म्याग्दीको विद्यालयलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले म्याग्दीको तोरीपानी स्थित श्री गलेश्वर माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सोमबार सो मात्राको सहयोग रकम विद्यालयलाई हस्तान्तरण गरेको हो । विद्यालयले विद्यार्थीको चौतर्फी विकाशको निम्ति विभिन्न कार्यक्रमहरुलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आई रहेको छ । विद्यार्थीहरुको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकाश हुन सकेमा मात्रै उनीहरु पूर्ण मानव बन्न सक्छन भन्ने कुरालाई शिरोधार्य गर्दै विद्यालयले आफूलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन विभिन्न कामहरु गर्दै आएको छ । यस विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिव २५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको हो । उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरिने कुरा विद्यालय प्रशासनले जनाएको छ । शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । लामो समयदेखि दिर्घकालीन रुपमा खानेपानीको व्यवस्था नहुदा शुद्ध पिउने पानी पिउनबाट बञ्चित रहेका विद्यार्थीहरु यस किसिमको सहयोगबाट शारिरिक र मानसिक रूपमा स्वस्थ भई पठनपाठनमा समेत सक्रिय रहने अवस्थाको सृजना हुने कुरा बैंकले जनाएको छ । शुद्ध खानेपानीका पहुँचबाट निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको स्वास्थ्य अवस्थामा सुधार आउने कुरा बैंकले व्यक्त गरेको छ । नेपाल सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । बैंकले हाल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

जनरल इन्स्योरेन्सले दियो निर्जीबन बीमा अभिकर्ता तालिम

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले बुटवलमा निर्जीवन बीमा अभिकर्ता तालिम दिएको छ । कम्पनीले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित दियालो फुडल्याण्डमा गत फागुन १५ गते देखि १७ गतेसम्म ३ दिने आधारभुत तालिम दिएको हो । उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा विस्तृत तालिम प्रदान गरिएको थियो । सोही तालिममा बीमा अभिकर्ताको भुमिका र निर्वाह, कृषि बाली तथा पशुपंक्षी बीमाको बारेमा समेत जानकारी दिएको थियो । ३४ जना अभिकर्ताहरुको सहभागिता रहेको उक्त तालिममा सफलतापुर्बक तालिम लिने अभिकर्ताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

दलित भएकै कारण घरबेटीले कोठा छोड्न दबाब दिएको विद्यार्थीको आरोप

काठमाडौं । काठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई घरबेटीले दलित भएकै कारण अपमान र घर छोड्न दबाब दिएको भन्दै पीडित विद्यार्थीहरुले प्रहरीमा उजुरी दिने घोषणा गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले यस्तो जानकारी गराएका हुन् । कैलाली र दैलेख स्थायी घर भई काठमाडौंमा विभिन्न क्याम्पसमा अध्ययनरत चार जना विद्यार्थीहरुलाई दलित भन्दै घरबेटीले अपमान गरेको उनीहरुको गुनासो छ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर–१० मा रहेको श्रीकृष्ण बिडारीको घरमा डेरा गरी आफूहरु बसिरहेको उनीहरुले जानकारी दिए । उनीहरुले दिएको जानकारीअनुसार उक्त घरमा उनीहरु गत मंसिर १३ गतेदेखि बसेका हुन् । त्यस घरमा डेरा गरेरै बसेकै दिन घरबेटी श्रीकृष्णकी छोरीले आफूहरुसँग परिचय गरेको दिपा नेपालीले जानकारी दिईन् । उनले अघि भनिन्,‘हामी त्यो घरमा बसेकै दिन घरबेटीकी छोरीले हामीसँग परिचय गरेकी थिइन् । त्यसको भोलिपल्ट घरबेटी बिडारी दम्पत्तिद्धयले तपाईहरु ‘दलित हुनुहुँदो रहेछ, समाजले पनि तपाईहरुलाई यहाँ बसेको रुचाउँदैन्, र यही घरमा भाडामा बस्नेहरुले पनि घर छोडेर जान्छु भने’ भनेर कोठा छोडेर जान दबाब दिए ।’ उनले आफूहरुलाई जातकै कारण कोठा छोड्नका लागि दबाब दिएको गुनासो पोखिन् । उनले भनिन्,‘मैले एक कार्यक्रममा मानवअधिकारवादीसँग यस्तो भयो भनेर गुनासो पोखेको थिएँ, त्यहीँबाट मानवअधिकारकर्मीले हाम्रो घरबेटीलाई फोन गरेका थिए । उनका अनुसार अब हामीलाई बसुञ्जेलसम्म बस्न दिने भनेर घरबेटीले भनेका थिए र हामीलाई पनि परिचय दिएर बस्नुहोला भने । तर, एक्कासी घरबेटीले आफूहरुलाई विभिन्न बहाना देखाएर घर छोड्न दबाब दिएको पनि उनले गुनासो पोखिन् । घरबेटीमात्रै नभएर त्यही घरमा भाडामा बस्ने अन्य सदस्यहरुले पनि घरबेटीसँग मिलेर आफूहरुमाथि अभद्र तथा गाली, बेईज्जति शब्द प्रयोग गरेको गुनासो पोखिन् । जातीय विभेद गरेर आफूहरुमाथि स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथि कुण्ठित गरेको र बारम्बार मानसिक तथा मनौवैज्ञानिक दबाब दिएको पनि उनले गुनासो पोखिन् । उनले भनिन्,‘हामी पढ्ने विद्यार्थीहरुमाथि यो ठूलो मानसिक यातना हो ।’ आफूहरु कानूनी उपचारमा जाने उनीहरुले घोषणा गरिन् । उनले आजै प्रहरी प्रशासनमा उजुरी दिने पनि आफूहरुको तयारी रहेको बताईन् । आफूहरुमाथि जातीय विभेद नगर्न पटक–पटक आग्रह गर्दापनि निजी घरबेटीले कुरै नसुनेको र अमानवीय व्यवहार गरेको गुनासो पोखिन् । कार्यक्रममा कैलाली घर भई सोही घरमा बस्ने दिपाका भाइसमेत रहेका राज नेपालीले आफूहरुमाथि २१औं शताब्दीमा पनि जातीय विभेद गरिएको भन्दै गुनासो पोखे । आगामी दिनमा दलित भएकै कारण आफूहरुले भोगेजस्तो पीडा अरुले भोग्न नपरोस भनेर मिडियामा यो कुरा लिएर आएको र कानूनी उपचारमा जान लागेकोपनि उनले स्पष्ट पारे । उनले भने,‘घरबेटीले दिएको चरम यातनाको कारण हाम्रो पढाईमा अवरोध सिर्जना भयो । यसले विद्यार्थीको भविष्य अन्यौल बनाएको छ ।’ उनले जातीय भेदभाव तथा छुवाछुत ऐन–२०६८ अनुसार निज घरबेटीलाई कारबाही गर्नसमेत सरकारसमक्ष माग गरे । आफूहरुमाथि घरबेटीले श्रृंखलावद्ध रुपमा घर छोड्न दबाब दिएको र जातीय विभेद गरेको गुनासो पोखे । कार्यक्रममा अर्की पीडित गायिकासमेत रहेकी धना परियारले जातीयताको कुरा गरेर आफूहरुमाथि घरबेटीले दिएको दबाब गलत र मानव अधिकारविरुद्ध रहेको टिप्पणी गरिन् । उनले पनि घरबेटीलाई कानूनबमोजिमको हदैसम्मको कारबाहीको माग गरिन् । उनले आफू अपांग समेत रहेको जनाउँदै अपांगता भएकै कारण जागिर नपाएको गुनासो पोख्नि । उनले भनिन्,‘जातीयताकै आधारमा घरबेटीले कोठा छोड्न दबाब दिएका छन् ।’ उनले भनिन्,‘के हामी यो देशका नागरिका होईनौं र ? हामीमाथि अमानवीय व्यवहार गरियो । यो निकै दुःखदायी कुरा हो ।’ उनले यस्तो अवस्थाको सामना गर्नुपर्दा कहिलेकाहीँ रातै नपरिदिए हुन्थ्यो जस्तो लाग्ने गरेको पनि सुनाईन् । उनले भनिन्,‘घरबेटीले मात्रै होईन, त्यही घरमा भाडामा बस्नेहरुले पनि हामीलाई निस्किन दबाब दिए ।’ कार्यक्रममा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी विपीन बिकले २१औं शताब्दीमा आएरपनि जातीय विभेद गर्नु गलत भएको भन्दै विद्यार्थीहरुमाथि जातीय विभेदन र यातना दिने घरबेटी बोगटीलाई कारबाहीको माग गरे ।