पानीको गुणस्तर नाप्न सञ्चालनमा आयाे वाटर एम्बुलेन्स

रत्ननगर । क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरले ‘वाटर एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ । आपत्कालीन अवस्थामा पानीको गुणस्तर नाप्नका लागि अत्याधुनिक उपकरण जडान भएको वाटर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । युनेसेफ र खानेपानी विभागको संयुक्त लगानीमा एम्बुलेन्स खरिद गरिएको क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरका केमिष्ट योगेन्द्रनारायण देवले जानकारी दिए । पानी परीक्षण गर्न आवश्यक उपकरण भएको एम्बुलेन्सलाई करिब रु ५० लाख परेको उनले बताए । असोज महिनादेखि कार्यालयले पानी परीक्षणका लागि घुम्ती सेवा शुरु गरेकाे थियो । अहिलेसम्म धादिङ, मकवानपुर, माडी, खैरहनीलगायत स्थानमा लगेर स्थलगत रुपमा पानीको परीक्षण गरिएको देवले बताए । महामारी हुँदा प्रभावित क्षेत्रहरुमा लगेर पानीको परीक्षण गर्न यस एम्बुलेन्सले सहयोग पुग्ने उनको विश्वास छ । विशेषगरी दैवी प्रकोपका घटनाको समयमा पानीको स्थलगत परीक्षण गरी गुणस्तर कायम राख्नका लागि सहयोग पुग्ने देवले बताए ।  कसैले पानी परीक्षण गर्न आउनुपर्यो भनेको खण्डमा  तुरुन्तै गएर पानीको परीक्षण गर्न सक्ने जानकारी दिए । वाटर एम्बुलेन्स आएपछि टाढा टाढा गएर पानीको परीक्षण गर्न सहज भएको उनले बताए । स्थलगत पानी परीक्षण गरेपछि तत्कालै पिएच, पारा, इसी, एफआरसीलगायत छवटा पानीका पारामितिहरुको नतिजा दिने गरिन्छ । यस्तै अन्य पारामितिहरुको नतिजा चौबिस घण्टाभित्र दिने गरिएको देवले जानकारी दिए । घुम्ती सेवाका लागि एकजना केमिष्ट र चालक खटिने गरेका छन् । रासस

वडाध्यक्ष पदम धामी भेटिए मृतावस्थामा

अछाम । पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका छन् । उनको शव आज विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ । गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । प्रारम्भिक अनुसन्धानअनुसार हत्या नै भएको पुष्टि हुन्छ, तर कसले किन हत्या गरेको भन्ने कुरा खुल्न नसकेको र अनुसन्धान   भइरहेकाे जानकारी दिए । प्रहरीका अनुसार घटनाका बारेमा प्रहरीलाई आज बिहान साढे ६ बजे जानकारी प्राप्त भएको र  जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीसहितको टोली घटनास्थलमा पुगेकाे थियाे । अनुसन्धानमा आफ्नो संयन्त्र परिचालन गरिसकिएको र धनगढीबाट तालीमप्राप्त कुकुर सहितको टोली आइरहेको उनले जानकारी दिए । मृतक धामी शिक्षक पेशाबाट राजीनामा गरी नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । रासस

कोरोना भाइरस भित्रिन नदिन महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’

महोत्तरी । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका भारतीय सीमावर्ती नाका खैरबनी, रघुनाथपुर, सम्सी, पोखरभिण्डा, इटहर्वाकट्टी, कट्टी, सिसवाकटैया, बथनाहा, मरुवाही, भिठ्ठामोर र मटिहानीसहितका स्थानमा डेस्क सञ्चालनमा ल्याइएको वरिष्ठ स्वास्थ्य प्रशासक नागेन्द्रप्रसाद चौधरीले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय ती स्थानमा डेस्क स्थापना गरेको उनले बताए । उपकरणसहित दुई–दुई जना स्वास्थ्यकर्मी खटाइएका छ । नाका हुँदै नेपाल प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच गरिन थालिएको छ । आवश्यकताअनुसार जनशक्ति थप्ने र अनुगमनको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । रासस