सवा दुई करोड लागतमा खानेपानी आयोजना सम्पन्न, घण्टाैं हिडेर पानी ल्याउने दिनकाे अन्त्य
स्याङ्जा । घण्टाैं लगाएर खानेपानीको जोहो गर्दै आएका गल्याङ नगरपालिका–९ स्थित बेलचौर, पाखीचौर र जामुनेका स्थानीय बासिन्दा ‘एक घर एक धारा’ अभियानले खुशी भएका छन् । पहिले एक घण्टा लगाएर एक गाग्री पानी ल्याउने गरेका यहाँका वासिन्दा अहिले घरमै धारा जडान भएपछि धेरै सजिलो भएको बताउँछन् । खानेपानी आयोजनाको लागि गल्याङ नगरपालिकाले रु २० लाख, गण्डकी प्रदेश सरकारले रु एक करोड ७० लाख र उपभोक्ताबाट रु ३० लाख बराबरको जनश्रमदान गरी कुल रु दुई करोड २० लाखको लागतमा योजना सम्पन्न गरिएको उपभोक्ता समितिले जनाएको छ । बेलचौरकी हीरा खनालले भने, “पहिला खानेपानी लिनको लागि गाउँदेखि तल रहेको धुवादी कुवामा जानुपथ्र्यो अहिले घरमै पानीको धारा आएपछि निकै खुशी लागेको छ ।” पानीको सुविधा भएपछि उनले करेसाबारीमा बन्दागोभी, मुला, साग, लसुन, प्याजलगायतका तरकारी खेतीसमेत शुरु गरेका छन् । अर्की स्थानीयवासी देवकी खनाल पनि घरमै पानीको धारा आएपछि दङ्ग परेकी छिन् । पानीको अभावमा कुवार खोला चाहर्दै हिँडेको सम्झँदै खनालले भने, ‘‘खानेपानी आयोजनाले हाम्रो जीवनमा धेरै परिवर्तन ल्याएको महसुस गरेका छौँ । पहिला पानीकै कारणले मेलापालसँगै अन्य काम भ्याउन कठिन थियो । अहिले घरको कामसँगै समय निकालेर तरकारी लगाउन थालेका छौँ ।’’ बेलचौर लिफ्टिङ खानेपानी आयोजनाका उपभोक्ता समितिका अध्यक्ष निमप्रसाद खनालले रु दुई करोड २० लाखको लागतमा अयोजनाको निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । कालीगण्डकी नदीको किनारबाट करीब २४० मिटरको उचाइमा पानी तानेर एक लाख लिटरको ट्याङ्की निर्माण गरी त्यसबाट १३५ घरधुरीमा धारा वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष खनालले बताए । गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले पानीको समस्या भएका वडामा प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर खानेपानीको सुविधा उपलब्ध गराइने जानकारी दिएका छन् । रासस
२०७७ सालका लागि १३ पात्रोले पाए आधिकारिक स्वीकृति
काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिएको छ । समितिले पञ्चाङ्गकारहरु सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’, पद्मनाभ त्रिपाठीको ‘हिमाल’, डिल्लीराज जोशीको ‘अठोला’ रहेका छन् । त्यसैगरी, दिव्यपुरूष ढकालको ‘तारकेश्वर’, सूर्यप्रसाद ढुङ्गेलको ‘सूर्य’, लोकराज पौडेलको ‘आकाश–दर्शन’, शशिधर जोशीको ‘बगलामुखी’, दामोदर जोशीको ‘शुभ’, श्रीकेश कौशिकको ‘बाबा गोरखनाथ’, सिद्धिलक्ष्मी व्यञ्जनकारको ‘सिद्धि’ र चेतराज उपाध्यायको ‘खप्तड तारानाथ पञ्चाङ्ग गरी १३ वटा पात्रोलाई स्वीकृति दिएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा.रामचन्द्र गौतमले जानकारी दिएका छन् । समितिले स्वीकृति दिएका पात्रो माघ पहिलो सातादेखि नै बजारमा आउन थालेका छन् । चाड पर्वका सम्बन्धमा धर्मशास्त्रविद्बान शास्त्रीय आधारमा निर्णय गरिएकाले यिनै पात्रोको प्रयोग गर्न समितिले आम मानिसमा आह्वान गरेको छ । विगत केही वर्षदेखि समितिको स्वीकृति नलिई प्रकाशन भएको पात्रोका कारण तिथि, मिति, चाड पर्व नमिल्दा समस्या पर्ने गरेकाले आधिकारिक पात्रोको मात्र उपयोग गर्न पनि अध्यक्ष गौतमले अनुरोध गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको समितिको स्वीकृतिबिना प्रकाशन भएका पात्रोको प्रयोग गर्दा तिथि मिति, चाड पर्वलगायतका बारेमा कुनै भ्रम वा द्विविधाको अवस्था आएमा आफैँ जिम्मेवार हुनुपर्ने जनाइएको छ । समितिको स्वीकृति भएका पात्रोमात्र प्रयोगमा ल्याउँदा कुनै समस्या आएमा त्यसको समाधान सरकारले मनोनयन गरेका विद्वानकाे समूहले गर्ने उनले बताए । रासस
अज्ञात समूहद्वारा कार्यालय र गाडीमा आगजनी, नेकपा अध्यक्षको घरमा बम
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म१च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । यसका साथै गाउँपालिका–३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ । पालकै से१च ४५९ नम्बरको जेसीबीमा पनि आगजनी गरिएको छ । आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे बुझ्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको छ । डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । राज्य पुनःस्थापना हुँदा गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि हाल सम्पूर्ण कामकाज वडा नं ३ बाट हुँदै आएको छ । नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयवासीको आरोप रहेको छ । डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत छ । रासस