूलक कार्यपनि गरिरहेकोमा प्रशंसा गर्दै यस्तो सेवा आगामी दिनमा अन्य क्षेत्रमा समेत उपलब्ध हुने विश्वास व्यक्त गरे । मैत्री समाज नेपालका प्रतिनिधि चन्द्रमणि पोखरेलले कम्पनीले प्रदान गरेको मोबाइल सेटमार्फत दृष्टिविहीन विद्यार्थीहरुलाई स्तरीय आवाजसहितको प्रविधिबाट अध्ययन गर्न सहयोग पुग्ने बताउदै यसबाट समाजमा पिछडिएका र फरक क्षमता भएकाहरुले पनि केही गर्न सक्छन् भन्ने विश्वास कायम राख्न सहयोग पुगेको बताए । नेपाल टेलिकमले मैत्री समाज नेपालको सहकार्यमा कर्णाली प्रदेशका दृष्टि सम्बन्धी अपांगता भएका उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई मोबाइल सेट हस्तान्तरण गरेको हो । स्मार्ट फोनमार्फत आवश्यक एप्लिकेसन प्रयोग गरी उनीहरुले अध्ययन कार्यलार्ई सहज रुपले अघि बढाउन सक्नेछन् । यही असार १३ गते सुनसरीको इटहरीमा पनि दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई मोबाइल सेट वितरण गरिएको थियो । यस अन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका दृष्टिविहीन विद्यार्थीहरुलाई उच्च प्रविधियुक्त एन्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गरी उनीहरुको शैक्षिक स्तर र अवसर अभिवृद्धि गर्न सहयोग पुर्याउने कम्पनीको योजना छ । विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गत ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपाङ्गता भएका व्यक्तिहरुका लागि कम्पनीले मोबाइलबाट गरिने कुराकानीमा समेत विशेष सहुलियत उपलब्ध गराइरहेको छ ।

एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिङ्गापुर विजयी

काठमाडौं । मलेसियामा मंगलबारदेखि शुरु भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सिङ्गापुर विजयी भएको छ । सिङ्गापुरले चीनलाई आठ विकेटले पराजित गरेको हो । उद्घाटन खेलमा टस हारेर ब्याटिङ गरेको चीनले २३ ओभरमा सबै विकेट गुमाउँदै २८ रन मात्र बनायो । सिङ्गापुरले २९ रनको विजयी लक्ष्य ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । सिङ्गापुरका लागि साई हर्ष बेनुगोपालले अविजित १५ रन र विनित चेतेस मेहताले ११ रन बनाए । बलिङतर्फ चीनका टियान सेन कुनले दुई विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा चीनका सात ब्याट्सम्यान शून्य रनमा आउट भए । वेई गुइलीले सर्वाधिक ७ रन बनाए । चीनलाई न्यून स्कोरमा समेट्ने क्रममा सिङ्गापुरका विनित चितेस मेहताले सात विकेट लिए । सात राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित चीन र सिङ्गापुर छन् भने समूह ‘बी’मा आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन् । प्रतियोगिताको विजेताले श्रीलङ्कामा आयोजना हुने यू–१९ एशिया कप खेल्नेछ । रासस

रु ५६ लाखमा कञ्चनरुप नगरपालिकाद्वारा बारुणयन्त्र खरिद

काठकाडौं । सप्तरीको कञ्चनरुप नगरपालिकाले आगलागीबाट हुने विपद् न्यूनीकरणका लागि बारुणयन्त्र खरिद गरेको छ । आगलागीबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न नगरपालिकाले बारुणयन्त्र खरिद गरेको नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले बताएका छन् । सांसद साझेदारी कार्यक्रमअन्तर्गत रु ५६ लाख २६ हजार ५०० मा पोर्टेवल पम्पसहित फायर फायटिङ बारुणयन्त्र खरिद गरी ल्याएको सामाजिक विकास शाखा प्रमुख राजेशकुमार यादवले बताए । नगरपालिकाले बारुणयन्त्र खरिद गरी नगरपालिका ल्याएपछि नगरवासी खुशी भएका छन् । कञ्चनरूप नगरपालिकामा बारुणयन्त्र आएपछि छिमेकी स्थानीय तह सप्तकोशी नगरपालिका, तिरहुत र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा समेत सेवा पुग्ने बताइएको छ । कञ्चनरुपमा आगलागी हुँदा बारुणयन्त्रको अभावमा सदरमुकाम राजविराज र अन्यत्र जिल्ला सुनसरी, मोरङबाट मगाउनुपर्ने बाध्यता रहेको थियो । रासस