पहिलो भोईस अफ नेपाल सिडि विजय अधिकारीको ‘मोहनी’ शुक्रबार सार्वजनिक हुँदै

काठमाडौं । पहिलो भोइस अफ नेपाल विजेता सिडि विजय अधिकारीको मोहनी गीत शुक्रबार ३ बजे सार्वजनिक हुने भएको छ । सबैले मन पराएका गायक अधिकारीको मोहनी गीत एभरेष्ट ग्यालरी मार्फत दिउँसो ३ बजे सार्वजनिक हुँदै छ । गीतकार नारद आचार्य सुदामाको उत्कृष्ट शब्द रचनामा प्रसिद्ध संगितकार राजकुमार बगर संगित रहेको उक्त गीतको भिडियो निर्माण एभरेष्ट ग्यालरी टिमले गरेको छ । मुस्ताङका विविध स्थानहरुमा छायांकन गरिएको उक्त भिडियोमा सनम कठायत र ऋचा थापालाई आकर्षक प्रेममुन्द्रामा हेर्न सकिन्छ । अन्जन शर्माको निर्देशन , मुकेश हुमागाईको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियो सार्वजनिक पूर्वनै चर्चामा छ । निर्माण समूह दर्शक स्रोताको माया पाउने कुरामा ढुक्क छ ।

२२ औं भूकम्प दिवस रसुवामा सम्पन्न, व्यक्ति तथा संघ संस्था सम्मानित

काठमाडौं । रसुवामा २२ औं भूकम्प दिवस पनि विविधि कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा जिल्ला विपद् व्यवस्थापन समितिले सदरमुकाम धुन्चेमा विभिन्न कार्यक्रम गरेको थियो । सो अवसरमा सदरमुकाम धुन्चेमा भुकम्प सुरक्षा सम्बन्धि नाटक समेत प्रस्तुत गर्नुका साथै विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मान गरेको छ । विपद्को समयमा जिल्लामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति तथा संघ संस्थालाई सो अवसरमा सम्मान गरिएको हो। उनीहरूलाई सांसद मोहन आचार्यले सम्मानित गरेका हुन् ।यस वर्ष ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नारा सहित २२ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । १९९० सालमा गएको भूकम्पको स्मृतिमा हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ । विसं २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भुकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । नेपाल भुकम्पको जोखिमका हिसाबले विश्वको ११औँ जोखिमपूर्ण देशमा पर्छ । नेपालमा हरेक ८० देखि एक सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टर स्केलको भूकम्प जाने गरेको पाइएको छ । २०७२सालको भुकम्पबाट अति प्रभावित जिल्लाको सूचिमा रसुवा जिल्ला पनि पर्दछ।

बह्माण–क्षेत्री समुदायका महिला नौमती बाजा छुनुहुँदैन भन्ने परम्परा ताेड्दै , अहिले पञ्चेबाजा सिक्न व्यस्त

गलेश्वर । बेनी नगरपालिका–४ राक्सेका बह्माण–क्षेत्री समुदायका महिला पञ्चेबाजा बजाउन सिक्न व्यस्त छन् । बह्माण–क्षेत्री समुदायका महिलाले नौमती बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यतालाई लत्याउँदै उनीहरुले नयाँ इतिहास कायम गर्न बाजा बजाउन सिक्न थालेका हुन् । बारीका पाटामा सहनाई फुकिरहेकी अगुवा हीरा पाौडेलको नजिकै दुर्गा पौडेलले ढोलकी बजाउँदै हुनुहुन्थ्यो । सहनाई पञ्चेबाजामध्ये प्रमुख बाजा हो । घरायसी काम सक्ने बित्तिकै हतारहतार खेतमा पुग्ने गरेका यहाँ महिला दैनिकजसो दमाह, ट्याम्को, कर्णाल र नरसिङ्गाजस्ता विभिन्न थरीका बाजा सिक्न व्यस्त छन् । महिलाले बाजा छुन पनि हुँदैन भन्ने मान्यतालाई अन्त्य गर्न गाउँका बह्माण, क्षेत्री र दलित समुदायका महिला एकजुट भएर पञ्जे बाजा सिक्न जुटेका छन् । पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत राक्सेमा सडककै छेउमा रहेको बारीको पाटामा महिलाले बाजा बजाएको देखेर सडकमा सवारीसाधनमा आवतजावत गर्ने यात्रुले समेत अनौठो मान्ने गरेको पौडेलले बताए । उनले शुरुआतमा केही असहज भए पनि विस्तारै महिलाले सिक्न आर्कषित हुँदै आएको जानकारी दिए । “मैले सीप हस्तान्तरणको अभियानको रुपमा लिएको छु ।” उनले भने । पुरुषले मात्रै बजाउने पञ्चेबाजामा महिलालाई समेत अब्बल बनाउन तालीममा सहभागी भएको झ्याली बाजा सिक्दै गरेकी शान्ति पौडेलले बताए । महिला मात्र सहभागी नौमती बाजा समूह बनार्ई प्रकाश परियारले प्रशिक्षण दिइरहेका छन् । स्वागत तथा सम्मानलगायतका कार्यक्रम, मङ्गलधुन, दुलाहा अन्माउने, दुलहीको घरमा पुगेपछि, सिन्दूर हाल्ने, गोडा धुने, कन्यादान गर्ने बेलामा र दुलही अन्माउँदा, भित्र्याउँदा मङ्गलधुनका प्रस्तुति गर्ने कला प्रशिक्षणमा जानकारी गराइएको उनले जानकारी दिए । रासस