कसरी बनाउने चाकु ? के कस्ता छन् यसका फाइदा ?
काठमाडौं । हिन्दुहरुको प्रमुख चाडमध्ये माघे संक्रान्ति पनि महत्वपूर्ण पर्व हो । परम्परादेखि मानी आएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो संक्रान्तिलाई मकर संक्रान्तिको रुपमा पनि चिनिन्छ । माघे संक्रान्तिमा विशेष गरेर घ्यू चाकु, तिलको लड्डू, फापरको फुरौला, तरुल, सखरखण्ड जस्ता खाद्यपदार्थ खाने प्रचलन छ । माघे संक्रान्तिको आसपासमा यस्ता खाद्यपरिकार विक्री वितरणको लागि पर्याप्त मात्रामा राखिएका पनि हुन्छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार व्यवसायिक चाकु उत्पादन गर्ने संस्था विभागमा दर्ता भएका छैनन् । यसैकारण यस्ता खाद्य पदार्थको गुणस्तरमा यकिन हुन सकिने अवस्था भने छैन । तर, परम्परादेखि उत्पादन गरिदै आएको खाद्य पदार्थ भएकोले गुणस्तरहीन हुन्छन् भनेर आरोप लगाइहाल्न मिल्ने अवस्था पनि छैन । गुलियो तथा अमिलो खाद्य पदार्थ आफैमा सुरक्षित खाद्यपदार्थ भएकाले यसको विग्रिने सम्भावना अति हुन्छ । सखर तथा चिनीलाई पकाएर बनाउने चाकुको गुणस्तरमा विभागले हालसम्म बजारमा अनुगम गरेको छैन । काठमाडौं उपत्यकामा धेरै चाकु उत्पादन हुने स्थान टोखा हो । टोखामा माघे संक्रान्तिताका धेरै परिमाणमा चाकु उत्पादन हुने गर्छ । घरमा नै बनाउने आफ्नै प्रक्रिया भएकोले पनि यसको विश्वनियता बढ्दै गएको छ र पछिल्लो समय चाकुलाई नेपाली चक्लेटको रुपमा ब्राण्डिङ गर्ने प्रयास पनि भएको छ । बजारमा माघे संक्रान्ति तथा नेवारहरुको यमुरी पूर्णिमाको दिन चाकुको प्रयोग धेरै हुने भएपनि हालसम्म कुनै गुनासो नआएको विभागको भनाइ छ । चाकु बनाउने तरिका पानीमा सखर राखेर आगोमा लामो समयसम्म पकाउने, उक्त पानी र सखर पाकेसँगै ठूलो खुल्ला भाँडोमा राख्ने । तातो सेलाएसँगै त्यसलाई रंग परिवर्तन नहुँदासम्म फिट्ने । त्यसपछि आफूलाई चाहिने मात्रामा किसकिस, काजु, नरिवल मिसाएर केही समय खुल्ला छोड्ने । यस्तै, घरेलु तरिकाले आफूले चाहेअनुसारको आकारमा चाकु तयार गर्न सकिन्छ । यस्ता छन् चाकुको फाइदा गुलियो खाद्यवस्तुले शरिरलाई शक्ति प्रदान गर्ने गर्दछ । जाडो मौसममा थकित शरिरलाई सन्तुलन गर्ने काम गुलियो खाद्यान्नभित्र पाइन्छ । चिसोबाट थाकेको शरिरलाई न्यायो हुन्छ भन्ने मान्यताका साथ चाकु, घ्यू, तरुल, तिल, सक्खरखण्ड जस्ता खाद्यपदार्थलाई प्रसादको स्वरुप लिने गरिँदै आएको छ । सखर र पानीबाट बन्ने चाकुमा कार्बाेहाइड्रेड प्रशस्त मात्रामा हुन्छ । त्यस्तै, चाकुमा हुने कालो पदार्थमा अधिक मात्रामा आइरन पाइने हुँदा कमजोर शरिर तथा रक्तअल्पता भएका विरामीको लागि यसले धेरै फाइदा गर्छ । शरिरलाई ताप प्रदान गर्नका लागि घ्यू सन्तुलित मात्रामा प्रयोग गर्दा उपयुक्त हुन्छ । जाडोयाममा शरिरलाई अधिक मात्रामा उर्जा आवश्यक पर्ने हुँदा घ्यू र चाकु प्रयोग गरिएको हो ।
स्वदेशी लघुवित्तद्वारा सेवा आश्रमलाई खाद्यान्न सामाग्री
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले निःसहाय बालबालिका सेवा आश्रममा सरण लिई बसेका अनाथ बालबालिकालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले स्थापनाको पाँचौ वर्ष पूरा गरी छैंटौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ईटहरीको संगित चोकमा रहेको उक्त आश्रमलाइ १५ दिनलाई पुग्ने रु. २० हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेको हो । आश्रममा ३७ जना अनाथ (सडकमा भेटिएका, फालिएका) बालबालिका र ६ जना वृद्धवृद्धाहरुले आश्रय लिई रहेका छन् । आश्रमको प्राङगणमा आयोजित कार्यक्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायव कार्यकारी प्रमुख लगायत केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाई र नायव कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले संस्थाको परिचय, उदेश्य र कार्यक्षेत्रको बारेमा जानकारी गराउनुका साथै संस्थाले विभिन्न वित्तीय कारोबारका साथै सामाजिक कार्यक्रमहरु पनि गर्दै आएको जानकारी गराएका थिए ।
प्रहरीद्वारा एकै वडामा २८ छाउगोठ भत्काइयाे
डाेटी । विमलबहादुर विष्ट छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत बडीकेदार गाउँपालिकाको एकै वडामा २८ गोठ भत्काइएको छ । वडा नं ३ घागलको सिदुरेपानीका गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । सो वडाको २८ गोठ प्रहरी तथा स्थानीयवासीको सहयोगमा भत्काइको हो । एकहप्तामा जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउने अभियान चलेको छ भने प्रहरीले गोठ भए नभएको अनुगमन गरिरहेको छ । मुलुकी अपराध संहितामा महिला रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र रु तीन हजारसम्म जरिवाना हुने व्यवस्था छ । सुदूरपश्चिम प्रदेशमा छाउपडीका नाममा महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने चलन कायमै छ । गृहमन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन खटाइएको छ । प्रहरी उपरीक्षक देउवाले भने, “प्रहरीले गोठ खोजीरहेको छ र देख्ने बित्तिकै भत्काउन भनिएको छ, कतिपय ठाउँमा स्थानीयले भत्काउन थालेका छन् ।” अभियानमा स्थानीय, जनप्रतिनिधि तथा विभिन्न सङ्घ संस्थाको सहभागिता छ । जिल्लाका त्यस्ता गोठ भत्काउने अभियान सफल पार्न स्थानीय निकायसँगको समन्वयमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, “छाउगोठ कहाँ कति छन् सूचना लिएर भत्काउन प्रहरी खटाएका छौँ, अब छाउगोठ बनाउनेलाई कारबाही हुन्छ ।” डोटीलाई आगामी फागुनभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी गोठ भत्काउने अभियान तीव्र पारिएको प्रजिअ पौडेलले बताए । जिल्ला प्रशासनले हालै गरेको छाउपडी प्रथा उन्मूलन संयन्त्र बैठकमा सहभागी जनप्रतिनिधिले जिल्लालाई फागुन मसान्तसम्म प्रभावकारी रुपमा छाउपडी गोठमुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । गोठ भत्काउने विषयलाई बेवास्ता गरे स्थानीय तहबाट दिइने सेवा सुविधाबाट वञ्चित गर्नेसहित कानूनअनुसार कारबाही गरिने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताएका छन् । त्यस्तै आफ्नो गाउँपालिकामा छाउपडी अन्त गर्न तथा छाउगोठ भत्काउन प्रत्येक वडामा छाउपडीसम्बन्धी जनचेतना जगाउने काम भइरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । उनले भने, “प्रत्येक वडाका सबै टोल, गाउँमा प्रहरीसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ, छाउगोठ भत्काउन सबैले सहमति जनाएका छन् ।” जिल्लामा छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउछ भन्ने अन्ध विश्वासका साथ महिनावारीअर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने चलन रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले छाउपडीका नाममा गरिँदै आएको विकृति तत्काल अन्त गर्न र गाउँमा बनाइएका छाउगोठ भत्काउन यहाँका स्थानीयतहलाई पत्राचार गरेको छ । जिल्लामा कम्तीमा १०० को हाराहारीमा छाउगोठ हुनसक्ने सो क्षेत्रमा काम गर्ने सङ्घ संस्थाको अनुमान छ । रासस